KFGVRFI34

नेपालमा नयाँ-नयाँ कुराहरु त्यो फोस्रा र अर्थहीन नै किन नहोस खुबै बिक्ने गरेको छ।

0

बच्चाहरुले जस्तो सिके त्यस्तै जीवन जिउँछन् ! यहाँ हामीले नेपालमा स-साना नानीहरुलाई सिकाइरहेको यौटा ताजुब लाग्दो संस्कारसँग जोडेर हेर्न खोजेको छु । अरुलाई जे-जस्तो लागे पनि मलाई चाहिं यो ताजुब लाग्ने विषय भएको छ । तथापि समाजको कुनै कुनाबाट पनि यो विषयका प्रति चासो दिइएको चाहिं देखिएन ।

अब प्रसंग सुरु गरौं । हालसालै मैले नेपालमा कार्यरत ५०-६० भन्दा बढी माध्यमिक र उच्च माध्यमिक विद्यालयका शिक्षकहरुका लागि यौटा सामूहिक अन्तरक्रिया एवम् अभिमुखीकरण कार्यक्रमको सहजीकरण गरेको थिएँ । अरु कुराको अतिरिक्त यस कार्यक्रमले अन्तर्राष्ट्रिय ‘टिचिङ एण्ड लर्निङ’का असल अभ्यासहरूका बारे शिक्षकहरुलाई जानकारी गराउने पनि लक्ष्य लिएको थियो ।

केस स्टडीको रुपमा सिंगापुर, कोरिया, जापान र फिनल्यान्डका असल अभ्यासहरूको बारे चर्चा गरिएको थियो । यससँगै नेपालका विद्यालयहरुमा विद्यार्थीले अक्सर उत्कृष्ट नतिजा ल्याउन नसकेको विषयहरु के के हुन्, त्यसको कारण के हुनसक्छ र समाधान के भनेर खोतल्ने प्रयास पनि गरिएको थियो ।

अन्तरक्रियाको क्रममा सामुदायिक विद्यालयहरुको हकमा साइन्स र म्याथम्याटिक्स र निजी/संस्थागत विद्यालयहरुको हकमा नेपाली र सामाजिक विषयहरुमा विद्यार्थीले राम्रो नतिजा ल्याउन नसकेको विषयको रुपमा पहिचान गरिएको थियो ।

अरु प्रत्येक विषयमा जस्तै नेपालीमा समेत विद्यार्थीले राम्रो गर्न नसक्नुको कारण के होला भनेर चाखलाग्दो छलफल गरेका थियौं । छलफलमा धेरै कुरा उठेका थिए । तर सारमा भन्ने हो भने शिक्षकहरुको उत्प्रेरणामा कमि, नेपाली विषय पढाउने सिर्जनशील सीप र शैलीको अभाव लगायत कुराको प्रस्टै भूमिका त देखिन्थ्यो नै ।

एकजना गुरुले उदाहरणको रूपमा भन्नुभयो कि नेपाली भाषामा रहेको आदरार्थी शब्दहरुको भेद बताउन पनि मुश्किल छ । यो कुराले मैले धेरै समयदेखि समस्याको रुपमा देखेको यौटा नयाँ संस्कारको विषयलाई टच गरेको थियो ।

प्राइमरी विद्यालय र खासगरी प्राइभेट स्कुल वा मन्टेसरीहरुले स-साना नर्सरी वा केजीका बाबुनानीलाई समेत ठूलालाई जस्तै हजुर, तपाईं जस्तो आदरार्थी शब्द प्रयोग गर्नुपर्छ भनेर एड्भोकेसी गरिरहेको कुरा मलाई सही लागिरहेको थिएन । यसलाई मैले समस्याको रुपमा लिने गरेको थिएँ ।

छलफलकै क्रममा मैले शिक्षकहरुलाई उहाँहरुको धारणा बुझ्ने हिसाबले अलि घुमाउरो पाराले यौटा प्रश्न सोधें । मैले सोधें कि उहाँहरु बच्चा/विद्यार्थीलाई कत्तिको स्नेहपूर्ण व्यवहार गर्नुहुन्छ, बच्चालाई कहिल्यै कुनै पनि कारणका लागि गाली गर्ने गर्नुभएको छ आदित्यादि । र त्यसपछि मैले मेरो मुख्य प्रश्न सोधें कि- उहाँहरुले साना बाबुनानीलाई हजुर, तपाईं भनेर भन्ने गर्नुभएको छ कि छैन ? किनकि यो त नेपालमा अहिले सर्वस्वीकृत प्रचलन भएको छ । सुरुमा त धेरै शिक्षकहरुले आफूले पनि त्यसो गर्ने गरेको बताउनुभयो । छलफल लम्ब्याउँदै मैले सोधें कि त्यो शिष्टाचारको शैली कत्तिको ठिक हो ?

कृत्रिम कुरा, सिकाइ र व्यवहारमा सामञ्जस्य नभएको कुरा बच्चाहरुलाई सिकाउनै हुँदैन । मूल्यको अन्तरद्वन्द्वका बीच बाँचेका वा हुर्केका बच्चा वा किशोर-किशोरीमा तत्काल वा दीर्घकालमा तमाम खाले मनोवैज्ञानिक समस्या देखिने गरेको कुरा अध्ययनहरुले देखाएको छ

सुरुमा त धेरैले त्यो चलन ठिक हो भन्ने जस्तो गर्नुभयो, तर मैले छलफलमा उठाएका प्रश्नहरुको खास मनसाय बुझ्दै गएपछि उहाँहरुमा पनि सन्देह देखिन थाल्यो । अन्त्यमा मैले यो चलन वा तरिका ठीक छ भन्नेहरुले ‘हात उठाउनुस्’ भनेपछि त्यसको समर्थनमा हात उठाउनेमा जम्मा २ जना मात्र देखिनुभयो । यसको अर्थ यो चलन ठिक थिएन भन्ने पक्षमा १-२ जनालाई छोडेर प्राय: सबै शिक्षकहरु देखिनुभयो ।

यो नयाँ मोडर्न संस्कार नेपालमा भित्र्यायो कसले ? के सोचेर भित्र्यायो, त्यो त मलाई यकिन छैन । तैपनि नेपालमा नयाँ-नयाँ कुराहरु त्यो फोस्रा र अर्थहीन नै भए पनि खुबै बिक्ने गरेको छ । त्यस्तैमा कसैलाई लाग्यो होला, ठूलालाई चाहिं हजुर, तपाईं भन्नुपर्ने सानालाई नपर्ने ? यो त भेदभाव भयो । यहाँ पनि समानता ल्याउनुपर्छ, केही सिर्जनशील काम गरे जस्तो पनि हुन्छ । अनि कसैले कतै शुरु गर्‍यो, पछि पूरै देश त्यो कुरा फलो गर्न लागिपर्‍यो ।

कसैले के, किन, कसरी, ठिक वा बेठिक सोच्दै सोचेन । हाम्रो यहाँ ठीक कि बेठीक सोचिरहन कसैलाई फुर्सद नै छैन । त्यो गरिरहन कसैले आवश्यक नै देख्दैन । त्यो गर्नपट्टि लागेर कसैले आफूलाई फाइदा नै देख्दैन ।

नयाँ कुराको आत्मसात् गर्नुअघि के गर्नुपर्छ भन्ने कुनै विधिविधान केही छैन । यही त हो जसका कारण, नेपाली समाज एकदम दिशाहीन हुँदै गएको छ, विभिन्न खालको अन्तरविरोधमा फस्दै गएको छ । यस्तो कुरा मार्फत हामीले जानी-नजानी बच्चाको अन्तर्मनमा मूल्यको अन्तरद्वन्द्व इन्जेक्ट गरिरहेका छौं, जो बच्चाहरुको बहुआयामिक व्यक्तित्व विकासका लागि घातक हुनसक्छ ।

यसका पछाडि समस्या धेरै छन् । ल मानौं स्कुलले सुरु गर्‍यो- ठिक छ, बाबुआमाले पनि जसोतसो स्कुलको सिको गर्लान्, त्यो पनि रिसाएको बेलामा त कुन्नि! तर घरका सबैले, छिमेकका अङ्कल आन्टीले पसलको आन्टीले सबैले सधैं उसै गरी साना बाबु-नानीलाई हजुर, तपाईं भनेका हुँदैनन्, नभन्न सक्छन् । त्यस्तो स्थितिमा बच्चा फेरि कन्फ्युज हुनजान्छ । यसले उनीहरुलाई धेरै मनोवैज्ञानिक समस्या दिएको पनि हुनसक्छ ।

ठिक छ, साना नानीबाबुसँग रमाइलो पनि हुन्छ, भनिदिए हुन्छ-हजुर, तपाईं । तर कहिलेसम्म भन्नुहुन्छ? उनीहरु जब १०, १५ या १८ वर्षका हुन्छन् के त्यतिबेला पनि तिनलाई तपाईं हजुर, तपाईं भन्नुहुन्छ, वा कुन उमेरसम्म बोल्ने हो त्यो फेक भाषा अनि बच्चा कुन उमेरमा पुगेपछि फेरि साँचो भाषा बोल्ने हो ? कि अलि ठूलो भएपछि तँ, तिमी नै भन्ने हो ? विचार गर्नुपर्ने प्रश्न यो हो । उल्टो अर्थ नलागोस् मैले तँ नै भन्नुस् भनेको चाहिं हैन नि !

माथिकै कुरामा फेरि विचार गरौं । बच्चाले सामाजिक विषयमा राम्रो गरेनन्, नेपालीमा राम्रो गरेनन्, आदरार्थी भाषाको कन्सेप्ट बुझेनन् । क्या रमाइलो कुरो छ । सामाजिक अध्ययनमा पनि गाह्रो भयो, राम्रो गरेनन्! कसरी बुझ्छन्, कसरी राम्रो गर्छन् !

सामाजिक अध्ययनमा समाजको स्वरूप, सामाजिक संरचना सिकाइने हो, सिकाउनुपर्ने हो–जहाँ ठूलाको सम्मान, सानालाई माया लगायत तमाम मूल्यगत अवयव मिलेर सामाजिक संरचना बनेको छ । नेपालीको सरले भने झैं आदरार्थी अवधारणा सिकाउनै गाह्रो भयो । किन हुन्न त ? सिद्धान्तमा आदर गर्ने र आदर पाउनेको कुरा छ ।

लहलहैको भरमा स्कुलहरुले पनि र अभिभावकहरुले पनि नयाँ कुरा गर्ने भन्ने नाममा जे पायो त्यही कुरा लागू गर्दा त्यसको घातक परिणाम समेत निस्कन सक्छ भन्ने कुरामा सधैं सचेत हुनुपर्छ

समाजमा विद्यमान रोल विभाजनको कुरा छ, तर नानीबाबुले दैनिक जीवनमा अर्थोक अर्थोक नै सुनिरहेका हुन्छन् । आदर गर्नुपर्ने भनेर सामाजिकमा पढेको व्यक्तिले नै अर्थात् स्कुलका शिक्षक, घरमा बा-आमाले नै आफूलाई हजुर, तपाईं भनेको छ, नानीबाबुले अब हजुरआमालाई चाहिं के भन्ने- तिमी भन्ने ? साँच्चै भन्ने हो भने हामीले तिनलाई धोका दिएका छौं, झुट कुरा सिकाएका छौं, व्यवहार र सिकाइमा द्वन्द्व सिर्जना गरिदिएका छौं । जसले बालमनोविज्ञानको विघटन नै गरिदिन सक्छ, संशय पैदा गरिदिन सक्छ । अझ हामी सोच्दैछौं, एकदम राम्रो गरिरहेका छौं, बच्चालाई आधुनिक शिक्षा दिइरहेका छौं ।

म भन्छु-पढाउनुस्, पढाउन हुन्छ, नेपाली, इंग्लिश र अरु भाषा पनि पढाए हुन्छ । बच्चाहरुको एकैसाथ दुई भन्दा बढी भाषा सिक्ने क्षमता हुन्छ । नेपाली पढाउनुस्, यो हाम्रो भाषा हो, यो देशको भाषा हो भनेर पढाउनुस् । अंग्रेजी पढाउनुस्, यो संसारमा धेरै फैलिएको भाषा हो, धेरै ज्ञान-विज्ञान अहिले यही भाषामा सिर्जना भइरहेको छ, तिमीलाई यो भाषा जान्न आवश्यक छ भनेर पढाउनुस् । आवश्यक पर्छ भने अरु अरु भाषा पनि पढाए हुन्छ ।

तर विदेशी भाषा सिक्नु र आधुनिक हुने नाउँमा आफ्नो सामाजिक मान्यता र संस्कारमै बेमेल हुने खालको कुरा बच्चालाई सिकाउनु एकदम फरक कुरा हो । अति द्रुतगतिमा विकासको फड्को मारिरहेका मुलुकहरु जस्तो कि जापान, चाइना, इन्डिया वा कोरियाले समेत स्कुलमा बच्चाहरुलाई आफ्नो सामाजिक मूल्य र मान्यतामा जोड दिएरै सिकाइलाई व्यवस्थित गरेका छन् ।

चीनमा कन्फुसियन भ्यालु बुझ्ने गरी सिकाउने गरिन्छ, जापानमा हाइकू कविता कोर्समा समावेश गर्ने कुरा होस् वा ठूलालाई आदर गर्ने संस्कृति टिचिङ एण्ड लर्निङ मार्फत इन्जेक्ट गरिने कुरा हो त्यसमा महत्व दिइएको छ ।

ठूलालाई आदर गर्ने कुरा त जापान, कोरिया, चाइना, इन्डिया सबैतिर छ । इन्डियामा रामायण, महाभारतको कुरा, त्यसको कन्टेन्ट र मूल्यका कुरा टिचिङ एण्ड लर्निङमा जोडिएको छ ।

कृत्रिम कुरा, सिकाइ र व्यवहारमा सामञ्जस्य नभएको कुरा बच्चाहरुलाई सिकाउनै हुँदैन । मूल्यको अन्तरद्वन्द्वका बीच बाँचेका वा हुर्केका बच्चा वा किशोर-किशोरीमा तत्काल वा दीर्घकालमा तमाम खाले मनोवैज्ञानिक समस्या देखिने गरेको कुरा अध्ययनहरुले देखाएको छ ।

मनोवैज्ञानिक लियोन फेस्तिन्गरले त यस बारेमा कग्निटिभ डिसोनेन्सको सिद्धान्त नै प्रतिपादन गरेका छन् । यस्तो स्थितिमा बच्चाले/किशोरकिशोरीले कग्निटिभ डिसोनेन्स (चेतनात्मक बेमेल) अनुभव गर्न सक्छन् जसले भावनात्मक तनाव र अनिश्चितता जन्माउन सक्छ । यो त यौटा मात्र कुरा भयो, यसका प्रभाव र त्यसको परिणाम एक भन्दा बढी हुन सक्छ ।

दोस्रोमा यस्तै कुराका कारण उनीहरुमा असुरक्षा र विश्वासको संकट जन्मिन सक्छ, उनीहरुले आफ्ना अभिभावक, शिक्षक वा कसैको पनि पूर्ण रुपले विश्वास नगर्ने स्थितिसम्म बन्न सक्छ । त्यस्तै खास अवस्थामा उनीहरुले परस्पर विरोधी मूल्यसँग जिउनु पर्दा त्यस्तो परस्पर विरोधी मूल्यलाई विस्तारै आत्मसात् गर्न सक्छन् जसका कारण उनीहरुमा नैतिक अन्योल देखा पर्न सक्छ ।

इमोसनल डिरेगुलेसनको सम्भावना एकदम बढ्न सक्छ, जसका कारण उमेर बढ्दै जाँदा उनीहरुमा निराशा, असुरक्षाको भावना बढ्ने र उनीहरुले अनपेक्षित कोपिंगको सहारा लिन पुग्ने खतरा पनि हुन सक्छ ।

यस्तै अन्तरद्वन्द्वका कारण उनीहरुले आफूमा असहाय (हेल्पलेसनेस) अनुभव गर्ने र निर्णय क्षमता गुमाउने समेत डर हुन्छ । यी सबै कुरा बुझेर, लहलहैको भरमा स्कुलहरुले पनि र अभिभावकहरुले पनि नयाँ कुरा गर्ने भन्ने नाममा जे पायो त्यही कुरा लागू गर्दा त्यसको घातक परिणाम समेत निस्कन सक्छ

बुझाई फरक पर्दा । मेरा एक जना युवा मित्र, जो वौद्दिक रूपले पनि कयौं विषयबस्तुलाई ३६० डिग्रिले विवेचना गर्नु हुन्छ, वहांले आफ्नो निजि मत सहित यो लिङ्क फेसबुकमा शेयर गर्नु भएकोले मैले पनि तुरुन्तै पढें । अनि हराएं मेरो झन्डै पचास बर्ष अघिको बिगततिर ! त्यो बेला अहिलेको “नर्सरी केजी” लाई एक मुस्ट “शिशु कक्षा भनिन्थ्यो । केटाकेटीको नाम परिवार भित्र सही रुपमा जस्तो “राम” भनेर बोलाए पनि बाहिरकाले “एकलखे” लगाई हाल्थे जस्तो “रामे” अनि नामको सट्टा प्रयोग हुने सर्वनाम “तं” प्रयोग गर्थे ! विद्यालयमा चाहिं नाम त विगार्ने कुरा भएन तर “तं” भन्दा कम्तिमा “तिमी” भनेर वोलाउने शिक्षकले चाहिं बढी माया गरेको हो कि भनेर झ्यामिन मन लाग्थ्यो मलाई चाहिं शिशु कक्षा मै । यो लिङ्कको पहिलो अनुच्छेदमा भनिएको छ “बच्चाहरुले जस्तो सिके त्यस्तै जीवन जिउँछन् !” तर पहिले “क” भन्ने वयस्क मान्छेले “ख” भन्ने सानोलाई “तं” या “तिमी” भन्थ्यो भने पछि गएर “ख” जति नै ठुलो भए पनि साइत हेरेर त्यो “क”ले “ख”लाई “तपाई” या “हजुर” आजिवन नभन्ने रहेछ -त्यै तं, त्यै तिमी ! शिक्षा भनेकै समाजभन्दा अलि अघि अघि र समानतामूखि भएन भने त्यो शिक्षा नभएर विरालो बाध्ने संस्कार र चलनमा सिमित रहन्छ । आदरार्थी शव्द सिकाउने नाममा नेपाली समाजमा चाहिं “ठुलाले सानालाई माया र सानाले ठुलालाई आदर गर्नु पर्छ” भनेर सिकाइने रहेछ –दुवैले दुवैलाई माया पनि अनि आदर पनि गर्नु पर्छ भनेर सिकाइन्न रहेछ –यो त आफै थाहा पाउनु पर्ने रहेछ । हामी कक्षा २ हुदै क्रमशः माथिल्ला कक्षाहरूमा पिटी (शारिरीक ब्यायाम) गराउने सरले सधें “तं” भनेकाले हामीलाई त डर लाग्ने नै भो सरलाई पनि पिटी बिगार्नेलाई शारिरीक रूपमा (त्यो बेलाको लठ्ठी हान्ने) सजाय दिन पनि सजिलो ! चार कक्षामा “You” भनेको “तिमी” हो भनेर अंग्रेजी सरले पढाउनु भयो । अनि “You” हामी साथीहरू विच त प्रयोग गर्थ्यौं तर सरलाई नै “You” भन्न चाहिं मैले अलि माथिल्लो कक्षामा आएर मात्रै सकें ! जुन शिक्षकले समानअर्थी शब्दले सम्बोधन गरेर विद्यार्थीलाई पढाउनु हुन्थ्यो –मेरा लागि आज पनि आदरणीय र मायालु दुवै हुनुहुन्छ । हामी कक्षा ६ मा पढ्दा एक जना यूवा शिक्षक हामीलाई पढाउन आउनु भो । पहिलो चोटी विद्यार्थीलाई पनि “तपाई” भन्ने “सर” हामीले भेट्यौ ! आफ्नो विषय पढाउने बाहेक हामीलाई कक्षा मै कहिले काहिं “गीत” पनि गाएर सुनाउनु हुन्थ्यो । विद्यार्थीलाई “तपाई” भन्रे वहांले कक्षामा अलि बढि कडा हुनु पर्ने अवस्था आयो भने बढीमा “आलुहरू” भन्नु हुन्थ्यो । म विस बर्ष हाराहारी हुंदा विस २०४४-४५ तिर काठमाडौंको एउटा चर्चित अंग्रेजी माध्यमको विद्यालयमा ऐछिक गणित पढाउथें – विद्यार्थीलाई जिस्काउनु पर्यो भने , “You potatoes!” भन्दो रहेछु जुन मैले आफू कक्षा छ मा हुदै समानअर्थी सम्बोधन गर्ने गुरूबाट थाहै नपाई म मा पनि सरेछ ! त्यो बाहेक पनि धेरै –धेरै सहपाठी साथीहरू विच कक्षा ६ पछि नै एक आपसमा “तपाई” भनेर सम्बोधन गर्ने भएछौं हामी –यसले बांकी जीवनमा मानिसहरूलाई ससम्मान सम्बोधन गर्न त सजिलो बनायो नै, त्यो भन्दा पनि बढी शिक्षकको प्रभाव विद्यार्थी माझ कति धेरै पर्छ भन्ने हो जस्तो लाग्छ मलाई । समय अनुसार वदलिन (update हुन ) जानिएन भने शिक्षक कम ज्ञानी र विद्यार्थी बढी प्रतिभावान र बुझ्झक्ड भई शिक्षकमै भर पर्नु नपर्ने समय आउन लागि सक्यो अहिलेको सुचना प्रविधिको जमानामा । एउटा अर्को अनुभव , आजकल विद्यालय तह मै प्रायः शिक्षकले “तपाई” या कम्तिमा विद्यार्थीलाई “तिमी” भन्नुहुन्छ । यदि कसैले विद्यार्थीलाई “त” भन्यो भने “ यो नेपाली बिषय पढाउने शिक्षिक रहेछ । “ भन्ने भाष्य बसि सक्यो विद्यार्थी माझ आज ! अनि ज्ञानको श्रोत औपचारिक क्षेत्रको सिमाबाट धेरै परसम्म विस्तारित भै सक्यो । नेपाली समाजमा सामान्यतया “त” र “तिमी”ले असमानताको प्रतिनिधित्व गर्छ भने “तपाई”ले समानताको । म कुनै समय काठाडौंको एउटा निजि कलेजमा स्नातक तहका विद्यार्थीलाई “सुचना प्रविधि” सम्बन्धि बिषय पढाउथे । कक्षाका एउटा विद्यार्थीलाई देखाएर –“ए बाबु उठ त ! “ भने । उनी उठ्न त उठे तर तुरुन्तै जवाफ फर्काए, “सर मलाई तिमी नभन्नुस् । मलाई तिमी भनेको मन पर्दैन । “ शिक्षकको रूपमा मैले आदर्शका कुरा गर्ने छोडेर एक चोटी “सरी बाबू “ भनें –नेपाली समाजमा धेरै पानी बगि सकेछ भनेर मनन गरें मैले । प्रायः मानिसहरू तथ्य परक भएर आफै गहन विवेचना गर्नु भन्दा अरूले भनेकै कुरामा कहिले दायां त कहिले बायां भएर तुरून्तै बहकि हाल्छन् । जस्तो यो लिङ्कको लेखमा भनिएको छ कि ५०-६० जना माध्यमिक र उच्च माध्यमिक तहका शिक्षकको जमघटमा नर्सरी मै “तपाई हजुर” भनेर बोलाएको चलन मन परिराखेको अवस्थामा केहि क्षण लेखकले धारणा राखे पछि ५८ जनालाई तुरून्तै यो चलन बेठिक लाग्यो भने २ जनाको चाहिं विचार वदलिएन । अर्थात या त लेखक असाधारण प्रतिभावान र प्रभावशाली हुनुहुन्छ मानिसहरूलाई तुरुन्तै मोहित गर्न सक्ने नत्र मैले माथि उल्लेख गरे झें आम हामी भिड हौं जो सामुहिक निर्णय लिन्छौं । बास्तबमा कक्षा ६ भन्दा तलको सिकाई केवल नक्कल हो जस्तो कि आमा कै काखे वच्चा पनि “ ल हास्यो हास्यो !’ भने पछि हास्ने गर्छ –तर त्यो भनेर हास्न सिकेको होइन –आमा हासेर हासेको हो ! “छिमेकका आन्टी र पसलका अंकल मात्र होइन बा आमासम्मले पनि ब्यक्त गर्ने कुराहरु विद्यालयसंग “म्याच” भए त ठिकै भो तर फरक पर्न थाले पछि बालबालिकाले विस्तारै विद्यालयलाई र शिक्षकलाई बढी विस्वास गर्छन् अरू गलत हो र रहेछ भनेर थाहा पाइ हाल्छन् ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34