KFGVRFI34

मेहनत गरेपछि के हुड्दैन ? केहि कुरा हामी पनि उनी बाट सिक्नेकी ,,

0

धरानको घोपा क्याम्पमा २०५६ सालमा जन्मिएकी सिक्का सुवाललाई बाल्यकालमा ‘तिमी के बन्ने’ भन्दा उनी ‘खेलाडी’ भन्थिन् ।

‘मलाई विद्यालयमा कुनै शिक्षकले तिमी ठूलो भएपछि के बन्ने भन्दा म खेलाडी भन्थें’ उनी अहिले पनि स्मरण गर्छिन्, ‘मलाई खेलकुदमा लगाव थियो तर केको खेलाडी बन्ने भन्ने थाहा थिएन ।’

धरानमा जन्मे पनि उनको बाल्यकाल गोरखामा बित्यो । बुबा शिव सुवाल श्रेष्ठ बास्केटबल खेल्ने भएकाले उनले बास्केटबल पनि खेलिन् । सदरमुकामकै स्कूलमा पढ्दा दाइहरूसँग फुटबल खुब खेल्थिन् । फुटबल खेल्दा लागेको चोटको खत उनको हातमा अझै छ । ‘मलाई खेल्न नआउने हुँदा किपर राख्दिनुहुन्थ्यो’ हातको खत देखाउँदै उनी भन्छिन्, ‘केटाहरूको सट छेक्दा मेरो हातको यो कान्छी औंला नै भाँचिएको थियो ।’

८ कक्षा पढ्न उनी ललितपुरको ग्वार्कोस्थित बाल दीक्षा सदनमा भर्ना भइन् । यहाँ उनले बास्केटबल पनि खेल्न थालिन् । ८ कक्षामा पढ्दा नै उनी सहितको बास्केटबल टिमले स्कुलस्तरीय प्रतियोगितामा उपाधि नै जित्यो ।

‘मेरो रुचि आउट डोर स्पोर्टस्मा थियो । म बास्केट बल धेरै खेल्थें’ उनी भन्छिन्, ‘विद्यालयस्तरीय एलए कपमा मैले एक वर्ष भित्रमा नै उपाधि जितें ।’

तर उनको फुटबल र बास्केटबलको यात्राले लामो गति लिन सकेन । उनलाई एङ्कल इन्जुरीले सतायो । खुट्टाको दुखाइले सताएपछि उनी बास्केटबल कोर्टमा उपि|mन छाडेर साथीहरूको खेल हेर्न टेबलटेनिस हलमा छिरिन् ।

त्यहाँ उनका साथीहरूले टेबलटेनिस खेलिरहेका थिए । उनीहरूको खेल ध्यानपूर्वक नियाल्दा सिक्का टेबलटेनिस खेलाडीमा देखिएको छरितोपनले लोभिइन् ।

उनले एकटकले टेबलटेनिस हेरेको देखेर बाल दीक्षा सदनका तत्कालीन टेबलटेनिस प्रशिक्षक मोहनदास वासुकलाको ध्यान तानियो । ‘मलाई सरले तिमीलाई खेल्नुछ भने अरू ३० जना जति केटीहरू खोजेर लिएर आऊ भन्नुभयो’ उनले भनिन्, ‘उहाँलाई टेबलटेनिस सिकाउन स-साना केटीहरू चाहिएको रहेछ, म भोलिपल्ट बहिनीहरू जम्मा गरेर हलमा गएँ ।’

दोस्रो दिनबाटै बहिनीहरू घट्दै गए । तर सिक्काले टेबलटेनिस हल धाउन छाडिनन् । उनलाई बिस्तारै सोही खेलमा रस बस्यो । ‘म झुक्किएर टेबलटेनिस हलमा पुगेकी थिएँ, मलाई त्यतिबेला थाहा थिएन कि यही खेल मेरो करिअर बन्छ भनेर’, नेपालकी पूर्व नम्बर वान् खेलाडी सिक्काले भनिन् । उनी अहिले नेपालको वरीयतामा दोस्रो स्थानमा छिन् ।

राष्ट्रिय खेलाडी समेत रहिसकेका वासुकला विद्यालयमा पार्टटाइम प्रशिक्षक थिए । सिक्कामा खेलप्रतिको लगाव देखेर उनले नै सिक्कालाई अघि बढ्ने बाटो देखाइदिए । सिक्काले बालकुमारीमै रहेको ललितपुर टेबलटेनिस प्रशिक्षण हलमा पनि प्रशिक्षण गर्न थालिन् । स्कुल बिदा भएको बेला उनी दिनभरि यही प्रशिक्षण हलमै हुन्थिन् ।

दाजु र कान्छा मामाको साथमा बसेर पढ्ने भन्दै काठमाडौं आए पनि उनीहरू दुवै जनाको फिनल्याण्डको भिसा लाग्यो । काठमाडौंमा ८ कक्षा पढ्ने सिक्का एक्लै भइन् । उनले परिवारबाट पाउने ठिक्कको खर्चले धानिने चाउचाउ र चिउरा मात्रै खाएर पनि खेल र पढाइलाई सँगै अघि बढाइन् ।

अन्तर्राष्ट्रिय खुट्किलो

बालकुमारीको प्रशिक्षण हलमा उनको खेलमाथि पुरुषोत्तम बज्राचार्यको आँखा पर्‍यो । आफैं खेलाडी रहेका उनले प्रशिक्षण पनि दिन्थे । ९ कक्षा पढ्दै गरेकी सिक्कालाई पुरुषोत्तमले कक्षा १० मा छात्रवृत्ति सहित एभीएम स्कूलमा भर्ना गर्ने आश्वासन दिए ।

एक्लै बसेर काठमाडौंमा संघर्ष गरिरहेकी सिक्कालाई छात्रवृत्तिले पनि ठूलो राहत दिने हुँदा उनी तयार थिइन् र २०७२ सालमा एभीएम स्कूलमा कक्षा १० मा भर्ना भइन् ।

त्यहाँ उनले पूर्ण रूपमा टेबलटेनिसमा लाग्ने वातावरण पाइन्, ‘एक्लै बस्ने भएकाले केही फाइदा पनि थियो, म दिनमा तीन पटक प्रशिक्षण गर्थें ।’

 

एभीएममा भर्ना भएपछि स्कुलको गेटमा उनले आमाको हात समातेर वाचा गरेकी थिइन्, ‘ममी म जसरी पनि अब अन्तर्राष्ट्रिय खेलाडी बन्छु ।’

उनले त्यो वाचा पूरा गर्न धेरै समय लगाइनन् । आफ्नो मिहिनेत स्वरुप सिक्काले सन् २०१७ मा पाकिस्तानमा भएको जुनियर एसियन च्याम्पियनसिप खेलिन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । ‘२०१७ को जुनियर एसियन च्याम्पियनसिप मेरो खेल जीवनको टर्निङ प्वाइन्ट हो । त्यसपछि मैले पछाडि फर्केर हेर्नु परेको छैन ।’

सन् २०१८ मा अष्ट्रियामा दोस्रो डिभिजन लिगको लागि अफर आएको थियो । तर उनले भिसा नपाउँदा खेल्न पाइनन् । ‘मैले भिसाका कारण जान पाइनँ । त्यसमा ५०० डलर मेरो मासिक भत्ता थियो । सबै खाने-बस्ने, प्रशिक्षण उनीहरूले दिएका थिए । गएको भए मेरो जुनियरहरूका लागि बाटो खुल्थ्यो । युरोपको भिसाका कारण मैले पाइनँ ।’

उनले लगातार ३ वर्ष जुनियरका प्रतियोगिता खेलिन् । ‘कक्षा १२ पश्चात् मेरो जुनियर खेल्ने उमेर सकियो । त्यसपछि मैले झन् मिहिनेत गर्न थालें । मैले जसरी पनि सिनियर खेल्नुपर्छ भन्ने थियो ।’

उनको यो सपना पूरा हुन पनि धेरै समय लागेन । स्वेच्छा नेम्वाङलाई छनोटमा हराएपछि उनले इण्डोनेसियामा भएको एसियन च्याम्पियनसिप २०१९ मा सिनियर टिमबाट डेब्यु गरिन् । लगत्तै उनी १३औं दक्षिण एसियाली खेलकुदमा छनोट भइन् ।

१३औं सागको उनको यात्रा पनि रोमाञ्चक छ । उनले पहिलो खेल खेल्न पाइनन् । पहिलो खेलमा वैकल्पिक खेलाडीका रूपमा रहे पनि उनले दोस्रो खेलमा बंगालदेशविरुद्ध घरेलु दर्शकसामु खेलिन् ।

‘मेरा लागि १३औं साग निकै गोल्डेन मोमेन्ट हो’ उनी भन्छिन्, ‘भारत र बंगलादेशमा भएको संस्करणमा महिला टिमले पदक जितेको थिएन । एउटा ईख थियो, जसरी पनि जित्ने ।’

उनको टिममा दीक्षा तामाङ, नविता श्रेष्ठ थिए । टिम स्पर्धामा दीक्षाले हारिन् । नविताले जितेकी थिइन् । सिक्काले जितेमा नेपालको काँस्य पदक पक्का हुनेथियो ।

त्यो खेलमा सिक्का २-१ सेटमा अघि थिइन् । तर चौथो सेट बंगलादेशी खेलाडीले जितेपछि खेल मर या गरको स्थितिमा थियो । पाँचौं सेटमा पनि बंगलादेशी खेलाडी १०-६ ले अघि थिइन् । तर सिक्काले खेलमा फर्किंदै ११-१३ ले खेल जितिन् । ‘उनले जित्न हतार गरिन्, मैले केही ढिलो गरेर स्मार्ट गेम खेलें ।’ जितपछि लैनचौरको हलभरिका दर्शक उभिएर ताली बजाएको उनी अझै सम्भिmन्छिन् । ‘११-१२ थियो । मैले अन्तिम स्कोर गरेपछि हामीले पदक जित्यौं ।’

त्यो जितपछि नै आफू टेबलटेनिस खेलाडी भनेर चिनिएको उनले महसुस गरेकी छिन् । उनले भनिन्, ‘त्यो खेलबाटै हो सिक्का टेबलटेनिस खेलाडी भनेर चिनिएको !’

त्यसपछि कोभिड महामारी आयो । देश लकडाउन हुने भएपछि रातारात गोरखा गएकी उनले प्रशिक्षणलाई लकडाउन गरिनन् । ‘त्यो बेला सबै जना घरमा बस्थे म माथि-माथि दौडिन जान्थें, रोबोटसँग खेलेर अभ्यासलाई निरन्तरता दिएँ ।’

जसको फलस्वरुप उनी वरीयताको शीर्षस्थानमा पुगिन् । सन् २०२२ मा कतारको दोहामा भएको र्‍याकिङ प्रतियोगितामा उनले नेपालको पहिलो वरीयताको खेलाडी भएर प्रतिस्पर्धा गरेकी थिइन् । उनले २०२३ मा चीनमा भएको एसियन गेम्स र त्यसअघि एसियन च्याम्पियनसिप पनि खेलिन् ।

सिक्काको लक्ष्य

 

नेपाल नम्बर वान् भएकै बेलामा उनले एउटा सञ्चारमाध्यममा अन्तर्वार्ता दिंदा खेल्न जाँदा आफ्नै पैसाले टिकट काटेर गएको तर त्यो टिकटको पैसा टेबलटेनिस संघ तथा राष्ट्रिय खेलकुद परिषद् कतैबाट नपाएको भनेर दुःखेसो गरेकी थिइन् ।

त्यही विषयलाई लिएर उनले टेबलटेनिस संघका पदाधिकारीबाट गाली खाइन् । उनको करिअर सकाइदिने धम्की पाइन् । ‘म खेलिरहेकै ठाउँमा आएर मलाई एक पदाधिकारीले थर्काउनुभयो । त्यसपछि मैले ब्याटको रबर च्यातेर अब खेल्दिनँ भनेर बसेकी थिएँ ।’

सिक्काको दिमागमा टेबलटेनिस खेलेर केही हुँदैन भन्ने भइसकेको थियो । यो कुराले सिक्कालाई डिप्रेसनमा धकेल्यो । ‘मैले दुई वर्ष डिप्रेसनको औषधि खाएँ । धेरैले मलाई नाटक गर्छे भने, तर वास्तविकता फरक थियो । जुन मैले भोगेकी थिएँ ।’

औषधिकै कारण तौल बढेको र खेल्न गाह्रो भएको उनको अनुभव छ । तर डिप्रेसन लामो समय रहेन । उनले नवौं राष्ट्रिय खेलकुदमा आफूलाईर् पुनः तयार पारिन् र मैदानमा उत्रिइन् । जसको फलस्वरुप उनले नवौं राष्ट्रिय खेलकुदमा डबल्सतर्फ स्वर्ण, टिम इभेन्टमा रजत र सिंगल्समा कांस्य जितिन् । त्यो उनको करिअरको ‘रि-स्टार्ट’ भयो ।

करिअर ‘रि-स्टार्ट’ भइसकेको भन्दै सिक्का आफूलाई ‘हर्ट’ गर्ने ती पदाधिकारीको नाम लिएर फेरि विवादमा आउन नचाहेको बताउँछिन् । तर उनी यसलाई ईख लिएर खेल राजनीतिमा आउन उत्प्रेरित भएको बताउँछिन् ।

त्रिभुवन विश्वविद्यालयमा स्पोर्टस् साइन्स पढिरहेकी उनी भन्छिन्, ‘राजनीतिले मेरो जीवनमा पनि ठूलो असर पारेको छ । मपछि यसैमा आउन चाहन्छु ।’

उनी अहिले एभीएम स्कुल र स्वस्तिक श्री गुरुकुलमा टेबलटेनिस प्रशिक्षकको रूपमा पनि कार्यरत छिन् ।

‘एउटा खेलाडी हुनु र प्रशिक्षक हुनु फरक कुरा हो’, प्रशिक्षक पुरुषोत्तम बज्राचार्यको सहायक भई साना खेलाडी उत्पादनमा उनको योगदान रहने गरेको छ ।

‘सरले ६०/७० जना एक्लैले हेर्न सक्नुहुन्नथ्यो । अनि सरलाई सहयोग गर्दै जाँदा प्रशिक्षण सिकियो ।’ यही प्रशिक्षणबाट आउने पारिश्रमिक नै उनको मुख्य आम्दानीको स्रोत हो । त्यस बाहेक सिक्काले  अनलाइनमार्फत टेबलटेनिस किट्सको व्यवसाय पनि चलाउँछिन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34