KFGVRFI34

घरमा हजुरबा–हजुरआमाको छत्रछायामा हुर्किंदा बालबच्चालाई के कस्तो ज्ञान र साथ मिल्छ ?

0

परिवारको जग बुढापाकासँग जोडिएको हुन्छ । भनिन्छ, घरमा हजुरबा–हजुरआमा भए मात्रै परिवार पूर्ण हुन्छ । हजुरबा-हजुरआमा त्यो जरा जस्तै हुन्, जसले परिवारलाई रूख जस्तै बलियो बनाइराख्न सक्छन् ।

एउटा घरमा छोरा–बुहारी काम, सन्तानको पढाइ, खेलकुदमा व्यस्त भइरहँदा त्यही घरमा रहेका ज्येष्ठ नागरिकले भने उनीहरुको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ख्याल राखिरहेका हुन्छन

परिवारलाई समेट्न ज्येष्ठ नागरिकको योगदान महत्वपूर्ण हुन्छ । संयुक्त परिवारमा हुर्किएका बालबालिकाले हजुरबा–हजुरआमाबाट उच्च संस्कार पाएका हुन्छन्, जसले उनीहरुको चरित्र निर्माणमा ठूलो भूमिका खेल्छ ।

जब परिवारमा केही अप्ठ्यारो पर्दा ज्येष्ठ नागरिकमा आफ्नो समझदारी प्रयोग गरेर परिवारलाई समस्याबाट निकाल्न सक्ने खुबी हुने मनोविज्ञ सन्देश ढकाल बताउँछन् ।

‘बुढापाकाको जीवन अनुभवले भरिएको हुन्छ, जीवनमा धेरै घाम र छाया देखेका हुन्छन्, जसकारण समस्याको समाधान गर्ने जुक्ति उनीहरुमा हुन्छ,’ उनी भन्छन् ।

ढकालका अनुसार वृद्धवृद्धाले जीवनको हरेक आरोह-अवरोह पार गर्दा गर्दै के गर्दा के हुन्छ भन्ने ज्ञान बटुलेका हुन्छन् । त्यसैले उनीहरुलाई ज्ञानको भण्डार भन्न सकिन्छ । जसकारण परिवारमा जे गर्नु परे पनि बुढापाकाकै सल्लाह लिइन्छ ।

गुगल जस्तै हुन् घरका ज्येष्ठ सदस्य

बालबालिकाको विकासको क्रममा उनीहरु वरपर भएका कुराबारे जान्न उत्सुक हुन्छन । समाजमा देखिएका कुरा, शारीरिक विकास, परिवारमा हुने विभिन्न किसिमको अवस्था र चाडपर्वलाई लिएर उनीहरुमा जिज्ञासा हुने गर्छ । त्यो जिज्ञासाको व्याख्या र विश्लेषण गुगलमा जसरी जे खोज्दा पनि सजिलै भेटिन्छ, त्यसरी नै सजिलै वृद्धहरुले गर्न सक्छन् । जसकारण उनीहरुको सोच र विचारमा बिस्तारै विकास हुनसक्ने मनोविज्ञ ढकाल बताउँछन् ।

अझ परिवारमा अवकाशप्राप्त वा घरमै बस्ने अग्रज छन् भने त्यस घरमा हुर्किने सन्तानको लागि झनै फाइदाजनक हुन्छ । उनीहरुसँग समय हुने भएकाले बालबालिकाको मानसपटलमा आएका स-साना किसिमका प्रश्नको जवाफ पनि उनीहरुले बुझ्न सक्ने हिसाबले दिन सक्छन् । यही सिकाउने क्रममा दिनभरको पट्यारलाग्दो समय पनि वृद्धहरुले रमाइलोसँग बिताउन सक्छन् ।

ढकालका अनुसार सानो परिवारमा भने बाबुआमा मात्र छन् र दुवै जागिरे छन् भने सन्तानलाई चाहेर पनि उचित समय दिन नपाउने अवस्था हुन्छ । व्यस्त हुँदा कहिले जवाफ दिने, कहिले नदिने, कहिले पछि सोध भन्ने जस्ता व्यवहारले उनीहरु छोड्न थाल्छन् र सुनाउन हुँदैन रहेछ भन्ने सोच बालबालिकामा विकास हुनसक्छ ।

बालबालिकालाई अल्मलाउन टिभी हेर्न दिने, मोबाइल चलाउन दिने गर्दा एकछिनको समाधानले सन्तान टाढिन सक्ने मनोविज्ञ ढकाल बताउँछन् । त्यसैले सकेसम्म उनीहरुको कुरा सुन्ने र बुझ्ने गर्नुपर्छ, यसले परिवारमा सम्बन्धहरुलाई झनै कसिलो बनाउँदै लैजान्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34