KFGVRFI34

विद्यार्थी र सर्वसाधारणको पहुँच बाहिर आइपिओ,

0

सर्वोत्तम सिमेन्टको सेयर ५५ हजार ५ सय २१ जनाले हात पारे। ९ लाख ५८ हजार ९ सय ५९ मध्येबाट गोलाप्रथा गरी बाँडफाँड गर्दा ५.७९ प्रतिशतको भागमा मात्रै प्राथमिक सेयर (आइपिओ) पर्यो। न्यूनतम ५० कित्ता आइपिओ भनुपर्ने व्यवस्थाका कारण सर्वोत्तमको आइपिओमा निकै कम आवेदन पर्‍यो।

गत फागनु २५ मा बाँडफाँड भएको सर्वोत्तमको सेयर यदि १० कित्तामा नै बाँडफाँड हुन्थ्यो भने २ लाख ७७ हजार ६ सय ७ जनाले पाउँथे। त्यो भनेको २८.९४ प्रतिशत हो। तर, बुक बिल्डिङबाट पहिलो आइपिओ बिक्री भएको सर्वोत्तममा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनै पर्ने व्यवस्थाका कारण निकै थोरै व्यक्तिको भागमा मात्रै सेयर पर्‍यो।

यसो त, सर्वोत्तममा सेयर पर्नेको संख्या मात्रै घटेको होइन, आवेदन दिनको संख्या पनि घटेको छ। सामान्य अवस्था, अंकित मूल्य १ सय रुपैयाँ र न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था भएको भए निकै धेरैले यस कम्पनीको आइपिओमा आवेदन दिएका हुन्थे। धेरैले सेयर भरेको स्थितिमा भने प्राप्त गर्नेको संख्या तुलनात्मक रुपमा कम हुन पनि सक्थ्यो।

आइपिओ भर्ने सन्दर्भमा यसअघि २१ लाखसम्मले आवेदन दिएको रेकर्ड छ। ०७८ को असारमा आइपिओ जारी गरेको जीवन विकास लघुवित्तको आइपिओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन परेको थियो। यसको आइपिओ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्थ्यो।

त्यतिमात्रै होइन, गत मंसिरमा प्रिमियम मुल्यमा आइपिओ जारी गरेको हिमालयन रि–इन्स्योरेन्समा मात्रै पनि कुल १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन परेको थियो। प्रतिकित्ता २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने यसको आइपिओमा आवेदन दिन २ हजार ६० रुपैयाँ मात्रै भए पुग्थ्यो। हिमालयन रिको सेयर प्रतिकित्ता २०६ रुपैयाँ तोकिए पनि १० कित्ता भर्न पाउने भएकाले सर्वोत्तमको भन्दा करिब पचास प्रतिशत बढी आवेदन परेको थियो।

यस्तै, ०८० भदौमा आइपिओ निष्कासन गरेको हाथवे इन्भेष्टमेन्टको आइपिओमा १२ लाख ७० हजार, सोही भदौमै अंकित मूल्य १ सय रुपैयाँमा १ सय ४४ रुपैयाँ थप गरी २४४ रुपैयाँ प्रतिकित्ताका दरले आवेदन खुलाएको सिटिजन लाइफको आइपिओमा कुल १५ लाख ८४ हजार र गत असोजमा आवेदन खुलेको मिड सोलु हाइड्रपावरको आइपिओमा १३ लाख ८१ हजार जनाले आवेदन दिएका थिए। नेपाल धितोपत्र बोर्डले २०७५ चैत २७ बाट सार्वजनिक निस्काशनमा न्यूनतम १० कित्ता आवेदन दिन सकिने र १० कित्ताले भाग जानेगरि बाँडफाँड गर्नुपर्ने व्यवस्था गरेको थियो।

सर्वोत्तमको हकमा भने बुक बिल्डिङबाट मूल्य तयार भएकाले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले न्यूनतम ५० कित्ताका लागि आवेदन दिँदा आइपिओ भर्न कम्तिमा १८ हजार ४५ रुपैयाँ रकम आवश्यक पर्ने भयो। हाल सर्वोत्तमलाई नेप्सेले १८५.३६ पैसादेखि ५५६.०८ पैसासम्मको ओपनिङ रेन्ज तोक्ने सिमा दिएको छ।

बुक बिल्डिङबाट न्यूनतम ५० कित्ता आइपिओ भर्नुपर्ने व्यवस्थाले दूरदराजका सर्वसाधारण, घरगृहणी, विद्यार्थी प्रभावित भएका छन्। विगतमा विद्यार्थाीहरुले आफूले गर्ने दैनिक खर्च कटौती गरेर भए पनि आइपिओ भर्ने गरेका थिए। तर, ५० कित्ता भर्नुपर्ने व्यवस्थाले उनीहरुमा त्यो रकम नहुने अवस्था बन्यो र सेयर भर्न पाएनन्।

बुक बिल्डिङबाट न्यूनतम ५० कित्ता आइपिओ भर्नुपर्ने व्यवस्थाले दूरदराजका सर्वसाधारण, घरगृहणी, विद्यार्थी प्रभावित भएका छन्। विगतमा विद्यार्थाीहरुले आफूले गर्ने दैनिक खर्च कटौती गरेर भए पनि आइपिओ भर्ने गरेका थिए। तर, ५० कित्ता भर्नुपर्ने व्यवस्थाले उनीहरुमा त्यो रकम नहुने अवस्था बन्यो र सेयर भर्न पाएनन्।

बुक बिल्डिङबाट निष्कासन भएको आइपिओ प्राप्त गर्नका लागि आवश्यक पर्ने ठुलो रकम सर्वसाधारण, विद्यार्थी तथा न्यून आए भएका वर्गको क्षमताले नभ्याउने भएकाले यस व्यवस्थाबारे पुनर्विचार गर्नुपर्ने स्टक ब्रोकर एसोसिएसन नेपालका पूर्वअध्यक्ष भरत रानाभाट बताउँछन्। ‘हिजो सर्वसाधारणको पहुँच पुग्ने बनाइएको आइपिओलाई अब फेरी टाढा पुर्याइयो भने राम्रो हुँदैन। हामीले त्यस्तो अभ्यासको परिकल्पना पनि गरेका थिएनौं,’ रानाभाट भन्छन्, ‘पछिल्लो समय धेरै रकम लगाउनुपर्ने गरी आइपिओ आएको हेर्दा बुक बिल्डिङ प्रणाली नै वैज्ञानिक भएन कि भन्ने पनि देखिन्छ।’

रानाभाट नेपालीको आर्थिक अवस्था र आम्दानीअनुसार सुरुवाती चरणमै बुक बिल्डिङका नाममा अपनाइएको प्रणाली उचित नदेखिएकाले यसलाई समयमै सच्याउनुपर्ने बताउँछन्। हिजोका दिनमा १० कित्ते नीति ल्याउँदै गर्दासमेत सर्वसाधारले सानो पुँजी लगानी गर्ने ठाउँ होस् भन्ने ढंगबाट ल्याइएकाले हाल त्यसलाई उल्ट्याउने काम भएको रानाभाटको भनाइ छ।

सर्वोत्तम पछि आइपिओ जारी गर्ने तयारीमा रहेको रिलायन्स स्पिनिङको अवस्था झन् फरक छ। रिलायन्सको मूल्य  सर्वोत्तमको भन्दा साढे दुई गुणा बढी छ। प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई खुल्ने यो आइपिओ भर्नका लागि कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक पर्दछ। जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्ने यस कम्पनीको आइपिओ पनि सर्वसाधारणले पहुँच बाहिर हुने देखिन्छ।

नेपालमा १० कित्ते नीति सुरु भएसँगै थोरै आम्दानी भएका, विद्यार्थी, गृहीणी सबैले आइपिओ भर्दै आएका छन्। तर, बुक बिल्डिङका नाममा रिलायन्स स्पिनिङको भन्दा बढी लगानी गर्नुपर्ने आइपिओ खुलाउने लहर चल्नसक्ने र यसले विद्यार्थी, न्यून आय भएका र आम सर्वसाधारणले पाउँदै आएको अवसरबाट वञ्चित गराउने लगानीकर्ता छोटेलाल रौनियार बताउँछन्। ‘हिजोका दिनमा धेरै संघर्ष गरेर सर्वसाधारण र कम आम्दानी भएकालाई पुँजी बजारको पहुँचमा ल्याउने काम भएको थियो। १० कित्ते नीति आएसँगै पुँजी बजारमा लगानीकर्ताको संख्या बढ्ने, कारोबार राम्रो हुने मात्रै भएन सेयर बजारको भविष्य पनि राम्रो देखियो,’ रौनियार भन्छन्, ‘तर, सर्वसाधारको पहुँचमा सेयर बजार पुगेको देख्न नसक्ने केही वर्गको निरन्तर प्रहारका कारण अहिलेको अवस्था आएको हो। जुन राम्रो होइन।’

बुक बिल्डिङको नीति अपनाएर आइपिओका लागि धेरै लगानी गर्ने स्थिति बनाइ फेरी बजारलाई सीमित व्यक्ति वर्गको एकाधिकार बनाउने प्रयास भएको रौनियारको भनाइ छ। रौनियारले अहिले आएर बुक बिल्डिङ भन्दै सर्वसाधारको पहुँचमा सेयर पुर्‍याउने उद्देश्यलाई खुट्टा काट्ने काम भएको बताए। ‘बुक बिल्डिङका नाममा घुमाउरो पारामा जालझेल भएको छ। अन्यथा १० कित्ताले केही बिगारेकै थिएन, एतिकै छोड्दिएको भए हुन्थ्यो,’ रौनियार भन्छन्, ‘यहिक्रममा अघि बढ्दा भोली झन् धेरै महँगोमा आइपिओ आउन सक्छन्। त्यो बेला के गर्ने? पछिल्लो नीति केही बदमासी गर्ने नियत भएका, पहुँच पुग्ने र माथिल्लो निकायसँग हालीमुहाली गर्नेहरुले खेलेको खेल हो जस्तो देखिन्छ।’

रौनियार पुँजी बजार विकास र विस्तार गर्न मद्दत गर्ने सर्वसाधारण र विद्यार्थीको पेटमा अहिले बुक बिल्डिङका नाममा लात्ती हान्ने काम भएको बताउँछन्। बुक बिल्डिङबाट नै आइपिओ जारी गर्ने व्यवस्था कायम राखेपनि न्यूनतम ५० कित्तामा आवेदन दिनुपर्ने व्यवस्थालाई परिवर्तन गरी १० कित्ताका लागि आवेदन दिन पाउनुपर्ने व्यवस्था भने तत्काल बनाउनुपर्ने रौनियारको भनाइ छ।

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारमा बुक बिल्डिङ निर्देशिका, २०७७ लागू गर्दै बुक बिल्डिङमार्फत् आइपिओ निष्कासन गरेको कम्पनीको सेयर खरिदका लागि आवेदन दिने र बाँडफाँट हुने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुने व्यवस्था गरेको थियो। यस व्यवस्थामा पुनर्विचार गर्नुपर्ने आवाज धेरैबाट उठेको छ।

तथापि, नेपाली पुँजी बजारमा बैंक तथा वित्तीय संस्था, जलविद्युत, बिमा कम्पनी लगायतको मात्रै दबदबा रहेको अवस्थामा बुक बिल्डिङले रियल सेक्टरलाई पनि प्रवेश गराउने भएकाले सकरात्मक रुपमा लिनुपर्ने नेपाल इन्भेस्टर्स फोरम अध्यक्ष तुलसीराम ढकाल बताउँछन्। कुनै स्थापित कम्पनीले वर्षौं लगाएर आफ्नो पहिचान बनाएको हुनाले उसलाई प्रतिकित्ता एक सय रुपैयाँमै सेयर दिनुपर्छ भन्न नमिल्ने ढकालको भनाइ छ।  ‘लगानीको प्रतिफल राम्रो हुन्छ भने केही बढी रकम तिर्दा खासै फरक पर्दैन। अहिले कुनै नेटवर्क नभएको कम्पनी पनि चार वा पाँच सय भन्दा कम मूल्यमा किन्न पाईंदैन,’ अध्यक्ष ढकाल भन्छन्, ‘राम्रो कम्पनीलाई आफ्नो प्रोमोट गर्न र लामो समयदेखि चलेका कम्पनी पब्लिकमा आउन् र उनीहरुको सेयर सबैको पहुँचमा आओस् भन्ने अवधारणामा सरकारले, धितोपत्र बोर्डले यो प्रणाली ल्याएको हो। यसको विरोध गर्नुपर्ने कारण देखिँदैन।’

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34