KFGVRFI34

हजुरहरुको बाबु -नानीहरुलाई येसरी किताब हेर्नी बानी बसाल्न सकिन्छ

0

एउटा कथा भन्छु।

माया छ/सात वर्षकी थिइन्।

उनी आफ्नै गाउँको विद्यालयकी एक शिक्षकलाई देखेर छक्क पर्थिन्। उनको मनमा जिज्ञासा थियो — मिसलाई कसरी सबै कुरा आएको?

उनी मिसको घर पुग्दा त्यहाँ थरीथरीका किताबहरू देख्थिन्। रंगीन चित्रहरू भएका, अनि मिसले पढ्ने अलि मोटा र साना अक्षर भएका।

मायाले मिसको दराजमा एउटा ठूलो आकारको किताबमा अजंगको बाघको फोटो देखिन् र मन थाम्नै नसकी आफैंले पुस्तक झिकेर मिसलाई सोधिन्, ‘मिस यसमा के भनेको छ? भित्र के छ?’

मिसले मायालाई बस्न भन्नुभयो। पुस्तक खोल्नुभयो। चित्रहरू देखाउनुभयो।

ती चित्र देखाउँदै सुनिने स्वरमा भावना र अभिनय मिलाउँदै बाघको कथा भन्नुभयो, बाघका दाँत देखाउनुभयो; तीखा नंग्राले शिकार समातेको वर्णन गर्नुभयो। मायाले छिनमै त्यो पुस्तकबाट बाघको बारेमा धेरै कुरा थाहा पाइन्।

मिसले आफैंले पढेर नै धेरै कुरा जानेको भनेर मायाले अनुमान लगाइन् र अर्को प्रश्नले यसलाई पक्का गरिन्।

मायाका प्रश्नका शृंखलाहरूलाई मिसले धैर्य गरी सम्बोधन गर्नुभयो। उनले धित मारेर उत्तर सुनिन्।

यो मायाको जीवनकै एक विशेष दिन थियो। मनमा पठनको गहिरो संस्कार परेको थियो।

मनमनै उनले निर्णय गरिन् — म पनि पढेर मिस जस्तै बन्छु!

त्यो दिन ती असल शिक्षकले बालिकाको अविन्तरमा पठनको प्रेम जगाइदिएकी थिइन्।

मायाले पढिन्। जिज्ञासा मैटाउँदै गइन् र आज ठूली भएर पनि थरीथरी पुस्तक पढ्छिन्। खाली समयमा कुनै पुस्तक खोली हाल्छिन्। यो उनको स्वभाव बन्यो।

जीवनलाई सफल, विचारलाई समृद्ध बनाउने र अति नै उपलब्धिमूलक पढ्ने बानीको विकास सानो उमेरबाटै सुरू हुन्छ। बालबालिकाका जिज्ञासा उच्च भएको समयमा यो बानी सजिलै विकास गर्न सकिन्छ। अनुसन्धानले त शैशवकालदेखि नै पढ्ने बानीको विकास हुने बताउँछ।

केटाकेटीमा यो बानी विकास गर्न विभिन्न पक्षहरूलाई क्रमबद्ध रूपमा अघि बढाउनुपर्छ। पढाइ उन्नत गर्न विकासात्मक चरणहरूका सन्दर्भ मिलाएर पढाइका क्रियाकलाप सिलसिलाबद्ध गर्दै निरन्तर अघि बढाउन सकिन्छ।

यसलाई शिक्षामा पठनक्रमका ढाँचा वा निरन्तरता (रिडिङ कन्टिनम) भनिन्छ र यसका विभिन्न तह हुन्छन्। यी तहको व्यावहारिक प्रयोगले बालबालिकाको पठन सीप द्रुत विकास हुने अनुसन्धानहरूले देखाएका छन्।

बोनी क्याम्पवेलले विस्तृत अनुसन्धान गरी विद्यालय तहको उमेरमा आधारित रिडिङ कन्टिनमको ढाँचा तयार गरेकी छन्। उनले पठनक्रमको विकाससँगै यसका मूल्यांकन गर्ने तरिका र केटाकेटीको विशिष्टताका आधारमा पठन विभेदीकरणका उपायहरू पनि दिएकी छन्।

अनुसन्धान भन्छ — रिडिङ कन्टिनमको प्रक्रिया विद्यार्थी विशेषअनुसार पनि तय हुन सक्छ। र, यसको प्रगमन बिन्दुहरू रेखीय नहुन पनि सक्छन्। पाठकको रूचिले पनि यसलाई प्रभाव पार्न सक्छ। बालबालिकाले उनीहरूको पठन आवश्यकता अनुसार यसलाई आफैंले पनि नियमन गर्न सक्छन्।

बालबालिकाको पठन सीप विकास गर्नेबारे फाउन्टास र पिनेलको अनुसन्धान प्रसिद्ध छ। उनीहरूको अध्ययनबाट प्राप्त नतिजा अनुसार ‘गाइडेड रिडिङ’ का व्यावहारिक रणनीति प्रयोग गरे विद्यार्थीको पठनक्रियाले तीव्रता पाउँछ।

बालबालिकाको पठन विकासका लागि उनीहरूलाई पूर्वप्राथमिक तहमै यो प्रक्रियासँग परिचित गराउन अनिवार्य हुन्छ।

स-साना बालबालिकालाई पठन सीप विकास गराउँदा ‘फोनिक्स’ बाट सुरू गरिन्छ। यस चरणमा अक्षर, ती मिलेर बनेका शब्द र यीबाट आउने आवाजबीचको सम्बन्धको ज्ञान दिइन्छ। यही डिकोडिङको प्रक्रियाले उनीहरूलाई लिखित शब्द र भाषाबीच सम्बन्ध स्थापित गर्ने दक्षता दिन्छ।

अति नै महत्त्वपूर्ण यो प्रारम्भिक चरणमा केटाकेटीले शब्दहरू चिन्ने, तिनलाई सरसर्ती पढ्ने, बोध गर्ने र शब्द भण्डार बढाउने गर्छन्। र, दृष्टिशब्द उपयोग गर्दै पठनको आधार खडा गर्छन्।

यही बेला वर्णविन्यास र हिज्जेलाई पनि सरल रूपमा एकीकृत गरिन्छ। यसै क्रमको अन्त्यमा पुस्तकका बनौट र वर्ग (जनरा) को ज्ञान क्रमशः दिइन्छ।

यसपछि अभिभावक वा शिक्षकहरूले उपयुक्त किताबहरू चयन गर्छन्। यसका मुख्य दुई पक्षहरू छन्।

पहिलो, पुस्तकको कठिनाइको तह।

दोस्रो, बालबालिकाको रूचि।

यी दुईलाई सही समायोजन गरेपछि मात्रै विविध वर्गका पुस्तक विद्यार्थीलाई दिइन्छ। हामीले बालबालिकालाई हचुवाको आधारमा पुस्तक दिँदा यसको कठिनाइको तह, विषयवस्तु र रूचि नमिल्न सक्छ। यस्तो अवस्थामा पठन सीपमा प्रत्युपादक असर पर्न जान्छ।

पुस्तक कठिन भएमा वा अति सरल भएमा, विषयवस्तु नमिलेमा बालबालिकाको पठन रूचि घट्ने र प्रगति अवरूद्ध हुने अध्ययनहरूले देखाएका छन्। तसर्थ थोरै चुनौतीसहित अभिरूचि जगाउने सही पुस्तकको चयन अपरिहार्य छ।

अब उल्लिखित दुई महत्त्वपूर्ण पक्ष लागू गर्ने प्रक्रिया उल्लेख गर्छु।

पहिलो, अभिभावकहरूले किताब किनिदिँदा यसको पछाडि कभरमा त्यो किताबको तह हेर्नुपर्छ। बालबालिकाको उमेरअनुसारको गाइडेड रिडिङको तह वा कठिनाइको लेक्साइल अंकसँग मेल गराउनुपर्छ। उमेरगत बनिबनाउ पुस्तक वा लेभल्ड रिडरलाई पनि प्रयोग गर्न सकिन्छ।

दोस्रो, कठिनाइको तह मिलिसकेपछि उनीहरूको रूचि र उमेर मिल्ने सही विषयवस्तु चयन गरी विभिन्न वर्गका प्रशस्त किताबहरू राखेर उनीहरूलाई नै त्यसमध्येबाट छान्न दिनुपर्छ।

यी दुई पक्ष मिलेपछि बालबालिका अब बल्ल आफ्ना छनौटका पुस्तकमा तल्लीन बन्छन्। पठनमा कसैले नभने पनि ध्यान बस्छ। पठनको संस्कार विकास हुन थाल्छ। पठनमा तल्लीनताको विकासले नै पठनको दीर्घकालीन स्वभावलाई स्थायित्व दिन्छ।

यसरी पठनको आधार तयार भएसँगै यसको विकास र निरन्तरताका लागि यसमा विविध रणनीतिहरू गाँसिन्छन्। तीमध्ये केही प्रमुखको चर्चा गर्छु।

घर र विद्यालयमा पठनमैत्री वातावरण अपरिहार्य छ। यसका लागि शान्त कोठा र त्यहाँ उचित पुस्तकहरूको सँगालो राखिदिनुपर्छ। घरमा आमाबाबु आफैंले पनि पढ्ने बानी गरेर बालबालिकाका अघि नमूनाका रूपमा आफूलाई प्रस्तुत गर्दा पठनको वातावरण सिर्जना हुन्छ।

अभिभावकहरूले आफ्ना छोराछोरीलाई घरमै सानो बालसंगत पुस्तकालय बनाइदिँदा पनि राम्रो हुन्छ। उनीहरूले यसको उपयोग गर्दै पठनको महत्त्व बुझ्दै जानेछन्।

विद्यालयमा शिक्षकसँगै पढ्ने, कक्षाकोठाको एक भागमा कक्षाविशेष पुस्तकसहितको रिडिङ कर्नर वा कार्पेट एरिया बनाए पठनमैत्री वातावरण सिर्जना हुन्छ।

बालबालिकालाई शिक्षक वा अभिभावकले सस्वर भावनाका साथ पुस्तक पढिदिँदा उनीहरूमा कल्पनाशीलताको विकास र पठन संस्कृतिको गहिरो छाप बस्छ। यो प्रक्रियालाई प्रश्नहरू सोध्दै, अन्तरक्रियात्मक बनाउँदै त्यहाँ भएका कुराहरूमा गहन छलफल गर्दा बालबालिकाले पठन सीपका साथै बौद्धिक परिपक्वता पनि विकास गर्छन्। यो घर र विद्यालय दुवै ठाउँमा गर्न सकिन्छ।

बालबालिकाको पठन सिप विकासमा विद्यालयको मुख्य भूमिका हुन्छ। गुणस्तरीय विद्यालयले पठनलाई प्राथमिकताको पहिलो पंक्तिमा राख्छन्।

यसका लागि विद्यालयमा नियमित पाठ्य सामग्री बाहेक अन्य विभिन्न वर्गका पुस्तकहरू पनि विधिपूर्वक संरेखित गरिन्छ। विद्यार्थीहरूलाई कक्षामा भाषाबोधका रणनीतिहरू सिकाइन्छ। अन्य किताब पढ्दा ती रणनीतिहरू प्रयोग गर्ने मौका दिइन्छ। यसरी उनीहरूको ज्ञान, शब्द भण्डार र विचार क्षमता वृद्धि गराई असल पाठक बनाइन्छ।

पाठ्यपुस्तक मात्रले पठन स्वभाव बस्दैन। यसका लागि कहिल्यै पनि विद्यालय पाठ्यपुस्तकमा मात्र भरपर्नु हुँदैन। विद्यालय वा अभिभावकहरूले पाठ्यपुस्तकमा मात्र जोड गर्दा, घोक्न लगाउँदा विद्यार्थीका सिर्जनाशीलतामा ह्रास आउने, कल्पनाशीलता शिथिल हुने, मौलिकता र बोधको क्षमता घट्ने अध्ययनले देखाउँछ।

विद्यालयले आफ्नो पुस्तकालय विद्यार्थीको पठन क्षमता विकास गर्न संशाधन केन्द्रका रूपमा अत्यधिक उपयोग गर्नुपर्छ।

पुस्तकालयमा किताब र अन्य स्रोतहरूलाई डेसिमल प्रणालीबाट वर्गीकरण गरी अंकित गर्ने र विद्यार्थीहरूलाई अभिमुखीकरण गराई उनीहरूले खोजेको किताब पत्ता लगाउने तरिका सिकाउनुपर्छ। यसले बालबालिकालाई रूचिकर पुस्तकमा सहज पहुँच दिन्छ।

पुस्तकालयभित्र किताब पढ्नु वा यसको पहुँचबाहेक यसको उपयोगको अर्को तरिका बुक क्लब, पुस्तकालय कर्मचारीबाट समन्वय गरिएको विद्यार्थीहरूको पाठक समूह हो। यो पठनका विभिन्न क्रियाकलाप गर्दै पाठकत्व विकास गर्ने अर्को एक अचुक तरिका हो।

यसका साथै पुस्तकालयलाई शिक्षणको परिपूरक स्रोतकेन्द्रका रूपमा प्रयोग गर्दा यसको भरपुर उपयोग हुन्छ। सहजै पठनसीप विकास हुन्छ।

बालबालिकालाई यदाकदा पुस्तकालय-कक्षा भनेर लैजाँदा वा हचुवामा पुस्तक छानेर पढ भन्दा हामीले खोजेको वास्तविक उपलब्धि हात लाग्दैन। विद्यार्थीको पठन स्वभावमा पनि उल्लेखनीय परिवर्तन आउँदैन। यसका बाबजुद केही सकारात्मक प्रभाव भने हुन सक्छन्।

विद्यालयले पठन स्वभाव विकास गर्न कक्षामा पुस्तकमा आधारित विभिन्न क्रियाकलापलाई जोड दिनुपर्छ। यसअन्तर्गत पुस्तक छलफल, सस्वर वाचन, मौन पठन, एकल पाठन इत्यादि जस्ता क्रियाकलाप यथोचित तवरले प्रयोग गर्नुपर्छ। यसले बालबालिकाहरूलाई पठन प्रक्रियाको मूलधारमा ल्याउँछ।

पठन सीपको विकास कहिल्यै पनि जबरजस्ती हुँदैन। यसको वास्तविक आधार पठनको आनन्दमा रहन्छ। त्यसैले यो प्रक्रियालाई माथि उल्लेख गरे जस्तै आन्तरिकीकरण गर्न रूचिलाई ध्यानमा राख्नुपर्छ जसले पठनमा रस दिन्छ। यसलाई आधार लिएमा वयस्कहरूले पनि पठन स्वभाव विकास गर्न सक्छन्।

बालबालिकाहरूले कुनै किताब पढिसकेपछि त्यसमा रहेका चरित्र वा कथावस्तुलाई आफ्नो मानसपटलमा चलचित्रजस्तै उतार्छन्। यो एक गहिरो छाप भएर उनीहरूमा बस्छ। त्यसैले उत्साह दिने, सुखान्त, तथ्यले भरिपूर्ण, कल्पनाशक्तिको विकास गर्ने, मानवमूल्य दर्शाउने असल किताबहरू दिनुपर्छ। यसो गर्दा उनीहरूमा पठनको वाञ्छित प्रभाव पर्छ।

त्यसरी नै, जसरी मायाको असल पुस्तकहरू पढ्ने क्रम जारी छ, उनी एक सुशिक्षित नागरिक बनेकी छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34