KFGVRFI34

पचास कटिसकेकी बुढीको यो कुरा! स्कुटरवाली…….

0

‘अब त आफ्नै स्कुटी लान मिल्ने भएछ नि ट्रायलमा बुढो?, थाहा पाउनु भयो?,’ श्रीमतीले सोधिन्।

‘तँलाई किन चाहियो यस्तो कुरा?,’ बुढाले थर्काइहाले।

‘तिमीले लाइसेन्स निकाल्न सकेनौ, अब त मै स्कुटी सिकेर निकाल्ने हो लाइसेन्स,’ हल्का डराएर मुस्कुराउँदै फेरि भन्न थाली।

‘आयो अब यसलाई बुढेसकालमा रौनक! कसले उचाल्छ यसलाई? त्यही एउटा स्कुलको जागिरले अब स्कुटी चलाउनी भै?,’ ऊ मुर्मुरिन थाल्यो।

पचास कटिसकेकी बुढीको यो कुरा सुनेर अलि आश्चर्य मान्दै गोपाल आफ्नो कोठातिर लाग्यो। कहिल्यै यस्तो कुरा नगरेकी बुढीले आज कसरी यस्तो कुरा गरी भन्ने पनि उसको दिमागमा रातिसम्म चलिरह्यो।

आर्मीको जागिरमा पेन्सन पकाएर अहिले बैंकको सेक्युरिटीको जागिर खाइरहेको गोपाल जमानामै पुर्खेउली थलो छोडेर राजधानी छिरेको थियो। लामो समयसम्म डेराको संघर्षपछि बल्लतल्ल यही एकतलो घर बनाइन सफल भएको थियो। दुबै छोरीहरूको विवाह भैसकेको हुँदा घरमा बुढाबुढी मात्र हुन्थे। शनिबार र बिदाको दिन बाहेक अरू दिन उनीहरूलाई घरमा भेट्न मुस्किल पर्थ्यो।

‘म त भोलि बेलुकाबाट स्कुटी सिक्न जाने हो नि बुढो। सिक्ने ठाउँ पनि त्यही नजिकै रहेछ। मैले त कुरा गरेर आइसके नि!’

गोपाल अफिसबाट बल्ल आइपुगेर बस्न पाउँदा नपाउँदै श्रीमतीको प्रस्ताव आज पनि आइहाल्छ।

‘हैन यसलाई आजभोलि कसले उचाल्छ? छोरीहरूले पो उचाल्छन् कि! मैले आफूले त एउटा बाइक चढ्न सकेको छैन। तँलाई किन चाहियो स्कुटी?,’ गोपाल झर्किन थाल्यो।

‘तिमीले त्यति लाइसेन्स निकालेको भए भैहाल्थ्यो नि! आफूले सकेनौ। बरू अब म निकाल्ने हो। मलाई स्कुल जान नि सजिलो हुन्छ।’

ऊ फेरि भन्न थाली।

‘हे भगवान! मैले त सकिनँ तैंले के सक्थिस्! त्यही नि तेरो त्यही स्कुलको जागिरले स्कुटी किन्छेस्? आम्दानीभन्दा खर्च बढी?’

‘तिम्रो मेरो गरेर गरौंला नि। हामीलाई साँचेर राख्नु नि कसलाई छ र? मैले कान्छीलाई नि सोधेको, हुन्छ भनेकी छे कान्छीले। ज्वाइँले त सहमति जनाउनु भएको छ,’ उनले भनिन्।

‘तिमीहरूका आमाछोरीलाई के के मन लाग्छ गर’ भन्दै गोपाल कोठातिर लाग्यो।

केही दिन पछि सहरमा माघे संक्रान्ति लाग्यो। चाडवाडमा गोपालका दुबै छोरी माइती आए। ज्वाइँहरू काम व्यस्तताले गर्दा आउन नभ्याएको कुरा जानकारी गराए।त्यत्तिकैमा गोपालको श्रीमतीले उक्त कुरा उठाइहाली। छोरीहरूले आफ्नो बुवालाई मनाउन सफल भए।

गोपालकी श्रीमती भोलिदेखि स्कुलबाट आएर नजिकैको ड्राइभिङ सेन्टरमा सिक्न जाने भइन्।

गोपाल आज पनि उसैगरी थकित मुद्रामा अफिस सकेर घर आइपुग्यो। भित्र श्रीमती नदेखेपछि उसले हिजोको कुरा सम्झिएर आफैं खाजा बनाएर खाने तरखरमा लाग्यो। बेलुका श्रीमती आइसकेपछि पनि केहीबेरसम्म दुबै बोलेनन्।

पछि गोपालले आफैं सोध्यो, ‘सिकिस् त स्कुटी? कति लिँदो रैछ? कति दिनको प्याकेज लिइस् त?’

उनले भनिन्, ‘महँगो रैछ नि! पन्ध्र दिनको लिएको। मेरो त एक महिनाको तलब नै जाने रहेछ।’

गोपाल केही नभनी आफ्नै काममा लाग्न थाल्यो।

अर्को दिन पनि गोपालकी श्रीमती त्यसैगरी बेलुका आइपुगिन्। गोपाल कोठामा पल्टिरहेको थियो। किचनको केही तरखर सुरू भएको नदेखेर उनले भनि हालिन्, ‘बरू यसो तरकारी केलाउँदै गरेको भए नि हुन्थ्यो नि!’

‘मलाई खान मन छैन आज’ भन्दै गोपाल अलि रिसाए जसरी तर्किन खोज्यो।

श्रीमती पनि ‘म पनि सक्दिनँ’ भन्दै बांगिएर हिँडिन्।

दुबै त्यो दिन भोकै सुते।

आज शनिबारको दिन, दुबैको फुर्सद थियो। गोपालकी श्रीमतीले आज ऊसँगै जान गोपाललाई सन्दर्भ मिलाएर प्रस्ताव गरी। गोपाललाई पनि हेर्न मन भएको हुँदा सुरूमा नाइँनास्ती गरे पनि अन्तिममा तयार भयो।

सिक्ने ठाउँमा गएर ऊ उसको श्रीमतीले चलाएको हेरिरहेको थियो। त्यतिकैमा एक जना स्टाफ आएर श्रीमतीतिर देखाउँदै उसलाई सोध्यो, ‘हजुरकी श्रीमती हो उहाँ?’

‘हो’ उसले भन्यो।

‘अनि हजुरले चाहिँ सिक्नुभयो? यदि छैन भने हाम्रोमा मिलाएर सिकाउँछौं है,’ स्टाफले भन्यो।

उसले ‘छैन’ मात्र भन्यो।

‘आफ्नो छैन?, श्रीमतीले निकालेपछि उहाँको पछाडि बसेर घुम्न जाने हो कि क्या हो?,’ स्टाफले हाँस्दै भन्यो।

गोपाल केही बोलेन तर उसको मनमा कुरा भने खेलिरह्यो।

समय बित्दै जाँदा गोपालकी श्रीमतीको सिक्ने समय पनि सकियो। छोरीलाई लाइसेन्सको अनलाइन फर्म भर्दिन भनिन्। समय मिलाएर लिखितको तयारी पनि गर्न थालिन्। पछि लिखितमा पास भएपछि फेरि दुई दिन ट्रायल सिक्न गइन्। उनले भरपुर तयारी गरिन्।

ट्रायलको दिन बिहानै उनी ट्रायल सेन्टरमा पुगिसकेकी थिइन्।

स्कुटरको पालो सुरूमै आउने भएकोले उनी तम्तयार भएर बसिन्। ट्राफिकका कुरा सुनेर आफ्नो पालोमा उनले ट्रायल सुरू गरिन्। पहिलो अनुभव, दुर्भाग्यवश उनले आठ नै कटाउन सकिनन्। निराश हुँदै घर फर्किइन्।

छोरीहरूले फोन गर्न थालिहाले। उनले निराश हुँदै नतिजा सुनाइन्। आमालाई हौसला दिँदै हरेस नखान भनेर सल्लाह दिए।

बेलुका गोपालल अफिसबाट फर्किएपछि नतिजा थाहा पायो। ऊ भन्न थाल्यो ‘तँलाई मैले पहिले नै भनेको थिएँ नि! तैंले सक्दिनस्। हेर बेक्कारमा तेत्रो पैसा खर्च भएको। बुढेसकालमा यो हुँदैन भनेर कति भने तैंले मानिनस्।’

श्रीमती केही नबोली आफ्नो काम गरिरही।

केहीदिनपछि एक्कासि जेठी छोरीले फोन गरिन्। उनले आमालाई फेरि रि-ट्रायल दिन सल्लाह दिइन्। आमालाई उक्त कुरा जानकारी नभएकोले थाहा पाएर दङ्ग हुँदै छोरीको कुरामा सहमति जनाई र फेरि दिने निर्णय गर्छिन्। यो कुरा आमा र छोरीहरू बीचमा मात्र गोप्य राख्छन्।

रि-ट्रायलको दिन, गोपालकी श्रीमती, गोपाललाई आफू आज छुट्टीमा रहेको र आज स्कुल नजाने कुरा भन्छिन्। गोपाल पनि त्यसको कारण बुझ्न चाहँदैनन् र आफ्नो आफिसतिर लाग्छन्। छोरीको सल्लाहबमोजिम नै उनी आफ्नो ट्रायल परीक्षातिर लाग्छिन्।

परीक्षामा आज उनी पूर्ण रूपले तयार भएता पनि आत्मविश्वासको कमी भएजस्तो महसुस गर्छिन्। तै पनि आफ्नो पालोमा स्कुटर लिएर तयार हुन्छिन्। एकछिन भगवानलाई सम्झिन्छिन् र अघि बढ्छिन्। उनी आठ, उकालो, ओरालो कतै व्यवधान नभई परीक्षा कटाउन सफल हुन्छिन्।

उनको खुसी भित्रैबाट पोखिए पनि त्यो उनले बाहिर पोख्न सकिरहेकी थिइनन्। अनुहारमा भने प्रस्टै देखिन्थ्यो। त्यहाँबाट निस्कनेबित्तिकै उनले छोरीलाई फोन गरेर खुसीको खबर सुनाइहालिन्। दुबै छोरीलाई खबर अहिले नै बुवालाई नसुनाउन आग्रह गरिन् र छोरीहरूले पनि स्वीकार्दै ‘हुन्छ’ भने।

फेरि बेलुकादेखि समय सामान्य चल्दै गयो। गोपालकी श्रीमतीले अब सेकेन्ड ह्यान्ड स्कुटर किन्ने सोच बनाइन्। छोरीहरूसँग गोप्य रूपमा सल्लाह गरिन् र एउटा स्कुटर लिने निर्णय गरिन्। आफूले स्कुलबाट बचाएको पैसा र थोरै छोरीहरूको सहयोगले उनी आज स्कुटर किन्न शोरूम पुगिन्।

स्कुलबाट सिधै शोरूम पुगेर गोपाललाई  फोन गरेर भन्न थालिन्।

‘आज मेरो तपाईंको अफिस नजिकै स्कुलको काम परेर आउनुपर्ने छ म नआउन्जेल पर्खिनु है। आएपछि सँगै फर्कौंला।’

गोपालले आश्चर्य मान्दै ‘हुन्छ’ भन्यो।

स्कुटर लिएर गोपालकी श्रीमती आफ्नो अफिसमा एक्कासि देखेर छक्क पर्दै यताउता हेर्दै भन्न थाल्छ, ‘कसको गाडी लिएर आइस्? ट्राफिकले देख्यो भने अहिले समाती हाल्छ। के गरेकी यसले?’

श्रीमती हातमा लाइसेन्स र ब्लुबुक देखाउँदै भन्छिन्, ‘आऊ बस! अब तिमीले लोकल गाडी कुरेर बस्न पर्दैन।’

गोपाल अलिकति खुसी अनि अलिकति गाह्रो मान्दै पछिल्लो सिटमा बस्दै स्कुटरको अन्तर्य खोतल्न थाल्छ।

सबै कुरा थाहा पाएपछि बेलुका छोरीहरूलाई थोरै रिसले झपार्छ पनि। घर पुग्दा छिमेकीहरू पनि ट्वाल्ल पर्छन्।

अब गोपालकी श्रीमतीको दिनचर्या गोपाललाई अफिस छोड्ने त्यतैबाट आफ्नो अफिस जाने र फर्कंदा गोपाललाई लिएर आउने भएको थियो।

आज शनिबार उनीहरूको बसन्तपुर घुम्न जाने योजना छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34