KFGVRFI34

पेट्रोलियम अनुसन्धानको काम पुनः अघि बढेको छ।

0

चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरू भएको पेट्रोलियम अनुसन्धानको काम पुनः अघि बढेको छ।

पेट्रोलियम अन्वेषणको लागि आवश्यक पूर्वाधार बनेसँगै अनुसन्धानको काम पुनः अघि बढेको हो।

अहिले पूर्वाधारको काम अन्तिम चरणमा पुगेको खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना प्रमुख निदेश कुमार नापितले जानकारी दिए। ‘हामीलाई जग्गा र बाटोको समस्या थियो। त्यसको समाधान भइसकेको छ। अब ड्रिलिङका लागि मेसिन लैजान सक्छौं,’ उनले भने।

अनुसन्धानका निम्ति ड्रिलिङ गर्नुपर्ने हुन्छ। यसमा चाहिने उपकरण अनुसन्धान स्थलसम्म लैजानुपर्छ। त्यसको लागि जग्गा र बाटो आवश्यक हुन्छ। तर बजेट विनियोजन नहुँदा पूर्वाधारको काम रोकिएको थियो।

परियोजना प्रमुख दिनेशका अनुसार ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। ड्रिलिङ गर्ने ठाउँसम्म मेसिन लैजान सुर्खेत–वीरेन्द्रनगरबाट पादुकास्थानसम्मको ३५ देखि ४० किलोमिटर सडक स्तरोन्नती गरिसकेको छ।

त्यस्तै सांघेताराबाट चामुन्डा विन्द्रासैनीसम्म रहेको (अनुमानित ६ किलोमिटर) सडकमध्ये साढे दुई किलोमिटरमा बस्ती, स्कुल र मठमन्दिर थिए। यसको पनि मुआब्जा दिएर बस्ती हटाई सडक स्तरोन्नती गरिसकेको परियोजना प्रमुख दिनेशले जानकारी दिए।

‘अब ती सबै जग्गा नेपाल सरकारको नाममा आइसकेको छ। साघुराँ मोडा काटेर फराकिलो बनाइसक्यौं,’ उनले भने।

उनका अनुसार जग्गा अधिग्रहण गर्न प्रतिरोपनी एक लाख ७५ हजारको दरले मुआब्जा वितरण गरिएको हो।

अहिले मेसिन आउने बित्तिकै ड्रिलिङको काम सुरू हुने गरी चिनियाँ र नेपाली समूह मिलेर आवश्यक तयारी गरिरहेको समेत उनले बताए। उनले भने, ‘मेसिन फिट गर्न संरचना बनाउन पर्छ। त्यसको ९० प्रतिशत काम सकिसक्यो। अब मेसिन आएपछि सिधैं काम सुरू हुन्छ।’

परियोजना क्षेत्रमा ठूला उपकरणका साथै नेपाली र चिनियाँ गरी ५० जनाभन्दा बढीको समूह हुने भएकाले सुरक्षाको आवश्यकता पर्छ। त्यसको लागि सशस्त्र प्रहरी खटिने भएको छ।

यसका लागि परियोजनाले गृह मन्त्रालयमा सुरक्षा माग गरेको छ। गृहबाट सशस्त्र परिचालन गरिने जानकारी आएको परियोजना प्रमुख दिनेशले बताए।

ड्रिलिङ मेसिन आगामी महिना (फेब्रुअरी)को अन्त्यसम्ममा आइपुग्नेछ। त्यसपछि परीक्षणको काम हुनेछ।

‘मेसिन चीनबाट हिडिसकेको छ। आगामी फ्रेब्रुअरी अन्त्यसम्म आइपुग्छ,’ उनले भने, ‘मेसिन लैजाने ट्रक १५ मिटर लामो छ। हाम्रो सडकबाट जान सक्छ कि सक्दैन एक पटक मेसिन आएपछि खाली ट्रक परीक्षण गर्छौं।’

दैलेखको पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो। सम्झौताअनुसार गत फेब्रुअरी २८ मा थप दुई वर्षको समयावधि थपिएको थियो।

जग्गा र बाटोका समस्या समयमै सल्ट्याउन नसक्दा थपिएको समयावधि पनि आगामी महिना (फेब्रुअरी २८, २०२४) मा सकिँदैछ। त्यसपछि पनि समय थप गर्नुपर्ने परियोजना प्रमुख दिनेशले जानकारी दिए।

सुरूआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको थियो। तर कोभिडका कारण सम्झौताअनुसार काम हुन सकेन। पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए।

यहाँ चार सय वर्ग किलोमिटर क्षेत्रफलमा पेट्रोलियम पदार्थ हुनसक्ने अनुमान छ। त्यसमध्ये पनि सबैभन्दा बढी पेट्रोलियम पदार्थ हुने तीन ठाउँ पत्ता लागिसकेको छ। यी तीनमध्ये पनि बढी सम्भावित एक ठाउँ छ। त्यहाँ चार किलोमिटर गहिरोसम्म ड्रिलिङ गर्ने काम कोरोना महामारीका कारण रोकिएको थियो। करिब तीन वर्षदेखि यो काम स्थगित छ।

छिट्टै ड्रिलिङ सकिए पेट्रोलियम पदार्थको मात्रा थाहा पाउन सकिन्छ। अन्वेषण टोलीले जमिनको एक्स–रे गरेर ड्रिल गर्न सकिने सजिलो ठाउँ पत्ता लगाइसकेको छ। यति गर्दा पनि पेट्रोलियम पदार्थको भण्डार भेटिएन भने काम अघि बढ्दैन र अहिलेसम्मको सबै मेहनत खेर जान्छ।

उत्पादन कम हुने र खर्च बढी लाग्ने अवस्थामा उत्पादन गरिँदैन। नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गर्दा अहिलेको बजार मूल्यभन्दा सस्तो भए मात्रै त्यो फाइदाजनक हुनेछ।

‘ड्रिल गरेपछि कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ,’ परियोजना प्रमुख दिनेशले भने, ‘खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुन्छ। त्यसपछि मात्रै उत्पादन गर्ने कि नगर्ने भन्ने निर्णय हुन्छ। भण्डार ठूलो रहेछ भने मात्रै उत्पादन हुन्छ।’

तेल उत्पादन भने भूगर्भ विभागले गर्दैन। विभागले पेट्रोलियम पदार्थको मात्रा मात्र पत्ता लगाउने हो। सरकारले कुनै अन्य कम्पनी वा संस्थालाई उत्पादनको जिम्मेवारी दिनेछ।

नेपाल सरकार, खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको संयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको छ। लामो समयदेखि खोलाको पानीमा तेलजस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि यो नेपालमा भएको पहिलो अध्ययन भने होइन। यसअघि २०४५ सालमा मोरङ बाहुनीमा पेट्रोल खानी खोजी गरिएको थियो। त्यति बेला सेल ट्राइटा कम्पनीले साढे तीन किलोमिटर गहिराइसम्म खन्दा पनि पेट्रोलियम पदार्थ नभेटिएपछि खोजी बन्द भएको थियो।

विश्वभरि नै पेट्रोलियम पदार्थ भएको अनुमान गरिएको थोरै ठाउँमा मात्रै भेटिने गरेको छ। अनुमानित ठाउँमा दश प्रतिशत मात्रै पेट्रोलियम पदार्थ पाइएको अन्तर्राष्ट्रिय अनुभव छन्। परियोजना प्रमुख दिनेश पनि विश्वभरि नै अनुमान गरिएका ८ देखि १० प्रतिशत मात्रै ठाउँमा पेट्रोलियम पदार्थ पाइने बताउँछन्।

दैलेखमा तेल भेटिनेमा भने उनी आशावादी छन्।

भारतको आसाम र पाकिस्तानका केही क्षेत्रमा तेल भेटिएको बताउँदै दिनेशले उस्तै भौगर्भिक संरचना भएकाले नेपालको दैलेखमा पनि तेलको ठूलै भण्डार हुन सक्ने बताउँछन्। नेपालको चुरे तथा तराईको सीमा क्षेत्रमा तेलको भण्डार बढी हुन सक्ने उनको अनुमान छ।

‘पानीमा पेट्रोलियम पदार्थ तैरिरहेको अवस्थामा भेटिएको थियो। आगोको ज्वाला पनि प्राकृतिक रूपमै बलिरहेको थियो। त्यसैले त्यहाँ पेट्रोलियम पदार्थ भएको पुष्टी हुन्छ,’ उनले भने, ‘त्यहाँको चट्टानको संरचना हेर्दा पनि पेट्रोलियम पदार्थ भएको अनुमान लगाउन सकिन्छ।’

उनका अनुसार चट्टानबीचमा पर्ने चापले मात्रै पेट्रोलियम पदार्थ बन्छ। विशेषगरी पेट्रोलियम पदार्थ पृथ्वीको सतहमा रहेका सुक्ष्म वनस्पति तथा जीवहरू जमिनमुनि पुरिएर बन्ने हो। जमिनमुनि चाप वा दबाव र लामो समयसम्म हुने रासायनिक प्रतिक्रियाले वनस्पति र जीवहरू पत्रे चट्टानमा परिणत हुन्छन्।

पत्रे चट्टानमा संकलित जैविक पदार्थ ९० देखि १७५ डिग्री सेल्सियस तापक्रम र उच्च दबावका कारण लाखौं वर्षपछि जैविक र रासायनिक प्रतिक्रियाका कारण पेट्रोलियम पदार्थमा परिणत हुन्छ। नेपाल पनि त्यो सम्भावना रहेकाले पेट्रोलियम पदार्थ पाइने अनुमान बढेको उनको भनाइ छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34