KFGVRFI34

मुखै रसाउने नेपाली खाना अजै बिश्व सामु चिनाउनु आवस्यकता ,

0

नेपालमा भएका बहुमूल्य जडीबुटीसहितको परिकार संसारले थाहा पाएका छैनन् अजै  । नेपालमा पनि तराई, पहाड, हिमाल र उपत्यकामा रहेका १२४ जातजातिका आ–आफ्नै खाना संस्कृति छन् । नेपालीहरूको जन्म, विवाह, कुलपूजा, मृत्यु, ब्रतबन्ध, पास्नी, मासिकव्रत, चाडपर्व, जात्रामा समूहमा बसेर विभिन्न परिकार तयार पारेर वैदिक रुपमा खाने गरिन्छ ।त्यस्ता किसिमका भोजभतेरमा पकाइने विभिन्न किसिमका परिकारको आ–आफ्नै विशेषता छन् ।

हाम्रो ऐतिहासिक खानाको प्रचलन हेर्दै जाँदा रांवसी, तामसिक, सात्विक खानाका ठाँउअनुसार शरीरमा पोषण र मौसमअनुकूल पकाउने खासखास किसिमका मसलाहरूको पहिचानसहित सामग्रीको प्रयोग वैज्ञानिक दृष्टकोणबाट समेत उपयुक्त छन् । परापूर्वकालदेखि आजसम्म पकाइने खाना संस्कृतिको विकास अझ तीव्र रुपमा भएको खण्डमा नेपाली खानाको इतिहास संसारमै फरक र उत्पत्तिको बिन्दु हुने आशा गर्छ ।

 

नेपालमा पर्यटन विकासको आठौं दशक लामो अनुभवलाई सिकेका, जानेका, बुझेका, व्यावहारिक अनुभवलाई अब बजारीकरण गरेर संसारमै नौलो लोकप्रिय पाककला पर्यटन अगाडि बढाउन जरुरी देखिन्छ । देशमा खाना संस्कृति समृद्ध हुँदाहुँदै पनि अझ सोचे जति प्रत्यक्ष जोडिन नसकेको अवस्था छ ।

विशेषगरी सहरी क्षेत्रमा खाइने प्रचारित खाना मःम, चाउमिन, थुक्पा, खाजासेट, फुटपाथे खाजालगायत प्रमुख पर्यटन संघहरूमा विदेशी तथा नेपालीका केही सीमित परिकारले मात्र स्थान पाएको छ । अरु जाति अन्य रैथाने खानाका परिकारहरूले आफ्नै चाडपर्व, तिथि, श्राद्ध, भोजहरूमा बाहेक स्थान पाउन सकेको देखिएन । विभिन्न किसिमका फुड फेस्टिभलमा तयार पारिने खाना परिकारलाई लिएर रेस्टुरेन्ट खोलिएको छैन ।

नेपालमा गत वर्ष झण्डै तीन लाख पर्यटनहरू भित्रिएकोमा सन् २०२० भ्रमण वर्ष मनाउँदा दोब्बर-तेब्बर बनाइने भाषण सुनिए पनि तिनीहरूले नेपाल भ्रमण तथा बसाइमा गर्ने कुल खर्चको लगभग एक चौथाई खानामा खर्च गर्ने गरेको अनुमान छ । नेपाल बसाइमा पर्यटकहरूले साधारण तथा बाँच्नका लागि मात्र खाएको पाइन्छ । जसको जसको मुख्य कारण खाद्य सुरक्षाको कमीले हो । जसकारण नेपाल बसाइमा पनि पर्यटकहरूले खाने पिउने, बस्ने कुरा उपलब्ध भरसक विदेशमा तयार भएर आएका चीजहरूलाई महत्त्व दिइने पाइएको छ । जसले गर्दा आर्थिक रकम पुनः बाहिरिने क्रम बढ्दो छ ।

नेपालीहरु नयाँ-नयाँ देशमा काम गर्न र अध्ययनका लागि जाने क्रम बढ्दो छ । लाखौं संख्यामा नेपालीहरूको स्थायी तथा अस्थायी बसोबास ९० भन्दा बढी राष्ट्रहरूमा हुँदै आएको छ । कामदारको रुपमा विदेश गएर विदेशमा नेपाली नामको रेस्टुरेन्ट खोली विदेशी खाना बेच्नेको कमी पनि छैन । अहिले नेपालीहरू विदेशमा गएर बढ्दो रुपमा आतिथ्य सत्कार व्यवसायमा बढी संलग्न भएको पाइन्छ । व्यवसाय सञ्चालन गर्नेको कमी पनि छैन ।

नेपालीहरूले विदेश गएर गर्ने काम तथा चलाएको व्यवसायमा नेपालीको प्रत्यक्ष सरोकार निकै कम पाइन्छ । यस्तो हुनुमा नेपालीहरू स्वयं नेपाली खानाको बारेमा जानकार नभएको तथा नेपाली खानालाई पश्चिमेली ढंगले प्रस्तुत गर्ने नसक्नु हो । जसको ज्ञान, सीप तथा गौरव आफ्नै खानाको प्रचारप्रसार गर्न मनमा कमी हो भन्न पनि सकिन्छ । बजार मागलाई औंल्याउन नसकेर विदेशी खानाको अध्ययनमा लाखौं पैसा खर्चेर अध्ययन गर्न तयार तर सयौं खर्चेर आफ्नै खानाको अध्ययन अनुसन्धानमा नबसेको स्वीकार्ने सकिन्छ ।

नेपालमै सञ्चालित पाँचतारे होटलदेखि विलासी रेस्टुरेन्टहरुमा नेपाली खाना परिकारको मेनु कम पाइने, रैथाने खानाको बेवास्ता गरी जंकफुड, रसायनिक पदार्थ प्रयोग भएका, अखाद्य पदार्थ मिसावट भए-नभएका खानेकुराको राम्रो बजारले हाम्रो ऐतिहासिक पोषणयुक्त खानाको लोप नहोला भन्न सकिन्न ।

रैथाने परिकारमा ज्वानो, छ्यापी, हिङ्ग, चुकअमिलो, जिम्बु, टिम्बुर, मेथी, मरिच, शखर, तिल, फापर, सिलाम, आलस, लप्सी, भाङ, भकमिलोजस्ता मरमसलाको भण्डार नै छ । तर त्यसलाई बेवास्ता गरी आयातीत सामग्रीको प्रयोगमा जोड दिंदा त्यसले स्वास्थ्यमा पनि हानि पुर्‍याइरहेको छ ।

साधारण तर जीवनको लागि महत्त्वपूर्ण मानिने खानाको सरसफाइसम्बन्धी ज्ञान, सीप तथा आधारभूत व्यावहारिक ज्ञानले गर्दा आएका पर्यटकहरूको मन जित्न सकेको छैन । मानिसहरु रोजगारी र अध्ययनका लागि विदेसिने क्रम बढेसँगै खाना, संस्कृति, कला, पहिरनको पनि अन्तर्राष्ट्रियकरण हुँदै जान्छ । नेपाली खानाको पाककलालाई विश्वव्यापीकरण गर्न पनि तिनै विदेशमा रहेका नेपालीहरुको प्रयासले सम्भव हुन्छ ।

विश्वभर कार्यरत धेरै नेपाली सेफ र आफ्नै लगानीमा नेपाली नामकरणका रेस्टुरेन्टलगायत आतिथ्य, खानपिनको व्यापार-व्यवसाय गरे आएका सक्षम र जागरुक सफल नेपाली अझ नेपाली रैथाने खाना सजिलै तयार गर्न सकिने विधि र विवरण इन्टरनेटमार्फत उपलब्ध हुन थालेपछि नेपाली खानाको बजार विश्वव्यापी हुन सक्ने अपेक्षा पलाएको छ । राम्रो स्वादयुक्त स्वादिष्ट परिकार बनाएर मात्र पनि पुग्दैन, यस्ता खाना खाने पारखीको रुपमा नियमित ग्राहक आउने र खानाको व्यापार नाफामुखी हुन पनि त्यत्तिकै जरुरी छ ।

नेपालीहरूले खोलेको नाम नेपाली तर खाना विदेशी बेच्न बाध्य भएका सञ्चालकहरू मिलेर एउटा क्रान्ति गर्नु आवश्यक छ । नेपाली खानाको भाग नभएका कारणले विदेशी खाना बेचेर आफ्नो व्यवसायमा गुजारा भइरहेको छ । त्यस्ता रेस्टुरेन्टमा काम गर्ने सेफहरूले पनि २० औं वर्षदेखि विदेशी खानामा नै काम गरिरहेको र नेपाली खानामा इच्छा नदेखाई हाम्रो खाना पनि यस्तो हुन्छ भनेर नदेखाउँदा प्रचारप्रसार नै हुन सकेको छैन ।

त्यसैले केही कुरामा ध्यान दिन सकियो भने नेपाली पाककलालाई विश्वव्यापी रुपमा फैलाउन सकिन्छ ।

-नेपालको तारे होटलहरूमा नेपाली मेनु उपलब्ध गराउने ।

-नेपालका तारे होटलहरूमा एउटा नेपाली खानाको छुटै रेस्टुरेन्ट हुनुपर्छ ।

-होटल व्यवस्थापन तथा व्यावसायिक तालिमका पाठ्यक्रममा नेपाली खानाको पढाइ तथा सिकाइ हुनुपर्छ । ।

-सरकारी निकायले गर्ने सम्पूर्ण भोजमा नेपाली खानाको मात्रै बुफे राखिनपर्छ ।

-संवैधानिक अंगका प्रमुख तथा नेपाली दूतावासबाट गरिने भोजहरूमा नेपाली खाना खुवाउनुपर्छ ।

-नेपालबाट हुने हवाई उडानमा नेपाली खाना खुवाउनुपर्छ ।

-नेपाली रैथाने खानालाई संस्थागत गर्न सरकारी स्तरबाट पनि उपयुक्त नीति नियम बनाउनुपर्छ ।

-उद्योग तथा कलकारखानामा उत्पादन हुने सामग्री नेपालकै हुनुपर्छ ।

-खानाको पोषणयुक्त जानकारीसहित खानाको इतिहासलाई नयाँपुस्तामा अध्ययनको व्यवस्था मिलाउनुपर्छ ।

-पाहुनाहरूको स्वागतमा पेयपदार्थको रुपमा तयारी आयातीतभन्दा नेपालकै मोही, मौसमअनुसारका फलफूलको जुस, गुराँसको वाइन, बेलको जुस पस्किनुपर्छ ।

-तोङ्बा, तार्डी, जाँड, निगार, झ्वाइखटेका परिकारलाई उपयुक्त स्तर निर्धारणको जिम्मा लिएर प्रवर्द्धन गर्नु राम्रो हुन्छ ।

-लोप भएका खानासम्बन्धी थेसिस तयार गर्न विश्वविद्यालयबाट पहल हुनुपर्छ ।

-जातीय खानाको पहिचान गरिनुपर्छ ।

-नेपाली खाद्यसामग्रीलाई आधुनिक उपकरणमा पकाउने विधि सिकाउनुपर्छ ।

-सीप परीक्षण गराई दक्षताको प्रमाणीकरण गर्नुपर्छ ।

-जिब्रोमा झुण्डिने परिकार पाइने व्यावसायिक स्थानलाई सहयोग र प्रवर्द्धन गर्नुपर्ने ।

-मौलिक तथा ऐतिहासिक प्रख्यात खानासम्बन्धी औजारहरूको संग्रहालय तयार गरिनुपर्छ ।

-ग्लोबल सेफ नेपालीहरूको रि–युनियन तथा अनुसन्धान केन्द्र स्थापना गरिनुपर्छ ।

-वैद्यखाना, पशुपन्छी, कृषि, खाद्य अनुसन्धानमा नेपाली मौलिक रैथाने खानाको परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ ।

-विश्वव्यापी रुपमा शाकाहारी तथा अर्गानिक खानाप्रतिको बढ्दो मोह र मागलाई ध्यानमा राखेर नेपाली खानाको प्रचारप्रसार गर्नुपर्छ ।

-नेपाली खानासम्बन्धी निरन्तर रुपमा कार्य गर्ने संस्था, व्यक्ति, उद्योग, व्यवसायी, कृषक, वैद्य, सभा सम्मेलनमा समेटिनुपर्छ ।

-नेपाली खानालाई पस्किने प्रस्तुतिमा परिवर्तन गर्नुपर्छ ।

-नेपाली खानाको कपीराइट सुनिश्चित गर्नुपर्छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34