KFGVRFI34

भन्सार राजस्व दुई खर्ब नाघ्यो, लक्ष्यभन्दा माथि तातोपानी र रसुवा कार्यालय

0

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भन्सार विभाग मातहतका कार्यालयबाट दुई खर्ब १० करोड रूपैयाँ राजस्व संकलन भएको छ।

गत वर्ष ६ महिनामा एक खर्ब ८८ अर्ब १७ करोड रूपैयाँ यस्तो राजस्व उठेकोमा यो वर्ष नौ प्रतिशतले राजस्व बढेको हो।

भन्सार विभाग महानिर्देशक शोभाकर पौडेलका अनुसार ६ महिनासम्मको समग्र आयात भने चार प्रतिशतले घटेको छ। उनले कार्यालयहरूले गरेको भन्सार कडाइका साथै राजस्व सुधारका कार्यक्रमको प्रभाव देखिएको हो।

‘आयात घटेर पनि भन्सार राजस्व संकलन बढेको छ,’ पौडेलले सेतोपाटीसँग भने, ‘भन्सार कार्यालयहरूले इफिसेन्सी बढाएका छन्, नीतिगत सुधारको प्रभाव पनि देखिएको छ।’

सरकारले यो वर्ष १७० वस्तुमा भन्सार छुट र ३४० वटा वस्तुमा अन्तःशुल्क छुट खारेज गरेको छ।

गत वर्षको तुलनामा भन्सार राजस्व बढे पनि चालु वर्षमा सरकारले राखेको लक्ष्यको तुलनामा भने निकै कम राजस्व संकलन भएको छ।

Laxmi bank

५ महिनाको अवधिमा भन्सार विभागबाट तीन खर्ब ६ अर्ब १७ करोड राजस्व उठाउने लक्ष्य सरकारले राखेको थियो। तर यो अवधिमा लक्ष्यभन्दा ३५ प्रतिशत न्यून राजस्व उठेको छ।

यो वर्ष औसत २५ प्रतिशतले आयात बढ्ने अनुमान गरिएकोमा आयात नै घटेपछि राजस्व कम भएको भन्सार अधिकारीहरू बताउँछन्।

Nchl

धेरै आयात हुने १३ वटा भन्सार कार्यालयहरूमध्ये दुइटा कार्यालयले लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेका छन्। अन्य कार्यालयहरूले भने लक्ष्यको तुलनामा औसत ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ।

तातोपानी र रसुवा नाकाबाट लक्ष्यभन्दा बढी राजस्व संकलन भएको हो। तातोपानी र रसुवा भन्सार नाका चीन र नेपालबीचको प्रमुख स्थलगत नाका हो।

पछिल्लो आठ वर्षदेखि सरकारले चीनतर्फका यी नाकाबाट लक्ष्यअनुसार राजस्व उठाउन सकेको थिएन।

गत साउनदेखि यी नाकाबाट कारोबार र राजस्व बढ्न थालेको थियो।

यो वर्ष ६ महिनामा तातोपानी भन्सार कार्यालयबाट तीन अर्ब २० करोड राजस्व संकलनको लक्ष्य भन्सार विभागले तोकेको थियो। तर यो अवधिमा करिब पाँच अर्ब रूपैयाँको राजस्व संकलन भएको छ। जबकि गत वर्ष यही समयमा एक अर्ब ४१ करोड मात्रै राजस्व संकलन भएको थियो।

त्यस्तै, रसुवा भन्सार कार्यालयबाट सात अर्ब ९८ करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो। यो अवधिमा नौ अर्ब ७५ करोड राजस्व संकलन भएको छ। गत वर्ष ६ महिनाको अवधिमा भने जम्मा तीन अर्ब ४६ करोड राजस्व संकलन भएको थियो।

विगतका वर्षहरूमा तातोपानी र रसुवा भन्सार कार्यालयबाट लक्ष्यको ५० प्रतिशत पनि राजस्व उठ्न नसकेकोमा अहिले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ। ६ महिनाको अवधिमा तातोपानी नाकाबाट लक्ष्यभन्दा ५५ प्रतिशत र रसुवाबाट २२ प्रतिशत बढी राजस्व संकलन भएको छ।

भन्सार अधिकारीहरूका अनुसार चीनतर्फबाट अहिले गैर–भन्सार अवरोधहरू कम भएको छ भने भन्सार परीक्षण छिटो गरिएको छ। विगतमा डेढ महिनासम्म भन्सार परीक्षण गर्न समय लाग्ने गरेकोमा अहिले २४ घण्टाभित्र भएको उनीहरूले बताएका छन्।

तातोपानी नाकामा मानिसको आवातजावतमा अझै रोक लगाइए पनि पहिलेको तुलनामा तातोपानी नाका सहज भएको हिमालयन सीमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठ बताउँछन्।

‘विभिन्न बाहानामा नाका अवरोध गरिएको थियो, कहिले बन्द हुन्छ कहिले खुल्छ थाहा नै नहुने,’ उनले भने, ‘तत्काल भन्सार पास गराउनु पर्ने सामान समेत डेढ/दुई महिनासम्म भन्सारमा रोकिने गर्‍यो, कति व्यापारी त पलायन नै भएका छन्, अहिले भने सहज भएको छ।’

चिनियाँ नाकाबाट आयात निर्यात गर्ने व्यवसायी बच्चुनारायण पौडेल पनि अहिले तातोपानी नाका सहज भएको बताउँछन्।

‘पहिलेको तुलनामा निकै सहज भएको छ। गैर–भन्सार अवरोधहरू कम भएका छन्,’ पौडेलले भने, ‘रसुवा नाकामा अहिले कुनै पनि अवरोध छैन।’

नेपाली पक्षसँग कुनै छलफल नै नगरी चिनियाँ नाका पटक–पटक अवरोध हुँदै आएको नेपाली व्यवसायीहरूले गुनासो गर्दै आएका छन्। भूकम्पपछि तातोपानी नाका चार वर्ष पूर्ण रूपामा बन्द भएको थियो। त्यसपछि पुनः कोभिडको कारण देखाएर अवरोध गरिएको थियो।

गत वर्ष दसैंका सामान चीनको सडकमा आइपुगेपछि लामो समय नाका बन्द गरेको थियो।

१३ वटा भन्सार कार्यालयहरूमध्ये वीरगञ्ज, विराटनगर, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली र नेपालगञ्ज भन्सार कार्यालयले गत वर्ष बराबरको राजस्व पनि संकलन गर्न सकेका छैनन्।

यस्तो छ प्रमुख भन्सार कार्यालयको लक्ष्य र असुली:

photo-1705400223.jpg

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34