आईसीसी यू-१९ : नेपालविरुद्ध ४० ओभरमा न्यूजिल्यान्डको २ सय ३ रन
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा न्युजिल्यान्डको सामना गरिरहेको छ ।
४० ओभरको खेल सकिँदासम्म न्यूजिल्यान्डले ३ विकेटको क्षतिमा २ सय ३ जोडेको छ । हाल न्यूजिल्यान्डका स्नेहिथ रेड्डी ८५ रनमा र ओस्कार ज्याक्सन ५९ रनमा क्रिजमा छन् ।
नेपालका लागि सुवास भण्डारी, दिनेश कँडेल र तिलक भण्डारीले १/१ विकेट लिएका छन् ।
युवा विश्वकपमा नेपालले ८ वर्षपछि पुनरागमन गरेको हो । इस्ट लन्डनमा जारी खेल नेपालका लागि निकै महत्वपूर्ण छ । ग्रुप अफ डेथ मानिएको समूह ‘डी’ को आफ्नो पहिलो खेल जितको खण्डमा नेपाललाई अर्को चरण प्रवेश गर्न सहज हुनेछ । समूहमा नेपाल र न्युजिल्यान्डसहित पाकिस्तान र अफगानिस्तान छन् ।
दक्षिण अफ्रिका पुगेर खेलेका चार अभ्यास खेलमध्ये नेपालले तीनवटामा जित निकालेको थियो । यू–१९ विश्वकपमा यसअघि नेपालले सन् २०१६ र २००६ मा न्युजिल्यान्डलाई पराजित गरेको थियो ।
२०१६ मा बंगलादेशमा भएको प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो भने २००६ मा श्रीलंकामा भएको प्रतियोगितामा नेपालले प्लेट फाइनलमा न्युजिल्यान्डलाई १ विकेटले पराजित गरेको थियो ।