सेयर बजारमा नीतिगत सुधारको आवस्यकता – अपेक्षा !
सेयर बजारमा वर्षौंदेखि वैदेशिक लगानी भित्र्याउने कुरा चले पनि व्यवहारमा बाटो खोलिएको छैन। गैरआवासीय नेपालीलाई सेयरमा लगानी गर्ने बाटो अझै खुलेको छैन।
नियामक नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन छ। तत्काल क्षमतावान तथा विषयका जानकार अध्यक्ष नियुक्त गर्नुपर्छ। प्रक्रिया सुरु गरिए पनि राजनीतिक दाउपेचले बिलम्ब गर्नु हुँदैन। सेयर बजारमा वर्षौंदेखि वैदेशिक लगानी भित्र्याउने कुरा चले पनि व्यवहारमा बाटो खोलिएको छैन। गैरआवासीय नेपालीलाई सेयरमा लगानी गर्ने बाटो अझै खुलेको छैन।
धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कमिसनको निश्चित दर हटाएर माथिल्लो सीमा तोकेर तल्लो सीमा खुला राख्नुपर्छ। माथिल्लो सीमामात्रै तोकेमा ब्रोकरहरुले प्रतिस्पर्धात्मक ढंगले काम गर्न सक्छन्। यसअघि बोर्डले घटाएको ब्रोकर कमिसन तत्काल घटाएर कार्यान्वयनमा ल्याउनुपर्छ। त्यस्तै नेप्सेले मोबाइल एपहरु बनाएर टिएमएसलाई अझै सहज बनाउनुपर्छ। नेप्से ३०, एमएमइ प्लेटफर्म क्रियाशील गराउनुपर्छ।
लगानीकर्ता छोटेलला रौनियार सरकारमा आएका नयाँ मन्त्री माथि लगानीकर्ताले आशा गरेको बताउँछन्। ‘हालै बाहिरिएका मन्त्रीले पुँजी बजारका लागि खासै काम नगरेकाले लगानीकर्ताले विश्वास गरेनन्, नयाँ अर्थमन्त्रीमाथि लगानीकर्ताले आशा गरेका कारण बजार सकरात्मक दिशातर्फ अगाडि बढेको छ,’ रौनियार भन्छन्, ‘त्यसैले लगानीकर्ताको आत्मबल बढाउने के के काम गर्नुपर्छ, त्यसमा सरकार सकारात्मक हुनुपर्छ।’
मर्जर भएका संस्थाको सेयर कारोबारमा यसअघि दिइएको कर छूटलाई लिएर आन्तरिक राजस्व विभागले देखाएको चासो बेलैमा सम्बोधन हुनुपर्छ।
मर्जर भएका संस्थाको सेयर कारोबारमा यसअघि दिइएको कर छूटलाई लिएर आन्तरिक राजस्व विभागले देखाएको चासो बेलैमा सम्बोधन हुनुपर्छ। टाठाबाठा लगानीकर्ताहरु यसैलाई विषय बनाएर बजारमा खेल्ने गरेको पाइन्छ। बैंक तथा वित्तीय संस्था डुब्ने हल्ला र ऋण तिर्नुपर्दैन भन्दै उच्छृंखल गतिविधि गर्ने समूह खुलेआम हिँडिरहेको स्थितिको अन्त्य हुनुपर्छ। बैंकरहरु पक्राउका विषयमा उठेका समस्याहरुको समाधानमा चनाखो बन्नुपर्छ।
बैंक तथा वित्तीय संस्थाको बढ्दो निस्क्रिय कर्जा र निस्क्रिय सम्पत्ति व्यवस्थापनमा सरकार र राष्ट्र बैंक मिलेर उपयुक्त विकल्पमा काम गर्नुपर्ने आवश्यकता छ। धितोको रुपमा प्रयोग भएको घरजग्गा बैंक तथा वित्तीय संस्थालाई सकार्न र बिक्री गर्न पर्दै गएको अप्ठ्यारो फुकाउनुपर्ने आवश्यकता छ। पुँजीकोष दबाबले ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका बैंकलाई सहजीकरणको आवश्यकता छ। सरकार र नियामक निकायहरुले बेलैमा मिलेर काम गरेमा सेयर बजारले नयाँ आशा सिर्जना गर्दछ।
नेपाल धितोपत्र दलाल व्यवसायी संघका पूर्वअध्यक्ष भरत रानाभाट सूचक तल्लो बिन्दुमा रहेका बेला ब्याजदर घटिरहेको, राजनीतिक परिवर्तन भएको र नीतिगत सुधारका पर्याप्त ठाउँ रहेकाले समग्रमा बजारका लागि सहज वातावरण रहेको बताउँछन्। ‘राष्ट्र बैंकले नीतिगत लचकता अपनाउँदै आए पनि अझै सुधारका थुप्रै ठाउँ छन्,’ रानाभाट भन्छन्, ‘लगानीकर्ताले सम्बन्धित निकायबाट तत्कालै सुधारका कामहरु होस् भन्ने चाहेका छन्।’