KFGVRFI34

आमा बन्ने चाहनाले प्रहरी हिरासतमा ,

0

दैलेख नौमुले गाउँपालिका-१ घर भई काठमाडौं काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी प्रसूति गृहबाट बच्चा चोरेको कसुरमा शुक्रबार राति पक्राउ परेकी छन्।

४० वर्षपछि आमा बन्ने फ्रान्सेली महिलाको संख्या बढ्दो :: NepalPlus

प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेकी उनी खासै केही बोल्दिनन्। प्रहरीले सोधपुछ गर्दा पनि खासै केही बताएकी छैनन्।

प्रहरी टोली शुक्रबार राति ११ बजेर ३९ मिनेटमा मनकुमारीको डेरामा पुगेको थियो। उनका श्रीमान नरेन्द्र मल्ल र दिदी नाता पर्ने शारदा शाही पनि कोठामा थिए। नरेन्द्र नेपाली सेनाका जवान हुन्। उनी केही समयअघि मात्र बिदामा घर आएका थिए ,मनकुमारीसग बच्चा रूँदै थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरका अनुसन्धान अधिकृतसहितको टोलीले आफ्नो परिचय दिँदै भन्यो, ‘हामी चोरिएको बच्चा लिन आएका हौं।’

यो सुनेर मनकुमारीका श्रीमान चकित खाए।

दिदी त आक्रोशित नै भइन्। भर्खरै बच्चा जन्माएर घर आइपुगेकी बहिनीमाथि यस्तो आरोप लाग्दा उनी प्रहरीमाथि जाइलाग्न खोजेकी थिइन्।

प्रहरीले बच्चा कहाँबाट ल्याएको भनेर बारम्बार केरकार गरे।

अत्तालिएकी मनकुमारी कहिले आफैंले जन्माएको भन्थिन्, कहिले अस्पतालबाट ल्याएको भन्थिन्। उनले जंगलबाट ल्याएको पनि भन्न भ्याइन्। ।त्यसपछि प्रहरीले बच्चा उद्धार गरी कार्यालयमा ल्यायो। मनकुमारीसँगै उनका श्रीमान र दिदीलाई नियन्त्रणमा लियो। श्रीमान र दिदी हिरासतमुक्त भइसकेका छन्।

मनकुमारीले २६ दिनकी ती बच्ची थापाथलीको प्रसूति गृहबाट लगेकी थिइन्।

उनीहरूको विवाह भएको तीन वर्ष भइसकेको थियो। पटक पटक प्रयास गर्दा पनि बच्चा पाउन सकेका थिएनन्। प्रहरीका अनुसार उनको गर्भपतनसमेत भएको थियो। उनी उपचारका लागि भनेर शुक्रबार दिउँसो श्रीमान नरेन्द्रसँग अस्पताल पुगेकी थिइन्।

नरेन्द्र अस्पतालभित्र पसेनन्। ओपिडी जाँचका लागि भनेर मनकुमारी एक्लै भित्र गइन्।

कुरूवा कक्षमा उनको भेट सबिना श्रेष्ठसँग भयो।

काभ्रे घर भई कपन बस्दै आएकी २२ वर्षीया सबिनाले आफ्नी २६ दिनकी छोरी बोकिरहेकी थिइन्। उनी बच्चाको डाइपर फ्याँक्न अलमलिँदा छेउमा बसेकी मनकुमारीले ‘नानी मलाई देऊ, म बोकिदिन्छु’ भनेर लिइन्।

सबिना डाइपर फ्याँक्न बाहिर निस्केको मौकामा मनकुमारी बच्चा बोकेर खुसुक्क निस्किइन्।

उनी त्यहाँबाट ट्याक्सी चढेर सिधै पेप्सीकोला पुगिन् र पैदल आफ्नो कोठामा गइन्।

कोठामा पुगेपछि उनले श्रीमान नरेन्द्रलाई फोन गरिन् र आफूले छोरी पाएर घर आएको बताइन्। नरेन्द्र त्यो बेला अस्पताल परिसरमै थिए।

‘उनले डेरा पुगेपछि मात्र श्रीमानलाई बच्चा पाएँ भनेर खबर गरेकी थिईन । श्रीमानले पनि आफ्नै बच्चा भएको सोचेका रहेछन्,’ अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘दिदीले पनि उनकै बच्चा हो भन्ने सोचेकी रहिछन्।’

मनकुमारीले बच्चा पाएको भन्ने सोचेर नरेन्द्रले खुसी हुँदै दैलेखमा रहेका आफ्ना बुवालाई खबरसमेत गरिसकेका थिए।

तर उनीहरूको खुसी लामो समय टिकेन।

त्यसै रात प्रहरी टोली प्रसूति गृहबाट चोरिएको बच्चा खोज्दै उनीहरूको डेरा पुग्यो। सिसिटिभी फुटेजका आधारमा त्यहाँसम्म पुगेका उनीहरूले बच्चा चोरी हुँदा मनकुमारीले लगाएका कपडासमेत बरामद गरेका छन्।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मनकुमारीले आफूले बेहोसीमा बच्चा ल्याएको बयान दिएकी छन्।

‘बच्चा किन चोरेँ भनेर भन्न सकेकी छैनन्। त्यहीँ हुँदा आमालाई खोजेको थिएँ भनेकी छन्। तर के भयो, के भयो, मैले नै ल्याएँ भन्‍ने खालको बयान दिएकी छन्,’ मनकुमारीको बयान उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने।

पटक पटक प्रयास गर्दा पनि बच्चा नभएको मानसिक तनावबीच उक्त घटना भएको हुनुपर्ने प्रहरीको भनाइ छ।

हिरासतमै हुँदा पनि उनलाई शनिबार रक्तश्राव भएपछि अस्पताल लगिएको थियो। उपचारपछि अहिले पुनः हिरासतमा ल्याइएको छ।

लामो समय बच्चा नभएपछि भक्तपुरस्थित एक माताकहाँ पुगेको बयान पनि मनकुमारीले दिएकी छन्। ती माताले गर्भ रहने औषधि दिने भन्दै एक लाख रूपैयाँभन्दा बढी लिएको बयानमा बताएकी छन्। माताले पनि मनकुमारीलाई गलत मार्गमा पुर्‍याएको प्रहरीको भनाइ छ।

परिसरका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले ती माताले ‘मिसगाइड’ गर्दा पनि यस्तो भएको हुनसक्ने बताए।

‘चिकित्सकसँग हामीले कुराकानी गरिरहेका छौं। महिलालाई बच्चा जन्माउन सक्दिनँ भन्ने खालको भाव भयो भने एक खालको तनाव सिर्जना हुने भयो। तीन वर्षमा पटक पटक गर्भपतन भएपछि अन्जानमा अपराध गरेको देखिन्छ। कुनै योजना बनाएर गरेको देखिएन,’ एसएसपी खत्रीले भने, ‘अपराध भएको हो। तर भावनात्मक कारणले यस्तो हुन गएको हो।’

चिकित्सकहरूले पनि मनकुमारीको मानसिक स्वास्थ्यबारे अध्ययन गर्नुपर्ने बताएका छन्। सामाजिक दबाब र पीडाले मनकुमारीलाई त्‍यहाँसम्म पुर्‍याएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।

अन्जानमै भए पनि अपराध भइसकेकाले प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको छ।

सबिनाको परिवारले मनकुमारीविरूद्ध अपहरण तथा शरीर बन्धक कसुरमा जाहेरी दिएको छ। प्रहरी वृत्त सिंहदरबारले यसबारे अनुसन्धान गरिरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34