KFGVRFI34

धनीको दशैं, गरिबको दुःख

0

२०८० सालको बडादशैं पनि नेपालीको घरआँगनमै आइपुगेको छ । आउने र जाने क्रम अनवरत जारी राख्ने यो सांस्कृतिक चाड बहुआयामिक महत्वको छ । दशैंले धेरैलाई हर्षोल्लास र खुशी दिन्छ । पारिवारिक मिलन र भेटघाटहरू संयोजन गर्छ । मान्यजन र अग्रजहरूको भूमिका र महिमा बढाउँछ ।

गतिहीन अर्थ–बजारलाई गतिशील बनाउँछ । त्यसैले दशैं पर्व मात्र होइन, महान् उत्सव हो । जसले नेपाली समाजको बहुआयामिक पाटा, पखेटाहरू एकैसाथ जोड्छ । सिंगार्छ, सजाउँछ अनि केलाउँछ ।

अहिले दशैं नजिकिएसँगै बजारहरू तातिएका छन् । किनमेल बढ्न थालेका छन् । बजारमा घुइँचो बढिरहेको छ । सरकारले पनि दशैं विशेष खाद्य सामग्री सहुलियत मूल्यमा बेच्ने हिसाबको सुपथ मुल्य पसल सञ्चालनको तयारी गरिसकेको छ । हवाई तथा स्थलमार्ग भएर यात्रुहरूको ओहोर-दोहोर सहजताका लागि अग्रिम टिकट बुकिङ सुरु हुन लाग्दैछ । राष्ट्र बैंकले नयाँ नोट निष्कासन गरेर बाँड्ने तयारी थालिसकेको छ ।

गाउँघरमा पीङहरू हाल्ने, घरआँगन सिंगार्ने कामहरू सुरु हुन थालिसकेका छन् । समग्रमा दशैंले नेपालीलाई छपक्कै छोइसकेको छ ।

दशैं नजिकिएसँगै मोबाइल तथा अटोमोबाइल सहित किनमेल दुनियाँका अनेकन् वस्तुमा छुट सहितका बम्पर योजना सार्वजनिक भइरहेका छन् । अटो शो, फर्निचर एस्क्पो जस्ता अनेकन् शो प्रदर्शनी भइरहेका छन् ।

व्यवसायीहरूमा उत्साह भरिंदो छ । तर जति-जति दशैं नजिकिएको छ, त्यति-त्यति नै महँगी बढिरहेको छ । बजारमा भान्साका सामानहरूको भाउ अचाक्ली बढिरहेको छ । मुद्रास्फीति ८ प्रतिशत छुन लागिरहेको छ । सरकारले महँगी नियन्त्रण र बजार अनुगमन प्रभावकारी बनाउनै सकिरहेको छैन । व्यवसायीहरूले पनि दशैं–तिहारलाई अवसर पारेर वस्तुभाउको मूल्य अचाक्ली बढाउने गरेका छन् ।

सरकारले हरेक साल सुपथ मूल्य पसल सञ्चालन त गर्ने गरेको छ तर त्यो देखावटी हिसाबको मात्रै हुनेगर्छ । सुपथ मूल्य पसलमा भन्दा बाहिरका पसलहरूमा तात्विक फरक पाइने गरेको छैन ।

महँगी चुलिएर आकाश पुगेको छ तर सरकारको सुपथ मूल्य पसलले उपभोग्य वस्तुहरूमा २०, १०, ५ रुपैयाँ जस्ता छुट दिएर जगहँसाउने गरेको छ । झारा टार्ने छुट दिइएका हुन्छन् । सुपथ मूल्य पसललाई सुपथ बनाइएका छैनन् ।

यसपटक पनि सरकारले विगतकै क्रम दोहोर्‍याउनेछ वा साँच्चिकै सहुलियत पसलहरू सञ्चालन गर्नेछ त्यो हेर्नै बाँकी छ ।

हवाई भाडाहरूका त आफ्नै रेट छन् । त्यो एक खालको सिस्टममा चलेकै छ । हवाईमा सफारी गर्ने वर्ग एक हिसाबको हुनेखाने वर्ग नै हुनेगर्छ । तर सार्वजनिक सवारी साधनहरू प्रयोग गर्ने सर्वसाधारण वर्षेनि दशैंकै मौकामा अचाक्ली ठगिने गरेका छन् ।

उनीहरूले सरकारको प्रभावकारी अनुगमनको अभावमा अघोषित रूपमा डबल भाडा उठाइने गरेका छन् । सरकारले त्यो खालको यातायात मनपरी नियन्त्रण गर्न सकिरहेको छैन । त्यसकारण चाडबाडमा हुने महँगी र ठगी नियन्त्रणमा सरकारले आफनो सक्षमता देखाउनै सकेको छैन ।

सरकारले ती कुराहरू नियन्त्रण गर्न सक्यो, गरिब जनतामा राहत दिन सक्यो भने मात्रै दशैंले सबै जनताको घरमा उल्लास छर्नेछ ।

दशैं नजिकिएसँगै विदेशमा श्रम बेचिरहेका नेपालीको घरफिर्ती बढ्न थालेको छ । रेमिट्यान्स आप्रवाह बढेको छ । व्यापारीहरूका व्यापार बढेका छन् । बजारमा पैसाको प्रवाह बढ्न थालेको छ ।

किनमेलको पर्व दशैं

मुख्यतया नेपालीको वर्षभरिमा हुने खर्चको अधिकतम हिस्सा दशैंले लिने गरेको छ । अन्य समयमा नेपालीले खासै खर्च गर्ने गर्दैनन् । तर दशैं–तिहारका बेला लत्ताकपडादेखि कुनै राम्रा घरायसी सामान समेत यसैबेला खरिद गर्छन् ।

जसका कारण अनेकन् मेला, महोत्सव यसै समयमा हुने गरेको छ । दशैं र तिहारमा नेपालीहरू ऋण–धन गरेरै आफ्ना इच्छा र आवश्यकताका सामान किन्ने गरेका छन् । फलस्वरुप दशैं महँगो हुने गरेको छ । अझ हिजोआज त दशैं अत्यन्त देखासिखी र विलासी हुँदै पनि गएको छ ।

तर ‘आयो दशैं ढोल पिटाई, गयो दशैं ऋण बोकाई’ भन्ने पुरानो नेपाली उखान गरिब–गुरुवाहरूको हकमा आज पनि लागू हुन्छ । खरिद गर्न सक्ने र धान्न सक्नेले त दशैं राम्रै गरी मनाउलान् । तर गरिब तथा असहायहरूको हकमा दशैं पीडादायक हुने गरेको छ ।

खासगरी दक्षिणएशियामै सम्भवतः सबैभन्दा बढी धनी–गरिबबीचको असमानता कायम रहेको र २०७२ वैशाखमा गएको महाभूकम्प, पछिल्लो कोरोना संकटले लाखौं जनता गरिबीको सूचीमा थपिएका छन् । जसकारण गरिबीको तथ्याङ्क घटेको छैन । यसैमा नेपालमा दशैं पर्व थप गरिबी बढाउने पर्व हुने गरेको जस्तो देखिन्छ । गरिबी र दशैंको सम्बन्ध सौहार्दहीन एवं पेचिलो बन्दै गएको महसुस हुन्छ ।

यद्यपि दशैं हाम्रो महान् राष्ट्रिय गौरवको पर्व हो । दशैं हाम्रा पिता पुर्खाहरूदेखि नै नेपालीले नेपालीपन र नेपाली हुनुको गौरवसाथ मनाउँदै आएको मौलिक पर्व हो ।

दशैंको सान्दर्भिकता पछिल्ला वर्षहरूमा झन्-झन् बढ्दै गएको महसुस हुन्छ । किनकि नेपाली संसारका अधिकतम राष्ट्रहरूमा रोजगारी र अन्य सिलसिलामा बाहिरिएका छन् । औपचारिक तथा अनौपचारिक गणना अनुसार ६० लाख नेपाली यतिबेला विश्वका देशहरूमा छरिएका छन् । तर तिनको लागि स्वदेश फिर्तीको साइत सामान्यतया दशैं–तिहारले नै जुराइदिएको हुन्छ ।

विश्वभर छरिएर रहने नेपाली प्रकृति र प्रवृत्तिलाई एकीकरण गर्ने काम वास्तवमा विजया दशमीले नै गरिरहेको छ । दशैंको महिमा झन् बढेको छ ।

दशैं एउटा मनाउनको लागि मनाइने पर्व मात्र नभएर नेपाली मौलिकता, नेपाली स्वाभिमान, नेपाली गौरव, नेपाली पहिचानको एउटा शक्तिशाली विम्ब समेत हो । विश्वसामु गौरव गर्ने र पहिचान दिलाउने सांस्कृतिक धरोहर दशैं नै हो भन्दा हुन्छ ।

नेपाली जहाँ पुगोस्, जे–जस्ता दुःख–वेदना र कर्महरू गर्न पुगोस्, जे–जस्तो वातावरणमा खुम्चन पुगोस्, कम्युनिष्ट बनोस् या क्रान्तिकारी उसको निम्ति दशैं जीवनको अमूल्य अंग नै बन्ने गर्छ । नेपालमै पनि शास्त्रीय माक्र्सवादको बर्दी ओढेर ढोंग पिट्नेहरू र धर्मकर्मलाई तिलाञ्जली दिनेहरू समेत दशैंमा रमझममा व्यस्त हुन्छन् ।

यसर्थ विजया दशमी नेपालीका लागि महान् उत्सव हो । तर राजनीतिक आन्दोलन र त्यसका उपलब्धिहरू वास्तविक रूपमा तल्लो तहका जनताको हितमा हुन नसक्दा मुलुकमा धनी र गरिब बीचको असमानता तुलनै गर्न नसकिने गरी फराकिलो हुँदैछ ।

सरकारी तथ्यांक अनुसार नेपालमा निरपेक्ष गरिबी १८.४ प्रतिशत रहेपछि बहुआयामिक गरिब २८ प्रतिशत भन्दा बढी रहेको छ । अझ अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले प्रक्षेपण गरेको तथ्यांकहरूमा नेपालमा अझै ३५ प्रतिशत नेपाली गरिबीकै रेखामुनि छन् । धनी-गरिब बीचको यस्तो असमान अवस्थाको अन्त्य नहुँदासम्म सबैको लागि दशैं दशैं हुनसक्ने छैन ।

दशैंको रौनक र उत्साहमा समानता ल्याउन गरिबी निवारणलाई जोड दिनुपर्ने अवस्था छ । सरकारले धनी र गरिबबीचको आर्थिक खाडल कम गर्ने गरी कर प्रणाली अपनाएको भए, विकास कार्यक्रम अघि बढाएको भए, सुलभ स्वास्थ्य-शिक्षा दिलाएको भए, बजेट मार्फत सन्तुलित विकास निर्माण गरेको भए यस्तो अवस्था पक्कै आउने थिएन ।

गरिबहरूका लागि पनि दशैं हुनका लागि सरकारले न्यूनतम आधार तय गर्नैपर्छ । अन्यथा सुदूरपश्चिमका भोकमरी ग्रस्त बजाङ, बाजुरा, दार्चुला, अछाम, बैतडी, हुम्ला, जुम्ला लगायत जिल्लाका अति गरिब जनताको दशैं दशामा सीमित हुनेछ । त्यस्तै भूमिहीन जनता जो आजै कमाएर आजै खाने खालका हुन्छन् तिनको दशैं दशा मात्रै हुन्छ ।
विडम्बना पछिल्लो समय प्रदेश तथा स्थानीय सरकारहरूले गरिबमारा ढंगको करको बोझ स्थानीय तहमा समेत थुपार्दै छन् । तर कर लिए बापतको विकासको दायित्वबाट भने निरन्तर पन्सिएका छन् ।

नेपालमा २०१३ सालदेखि नै गरिबी निवारणको योजनाबद्ध कार्यक्रम थालनी भए पनि गरिबी र असमानताको दर झनै वृद्धि हुँदै आएको देखिन्छ । गरिबी निवारण र योजनाबद्ध आर्थिक विकासका कार्यक्रमहरू एकपछि अर्को गर्दै असफल भएको कारणबाट आज पूरै देश रेमिट्यान्स आयमा निर्भर हुन पुगेको छ । सक्रिय युवा जनशक्ति पूरै पलायन छन् ।

एसियामै अफगानिस्तान पछि दोस्रो गरिब र पूरै विश्वमा गरिब देशहरूमध्ये ४० नम्बर भित्र मुलुक पर्छ । विकासशील मुलुकमा उक्लने भनेको मुलुकले एक दशक हुँदासम्म समग्र सूचकहरूमा प्रगति गर्न नसकेर ओरालो लागिरहेको छ । आर्थिक वृद्धि र विकास बढाउनै सकिरहेको छैन । अर्थतन्त्र गतिशील हुन सकिरहेको छैन ।

आर्थिक विकासको बाटोमा भुटानले समेत नेपाललाई उछिनिसकेको छ । देशको यस्तो दुरवस्थाबीच विजया दशमी कसरी सबैका लागि सुखद रहला ? कसरी उल्लासमय रहला ?

तर पनि सरकारले सबै जनताको दशैं दशैंजस्तो बनेको हेर्न चाहन्छ भने गरिब जनतालाई केन्द्रित दशैं विशेष राहत कार्यक्रमहरू ल्याउनैपर्छ । गरिबहरूका लागि पनि दशैं हुनका लागि सरकारले न्यूनतम आधार तय गर्नैपर्छ ।

अन्यथा सुदूरपश्चिमका भोकमरी ग्रस्त बजाङ, बाजुरा, दार्चुला, अछाम, बैतडी, हुम्ला, जुम्ला लगायत जिल्लाका अति गरिब जनताको दशैं दशामा सीमित हुनेछ । त्यस्तै भूमिहीन जनता जो आजै कमाएर आजै खाने खालका हुन्छन् तिनको दशैं दशा मात्रै हुन्छ ।

सरकारले दशैं समानस्तरको, उल्लासमय र सुखप्रद बनाउन र महँगी एवं अराजकता रोकी जनताको जीउधनको सुरक्षा गर्न विशेष कार्यक्रम ल्याओस् । बडा दशैं २०८० को अग्रिम शुभकामना !

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34