KFGVRFI34

प्रधानाध्यापक शिवकुमार साहलाई तीन वर्ष कैद सजाय – गोरखा

0

विशेष अदालतले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई तीन वर्ष कैद सजाय सुनाएको छ । चारवटा भ्रष्टाचार मुद्दामा एकैपल्ट दोषी ठहर भएका प्रधानाध्यापक साहलाई विशेष अदालतले कसुर सजाय निर्धारण गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई १३ लाख ३२ हजार रुपैंया विगो कायम गरेर त्यति नै रकम जरिवाना गर्ने फैसला गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

चौथो मुद्दामा साढे २ वर्षदेखि ४ वर्षसम्म कैद हुनसक्ने भएकाले विगो र कसुर निर्धारणका आइतबार सुनुवाइको मिति तोकिएको थियो । विशेष अदालतले २४ पुसमा उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको थियो । तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको थियो ।

विद्यालयका लागि निकासा भएको रकम हिनामिनाका चार भिन्दाभिन्दै मुद्दामा उनलाई दोषी ठहर गरेको हो । तीन मुद्दामा उनलाई करिव १६ लाख विगो र त्यति नै जरिवानाको फैसला भएको छ ।

प्रधानाध्यापक साहले जिल्ला शिक्षा कार्यालयबाट ट्रस्ट भवन निर्माणबापतको रकम दुरुपयोग गरेको अभियोग छ । झुठो प्रतिवेदन र किर्ते बिल जारी गर्न लगाएर विकास निर्माणको रकम दुरुपयोग गरेको आरोप उनीमाथि लागेको थियो ।

विद्यालयमै ल्याब बनाउने र शैक्षिक सामग्री खरिदको रकम दुरुपयोग गरेको भन्दै उनलाई अर्को मुद्दा समेत लागेको थियो । विद्यार्थीले पाएको छात्रवृत्ति, पोशाक, झोलाको रकम समेत फर्जी कागजातका आधारमा दुरुपयोग गरेकोमा पनि उनलाई मुद्दा चलेको थियो ।

यस्तै, छात्रा शौचालयको रकम समेत उनले दुरुपयोग गरेको भन्दै अर्को मुद्दा परेको थियो । विद्यालय व्यवस्थापन समितिको निर्णय समेत फर्जी बनाएर रकम हिनामिना गरेको आरोप उनीमाथि छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34