KFGVRFI34

इलाम २ मा आमनेसामने भएका दुई तन्नेरी, गाउँमा हुर्केका मिलन, सहरमा हुर्केर विदेश देखेका सुहाङ

0

दुवै जवान छन्। दुवै एउटै समुदायका हुन्। दुवैको राजनीतिक स्कुलिङ कम्युनिस्ट हो। दुवैको उद्देश्य एउटै छ– राजनीतिमा सफल हुने र समाज सेवा गर्ने। दुवैको स्वभाव पनि मिल्छ– जोसिलो तर नम्र बोलीव्यवहार।

तर, आउँदो वैशाख १५ मा मा हुने निर्वाचनमा यी दुईजना एकअर्कासँग भिड्दै छन्। एकअर्काको सामना गर्ने तयारीमा दुवै जुटिसकेका छन्।

इलाम–२ को उपनिर्वाचनमा एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ। उनी संविधान सभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्बाङका कान्छा छोरा हुन्।

सुहाङसँग प्रतिस्पर्धामा उत्रिएका छन्, मिलन लिम्बू। पत्रकारसमेत रहेका मिलनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। तर, उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार बनाउने तयारी गरेको छ।

यी दुवैले इलाममा आफ्नो उपस्थिति बाक्लो बनाइसकेका छन्।

गाउँमा हुर्केका मिलन, सहरमा हुर्केर विदेश देखेका सुहाङ

यी दुवै उम्मेदवारबीच कयौँ समानता र असमानता पनि छन्। दुवैको पुर्ख्यौली थलो सोही निर्वाचन क्षेत्रमा पर्छ। मिलनको स्थायी घर माङ्सेबुङ गाउँपालिका–२ मा पर्छ भने सुहाङको इलाम नगरपालिका–७, सुन्तलाबारी हो।

मिलन ३२ वर्षका भए भने सुहाङ ३५ वर्ष पुगे।

सुहाङ र मिलन दुवै लिम्बू समुदायका हुन्। सुहाङको थर ‘नेम्बाङ’ भएजस्तै मिलनको ‘योङहाङ’ हो।

कोसीमा पहिचान पक्षधरका गतिविधि रोकिएका छैनन्। उपचुनावमा पनि पहिचानको मुद्दाले मतमा असर पार्ने देखिन्छ। मिलन आफैँ पहिचान पक्षधर भएर लागेका पात्र हुन्।

सुहाङ भने भर्खरै मात्र राजनीतिमा प्रवेश गरेका हुन्। उनले अहिलेसम्म पहिचानको सन्दर्भमा धारणा सार्वजनिक गरिसकेका छैनन्। सो क्षेत्रका पहिचान पक्षधर एमालेप्रति रुष्ट छन्। पटकपटक उनीहरूले एमालेलाई नै लक्षित गरेर आक्रामक गतिविधि चर्काएका थिए।

सुहाङका बुवा सुवास लामो समय एमाले राजनीतिमा सक्रिय एवं प्रभावशाली नेता थिए। एमालेमा भए पनि उनले फरक दल वा विचारप्रति कहिल्यै रूखो बोली र व्यवहार गरेनन्। प्रायः राष्ट्रिय मञ्चमा साझा व्यक्ति भएर नै रहे। उनले संविधान सभा अध्यक्ष, पूर्वसभामुख मात्रै होइन, विभिन्न मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए। बुवालाई आदर्श मान्दै सुहाङ एमालेको राजनीतिमा प्रवेश गरेका हुन्।

स्वर्गीय सुवास नेम्बाङको क्षेत्रमा छाेरा सुहाङलाई अगाडि सार्ने एमाले निर्णयलाई आलोचकहरूले वंशवादको उपमा दिइसकेका छन्।

मिलनको सानैदेखि राजनीतिमा रुचि थियो। उनले समाज रूपान्तरणको नारासहित उदाउँदै गरेको माओवादीको विचारधारा बोके। पत्रकारितामा सक्रिय हुँदा उनी माओवादीनिकट संगठनको पदाधिकारी नै बने।

सुहाङले काठमाडौँकै निजी विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरे। त्यसपछि उनी ३ वर्ष अस्ट्रेलिया बसे। १२ वर्षअघि बुवा सुवासले उनलाई नेपाल बोलाएका थिए।

नेपाल फर्किएपछि सुहाङले बीए–एलएलबी अध्ययन गरे।

मिलन भने विशुद्ध ग्रामीण पृष्ठभूमिमा हुर्किएका हुन्। माध्यमिक शिक्षा गाउँकै स्कुलमा पूरा गरे। उच्च माध्यमिक शिक्षा गाउँमा उपलब्ध नभएपछि मिलनले झापाको दमक क्याम्पसमा अध्ययन गरे। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका उनी रोजीरोटीका लागि काठमाडौँ हानिएका थिए।

सुहाङका बुवा काठमाडौँको प्रभावशाली राजनीतिकर्मी मात्र होइन, स्थापित कानुन व्यवसायी पनि भएकाले उनले बाल्यकालमा कुनै प्रभावका अभाव झेल्नुपरेन।

मिलन भने त्यतिबेला भविष्यका लागि संघर्ष गरिरहेका थिए। बुवाआमा अहिले पनि गाउँमै खेतीकिसानी गर्छन्। उनीहरूको आर्थिक अवस्था गुजारा मात्र चलाउन सक्ने छ।

 

विरासत थाम्ने दबाबमा सुहाङ, शून्यबाट सुरुवात गर्दै मिलन
०५६ सालको कुरा हो। इलाम–२ मा एमालेको राम्रो प्रभाव थिएन। एमाले फुटेको बेला थियो। त्यहीबेला सुवास नेम्बाङलाई एमालेले टिकट दियो।

 

०४८ देखि ०५६ सम्म माथिल्लो सदन (राष्ट्रिय सभा) मा बिताएका सुवासले ०५६ मा कांग्रेसको विरासत तोडे। पार्टी फुटेकै बेला एमालेलाई जित दिलाएर उनी संसद् प्रवेश गरे। त्यसयता निरन्तर २४ वर्ष चुनाव जितेका सुवासको विरासत थाम्नुपर्ने दबाबमा छन् सुहाङ। अहिले त्यहाँ एमालेको बलियो सांगठनिक पकड बनिसकेको छ।

पछिल्लो निर्वाचनमा सुवास यहाँबाट झिनो मतान्तरले विजयी भएका थिए। तर, कांग्रेस, माओवादीलगायतको गठबन्धन हुँदा पनि उनले आफ्नो व्यक्तित्व र एमालेको बलियो संगठनको बलमा जित हासिल गरेका थिए।

त्यसबखत नेपाली कांग्रेसका डम्बरबहादुर खड्का १ सय १४ मतले पराजित भए। नेम्बाङले ३० हजार २० मत र खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।

अहिले राजनीतिक समीकरण फेरिएको छ। सुवाससँग हारेका खड्कालाई नै कांग्रेसले उम्मेदवार बनाउने तयारी गर्दै छ। बुवासँगै प्रतिस्पर्धामा आएका खड्कासँग सुहाङले पनि भिड्नुपर्ने देखिन्छ। सुहाङलाई यसपटक माओवादीको पनि सहयोग मिल्नेछ। अघिल्लो निर्वाचनमा माओवादीले यहाँ समानुपातिकतर्फ ५ हजार एक सय ५३ मत प्राप्त गरेको थियो।

सुहाङलाई एमालेको बलियो संगठन र सुवास नेम्बाङको विरासत जोगाउने दबाब त छँदै छ, उनको आफ्नै राजनीतिक भविष्यको फैसला पनि यस चुनावले गर्नेछ।

इलाम र त्यहाँको युवा पंक्तिसँग जोडिन उनले स्पोर्टिङ इलाम फुटबल क्लब स्थापना गरेका छन्। बुवा सुवास पनि फुटबलप्रेमी भएकाले उनको समेत सम्मानमा कानुन व्यवसाय, फुटबल र राजनीति सँगसँगै अगाडि बढाउने सुहाङको वाचा छ। पेसाले उनी अधिवक्ता हुन्।

उता, राजनीतिको मैदानमा मिलन भने शून्यबाट पाइला राख्दै छन्। एमालेको निरन्तर जितको विरासत तोड्ने दबाब त छँदै छ, सँगसँगै नयाँ पार्टी रास्वपाको जग पनि बसाउनुपर्ने अवस्था छ। रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियताले भने उनलाई केही सहयोग गर्नेछ।

पार्टी सभापति लामिछाने पनि उम्मेदवार घोषणा गर्न इलाम जाने तयारीमा छन्।

उपसभापति डा. स्वर्णिम वाग्लेले सिंगो पार्टी पंक्तिलाई इलामको उपनिर्वाचन जित्ने गरी खटिन आग्रह गरेका छन् भने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावी कमान्डरका रूपमा इलाममा खटिइसकेका छन्।

अघिल्लो निर्वाचनमा रास्वपाले यहाँ ४ हजार ६ सय ८६ समानुपातिकतर्फ मत प्राप्त गरेको थियो। प्रत्यक्षतर्फ भने रास्वपा उम्मेदवार प्रकाश सापकोटाले जम्मा १ हजार ३ सय ८० मत ल्याएका थिए।

जितका लागि मिलनलाई यो मतमा केही बढाएर मात्र पुग्ने छैन, पुराना दलभित्र ठूलै पहिरो ल्याउन सक्नुपर्नेछ।

मिलन यसअघि लामो समय माओवादीमा सक्रिय थिए। उनले माओवादीकै पनि केही भोट तान्न सक्नेछन्। तर, पहिचान र संघीयताको मुद्दामा रास्वपा स्वयं अस्पष्ट रहेका बेला पहिचानपक्षधर मिलनले आफ्नै पहिचान कुन रूपमा प्रस्तुत गर्छन्? कस्ता नारा र वाचा लिएर चुनावमा जान्छन्? अन्य पहिचान पक्षधर खेमाका उम्मेदवारको प्रभाव कस्तो रहन्छ? उनको खास चुनौती यही नै हुनेछ।

जे होस्, इलाम २ मा उमेरले ३५ पनि नकटेका तन्नेरी मैदानमा उत्रिएपछि उपनिर्वाचन थप रोचक बन्ने देखिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34