KFGVRFI34

७५ लाख खर्चमा अमेरिका-‘कहिले जान्छस् अमेरिका?’

0

तल्लो बाटो अर्थात् मृत्यु मार्ग। यही  बाटोलाई पहिल्याउँदै युवा जमात अवैध रुपमा अमेरिका जाने लाइनमा छन्। ७५ लाख खर्चमा अमेरिका जाने सपना रुकुमका युवालाई सामान्य लाग्न थालेको छ।

उनीहरूलाई बाटोमा देखापर्ने जोखिम, दलालबाट फस्ने सम्भावना, मृत्यु मार्गमै प्राण त्याग गर्नुपर्नेदेखि सबै पाटा र पक्षमा राम्रो जानकारी छ। तर उनीहरू जबसम्म फर्किएर वा दलालको फन्दामा परेर फस्दैनन् तबसम्म यसलाई गोप्य नै राख्छन् र सकेसम्म यो विषयलाई उनीहरूले आर्थिक हैसियत सुधारसँग जोडेर हेर्ने गर्छन्।

केही समय पहिले मात्रै भारतीय मूलका नागरिक बोकेको चार्टड विमान स्पेनबाट भारत फर्काइएको विषयले ठूलो तरङ्ग ल्यायो। टर्की लगायतका मुलुकमा नेपाली नागरिक अलपत्र परेकोदेखि अध्यागमनको परिबन्दमा परेका विषय त कतिकति, यसको कुनै हिसाब छैन्। तर पनि जोखिम नमोले धनी बन्न सकिन्न भन्ने मानसिकताले नै मानिसहरू मृत्यु मार्ग पहिल्याउँदै सपनाको संसार उज्यालो बनाउनेतर्फ सोझिएका छन्।

सञ्चार माध्यममा आउने समाचार शीर्षक र रुकुमका गाउँ रित्तिए जस्ता विषयले मन कुँडिन्छ। म पनि रुकुम पूर्वकै स्थानीय हुँ। जन्मिएपछि एक पटक अमेरिकी भूमिमा पाइला टेक्नैपर्छ भन्ने आम मानसिकता नै विकास भइरहेको छ रुकुममा। यो भावना एजेन्टहरूको भन्दा पनि छरछिमेकी र आफन्तको धेरै छ।

‘पल्लो घरको, वल्लो घरको सबै अमेरिका पुगिसके। तँ के गर्छस्?’ यस्ता प्रश्नको सामना दिन प्रतिदिन मैले पनि गर्ने गरेको छु।

पत्रकारितामा सक्रिय म लामो समयदेखि एउटै प्रश्नको सामना गरिरहेको छु- अमेरिका जाने योजना कहिलेसम्म बनाउँछस्? पत्रकारिता गरेर कति कमाउँछस् र परिवारको सपना साकार पार्छस्? लत्रक्कै नपरेसम्म तँ नजाने भइस्।

यस्ता थुप्रै प्रश्नको सामना मेरो दैनिकी जस्तो लाग्छ। तर मलाई कसैले सोध्दैन कि, नेपालमै बसेर केही गर्नुपर्छ। जुन पेसामा लागेको हो, त्यसलाई थप सुदृढ पार्नेतर्फ लाग्नुपर्छ भनेर।

अमेरिका अहिले रुकुम जस्ता जिल्लाहरूमा कालापार (काला पहाड छिचोलेर भारत जानेहरूलाई कालापार भन्ने गरिन्छ) जस्तो बनिरहेको छ। मेरो गाउँमा युवा उमेरका मानिसहरू अहिले खाडी मुलुक वा भारतलगायत मुलुकमा रोजगारी गर्न जानेभन्दा पनि ‘डेस्टिनेसन अमेरिका’को पर्खाइमा देखिन्छन्।

अमेरिका पुगेर त्यहाँबाट डिपोर्ट भएर नेपाल आएका पनि छन्। रुकुमका केही युवाहरूले बाटोमै प्राण त्याग गरेका पनि छन्। असफलताका कथा थुप्रै बने, बनाइयो तर अमेरिका पुगेर जीवनलाई कोल्टे फेरेकाहरूको कथा कसले भनिदिने? उनीहरू त अवैध अमेरिका पुगेका पो हुन् त। यसकारण म यस्तै विषयलाई उतार्दैछु।

वार्षिक आम्दानी एक लाख पनि नहुने परिवारमा छलफलको विषय, सपनाको देश अमेरिका कसरी पुग्ने? कस्तो एजेन्ट छनोट गर्ने? कसले छिटो र भरपर्दो काम गरिरहेको छ? पैसा सुरुमा कति माग्छ? यस्तै हुन्छ।

गएको तिहार मनाउन म गृहजिल्ला पुगेको थिएँ। तिहारमा हुने जमघटमा केही साथीहरू अमेरिका जाने योजना बनाउँदै थिए। नेपालमा बसेर के गर्ने र? अमेरिका नगई त हुन्न यार। यो तिहार भव्य मनाउँ। अब कहिले आइने हो। केही टुंगो छैन्। रमाइलो गर्नुपर्छ। तँ काठमाडौंमै बस्छस्, कहिले जाने हो अमेरिका? तयारी के गर्दैछस्? प्रश्न यस्तै थिए। जवाफ के दिनु, मेरो गाउँ र युवाहरूको मन नै अमेरिकातर्फ सोझिएको छ। हाँस्यो टार्यो।

प्राथमिक तहको स्थायी शिक्षक पनि सपनाको देशमा पुगेको छ। के त्यो शिक्षकलाई बाटो, एजेन्ट र सबै विषयमा थाहा थिएन होला त? शिक्षाको ज्योति छर्नेलाई यस्तो विषय थाहा हुन्छ नै। तर ऊ सफलतापूर्वक अमेरिका पुगेपछि फेसबुक वालमा लेख्दै थियो- सपनाको देश पुगियो, यहाँसम्म पुग्दा सहयोग गर्ने सबैमा हार्दिक आभार।

यस्ता धेरै मानिसहरू अमेरिका पुगेका छन्। अमेरिकालाई सपना बनाएर सिरानीमा पनि अमेरिकी डलर राख्न चाहनेहरू थुप्रैछन्। जो जस्तोसुकै जोखिम मोलेर जान तयार छन्। यसमा परिवारको पनि पूर्ण समर्थन र सहयोग हुन्छ।

नेपालबाट अवैध अमेरिका पठाउनका लागि अमेरिका जाने भन्दै बीच बाटोबाटै फर्किएका, अमेरिकाबाट डिपोर्टमा परेका, एजेन्टबाटै ठगिएका र केही उच्चपदस्थ पनि सक्रिय छन्। यस्तो भूमिका निभाएवापत उनीहरूले राम्रै पैसा असुल्छन्। अहिले प्रतिव्यक्ति ७५ लाखसम्म पुर्याएका छन्। यति ठूलो रकममा डिल हुने गरे पनि युवाहरू सपना पूरा गर्न लाइनमा छन्।

नेपालमा एजेन्टहरूले पासपोर्ट संकलन गर्ने, दुबईसम्म पुर्याउने र त्यहाँबाट मुख्य एजेन्टलाई मान्छे दिने काम गर्छन्। यसरी भारत, दुबई, टर्की, स्पेन, ब्राजिल हुँदै मेक्सिको लैजाने गर्छन्। यसरी अमेरिका जाने बाटो भने फेरिइरहन्छ। कहिले कुन देश त कहिले कुन देशमा लैजाने गर्छन्। ब्राजिल पुगेपछि अमेरिकाको सपना बोक्नेहरूको खास दुःख सुरु हुनेगर्छ। पानामाको जंगलदेखि ग्वाटेमालालगायत मुलुकमा पाइने दुःखको डायरी भनिसाध्य नहुने अमेरिका पुगेकाहरूले भन्ने गर्छन्।

सहजै उपलब्ध नहुने एजेन्टहरू ह्वाट्स एपको प्रयोग गर्नेगर्छन्। उनीहरूले त्यसबाटै सम्पर्क गरेर पैसा बुझ्नेदेखि विभिन्न देश लैजाने काम गर्छन्। यसरी उनीहरूले यसरी नै अवैध रुपमा धेरैलाई अमेरिका पुर्‍याइरहेका छन् भने ठूलो संख्यामा मानिसहरू अलपत्र समेत परेका छन्।

अवैध अमेरिका जाने विषयमा राज्य पनि जानकार छ। राज्यलाई यसरी अमेरिका पठाइन्छ भन्ने विषय लुकेको विषय होइन्। फ्याट्ट यस्तो विषय बाहिरिँदा जिब्रो टोक्ने सरकारी अधिकारी र नेताहरू सबैलाई थाहा छ, अवैध अमेरिका पठाउनेहरूले कसरी काम गर्छन् भन्ने विषय। तर जबसम्म समस्या आइपर्दैन तबसम्म उनीहरूले किन मुख खोलुन्! कसका लागि खोलुन्! एजेन्टले उनीहरूलाई पनि कमिसन त दिएकै छ।

केही समय पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सरकारी कर्मचारीहरूले कसरी भिजिट भिसाको दुरुपयोग गरे? चप्पल पड्काउँदै एयरपोर्ट पुगेकाहरू दुबई घुम्न सक्छन् कि सक्दैनन्? प्रश्न त धेरै छन्। तर राज्य संरक्षित यस्तो विषयलाई रोक्ने कसले? विभिन्न पार्टीका शीर्ष नेतादेखि मन्त्री, पूर्वमन्त्री, सरकारी कर्मचारी धेरैले आफ्ना मान्छे अमेरिका पठाउन एजेन्टलाई निर्देशन दिनेदेखि रकम छुटसम्मका सेवा लिएकै छन्। यस्तो अवस्थामा हामी जसरी रुकुमलाई पेश गर्दैछौं, त्यो कति न्यायपूर्ण छ? सोच्ने पो होकि।

राज्यले कसिलो नियम कानुन बनाएर त्यसलाई कडाइपूर्वक लागू गर्ने र एजेन्टलाई मात्रै नभएर मृत्यु मार्गबाट अवैध अमेरिका जान खोज्नेलाई पनि कारबाही गर्ने संयन्त्र बनाओस् त, को जान्छन् त्यसरी? भिजिट भिसामा गरिएको कडाइ साँच्चिकै घुम्न जान चाहनेलाई कस्ने संयन्त्र मात्रै बनिरहेको छ।

राज्यले अवैध अमेरिका वा अन्य देश जाने विषयको समाधान चाहेकै हो भने, एजेन्टलाई जन्मकैद र जान खोज्नेलाई त्यसको आधा सजाय तोक्ने व्यवस्था गरोस्। राज्यले संरक्षण गरिरहेका एजेन्टलाई कानुनको दायरामा ल्याओस्। उनीहरू अहिले पनि कोही सांसद छन्, कोही मन्त्री छन् त कोही यसका लागि तयारी गर्दैछन्। के राज्यले निर्ममतापूर्वक यस्तो कदम चाल्न सक्छ? मलाई त लाग्दैन, सक्छ।

यसका लागि छानविन गर्न ठूलो संयन्त्र पनि आवश्यक छैन। सामाजिक सञ्जाल चहारे पुग्छ। सपनाको देश पुगेकोमा फलानोलाई बधाई भनेका पोस्टहरू विश्लेषण गरे पुग्छ। त्यसपछि कसले पठाउँछ? जाने लाइनमा को छन्? को फर्किएका छन? को फसेका छन्? सबै छिनभरमै थाहा हुन्छ। तर खुलेआम अवैध अमेरिका यात्रा जारी रहँदा रुकुममाथि जसरी समाचार शीर्षक बन्छन्, त्यसले पीडा भने हुने रहेछ।

अन्त्यमा, मलाई ‘कहिले जान्छस् अमेरिका?’ भन्ने प्रश्नको जवाफ मसँग अहिले छैन। देशमै केही गर्नुपर्छ, उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना अहिलेसम्म जीवित छ। यसकारण म अमेरिका अवैध बाटोबाट जान्न भन्नेछ। तर जिम्मेवारीको भारी र प्रश्नको ओइरोमा जवाफविहीन कहिलेसम्म हुने? यसको उत्तर मसँग छैन्। देशभक्तिले खान पुग्दैन भन्ने मानसिकता मेरो पनि छ।

म अहिलेसम्म यही  बसेर केही गर्न सकिन्छ कि भन्ने आशा नमारिसकेको युवा हुँ। जीवन कर्कलाको पातमा अडिएको पानी हो भनिन्छ, हावाको वेगले हल्लाएर थोपा झारेछ र पात रित्तो बनेछ भने पक्कै पनि म मृत्यु मार्गको बाटो खोज्नेछु। सफलता र असफलता के हुन्छ थाहा छैन। जोखिम मोल्नेछु। विश्वविद्यालयको डिग्री र मेरो सीपलाई विश्राम लगाउनु पर्ने परिबन्धमा हुनेछु।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34