KFGVRFI34

बिहेको भोलिपल्ट नै लोक सेवाको परीक्षा परेपछि।

0

मेरो नाम काव्या। ‘तँ त लास्टै जान्नेछस्’ भनेरै साथीहरूले मलाई लोक सेवाको लत लगाएर आफूहरू भने विदेश टाप हाने। आफू भने बिहे गर्ने उमेर भइसक्दा समेत यसैमा झुण्याझुण्डै थिएँ।

धन्न मुद्दा परेर परीक्षा सरेको फुर्सतमा बिहे गर्ने मेसो पारेथें। साइत बल्ल बल्ल जुर्याथ्यो। इन्गेजमेन्ट गरेको एक महिना बितिसक्याथ्यो। बिहेको मिति तय भएसी एक प्रकारले नोस्टाल्जिया छाएथ्यो ममा।

अब आफ्नो घर पराई हुँदै थियो र पराई घर आफ्नो। अरू सबै कुरा ठीकठाक चल्दै थियो। तयारी धुमधाम हुँदै पनि थियो। तर मोबाइलमा आएको एउटा सूचनाले मलाई गम्भीर मोडमा पुर्यायो। मुद्दा परेर सरेको सरै भएको लोक सेवाको परीक्षा अदालतको आदेश आएसँगै बिहेकै भोलिपल्टको लागि तय भयो।

मेरा मगज चक्कारायो। डेट फिक्स भएपछि पढौंला भन्दै कपाल कन्याएर बितेका मेरा दिनहरू झलझल्ती यादमा आए। अब के गर्ने? परीक्षा नदिऊँ पनि कसरी? आफू मात्र होइन टोलभरिकालाई थाहा छ यसले लोक सेवाको तयारी गर्दैछे भन्ने कुरा। हुनेवाला श्रीमान पनि आसैआसमा बसेका छन् कतै नाम पो निकालिहाल्छे कि भनेर। मस्त आरामले पढेर परीक्षा दिउँला भनेको त कस्तो बेला परीक्षा राख्दियो लोक सेवाले, म त रनभुल्ल परेँ।

हप्ता दिनअघि देखि नै घरका सबै जना मलाई खोजिरहेका हुन्थे म भने मोबाइलमा आफ्नो परीक्षा सेन्टर खोजिरहेको थिएँ।

पहिलोपल्ट बेहुली हुन लागेको पिरले सताइरहेको थियो त्यसमाथि परीक्षा। धेरै टेन्सन भयो भने आफूलाई पखाला लाग्ने फेरि। घरभरि पाहुना भरिएर चर्पी पनि उस्तै प्याक। खान, पिउन, बिहेमा रमाउन घरमा जम्मा भएकाहरूका अघि म लर्बरिरहेको थिएँ।

धेरैले सोचेका पनि थिए होलान् यो केटीलाई के भाछ भनेर? परीक्षा कुनै हालतमा सार्न मिल्ने थिएन, बिहे पो सार्दिन्छन् कि भनेर मैले हुनेवाला श्रीमानलाई प्रस्ताव राखें। उल्टै त्यस्तो परीक्षासँग पनि डराउने हो त? म तिमीलाई पढाइहाल्छु नि अघिल्लो रात भन्दै हाँस्न थाले।

मैले बुझिसकेको थिएँ, मेरो परीक्षालाई लिएर कोही पनि सिरियस थिएन। एडमिट कार्ड प्रिन्ट गर्न नजिकैको साइबर गाको, ‘ए तपाईंको त बिहे छ भन्ने सुनेको थिएँ। खै! त हामीलाई त निम्तो नि आएन’ भन्दै थियो।

खान नपाको मोरो भन्दै भित्रभित्रै रिसले अँधेरो भएँ। फेरि रिसलाई बाटैभरि सेलाउँदै घरतिर लागेँ।

आफूलाई पहिलो पत्रको भूगोल, इतिहास, संविधान कानुन, खेलकुद,आइक्यु र समसामयिकले पिरोलिरहेको थियो। घरमा जम्मा भएका बुढापाका मान्छेहरू ठूलो ठूलो स्वरमा दूरदूर भूगोलबाट आफू आएको बहाना बनाउँदै पहिलेको आफ्नो बिहेको कारूणिक इतिहास फलाक्दै थिए।

बच्चाबच्चीहरू यता र उता खेलिरहेका थिए, कुदिरहेका थिए। आमै भान्छाबाट घरि नुन सिद्दियो भन्थिन् घरि बेसार लिन जा भन्थिन्। समय पूरै गडबड थियो र उल्झनमा थियो। सामयिक भने समयको बिछोडमा थियो। म आफ्नै कोर्सको नाफा घाटा र प्रतिशतमा अल्झिएको थिएँ भने घरका ठूलाबडाहरू दाइजो कति दिँदा नाफा वा घाटा होला हिसाब लाउँदै थिए। म आफैं विचित्र गुफामा गएर टुक्रुक्क बसेझैं भयो। जब मेहेन्दीको दिन आयो, दल्न थाले सबैले पालैपालो। अनि जब घोप्टाए पानी ममाथि अनि लाग्यो म त रुप्से झरनाको फेदमा बसिरहेछु। पूर्वदेखि पश्चिमबाट आएका पाहुनाहरूको लामै पंक्तिले आएर सोध्थे ‘नानीले कति पढ्नुभाछ?’ न्यूनतम योग्यता छ भनेर भनिदिन्थें। ट्वाँ पर्थे।

हेर्दाहेर्दै बिहेको दिन पनि आयो। छकाउन खोज्दाखोज्दै आयो। तर एकाबिहानै घरको धारामा पानी आएन अनि मलाई पनि संविधानको धारा याद आएन। नुहाउनकै लागि छिमेकीको घरमा पस्न पर्यो। छिमेकी अंकल पत्रिका पढ्दै यो चोटी त गरिबी बीस प्रतिशतमा झरेछ नि भने। म नुहाउन छोडेर पत्रिका पढ्न थालेँ। घरसम्म कुरा पुगिसकेछ। आमा यतै सुनिने गरी कुर्लिनु भो ‘हैन, यसलाई त्यहाँ नुहाउन पठाको कि पढ्न हँ?’ अनि त म नुहाउन छिरिहालें।

घर आएपछि मेरो सजावट भयो। सबैले टिकटिक बनाउँदै थिएँ। तर कात्तिक २७ गते सरकारले टिकटिक ब्यान्ड गर्या होइन र? मैले आफैंलाई प्रश्न गर्दै रिभिजन गरेँ। सायद भिपिएनबाट होला- फेरि यो पनि रिभिजन गरेँ। बिहे मेरो थियो फोटो मस्त अरू खिचिरहेका थिए।

ला! यो क्यामेराको आविस्कारक त भुलिसकेछु। फेरि कोठा गएर किताब पल्टाउन थालें। आमै फेरि कराउनु भो जन्ती आउन लागे भन्दै।

म हतार हतार फर्किएँ। हुनेवाला श्रीमानले बालेन चस्मा लाका थिए। सबैका अघि बालेन कति औं मेयर हुन् काठमाडौंका? भनेर मैले श्रीमानतर्फ प्रश्न तेर्स्याएँ,कौन बनेगा करोडपतिमा अमिताभ बच्चनले प्रश्न तेर्स्याए जस्तै। सबै छक्क परे अनि टक्क अडिए। पण्डितले मौनता बिथोले र जग्गेमा लगे। आडैमा मोबाइल थियो मेरो। पण्डितले काम कुरामा अलि ढिलो गर्ने बित्तिकै म मोबाइलमा सेभ्ड डकुमेन्ट हेरिहाल्थें। धन्न एकचोटी त होम हाल्ने ठाउँमा मोबाइल हालेर बित्तासै पारेनछु। पछाडि कुरा काट्दै थिए,’कति मोबाइल चलाउन सकेकी होली, बिहेको दिन त आराम दिनु नि।’

म तिलस्मी तिलिचोमा पुगेर गहिराइ घोक्दै थिएँ त्यही चुर्लुम्मै भएँ।

मेरो पूरै ध्यान परीक्षामा थियो। सिन्दुर लाउने काम धरि सकिसकेछ। म महिलाका हकका कुरा रिभिजन गर्दै थिएँ। अन्माउने बेला भइसकेछ सबैजना रुँदै थिए। म पनि यसो रोए जस्तो गरें।रिभिजन गरिरहेको सानो चिर्कटो श्रीमानको कोटको खल्तीमा हालेँ। अनि किताब प्याक गरेको सुटकेस अलि हेरबिचार गरेर राख्न लगाएँ। बेलुका गएर पढ्न पर्ने हुन सक्थ्यो त्यसैले। श्रीमानको घर नपुगिन्जेल म श्रीमानको गोजीबाट चिर्कटो निकालेर पढ्न थालें। श्रीमान भने मेरो मुहार पढ्न थाले।

श्रीमानको घर पुगियो। ढोगभेट टीकाटालो सिद्दिएपछि अनि आयो सुहागरातको पालो। ओछ्यान कोठा सबैको सजावट मस्त थियो अनि श्रीमान पूरै फर्ममा थिए। तर म किताब राखेको सुटकेस खोज्दै थिएँ। एकैछिन रिभिजन गर्छु है भन्दै म सुटकेस खोलेर किताब पल्टाउन थालें। श्रीमान मलाई खाटमा सुस्तरी सुस्तरी पल्टाएको कल्पना गर्दै मतिर पुलुक्क हेर्दै थिए। मलाई त बालै थिएन। वासरूम गएर ड्रेस चेन्ज गरिवरि मैले पढें- प्रधानमन्त्रीले लिएको विश्वासको मतदेखि सरकारले पाएको गठबन्धनको साथ। भाँड मै गयो सुहागरात।

बिहानै श्रीमान बिउँझिए म त सुतेकै थिइनँ। एघार बजेको परीक्षाका लागि मैले मेसो मिलाएँ। केटा पक्षको तर्फबाट त्यो दिन बिहे भोज रहेछ। म भने श्रीमानलाई लिएर एक्जाम सेन्टरमा गएँ।

घरमा धेरै खोजबिन चलेछ कहाँ गए दुई जना? भनेर। हतार हतार थिएँ म। घण्टी बज्न मात्र पाँच मिनेट थियो। सबै जना आसनमा बसिसकेका थिए। जब म दौडिँदै परीक्षा कोठामा छिरें पाउजूहरू बज्न थाले, हिजो लाएर अझै नउडेका खुश्बुको बहार छायो, मेकअपको चमक अनि मेहेन्दीको रौनकमा सबै जना घाँटी तन्काइतन्काइ मैतिर हेर्न थाले। म भने हत्तेरी पाउजू फुकाल्न भुलेछु भन्ने भानमा एकैछिन पछुताएँ।

जसै परीक्षा सुरू भयो, प्रश्नहरू सँगै रिक्याप भए एक हप्ता अघि देखिका घटनाहरू। जब सोध्यो गण्डकी नदीको लम्बाइ यादमा आए गण्डकी पारिबाट आएका बुढा मावली। अमेरिकी स्वतन्त्रता संग्राम सोध्दा अमेरिकाबाटै बिहेका लागि भनेर आएका ठूला भेना पनि याद आए। वेद उपवेदका प्रश्नमा पण्डितका जग्गेका घटनादेखि ऐनामा देखिने चित्रहरू छुट्याउँदा आफैंले ऐना हेर्दै मेकअप गरेका ती दिनहरू सप्पैसप्पै याद आए। देशको सार्वजनिक ऋण सोध्दा बाले ऋण लिएरै आफ्नो बिहे उम्काएको सम्झिँदा धन्नै आँसु आयो।

जसोतसो सिद्दियो परीक्षा र फर्किएँ घर।

हप्ता दस दिनमा परीक्षाको नतिजा आयो तर मेरो नाम र थर दुवै थिएन। ढुक्क पास हुने ग्यारेन्टी बोकेर श्रीमानसँग पोखरामा हनिमुन हिँडेको म त्यस परीक्षाफलले ठाउँको ठाउँ भासिएँ।फेवातालमा डुंगा सयर गर्दा पो थाहा पाएँ मैले त हतारहतारमा ‘कि’ लेख्नै पो छुटाएको रहेछु अनि त रद्द भएछ नतिजा नै। श्रीमानले प्रश्न गर्दै थिए, ‘ए! अस्तिको रिजल्ट आएछ त कस्तो भयो तिम्रो?’ म ठूल्ठूलो स्वरमा भन्दै थिएँ, ‘बिहेको भोलिपल्ट परीक्षा दिएर नि कहीँ राम्रो हुन्छ त? आफूले अझ बिहेको रात मस्त सिकाउँछु हिसाब भनेर त्यसै निदाउनुभाको होइन?’।

श्रीमान मुसुक्क मुस्कुराए। म भने श्रीमानलाई उल्लु बनाउन सकेकोमा आफूलाई सगरमाथा नै चढ्ने जस्तो भान भयो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34