KFGVRFI34

इसराइल-प्यालेस्टाइन र रूस-युक्रेनको युद्धले बिथोलिए का नेपालीहरु, अजै छोरा आउने आशमा परिवारहरु।

0

इसराइल-प्यालेस्टाइन र रूस-युक्रेनको युद्धले बिथोलिनेहरू धेरै छन् र त्यसको बाछिटा नेपालसम्मै छ।

तेस मध्ये बिपिन  इसराइलमा बेपत्ता छन् भने सिद्धार्थ युक्रेनमा।

सरकारले उनीहरूको अवस्था पत्ता लगाउन कूटनीतिक प्रयास गरे पनि सफलता भने मिल्न नसकेको जवाफ दिएको छ।

कञ्चनपुर भीमदत्त नगरपालिका वडा-३ का २३ वर्षीय जोशी पढ्न इसराइल गएका थिए। इसराइलमाथि आक्रमण हुँदा जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो।

उनी सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत् इसराइल पुगेका थिए। उनी गएको केही महिनामै गत असोज २० गते  हमासको आक्रमणमा परे।

त्यसबेला हमासले इसराइल प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा १० विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए।

जोशीलाई भने आक्रमणकारीले नियन्त्रणमा लिएको उनका साथीहरूले बताएका थिए।

मृत्यु भएकाहरूको इसराइलका लागि नेपाली दुतावासले डिएनए परीक्षण गरेको थियो। त्यसमा विपिनको डिएनए परीक्षण  कसैसँग नमिलेकाले उनी जीवितै छन् भन्ने आशा रहेका उनका बुबा महानन्द जोशी बताउँछन्।

गत भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा विज्ञान संकायबाट ४९ जना विद्यार्थीसँगै विपिन पनि गएका थिए।

विपिनले हमासले बंकरमा हानेको ग्रिनेड टिपेर उनीहरू भएतिरै फालेको महानन्दले पनि सुन्दै आएका छन्। यस्ता कुरा सुन्दा छोरा सकुशल छ भन्ने उनलाई लागिरहन्छ।

त्यही आशाले महानन्द छोराको खोजी कार्य तथा उद्धार गरिदिन सरकारलाई हारगुहार गरिरहेका छन्। उनले निवर्तमान परराष्ट्रमन्त्री एनपी साउददेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रत्यक्ष भेटेर खोजी गरिदिन धेरैपटक अपिल गरिसके।

तेस्तै काभ्रेपलान्चोक  मण्डन देउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल पनि अहिलेसम्म बेखबर छन्। रूसी फौजमा जागिर खाएकाले ‘रेड जोन’बाट युक्रेनी सेनाले उठाएर लगेर बन्धक बनाएको भन्दै भिडिओ सार्वजनिक भएको थियो। त्यसपश्चात् उनको बारेमा केही खबर आएको छैन।

उनी असोज २ गते पढ्न र सँगसँगै काम गर्ने योजनाले रूस गएका थिए। १२ पास गरेका उनी स्वदेशमा रोजगारी नपाएपछि रूस गएका हुन्।

साढे ९ लाख रूपैयाँ ऋण लिएर रूस पुगेका उनले सो पैसा एजेन्टलाई दिएका थिए। तर एजेन्टले त्यहाँको कलेजलाई बुझाउन पर्ने रकम नबुझाएपछि उनी घर फर्किनुपर्ने डरले रूसी सेनामा भर्ना बाध्य हुनुपरेको सिद्धार्थका बुबा विदुर ढकाल बताउँछन्।

‘छोराले केहीदिन अघिसम्म आफू सकुशल भएको बताएको थियो, गाह्रो भएको भए फर्किन पनि भनेको थिए,’ विदुरले भने, ‘एकाएका भिडिओ आएपछि छोरा बन्धक बनाइएको कुरा थाहा भयो।’

सिद्धार्थ बन्धकमा परेको भिडिओ आउँदा घरमा रूवाबासी चलेको थियो। उनले भिडिओमा आफू १२० दिनदेखि मात्र रसियन सेनामा भर्ना भएको बताएका थिए। सिद्धार्थले यसो भनेको पनि तीन महिना नाघिसकेको छ। उनको भिडिओ मंसिर १९ गते सार्वजनिक भएको थियो।

त्यहाँ आफूलाई पढ्नका लागि पैसा नभएपछि स्वदेश फर्काइदिने डरले सेनामा भर्ती भएको उनले प्रष्ट खुलाएका छन्।

त्यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भए पनि अहिलेसम्म उनी भने परिवारको सम्पर्कमा आएका छैनन्। त्यसैले उनका बुवा छोराको उद्धारका लागि हारगुहार गर्दै दौडधुप गरिरहेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार इसराइलले गजामा युद्धविराम गरेयता हमासले बन्धक बनाएकाहरूको पनि खोजी कार्यको लागि पहल भइरहेको छ।

गत मंसिर ३ गते इसराइली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) मा भिडिओ सार्वजनिक गरेको थियो। त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो। आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो। आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन हुनुपर्ने अनुमान गरिएको हो। तर पुष्टि हुन नसकेको प्रवक्ता राई बताउँछन्।

‘अहिले विपिनको बारेमा कुनै जानकारी आएको छैन,’ उनले भने, ‘विपिनमात्र होइन, बेपत्ता भएका धेरै व्यक्तिहरूको अहिले कुनै अपडेट छैन।’

त्यस्तै रूसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेको काभ्रेका सिद्धार्थ ढकालको पनि कुनै खबर प्राप्त नभएको उनले बताए।

तीन महिनाअघि अध्ययनका लागि मस्को गएका २२ वर्षीय ढकाल रूसी सेनामा भर्ना भएका थिए।

त्यहाँ कति नेपाली छन् भन्ने वास्तविक तथ्यांकसमेत आइपुगेको छैन। तर रूसी सेनामा भर्ती हुन पुगेका नेपालीलाई फ्रन्टलाइनमा राख्ने गरेको, फर्किन नदिने गरेको र युद्धको क्रममा घाइते भएमा उपचारसमेत नगरिदिने गरेको पीडितका परिवारले बताउँदै आएका छन्।

नेपालीहरू रूसी सेनामा गई मृत्यु भएको खबर प्राप्त हुन थालेपछि ढिलै भए पनि सरकारले युद्धग्रस्त रूस र युक्रेनको लागि श्रम स्वीकृति दिन बन्द गरेको छ।

वैदेशिक रोजगार विभागले पुस १९ बिहीबार सूचना जारी गर्दै ती दुई मुलुकमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको हो। तथापि रूसमा नेपाली जान रोकिएका छैनन्।

सरकारले रूस जानका लागि अनिवार्य रूपमा नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था गरेको बिहीबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई जानकारी गराएका थिए।

बिहीबार नै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रूसका विदेशमन्त्री सर्गेइ लाभ्रोभसँग संवाद गरेका थिए। उक्त संवादमा रूसले मृतकका परिवारलाई क्षतिपूर्ति दिन तयार भए पनि अरू विषयमा कुनै धारणा व्यक्त गरेको छैन।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34