KFGVRFI34

यो वर्ष कोशी प्रदेशमा डेंगुबाट १७ जनाको मृत्यु

0

डेंगु संक्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार ३३० जना सङ्क्रमित भएका छन्।

तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए।

कोशी प्रदेशको १४ जिल्लामै डेंगु फैलिएको छ। उनका अनुसार मोरङमा चार हजार २४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ। झापामा दुई हजार ९६४ जना सङ्क्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उहाँको भनाइ छ। उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ।

गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ। डेंगुका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन्। सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा बिरामीको उपचार भइरहेको छ।

साउनदेखि हालसम्ममा तेह्रथुममा २११, पाँचथरमा ३३८, इलाम ५३५, उदयपुर ८१६, धनकुटामा ४३२, भोजपुरमा ३३१, सङ्खुवासभा ८६७, ओखलढुङ्गा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, र सोलुखम्बुमा २० संक्रमित फेला परेका छन्।

डेंगु सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेंगुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन्। यद्यपि डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34