KFGVRFI34

पोखरा विमान दुर्घटनाको एक वर्ष : मृतकका आफन्त भन्छन्– यस्तो गल्ती नदोहोरियोस्

0

पोखरामा गत वर्ष भएको जहाज दुर्घटनामा छोरी–ज्वाइँ गुमाएकी गीता गुरुङ सोमबार दुर्घटनास्थल पुगिन् । गत वर्ष माघ १ मा ज्यान गुमाएका ७२ जनाको स्मृतिमा दुर्घटनास्थलमा निर्मित स्तम्भअघि धुपबत्ती बाल्दै आफूलाई छोडेर गएको भन्दै बिलौना गरिन् ।

पोखरा विमान दुर्घटनाको एक वर्ष : मृतकका आफन्त भन्छन्– यस्तो गल्ती नदोहोरियोस्

अस्ट्रेलिया रहेकी पोखरा ढिकालेथरकी अनुषा र अमेरिका रहेका पोखराकै शिवकुमार गुरुङको प्रेम विवाह भएको सात महिना पुगेको थियो । शिवकुमारले अनुषालाई घरमा भित्र्याउन सँगै नेपाल आए । त्यस दिन काठमाडौंबाट यती एयरको जहाजमा पोखरा आउँदै थिए । विमानस्थलनेर आइपुग्दा जहाज सुरक्षित अवतरण गर्न सकेन । घारीपाटन र नयाँगाउँबीचको सेती खोंचमा जहाज दुर्घटनामा पर्‍यो ।

दुर्घटनाको एक वर्ष पुग्दा शिवकुमारको परिवारले नयाँगाउँपट्टि धुपबत्ती बाले, अनुषाको परिवारले वल्लोपट्टि । अनुषाका आफन्त अनिश गुरुङ दुर्घटना नहुँदो हो त अहिले दिदीभिनाजुले सुखमय दिन काटिरहेको हुने कल्पना गर्छन् । ‘नेपालको हवाई क्षेत्रमा लापरबाही धेरै भयो,’ दिदी भिनाजुलाई श्रद्धाञ्जली दिएपछि उनले भने, ‘जहाजको अवस्थाको जाँच पनि नियमित हुनुपर्‍यो । पाइलटले उडान गर्ने समयावधि कडाइका साथ लागू गर्नुपर्‍यो ।’ जहाज दुर्घटनामा आफन्त गुमाएका बुद्धि ठकुरी अनिशसँग सहमत छन् । दुर्घटनामा मानवीय त्रुटिलाई मुख्य कारण देखाइए पनि पटकपटकको बहाना क्षम्य नहुने उनी बताउँछन् । ‘अन्तर्राष्ट्रिय क्षेत्रको पनि ध्यानाकर्षण गराएको यस्तो दुर्घटनाबाट नेपाल सरकार सजग हुनुपर्छ,’ उनले भने, ‘यस्तो कमजोरी बारम्बार नदोहोरियोस् ।’

माघे संक्रान्ति मनाएर पोखरा फर्किन सासूससुराले गरेको आग्रहलाई डा. गणेश थापाले ‘अफिसको मिटिङ’ मा जानैपर्ने भन्दै पन्छाए । श्रीमती डा. रोनी महर्जन र साढे दुई वर्षकी छोरीलाई भेटेर उनी पोखरामा गोर्खा वेल्फेर ट्रस्टस्थित जागिरमा फर्किंदै थिए । बिहान मामा माइजूकोमा टीका थापेर ज्वाइँ हतारमै त्रिभुवन विमानस्थल कुदेको सम्झना रत्नबहादुर र बिना महर्जनलाई अझै छ । दुर्घटनामा निधन भएको वर्ष दिनमा ज्वाइँलाई श्रद्धाञ्जली दिन उनीहरू सोमबार कीर्तिपुरबाट पोखरा आइपुगे । पाटन अस्पतालमा कार्यरत रोनी वर्ष दिनको कार्य गर्न बुटवलस्थित घर पुगिन् ।

मनमोहन शिक्षण अस्पतालमा कार्यरत रहँदा दुवै जनाको चिनापर्ची भयो, प्रेम बस्यो र सात वर्षअघि विवाह पनि भयो । गणेशले अस्ट्रेलियाबाट पब्लिक हेल्थमा स्नातकोत्तर सकेर गोर्खा वेल्फेर ट्रस्टमा जागिर थाले । रोनीले मनमोहनबाटै एमडी सकेर पाटन अस्पतालमा जोडिएकी थिइन् । ‘असाध्यै राम्रो ज्वाइँलाई गुमाउनुपर्‍यो, निःशब्द छु,’ आँखाभरि आँसु बनाएर रत्नबहादुरले भने, ‘जीवनभर असह्य पीडामा बाँच्न विवश बनायो । बाँचेर पनि बाँचेको जस्तो भएको छैन ।’ को–पाइलटको प्रशिक्षण उडान नभएको भए र रनवे १२ को सट्टा अर्को प्रयोग गरेको भए ७२ जनाले ज्यान गुमाउन नपर्ने उनलाई मनमा लागेको छ ।

चाडबाडको दिन खाना खाइवरी घारीपाटनका महेशबहादुर बराइली बिजुलीको खम्बामा अडेस लगाएर घाम ताप्दै थिए । उनकी छोरी कल्पना कपडा धुँदै थिइन् । कोल्टिँदै आएको जहाज कल्पनाकै टाउको माथिबाट गएर नजिकैको खोंचमा बजारियो । आँखैअघि जहाज खसेपछि महेशबहादुरको हंसले ठाउँ छोड्यो । घारीपाटनपट्टिको डिलबाट धस्सिएर जहाजको अघिल्लो भाग पारिपट्टि नयाँगाउँको डिलमा जोतिएको थियो । जहाजको पछिल्लो भाग घारीपाटनपट्टि नै रह्यो । दन्दनी बलेको आगो निभाउन उनले गुहार मागे ।

एकैछिनमा स्थानीय जम्मा भएर घारीपाटनतिरको आगो निभाउन थाले । महानगरको दमकल केहीबेरमै आइपुग्यो । पारिपट्टि भने नयाँ विमानस्थलको दमकललाई भीड छिचोल्नै समय लाग्यो ।

‘खसेको एकछिनसम्म पनि पारिपट्टि जहाजभित्र मान्छेहरू चिच्याइरहेका थिए,’ उनले सम्झिए, ‘दमकल समयमै आइपुगेको भए केही मान्छेको ज्यान पनि बच्न सक्थ्यो । बीच भाग नै दन्दनी बलेपछि मान्छेहरू फुत्तफुत्त सेतीमा खसे ।’ बस्तीकै छेउमा जहाज खसेपछि एकछिन भागाभाग भयो । दुई काखे बच्चा च्यापेर जमुना बस्नेत भाग्न सकिनन् । जहाँ थिइन् त्यही थुचुक्क बसिन् । ‘अचेल आकाशमा प्लेन उडेको देख्दा त्यो दिनको सम्झना आउँछ,’ उनले भनिन्, ‘प्लेन यतातिर टर्न गर्दा त्यो दिन सम्झन्छु । प्लेन टर्न गरेर नकट्दासम्म हेरिरहन्छु ।’

पोखरा महानगरपालिकाले दुर्घटनास्थलमा निर्माण गरेको स्मृति स्तम्भमा पुगेर मृतकका आफन्तले सामूहिक पूजा गरे । केहीले छुट्टाछुट्टै पुगेर श्रद्धाञ्जली दिए । दुर्घटनास्थलमा स्थानीयले साँझ दीप प्रज्वलन गरे । पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र पोखराकै अर्का पत्रकार अनिल शाहीले पनि दुर्घटनामा ज्यान गुमाएका थिए । उनीहरूको स्मृतिमा पत्रकार महासंघ गण्डकी, कास्की र प्रेस सेन्टरले स्मृति सभा आयोजना गर्‍यो ।

महानगर प्रमुख धनराज आचार्यले दुर्घटनास्थललाई पार्कका रूपमा निर्माण गर्न लागेको बताए । स्मृति स्तम्भको अनावरण गर्दै उनले उक्त स्थानमा पुल र पार्क निर्माण गर्ने प्रतिबद्धता जनाए । उनका अनुसार स्तम्भसहित वरपर तारबार गर्न १० लाख रुपैयाँ विनियोजन भएर काम भइरहेको छ । ‘दुर्घटना उत्सव होइन । सम्झिरहँदा पनि मन पोल्छ,’ उनले भने, ‘तर स्मृति सकिँदैन । मृतकको सम्झनामा स्मृति पार्क र सेती खोंचलाई जोड्ने गरी विमानको आकारमा पुल निर्माण गर्ने प्रक्रिया अघि बढिसकेको छ ।’ दुर्घटनास्थलमा वारपार गर्न मिल्ने गरी विमानकै आकारमा पुल निर्माण गर्न यती एयरलाइन्ससँग समन्वय गरिरहेको उनले सुनाए ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34