KFGVRFI34

‘यस्तो शिक्षा दिएर पनि के गर्नु !’- जागिर खोज्दा जागिर पाउँदैन…………..

0

केही अभिभावकसँग कुरा गर्ने अवसर मिल्यो।

अभिभावकका बालबालिकाहरू कतिले कक्षा ९-१० मै पढाइ छाडेका थिए, कतिले एसइई सक्ने बित्तिकै पढाइ छाडेका थिए।

पढाइप्रति गुनासो पोख्दै उहाँहरूले भन्नुभयो, ‘अचेल त आफ्ना सन्तानलाई पढाउनै मन लाग्दैन।’

म आश्चर्यचकित भएँ। नेपालको विभिन्न ग्रामीण जिल्ला पुग्दा मैले देखेको थिएँ, अभिभावकलाई घर चलाउन जति नै कठिन भए पनि उनीहरूले आफ्ना सन्तान पढाउँछन्। त्यहाँ चाहिँ फरक कुरा सुनेर मैले कारण सोधेँ।

उहाँहरूले सुनाउनुभयो, ‘अब पढेर पनि के गर्नु र! खासै केही गर्न सक्दैनन्। जागिर खोज्दा जागिर पाउँदैनन्। हाम्रो पुरानो कृषिमा काम गरौं भने पढेलेखेकाहरू काम गर्दैनन्। लाज लाग्छ भन्छन्।’

पढेलेखेका मानिसहरूको अनेकन गुनासो सुनाउँदै उहाँहरूले अन्तिममा भन्नुभयो, ‘यस्तो शिक्षा दिएर पनि के गर्नु!’

शिक्षाको महत्व बुझेका तर यस्तो निष्कर्षममा पुगेका अभिभावकहरूलाई देखेर मलाई लागेको थियो, शिक्षाको उद्देश्यबारे हाम्रो नीति र कानुनका कागजमा ठूला ठूला कुराहरू छन्, शिक्षितहरूले समाजको कायापलट गर्छन् भन्ने सोचहरू छन्! दुर्भाग्य, हाम्रो शिक्षा प्रणालीले विद्यार्थी र तिनका अभिभावकलाई उत्प्रेरणा पनि दिन सकेको छैन। शिक्षाले जिन्दगीमा फरक प्रभाव पार्छ भन्ने विश्वास दिन सकेको छैन। दैनिक जीवन र भविष्यका लागि तयारी गर्न सकेको छैन।

यो त एउटा प्रतिनिधि घटना मात्र हो।

आफ्नै तहबाट केही प्रेरणादायी अभ्यास पक्कै भएका छन्। तर समग्रमा हाम्रा स्कुल, कलेज र विश्वविद्यालय हेर्ने हो भने नेपालको शिक्षा प्रणाली संकटोन्मुख भएको कुरा छर्लंग देखिन्छ।

यसले  स्थानीय र वैश्विक दुवै आवश्यकता पूरा गर्न सकेको छैन। लाखौंको संख्यामा हाम्रा युवाहरू शिक्षा र रोजगारको लागि विदेश गइरहेका छन्। देशमा बस्नेहरू आवश्यक ज्ञान, सीप र ‘माइन्ड-सेट’ नभएर बेरोजगार छन्।

शिक्षा त देशमा देखिएका अनेकन समस्याको समाधानको हिस्सा हुनुपर्थ्यो। तर यो आफैं एक ठूलो समस्या बनेको छ।

शिक्षाले त व्यक्तिमा आशा, उप्प्रेरणा, आत्मबल र व्यवहारमा लागू हुने सीप दिनुपर्थ्यो। तर मूलतः त्यस्तो भइरहेको छैन।

हाम्रा शैक्षिक संस्थाहरू केबल प्रमाणपत्र उत्पादन गर्ने यन्त्र जस्तो मात्र भएका छन्।

शिक्षालाई हेर्ने हाम्रो दृष्टिकोण सतही छ। गहिराइमा पुगेर परिकल्पना गरेका छैनौं। पुरानै ढाँचाको पाठ्यक्रम, शिक्षण सिकाइ तथा मूल्यांकन पद्धतिमा रमाइरहेका छौं।

आजको दिनमा उच्च शिक्षालाई नयाँ ढंगबाट सोच्नुपर्ने बेला आएको छ। हामीले सोच्नुपर्ने छ — एउटा व्यक्तिलाई कसरी आशा, आत्मबल र उत्प्रेरणा दिन सकिन्छ! कसरी यहाँका सम्भावनाहरू खोज्न सकिन्छ! कसरी आफू र समाजबारे सोच्ने आत्मनिर्भर र कर्मशील जनशक्ति तयार गर्न सकिन्छ!

हाम्रा शैक्षिक संस्थाहरूलाई त्यस्तो बनाउन प्रयत्न गर्नुपर्ने छ जहाँबाट स्थानीय समुदाय र विश्व बुझेका जनशक्ति तयार होऊन्। जहाँबाट सफल र समाजका लागि जिम्मेवार सदस्यहरू तयार होऊन्।

लेखक –(लेखक अर्याल किङ्स कलेजका प्रेसिडेन्ट हुन्)

ऐतिहासिक पृष्ठभूमि 

नेपालमा शिक्षाको उद्भवलाई विभिन्न चरणमा हेर्न सकिन्छ। इतिहास खोतल्दै गर्दा गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि विभिन्न ठाउँमा जाँदै उपदेश दिएका कथाहरू हामीले पाठ्यपुस्तकदेखि उनको उपदेश संग्रहित गरिएको पुस्तकहरूमा पढेका छौं।

लिच्छवि र मल्लकालीन समयमा बनेका अनेकन धरोहर हामीले देखेका छौं। र, आजको दिनमा हामीले सहजै अन्दाज गर्न सक्छौं कि मठ, मन्दिर, पाटी, पौवा बनाउन त्यो समय पनि कसैले कसैलाई सिकाएको त पक्कै थियो।

नेपालकै अरनिको सन् १२६० मा आफ्नो सीप सिकाउन सम्राट कुब्लाइ खाँको पालामा ८० जनासहित चीन गएर वास्तुकला सिकाएको कथा हामीले विद्यालयको सामाजिक शिक्षामा पढ्न पाएका थियौं।

यसरी सिक्ने र सिकाउने विभिन्न अभ्यास धेरै अगाडिबाट भएको पाइन्छ। तर यस्तो सीप कसरी सिकाइन्थ्यो भन्ने ऐतिहासिक विषयमा प्राज्ञिक अनुसन्धान भएको थाहा छैन।

आजको दिनसम्म पनि अस्तित्वमा रहेको गुरू-शिष्य परम्परामा आधारित गुरूकुलीन शिक्षा प्रणालीबाट पनि विभिन्न तहको शिक्षा प्रदान गरिएको देख्न सकिन्छ।

आधुनिक मानिने उच्च शिक्षाको सुरूआत भने चन्द्र शमशेरको पालामा सन् १९१८ मा ‘त्रिभुवन चन्द्र कलेज’ स्थापना भएर भयो। यस कलेजका लागि भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिइएको थियो।

राणाशासनको अन्त्य भएपछि नेपालमा नयाँ शिक्षाबारे अध्ययन र सिफारिस गर्न सन् १९५३ मा गठन भएको शिक्षा आयोगले एउटा विश्वविद्यालय खोल्न सिफारिस गरेको थियो। अमेरिकाको ओरेगन विश्वविद्यालयका प्राध्यापक डा. ह्यूग वी. उड शैक्षिक सल्लाहकार भएको आयोगले करिब २०० बि.सी.देखि सन् १४०० सम्ममा तक्षशीला, नालन्दा र विक्रमशिलाको आदर्शमा विश्वविद्यालय खोल्न सुझाएका थिए।

उक्त आयोगले तयार गरेको प्रतिवेदनमा लेखिएको थियो — हाम्रो जस्तो सानो मुलुकमा किसिम किसिमका स्कुल र कलेज राख्न हामीलाई पुगीसरी आउँदैन। एउटा ठूलो विश्वविद्यालयको मातहतमा हामीले एकनासेपन ल्याउनुपर्छ।

सन् १९५९ मा त्रिभुवन विश्वविद्यालय ऐन जारी गरेर त्रिभुवन विश्वविद्यालय स्थापना भयो। उक्त समयमा संसारभरि औद्योगिक क्रान्ति पश्चातको युगको लागि आवश्यक जनशक्ति तयार भइरहेका थिए। विद्यालयदेखि उच्च शिक्षासम्म सोही उद्देश्यले पाठ्यक्रम बनाइएको थियो र शैक्षिक पद्धति सञ्चालन हुन्थ्यो।

औद्योगिक युग मूलतः अर्थतन्त्र केन्द्रित थियो। यस युगमा उत्पादकहरूको मूल ध्येय विशाल परिमाणमा उत्पादन गरेर उत्पादन लागत घटाउनु थियो। यो प्रक्रिया पूर्ण नियन्त्रित र प्रभावकारितामा केन्द्रीत हुन्थ्यो।

उक्त समयको शिक्षा पनि त्यस समयको समाजको विशेषता अनुसार डिजाइन गरिएको थियो। समाज स्थिर थियो। कुनै आमूल परिवर्तन हुन दशकौं वा शताब्दी नै लाग्थ्यो। कुनै आविष्कार, ज्ञान, विचार वा दर्शन संसारभरि फैलिन धेरै वर्ष लाग्थ्यो।

त्यसैले उक्त समयको शिक्षाका उद्देश्यहरू पनि सपाट रूपमा परिभाषित थिए। ती उद्देश्य पूरा गर्ने प्रक्रिया पनि परिभाषित थियो।

शिक्षाको मूल उद्देश्य कुनै सीप वा सूचना सिकाउनु थियो। त्यस बेला सीप वा सूचनाको पहुँच सबैमा थिएन। शिक्षकसँग हुन्थ्यो। पुस्तकको माध्यमबाट शिक्षकहरू विद्यार्थीहरूलाई ज्ञान दिन्थे, सीप सिकाउँथे। ताकि ती विद्यार्थीहरू औद्योगिक युगको लागि तयार हुन सकून्। बजारमा बिक्न सकून्।

वर्तमान सन्दर्भ

विभिन्न शताब्दीहरूमा समाजमा आमूल परिवर्तनहरू आए। आजको समाज स्थिर छैन, कति बेला के परिवर्तन हुन्छ, कसैले आकलन गर्न सक्दैन। अर्को वर्ष कुन प्रविधिले के क्रान्ति ल्याउने हो, थाहा हुँदैन। संसारको कुनै कुनामा आविस्कार भएको कुनै ज्ञान, उत्पादन वा दर्शन केही दिनमै संसारभरि फैलिन सक्छ। आज भौगोलिक दुरीको खासै ठूलो प्रभाव छैन।

दुर्भाग्यवश, हाम्रो शिक्षा भने उही शताब्दीऔं पुरानो धरातलमा छ। राणा शासनबाट मुक्ति पाएपछि हामीले सात दशकभन्दा लामो नेपालकै इतिहास हेर्ने हो भने अनेकौं परिवर्तन र प्रयोगहरू भएका छन्। विभिन्न राजनीतिक दर्शनहरू उदाए, अस्ताए, परिमार्जित हुँदै गए। अर्थतन्त्रमा पनि विभिन्न प्रयोगहरू भए। हाम्रा सडक, गल्ली, बजार र टोलहरू परिवर्तन भए। हाम्रो व्यवसाय, उद्यम, रोजगारीका क्षेत्रहरू परिवर्तन भए। हाम्रो परिवार र समुदायका मूल्य र मान्यताहरू परिवर्तन भए।

सात दशकभन्दा बढी क्यालेन्डर फेरिँदा पनि हाम्रो शिक्षाको शैली भने मूलतः उस्तै छ।

शिक्षा क्षेत्रले पक्कै पनि भौतिक रूपमा छलाङ मारेको छ। टोनी हेगनको डकुमेन्ट्रीमा देखिने खुला चौरमा सञ्चालित कक्षाको ठाउँमा ठूला ठूला भवन बनेका छन्। विद्यार्थीले होमवर्क वा क्लासवर्क लेख्न स्लेट र खरीको ठाउँमा कापीहरू आए। पछिल्लो समय कम्प्युटर र स्मार्टफोन आएका छन्। कक्षाकोठा अगाडि पुरानो ब्याट्रीभित्रको कालो म्यान्गनिज डाइअक्साइडले पोतिने कालो पाटी र धूलैधूलो निस्किने खरीको ठाउँमा ह्वाइट बोर्ड र मार्कर आएका छन्। कतै प्रोजेक्टर त कतै स्मार्ट बोर्ड आएका छन्।

समग्रमा शिक्षाले प्रवर्द्धन गर्न खोजेको कुरा उस्तै छ — विषयवस्तुको बुझाइ र त्यसका लागि लेखन परीक्षा।

केही विषयमा केही अंकको व्यावहारिक परीक्षा पनि छन् तर कतिपय ती पनि लेखनमा नै आधारित छन्। बुझाइ, विश्लेषण र संश्लेषण, जे भने पनि ती विषयवस्तुहरू ज्ञानको पुनरावृत्ति मात्र हुन्।

हाम्रो समग्र शिक्षामा गराइ र सोचाइ भने प्रवर्द्धन नै गरिएन। अठारौं शताब्दीका युरोपियन थोमस माल्थसको सिद्धान्त रटाइयो, विश्लेषण र संश्लेषण गराइयो। तर आफ्नो परिवार र टोलको जनसंख्या र अर्थतन्त्रमा सोच्न लगाइएन। कुनै सिर्जनात्मक कामको अनुभव दिइएन।

छोटकरीमा भन्दा सिकाइ, सोचाइ र गराइमा होइन, पढाइमा ध्यान दिइयो।

‘सा विद्या या विमुक्तये’ भन्दै विद्याको लक्ष्य मुक्ति वा स्वतन्त्रतासँग जोडिएको पाइन्छ। तर हाम्रो शिक्षा स्वतन्त्रता उन्मुख छ जस्तो नै लाग्दैन।

पढाइले व्यक्तिलाई कस्तो सोच्ने र गर्ने बनायो भनेर प्राज्ञिक अनुसन्धान भएको थाहा छैन। तर दैनिक अनुभवको आधारमा हेर्दा लाग्छ — आजको पढाइले मानिसलाई समाजबाट टाढा बनायो, दम्भी बनायो। अवसर देख्नेभन्दा पनि समस्यामै अल्झेर गनगन गर्ने बनायो। आफ्नो पहलकदमीमा केही गर्नेभन्दा पनि कुरा काट्दै बस्ने र गफ हान्ने बनायो। आफूले अरूलाई केही दिनेभन्दा पनि सधैं अरूसँग अपेक्षा गर्ने मात्र बनायो।

हाम्रो समाजलाई आजको दिनभन्दा चेतना र कर्मको तहमा अगाडि लैजान सकिन्छ। आफ्नो धरातलमा आधारित र विश्वसँग जोडिएको विकसित र समृद्ध बनाउन सकिन्छ। कतिपय समृद्ध मुलुकले यस्तो गरेर देखाएका छन्। यसका लागि परिवर्तन सुरू गर्नुपर्ने एउटा महत्त्वपूर्ण ठाउँ हो शिक्षा।

यो लेखमा मैले आजको दिनमा उच्च शिक्षाको उन्नयनका लागि परिकल्पना गरेर व्यवहारमा लागू गर्नुपर्ने केही विचारहरू प्रस्तुत गरेको छु।

विगत २४ वर्षको मेरो उच्च शिक्षाको अनुभव र अध्ययनको आधारमा आजको सन्दर्भमा हाम्रो उच्च शिक्षालाई आधारभूत रूपमै पुनः परिकल्पना गर्नुपर्ने देखिन्छ। अब विश्वविद्यालयको मोडल र तिनले सञ्चालन गर्ने कार्यक्रममा विविधता हुनुपर्छ। विद्यार्थीहरूको चाहना र समाज-बजारको आवश्यकताका आधारमा फरकफरक मोडलमा शैक्षिक संस्थाहरू सञ्चालन हुन आवश्यक छ।

विविधताको आवश्यकता

आजको दिनमा पनि सन् १९५३ मा गठित शिक्षा आयोगले दिएको सिफारिसकै आधारमा हाम्रो उच्च शिक्षा सञ्चालन भएको देखिन्छ। काठमाडौंको कीर्तिपुरमा स्थापित त्रिभुवन विश्वविद्यालयको देशभरि हजारभन्दा बढी आंगिक क्याम्पसहरू छन्। सबै क्याम्पसमा विषय अनुसार समान पाठ्यक्रम पढाइन्छ र एकै समयमा समान रूपले परीक्षा लिइन्छ। नेपालका विविध विशेषता बोकेका चार कुनाका जिल्लाहरू झापा, ताप्लेजुङ, हुम्ला र कञ्चनपुरमा पढाउने कुरा, शैली र जाँच्ने परीक्षामा केही भिन्नता छैन।

आफ्नो क्षेत्रको सान्दर्भिक शिक्षा डिजाइन गर्ने हेतुले मोरङको गोठगाउँमा खुलेको पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस पूर्वाञ्चलमा भन्दा पनि काठमाडौंमै बढी छन्। पढाइने विषय र तरिकामा पनि त्रिभुवन विश्वविद्यालयभन्दा तात्विक फरक छैन।

हाम्रा विश्वविद्यालयहरू यसरी औद्योगिक युगको ‘मास प्रोडक्सन’ मोडलमा नै चलेका छन्। अब यसमा विविधता खोज्ने मोडलहरूका लागि सरकारले पहल र सहजीकरण गर्नैपर्छ।

विश्वविद्यालयलाई सम्बन्धन दिने निकायका रूपमा मात्र होइन, ‘इन्डिपेन्डेन्ट’ क्याम्पसहरूको रूपमा पनि परिकल्पना गरेर सञ्चालन गरिनुपर्छ।

विविधता सम्बोधन हुने गरी विश्वविद्यालयका फरक मोडल हुन सक्छन्। विश्वविद्यालयभित्र पनि कार्यक्रमका विविध मोडलहरू हुन सक्छन्।

पहिलो ध्यान दिनुपर्ने पक्ष हो — भूगोल र समाज अनुसार पाठ्यक्रममा विविधता।

हिमाल, पहाड र तराईका फरक विशेषता र आवश्यकताहरू छन्। यी ठाउँमा खाना, व्यवसाय, संस्कृति, प्रकृति पनि पृथक छन्। यही विविधता सम्बोधन गर्ने गरी विश्वविद्यालयका विविध मोडलहरू हामीले सोच्नुपर्छ।

यसका लागि म उदाहरण दिन्छु।

पूर्वी पहाडमा चिया र अलैंचीका लागि धेरै सम्भावना छ। तराईमा आँप, धानको सम्भावना छ। मध्य पहाडमा स्याउ, पैदल यात्रा सम्बन्धी पर्यटनको सम्भावना छ। काठमाडौं वास्तुकलामा धनी छ। धनुषा मिथिला सभ्यताको मुहान हो। यी फरक ठाउँमा फरक आवश्यकता र सम्भावनाहरू छन्।

पूर्वी पहाडमा चिया सम्बन्धी अध्ययन र अनुसन्धान हुँदा त्यसले समग्र समाजलाई नै फाइदा पुर्‍याउँछ। विश्वविद्यालयले चियाको बजारीकरण, उत्पादन, नवप्रवर्तन सम्बन्धी केही ज्ञान सिर्जना गर्न सक्यो भने त्यसले त्यहाँका मानिसको जीवन र समग्र देशकै अर्थतन्त्रमा प्रभाव पार्छ। मिथिला सभ्यताको अध्ययन, अनुसन्धान, चिन्तन गरेर त्यसलाई आधुनिक युगमा प्रस्तुत गर्ने आकर्षण तरिका विश्वविद्यालयले सिर्जना गर्न सक्यो भने त्यसले समाजको लागि ठूलो योगदान पुर्‍याउँछ।

करिब बीस वर्षअगाडि चितवनको सौराहा जाँदा राप्ती नदीमा मैले ‘एलिफेन्ट बाथिङ’ देखेको थिएँ। एउटा हात्तीले आफ्नो सुँढले पानी उठाएर मान्छेमा हाल्छ र त्यसका लागि विदेशी पर्यटकले पैसा तिर्छन्। केही वर्षअगाडि म चितवन जाँदा पनि त्यही कुरा देखेँ।

यो क्रियाकलापसँग हाम्रो शिक्षाले कहिल्यै सरोकार राखेन। हामीसँग राप्ती नदी छ, हात्ती छन्, माउतेहरू छन्। तर बीस वर्षअगाडि जे गरिन्थ्यो, त्यसमा नयाँ ‘भ्यालु’ जोड्ने काम हामीले गर्न सकेनौं।

अब शिक्षा यस्ता गतिविधिसँग पनि जोडिनुपर्छ। ५ डलर आउने क्रियाकलापमा के जोड्यो भने ५० डलर वा ५ सय डलर आउन सक्छ भनेर अनुसन्धान गरिनुपर्छ।

पोखरा जाँदा फेवातालको किनारमा एउटा सरकारी निकायका एक सदस्यले मादल बेच्न खोज्दै मलाई भने, ‘हाम्रो संस्कृति बचाउन भए पनि यो मादल किनिदिनुपर्‍यो।’

नेपालको ‘युनिक’ बाजा एउटा मादल पनि हो। तर मादलको स्वरूप आजभन्दा कैयौं वर्षअगाडि जस्तो थियो, आज पनि त्यस्तै छ। त्यसको आकार, प्रकार, रङ आदिमा नयाँ प्रवर्तन गर्न सक्ने हो भने त्यसको ‘भ्यालु’ बढ्छ। पर्यटकहरूलाई आकर्षण गर्न सक्छ।

भक्तपुर र देशका विभिन्न ठाउँमा पुग्दा माटाको भाँडा बनाएको देख्छु। केही दशकमा हामीले हाम्रो ठाउँमा बनाएको माटोको भाँडा हेर्ने हो भने तात्विक फरक छैन। उस्तै प्रविधिबाट चीनबाट फरक रङ र आकारका माटाका भाँडाहरू नेपाल भित्रिन्छन्। हाम्रो माटाको भाँडा बनाउने प्रविधिमा विश्वविद्यालयले अध्ययन, अनुसन्धान र प्रयोग गर्ने हो, चीनजस्तो उत्पादन गर्न सकिने तरिकाहरू पत्ता लाएर प्रयोग गर्ने हो भने हाम्रैमा नयाँ उद्यमहरू निस्किने छन्। पैसा बाहिरिने छैन।

हामीसँग विभिन्न भूगोलमा संस्कृति, व्यापार, ज्ञान फरकफरक छन्। हामीसँग फरक गीत, संगीत, खाना, वेशभूषा, भाषा छन्। कतिपय देशले ती फरक पहिचान बोकेका पक्षलाई अर्थतन्त्रसँग जोडेका छन्। पर्यटकलाई आकर्षित गरेका छन्। सानो भूगोलमा हाम्रो जस्तो विविधता साँच्चिकै आकर्षक छ। अब यो विविधताको अध्ययन, अनुसन्धान, प्रयोग, आविष्कार विश्वविद्यालयमा हुनुपर्छ।

समाज र विश्वविद्यालय जोडिने हो भने त्यसले सबैलाई सहयोग पुर्‍याउँछ।

सबभन्दा महत्त्वपूर्ण कुरा, उक्त प्रक्रियामा विद्यार्थीहरूले आफ्नो समुदायलाई नजिकबाट चिन्छन्। चिनेपछि समानुभूति बढ्छ। यो प्रक्रियाले उनीहरूको सीप विकास गर्छ। अनि आफ्नै ठाउँमा अवसरहरू खोज्न सक्छन्। अरू ठाउँ गए भने पनि उक्त सीप उपयोग गर्न सक्छन्।

उदाहरण हेरौं।

अमेरिकामा करिब एक सय वर्षअगाडि खुलेको युनिभर्सिटी अफ सिनसिनाटी को-अपरेटिभ मोडलमा सञ्चालित छ। यसमा पहिलो वर्ष विद्यार्थीहरू विश्वविद्यालयमा सिक्छन्, दोस्रो वर्ष उद्योगमा गएर सिक्छन्, तेस्रो वर्ष विश्वविद्यालयमा नै र चौथो वर्ष फेरि उद्योगमा गएर सिक्छन्।

यहाँ मैले भन्न खोजेको कुरा हाम्रो समाजमा रहेका विविध स्रोत, साधन, कला, संस्कृति र सम्भावनाबाट सिकेर त्यसमा नयाँ प्रविधि र प्रयोग गरेर भ्यालु जोड्दै तथा विस्तारित गर्दै जानु आवश्यक छ। यसका लागि समुदायसँग गहन रूपमा बुझ्दै सहकार्य गर्ने शिक्षा डिजाइन गरिनुपर्छ।

ध्यान दिनुपर्ने दोस्रो विषय हो — विश्वविद्यालयको आकारमा विविधता।

विश्वविद्यालय भन्ने बित्तिकै हाम्रो लागि त्रिभुवन विश्वविद्यालय जत्रो लाखौं विद्यार्थीहरू अध्ययन गर्ने संस्था भन्ने चित्र आउन सक्छ। तर विद्यार्थी संख्याभन्दा पनि प्रभावको कोणबाट हेरिनुपर्छ। विश्वविद्यालय ठूलै हुनुपर्छ भन्ने छैन। सानो सानो विशिष्टिकृत एकाइलाई पनि प्रवर्द्धन गर्नुपर्छ। विश्वविद्यालय भीमकाय स्वरूपको मात्र हुनु हुँदैन।

सन् २०१२ मा म अमेरिकाको केन्टुकेस्थित बेअरिया कलेज पुगेको थिएँ। उक्त समयमा कलेजमा करिब २ हजार ६ सय विद्यार्थीहरू पढ्थे। भर्ना भएका ती सबै विद्यार्थी कलेजभित्रै काम गर्थे। उनीहरूले कलेजको ‘ट्युसन फी’ तिर्नुपर्दैन थियो।

उनीहरू फर्निचर बनाउनेदेखि लिएर पेन्टिङ गर्ने जस्ता काम गर्थे। त्यसलाई समुदायसँग जोड्ने काम चाहिँ कलेजले गर्थ्यो।

यो एउटा उदाहरण मात्र हो। विभिन्न देशमा सानो एकाइका ‘इन्डिपेन्डेन्ट’ कलेजहरू छन्। जस्तैः अमेरिकास्थित डार्टमथ कलेज, भारतको हैदरावादस्थित इन्डियन स्कुल अफ बिजनेस, आदि।

विभिन्न देशमा आफ्नो प्रयोजन अनुसार विभिन्न युनिभर्सिटीहरू छन् — रिसर्च युनिभर्सिटी र एप्लाइड साइन्सेस युनिभर्सिटी।

हाम्रोमा पनि विभिन्न प्रयोग गर्ने साना साना मोडलहरू खुल्ने नीतिगत व्यवस्था गर्नुपर्छ।

तेस्रो, संकायमा विविधता।

स्थापनाको क्रममा रहेको नेपाल विश्वविद्यालयले ‘लिबरल आर्ट्स’ मोडलमा आफ्ना संकाय सञ्चालन गर्ने हामीले थाहा पाएका छौं। हो, हामीले यस्ता विभिन्न संकाय जोडिने मोडलहरू कार्यान्वयनमा आउने गरी सोच्नुपर्छ। यसका लागि केही तरिकाहरू हुन सक्छन्।

एउटा, विद्यार्थीहरूलाई रूचिको भए फरकफरक संकायका कोर्स अध्ययन गर्न पाउने अवसर।

जस्तै — कसैले फिजिक्स पढ्दा पढ्दै धर्म वा साहित्य पनि पढ्न पाउने भयो। वा, सूचना प्रविधि पढ्दा पढ्दै व्यवसाय पनि पढ्न पाउने भयो।

अर्को, विभिन्न संकायका विद्यार्थीबीच सहकार्यको अवसर।

जस्तै — विज्ञान पढेका विद्यार्थीहरूले आविष्कार गरेका कुरालाई नयाँ स्वरूप दिने काम कला पढेका विद्यार्थीहरूले गर्छन्। त्यसको बजारीकरण र प्रवर्द्धनको काम वाणिज्य पढिरहेका विद्यार्थीहरूले गर्छन्।

इञ्जिनियरिङ पढेकाले इञ्जिनियरिङ मात्र पढ्न पाउनुपर्छ वा साहित्य पढेकाले साहित्य मात्र पढ्न पाउनुपर्छ भन्ने तर्कमा कुनै तुक छैन। रूचि र क्षमता हुँदा सबै प्रकारमा विषयहरू पढ्न मिल्ने वातावरण विश्वविद्यालयले तयार गर्नुपर्छ।

चौथो हो, समय र अवधिमा विविधता।

विश्वविद्यालयलाई परिकल्पना गर्दा परम्परागत रूपमै बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुने तवरले सोच्नु हुँदैन। फरक तरिकाले सोचिनु आवश्यक छ। कार्यक्रमहरू सञ्चालन गर्दा पूर्णकालीन विद्यार्थीहरूका लागि एउटा मोडल हुन सक्ला भने व्यवसाय वा पेसा गरिरहेकाहरूका लागि फरक मोडल हुन सक्ला। यसको त नेपालमा पनि विभिन्न अभ्यासहरू भएका छन्।

युरोपमा विद्यार्थीहरूको समयलाई मध्यनजर गर्दै एक वर्षको स्नातकोत्तर र तीन वर्षको स्नातक कार्यक्रमहरू सञ्चालन गरिन्छ। हामीले पनि समुदायको आवश्यकता, विद्यार्थीहरूको रूचि र आवश्यकता आदिलाई ध्यानमा राख्दै समय र अवधिमा विविधता र लचकता अपनाउनु आवश्यक छ।

अन्त्यमा, नेपाल आफैंमा विविधताले भरिएको बहुलवादी समाज हो। यो कुरा हाम्रो विश्वविद्यालयको मोडलमा पनि झल्किनुपर्छ। पुराना विश्वविद्यालयलाई यी विविधता सम्बोधन गर्ने गरी परिमार्जन गर्नु आवश्यक छ र नवप्रवर्तन गर्न खोज्ने विविध मोडेललाई पनि स्वागत र प्रोत्साहित गरिनु र उनीहरूको विकासमा सहजीकरण गरिनु आवश्यक छ।

विविधताको सम्मान र अभ्यास लोकतन्त्रको एक अति महत्त्वपूर्ण मूल्य हो। अब विश्वविद्यालयको आधारभूत परिकल्पना पनि यही लोकतान्त्रिक मूल्यको आधारमा टेकेर गरिनुपर्छ।

अब समग्र उच्च शिक्षालाई मार्गदर्शन गर्ने नयाँ ‘उच्च शिक्षा ऐन’ आउन लागेको छ। यस ऐनमार्फत शिक्षामा विविध मोडलको ढोका खोल्न सक्नु शैक्षिक उन्नयनका लागि नयाँ अवसर हुनेछ। यसका लागि देशभित्र र बाहिर रहेका ऊर्जाशील नेपालीहरू जोडिन सक्ने छन्।

विश्वविद्यालयको मोडल वा त्यसले सञ्चालन गर्ने कार्यक्रम र तरिकामा मात्र विविधता भएर पुग्दैन। त्यसका लागि महत्त्वपूर्ण आधार हुन्- मूल्यांकन र शिक्षण सिकाइ प्रक्रिया। यी दुई पक्षमा विविधता नअपनाए कुनै पनि मोडलबाट आउने उपलब्धिमा तात्विक फरक पर्ने छैन।

यो शृंखलाको अर्को लेखमा म शिक्षण सिकाइ र  मूल्यांकनबारे विस्तृतमा कसरी विविध अभ्यास गर्न सकिन्छ भन्ने विषयमा आफ्ना विचारहरू प्रस्तुत गर्नेछु।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34