मसानघाट पनि छोडेननौ तिमीहरुले ….?
सिद्धार्थनगर नगरपालिका वडा नं १० साबिकको भुजौली ७ (क) कित्ता नं. ६१ को जग्गा अर्घाखाँचीको साविक मैदान गाविस– ५ बस्ने फर्सुराम घिमिरेले आफ्नो नाममा दर्ता गरेका थिए ।
घाटको रूपमा रहँदै आएको जग्गा फर्सुराम घिमिरेले जालसाजी गरी आफ्नो नाममा दर्ता गरेकोले प्रचलित ऐन बमोजिम आवश्यक कारवाहीको माग गर्दै आमा समाज सिद्धार्थनगरले गत असोज ८ मा प्रशासन कार्यालयमा निवेदन दिएको थियो । निवेदन पछि कार्यालयले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा मालपोत कार्यालय भैरहवाको चलानी नम्बर २३५६ मिति २०८०/०६/१४ को पत्रबाट उक्त जग्गा फर्सुरामको नाममा कम्प्युटर इन्ट्री भएको देखिएको थियो । तर, उनको नाममा उल्लेखित कित्ता भएको जग्गाको जग्गाधनी स्रेस्ता नभएको, कम्प्युटर अभिलेखमा उक्त जग्गा प्राप्तिको श्रोत हेर्दा २०७१/११/२८ मा रसिद नं. ३३७९ भई राजीनामा पास भएको पाइएको कार्यालयले जनाएको छ ।
उक्त रसिद नं. र मितिमा अन्य व्यक्तिको जग्गाको कारोबार भएको र फर्सुरामको फोटो सहितको प्रिन्ट जग्गाधनी पुर्जामा स्रोतको रूपमा उल्लेख गरिएको थियो । २०७०/०१/२८ मा रसिद नं. ११ क भई राजीनामा पास भएको उल्लेख भएकोमा उक्त रसिद नं. र मितिमा अर्को व्यक्तिको जग्गाको कारोबार भएको थियो ।
सार्वजनिक जग्गा व्यक्तिको नाममा लैजान जग्गाको अभिलेख र कार्यालय समेत परिवर्तन गरिएको अनुसन्धानमा खुलेको छ । कम्प्युटर इन्ट्रीको हिस्ट्री डिटेल्सबाट साविक सेमलारको जग्गाको अभिलेख परिवर्तन गरी भुजौली एवं कार्यालय समेत परिवर्तन गरी मालपोत कार्यालय भैरहवा बनाइएको थियो ।
उक्त जग्गाको इन्ट्री कार्यालयबाट नभएको अनुसन्धानमा खुलेको छ । उक्त जग्गा सिद्धार्थनगर नगरपालिका वडा नं. ४ र १० का स्थानीयले घाटको रूपमा प्रयोग गर्दै आएका छन् ।
नापी कार्यालय रुपन्देहीबाट प्राप्त जग्गाको फिल्ड बुक पाना, प्लट रजिष्टर उतार र कम्प्युटर नक्सा प्रिन्टबाट समेत उक्त जग्गा पर्ति जग्गा भएको पुष्टि भएको छ । मालपोत कार्यालय भैरहवा, नापी कार्यालय भैरहवा र सिद्धार्थनगर नगरपालिका ८ नं. वडा कार्यालयले पनि उक्त जग्गा सार्वजनिक भएको जानकारी दिएका छन् ।