KFGVRFI34

यो पाच बर्ष पनि उन्नैलाई सुम्पिनदिन पाए हुन्त्यो ……!

0

यो गीत मात्र होइन, धेरैको जीवन पनि हो ।

मेरो जीवन त्यसबेला ठिकठाक थियो । मैले रोजेको जीवनसाथी पाएको थिएँ । हाम्रो एक सन्तान जन्मिए । हामीले आफ्नै सानो संसार रचना गर्‍यौं । त्यो सुन्दर र सुखी थियो ।

मलाई लाग्थ्यो, मेरो जीवन फूलैफूलले भरिएको सुन्दर बगैंचा हो । तर जीवन त काँडा पनि रहेछ । यो कुराको बोध तब भयो, जब खाना निल्दा घाँटीमा अहसज जस्तो हुन थाल्यो । दुई महिना जति यस्तो अहसज (स्वालोइङ डिसकम्फर्ट) महसुस हुन थाल्यो ।

सुरुमा त मलाई यो कुरा सामान्य लाग्यो । सायद साधारण ग्यास्ट्रिटाइटिस होला भन्ने ठानें । तर समस्या ज्यूँका त्यूँ रहेपछि अस्पताल पुगें । शरीरको चेकजाँच भयो । रिपोर्टले देखायो, ‘यो अन्ननली (एसोफेगेस)को क्यान्सर हो ।’ मलाई दोस्रो स्टेजको क्यान्सरले समाइसकेको रहेछ ।

लाग्थ्यो, जीवन भर्खर सुरु हुँदैछ । उमेर ३५–३६ वर्ष पार भएकै थिएन । यस्तो अवस्थामा ‘क्यान्सर भयो’ भन्ने कुराले मनलाई अत्यायो । मेरोमाथि आकाश खस्यो, धर्ती भास्सियो । म भक्कानिएँ । आँखाबाट आँसुको धारा बग्यो ।

किनभने मलाई आफू मृत्युको अघिल्तिर उभिएको आभास भयो । अब श्रीमती र सानो छोराको अवस्था के होला ? भविष्य के होला ? चिन्ताले मलाई सतायो ।

तर रोएर मात्र के गर्नु ? मनलाई कसिलो बनाएँ । किनभने जसरी पनि बाँच्नु त थियो । जीवन बाँच्ने  साहसका साथ मानसिक र शारीरिक रुपमा तयार भएँ । आफूभित्र साम्राज्य बिस्तारमा लागिरहेको क्यान्सरलाई लडेर परास्त गर्नु थियो । अनि बाँचेर जीवनलाई पुनः सुन्दर फूलबारी बनाउनु थियो, सुन्दर बगैंचा बनाई सजाउनु थियो ।

डाक्टरहरुको परामर्श र सुझावअनुसार जटिल प्रकृतिको क्यान्सर भएकाले जतिसक्दो छिटो उपचारतर्फ लाग्नु थियो । अनि पाँचवर्षे छोरोलाई घरमै छाडेर उपचारको लागि दिल्लीतिर लागियो । साथमा थिइन् निडर, निश्चल र साहसी मेरो लडाकु श्रीमती र परिवार । छोराको भविष्य, श्रीमतीको स्नेह र परिवारको साथले तयार मेरो आत्मबल मर्दिन भन्ने इच्छाशक्ति, साथीभाइको आत्मीय भरोसा र सहयोग पनि उपचारको दरिलो आधार बनेको थियो ।

सूर्यको किरण जसले क्यान्सर पनि गराउन सक्छ ,

दिल्ली अस्पतालको आठ घण्टा लामो जटिल शल्यक्रियापछि आईसीयू कक्षमा मेरो होस आयो । शरीरभर जेलिएका पाइपहरु देख्दा र हजारौं काँडाहरुको बिछयौनामा सुताइएको जस्तो पीडामा आफूलाई पाउँदा पुनः झण्डै बेहोस भएको थिए ।

अहिले सम्झिदा मन सिरिङ्ग हुन्छ । मर्फिनका दर्जनौं डोजले पनि काम नगरिरहेको त्यो बेलाको असह्य पीडा सुनाउन दुर्भाग्यवश मसँग मेरो अवाज पनि थिएन । डाक्टरलाई इशारा गरेर सोध्दा थाहा भयो, अन्ननलीको शल्यक्रियाको बेला स्वरनलीमा पनि क्षति पुगेछ । र, आवाजमा समस्या आएको रहेछ । जेहोस् एक महिनाको अस्पताल बसाइपछि डाक्टर, नर्स र सँगसँगै श्रीमतीको माया तथा स्याहारसुसारले शरीर तंग्रिंदै आयो । केही समय आराम गरेपछि डिस्चार्ज पाइयो ।

म आफैंसँग लडिरहेको थिएँ, क्यान्सरलाई जित्न । त्यतिमै सकिएको थिएन लडाइँ । त्यो त छोटो युद्धविराम पो थियो । एक महिनापछि फेरि अर्को खतरनाक लडाइँ लडनु थियो, केमोथेरापी र रेडियोथेरापीको । व्यावहारिक, भावनात्मक र आर्थिक पक्षहरुसमेत जोडिएको यो लडाइँ एक्लैले त लड्नै नसकिने रहेछ । साथ त परिवार र आफन्तको चाहिने नै रहेछ । त्यही मेसोमा लागियो कोलकातातिर, जहाँ हुनुहुन्थ्यो मेरो मनकारी आफन्त । उनीहरुले मेरो हरेक पीडामा मल्हम लगाइदिए र ठूलो भरोसा, साथ दिए ।

जटिल शल्यक्रिया, आठ साइकल केमोथेरापी र छब्बीस साइकल रेडियोथेरापीको कडा र आक्रामक डोजहरुले ज्यान स्यान्डविच नै भएको थियो । उपचारका दर्जनौं साइड इफेक्ट्सहरुले दिएको अर्को पीडा त छँदैछ । हाड र छाला मात्र भएको थकित ज्यानलाई उठ्न, हिंडन, नुहाउन र बारम्बारको अस्पतालको आउजाउको लागि श्रीमतीले दर्बिलो सहारा दिन्थिन् । थाहा थियो मलाई, उनी बाथरुममा पसेर निस्किंदा आँखा रातो हुन्थ्यो । सोद्धा भन्थिन्, ‘केही होइन, मुख धुँदा आँखामा पानी हालेको ।’

एकातिर श्रीमानको यो हालत, अर्कोतिर छोडेर आएको नाबालक छोरोको याद ! उनी आँसु लुकाएर मेरो अगाडि मुस्कुराउँदा भन्थिन्, ‘धत्त झुठी ! मलाई केही हुँदैन । यी हेर त म ठीक छु त, अब छिट्टै घर जान्छौं ।’

अनि तगडा भएजस्तो गरी यसो शरीरलाई मर्‍याकमुरुक पार्थें र बनावटी हाँसो हासिदिन्थें । दुवैजना यसरी दर्जनौं पटक अँगालोमा हाँस्दै रुँदै गरेका छौं, अरुले थाहा नपाउने गरी बन्द कोठामा ।

चार महिनापछि मेरोको एक बिहान अचम्म भयो । मेरो पुरानो आवाज फिर्ता आयो । म बोल्न सक्ने भएँ ।

भ्वाइस थेरापी गर्ने तयारीमै रहेका बेला पुनः प्राप्त त्यो आवाज मानौं एउटा चमत्कार नै थियो ।

‘अरे यार मेरो आवाज आयो’ म बेसरी चिच्याएँ । आवाजले दिएको त्यो बेलाको खुसी मैले श्रीमतीसँग आँसुको साथ अँगालोमा राखेर साटें । त्यो आवाज मेरो लागि रोगसँग लड्ने एउटा ठूलो अस्त्र बन्यो ।

त्यसक्षण मैले अनुभूत गरें, साना-साना खुसी र सकारात्मक उपलब्धिले कति फरक पार्ने रहेछ ।

पीडाको खुसीले रोगसँग लड्न कति ठूलो ऊर्जा, साहस र आँट दिंदोरहेछ ।

निरन्तरको पीडा, आँसु र हाँसोका साथ छ महिना बित्यो । अब उपचारका चरणहरु सकिएको थियो । पालो थियो, अन्तिम सिटी स्क्यानको ।

रिपोर्ट आयो । म चिकित्सकको अघिल्तिर उभिएँ, आज्ञाकारी बालक झैं । चिकित्सकले रिपोर्ट हेर्दै अंग्रेजीमा भने, ‘गुड न्युज एण्ड कंग्राचुलेसन्स यङ म्यान । नाउ यू ह्याभ नो एभिडेन्स अफ डिजिज ।’

‘हजुर, मैले राम्ररी बुझिनँ,’ मैले उनकै मुखबाट यो कुरा दोहोर्‍याएर सुन्न चाहें । फेरि पनि सोधें, ‘डाक्टर के म क्यान्सर फ्री भएँ ?’

उनले सहज भावमा उत्तर फर्काए, ‘क्यान्सर नलागेको मान्छेलाई त क्यान्सर फ्री भन्न सकिंदैन भने तपाईंलाई त झन् म क्यान्सर फ्री भन्ने शब्द कसरी प्रयोग गर्न सक्छु । जे होस् अहिलेलाई तपाईंभित्र क्यान्सरको कुनै कोषिकाको प्रमाण छैन । तपाईंको उपचार सफल भएको छ ।’

खुसीको सीमा रहेन । मैले श्रीमतीतर्फ हेरें । हामी मुस्कुरायौं । एकअर्कालाई अंगालो हाल्यौं । एकअर्कालाई बधाई दियौं ।

लाग्यो, हामीले यो लडाइँ जित्यौं, क्यान्सर हार्‍यो । डाक्टरले लेखेको औषधिको सूची बोकेर श्रीमती फार्मेसीतर्फ लागिन् । डाक्टरसँग एक्लै भएको त्यही मौका छोपेर अघिदेखि मनमा लगिरहेको कौतुहलबारे साहस बटुलेर सोधें– ‘डाक्टर अब म कति वर्ष बाँचुँला ?’

उनले फ्याट्ट जवाफ दिए, ‘हुनसक्छ पाँच वर्ष ।’ मैले थप केही कुराकानी गर्न पाएकै थिइनँ । मुस्कुराउँदै श्रीमती कोठामा छिरिन् । प्रतिक्रियाविहीन म भक्कानिन लागेको थिएँ, तर सम्हालिएँ । श्रीमतीलाई अंगालोमा राखेर रुँदै भन्न मन लागेको थियो– ‘म तिमीलाई यो अंगालोमा अब केवल पाँच वर्ष मात्र बाँध्न सक्छु रे !’

अब पालो मेरो थियो, आँसु लुकाएर नक्कली हाँसो हाँस्ने, जसबारे श्रीमती बेखबर थिइन् । थाहा भएन डाक्टरको मेडिकल इथिक्सभित्र पर्ने कुरो थियो कि थिएन बिरामीको आयु तोक्ने कुरो, उनै जानुन् । तर मेरो उमेर तोकियो । लाग्यो सोधेर बेकारको गल्ती गरेछु । डाक्टरले मलाई बचाउन त बचाए तर सँगै अर्को मृत्युको भय पनि दिए । अर्थात् बाइ वान गेट वान फ्री । जे होस्, डाक्टरलाई धन्यवाद दियौं र हामी बाहिरियौं ।

छ महिना लामो भारत बसाइपछि श्रीमानलाई पूर्ण रुपमा निको पारेर अब छिट्टै छोरोसँगको पुनर्मिलनको आशामा श्रीमती पुलकित थिइन् । म भने डक्टरले दिएको जिन्दगीको अल्टिमेटमले रन्थनिएको थिएँ । आफ्नो आयुको अवधि सुनाऊँ पनि कसरी, हिम्मतै थिएन । सोच्न थालें, पाँचको ठाउँमा सात, आठ, दश भनिदिएको भए । त्यसबेलासम्म त म पेन्सन भइसक्थें, आफू नभएपनि श्रीमती र छोरोलाई जीवन धान्न केही सहयोग त हुने थियो । छोरो पनि अलि बुझ्ने भइसक्थ्यो, आमालाई साथ दिन सक्ने भइसक्थ्यो । म आफूभन्दा बढी आफ्नाहरुको बारे पो सोच्न थालें । माया भन्ने चीज नै यस्तै होला आफ्नो भन्दा बढी आफ्नाको चिन्ता । अन्ततः नेपाल फर्कियौं हामी ।

मलाई जसरी होस् पाँच वर्षभन्दा बढी बाँचेर आफैंलाई देखाउनु थियो । जिन्दगीको अल्टिमेटमलाई जसरी हुन्छ अलि पर धकेल्नु थियो । यसबीचमा श्रीमतीको हेरचाह, माया, स्वस्थ र पौष्टिक आहार, थप अनुशासित खानपान र जीवनशैली, सकारात्मक सोच, नियमित मेडिकल फलोअप, नियमित व्यायाम र सायद अलिकति भाग्य जस्ता कुराहरुले म दह्रो हुँदै गएँ । शरीर तगडा हुँदै गयो ।

उपचारका केही सामान्य साइड-इफेक्टबाहेक ठूलो समस्या यसबीचमा आएन । शारीरिक र मानसिक रुपमा अझ शक्तिशाली हुँदै गएँ । आयु लम्बिंदै गयो । पाँच कट्यो, जिउँदै भएँ, मरिनँ ।

मसँग मात्र सीमित रहेको त्यो पाँच वर्षको हदम्यादको रहस्य बल्ल श्रीमतीलाई भन्ने आँट आयो । भनें, एकछिन उनी रिसाइन्, गुनासो गरिन्, यत्रो ठूलो कुरो मैले उनीसँग सेयर नगरेकोमा । मैले सम्झाएँ ।

सात, आठ हुँदै आज यो विश्व क्यान्सर दिवस मनाउँदै गर्दा त एघार वर्ष पो पुगेछ । म बाँचेकै छु । पहिलेभन्दा अझ स्वस्थ छु, खुसी छु ।

जीवनप्रतिको दृष्टिकोण फेरिएको छ । बोनसको जिन्दगीलाई हरतरहले हाँसीखुसी बिताइरहेको छु । अब त म पेन्सनर पनि भइसकें । बीचमा पदोन्नतिहरु भए । छोरो पनि सोह्र वर्षको भइसक्यो,कुरो बुझ्ने भइसक्यो ।

मैले चाहेअनुसारकै जीवन पाएँ मैले । अब मात्र एकपटक कोलकातामा पुगेर ती डाक्टरलाई भेट्न मन छ र भन्न मन छ- ‘डाक्टर मलाई चिन्नुभयो ? म उही पाँचवर्षे आयुको म्याद पाएको यङ म्यान, अहिले एघार वर्षपछि तपाईंको अगाडि, स्टिल अलाइभ ।’

र अंग्रेजीमै भन्न मन छ, ‘डक्टर, आई ह्याड क्यान्सर, क्यान्सर नेभर ह्याड मी । थ्यांक यू फर एभ्रिथिङ ।’

     पाठक प्रहरी उपरीक्षक (एसपी) हुन् । जन चेतनाको लागी उहालाई धेरै धन्यबाद ,

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34