चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
काठमाडौं । चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अध्ययन शुरु गरेको छ । चिनीको भाउ बढ्नुको कारणबारे अध्ययन गर्न टोली गठन गरेको र टोलीले केही दिनमै प्रतिवेदन तयार पार्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन शाखाका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिए।
अहिले बजारमा अनुगमन गर्दा पनि व्यापारीहरुले बिक्री अनुपातको खरिद बिल देखाउन नसकेका कारण मूल्यमा कालोबजारी नै देखिएको उनले बताएका छन् । हरेक चाडपर्वमा विभिन्न बहानामा चिनीको भाउ बढ्ने गरेकोमा यो वर्ष व्यापारीहरुले अभावलाई कारण देखाएका छन् । होलसेल बजारमै भाउ बढेकाले खुद्रा व्यापारीहरुले बढाएका छन् ।
नेपाल खुद्रा व्यापार सङ्घले भने आफूसँग स्टक नरहेका भन्दै खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको सूची नै हटाएको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँसम्ममा पाइने चिनीको भाउ अहिले ३० प्रतिशतसम्म बढेको छ ।