उनी जहाँ रात बिताउँछन् त्यहाँ अनिवार्य रूपमा रातो लालटिन बाल्नुपर्ने हुन्छ।
आफ्ना फिल्ममा रङ संयोजनको कलात्मक जादू देखाउने निर्देशक यिमुको यो फिल्मले दर्शकको आँखा लोभ्याउँछ।
यो एउटा घरको कथा हो। एउटा यस्तो घर जुन पुर्खौंदेखि अनौठो रितमा चल्दै आएको छ।
दरबारिया ठाँटबाँटसहितको यो घर मालिकको चौथो श्रीमती (खरिद गरिएकी) बनेर १९ वर्षे युवती सोंग्लिया प्रवेश भएसँगै यहाँका अनौठा चालचलन र तौरतरिकाबारे जानकारी मिल्छ। यसमध्ये लालटिनसँग जोडिएको यहाँको अभ्यास सबभन्दा रोचक छ।
यहाँको घरमूलीले कुन श्रीमतीसँग रात बिताउनेवाला छन् भन्ने जानकारी यही लालटिनले दिन्छ। श्रीमानको सोख के भने, उनी जहाँ रात बिताउँछन् त्यहाँ अनिवार्य रूपमा रातो लालटिन बाल्नुपर्ने हुन्छ। यसबारे सबै श्रीमतीहरुलाई भेला गराएरै जानकारी दिने चलन हुन्छ। जुन श्रीमतीको क्वार्टरमा लालटिन बल्यो, उनै अरूको नजरमा सुखी र शक्तिशाली हुन्छिन्।
यहाँ हरेक श्रीमतीका लागि भौतिक सुविधा बराबर भए पनि मानसिक रूपमा सबभन्दा सुखी वा दुःखी को छ भन्ने कुरा लालटिनमा निर्भर छ। अर्को महत्वपूर्ण कुरा, सुखी वा दुःखी जे भए पनि यहाँका मानिस चुप छन्। यहाँका नियम तोड्ने दुस्साहस कोही गर्दैनन्।
बुबा बित्नुअघिसम्म विश्वविद्यालयमा पढ्ने सपना बोकेकी सोंग्लिया शिक्षित छिन्। राम्रो वा नराम्रो छुट्ट्याउने र त्यसबारे प्रश्न गर्ने उनको स्वभाव छ। तर यो नयाँ घरको नियमले उनलाई पनि नबोल भन्छ।
फिल्मको केन्द्रमा सोंग्लिया छन्। उनीसँगै यसमा भएका अन्य तीन श्रीमतीमार्फत् महिलाका भावना र भोगाइ सूक्ष्म चित्रण गरिएको छ। अवोधपन, निराशा, आक्रोश, जिज्ञासा र जलनका किस्साले भरिएको यो फिल्मले चीनका महिलामाथिको वैधानिक शोषण देखाउँदै केही प्रश्न पनि जन्माउँछ।
मुख्य पात्र आफ्नो निर्दोषपन र कुण्ठालाई हाउभाउमा अभिव्यक्त गर्न सफल छिन्।
‘रेज द रेड ल्यान्टर्न’ सु तोंगको उपन्यास ‘वाइभ्स एन्ड कन्कुबाइन्स’ मा आधारित छ।
अंग्रेजी सबटाइटलमा हेर्नुहोस् ‘रेज द रेड ल्यान्टर्न’https://youtu.be/BMwHE8Po-oc