माओवादी नेता कृष्णबहादुर महरा पक्राउ भए सगै बिरामी भएको भन्दै उपचारको प्रबन्ध गर्न अदालतको आदेश दिएको छ।
सोमबार जिल्ला अदालत काठमाडौंले चार दिन म्याद थपको अनुमति दिँदै महरालाई बिरामी भएको हुँदा अस्पतालमा लैजान दुर्गाप्रसाद खनालको एकल इजलासले आदेश दिएको हो।
‘निज पक्राउ व्यक्ति स्वयंमले आफू टिबी, युरिक एसिड, प्रोस्टेटको बिरामी रहेको भनी उल्लेख गरेकाले आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन समेत दिएको छ,’ आदेशमा भनिएको छ।
महरालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको थियो।
उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको छ।
इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका हुन्। ९ किलो सुन र ६० किलो सुन प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले उनीविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो।
जाँचबुझ आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन बुझाएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालय हुँदै उक्त प्रतिवेदन सिआइबीमा पुगेको थियो।
सिआइबीमा अहिले एआइजी श्याम ज्ञवाली प्रमुख छन्। यसअघि जाँचबुझ आयोगले एआइजी किरण बज्राचार्यको कमजोरी औंल्याएपछि उनको सरूवा गरिएको थियो।