KFGVRFI34

आखिर जीवनमा चाहिने भनेको यति नै पो रहेछ!

0

कहिलेकाहीँ छोटो दूरीको सफरमा नै जीवनको लामो यात्रालाई नियाल्न पुगिन्छ। त्यो कटारी बसपार्कदेखि गाईघाटसम्मको यात्रा निकै घतलाग्दो यात्रा थियो।

कटारी अस्पतालमा तालिम सकाएर त्यही दिन फर्किनलाई हत्तपत्त अटोमा बसपार्कसम्म आइयो। गाडी पाउँछ पाउँदैन भन्दै दौडेका हामी; म र एकजना म्याडम ड्राइभरसँगै अगाडिकै सिट पायौँ। विस्तारै सिट भरिएसँगै गाडी चल्न थाल्यो। अगाडि बसेर देखिने दृश्यहरूको मज्जा नै छुट्टै हुने। भर्खरै संचालनमा आएको चिल्लो कालोपत्रे र घुमाउरो भिमानको बाटो अचेल माइक्रोहरूका लागि निकै लोकप्रिय भएको छ। मानौँ नयाँ प्रेमिका पाए जस्तो।

चिल्लो घुमाउरो नयाँ रोड पाएपछि त साढे हानिए झैँ हानिन्छन्। प्रायः सबै माइक्रोहरूको रुट बदलिएसँगै चर्चित बुढाको पेडाहरू पनि बसाइँ सरेर यतै खम्बा गाढिसकेका छन्। आ-आफ्नो शाखा बुढाको पेडा, बाजेको पेडा, पुरानो असली बुढाको पेडा सबैले पालैपालो व्यापार विस्तार गरिसके। हुन पनि हो, जहाँ अवसर मिल्छ त्यतै डेरा जमाइहाल्नु पर्छ। समय र अवसरसँगै चल्नु नै बुद्धिमानी हुन्छ।

एक त घुमाउरो बाटो त्यसमा नि म्याडम र ड्राइभरको बीचमा बसेको म, मानौँ मेरो गाडीको ब्रेक नै नभए जस्तो घरी म्याडमसँग त घरी ड्राइभरसँग ठोकिँदै यात्रा अगाडि बढिरहेको थियो। अलि अगाडि दुई जना भर्खरका युवाले गाडी रोकेर चढे। तिनीहरू वडाको चिठी अनि विदेशको के-के कुरा गर्दै थिए। सायद तिनीहरू विदेश जाने प्रक्रियामा थिए।

अचेल बाहिर देश जानु सामान्य भइसकेको छ बरु युवाहरू देश बस्दा प्रश्न उठ्छ। फेरि हामी नर्सिङ पढेकाहरूलाई त झन् विदेश जाने प्रश्न र प्रस्ताव कति हो कति। हरेक दिन नेपालबाट करिब दुई हजारले देश छाड्छन्। त्यसैमा फेरी यी दुई युवा पनि थपिने भए भनेर म चिन्तित भएँ।

नेपाल  लेबर माइग्रेसनको रिपोर्ट २०२२ अनुसार २०२१/२२ मा जम्मा श्रम स्वीकृत जारी भएको संख्या ६ लाख ३० हजार ८९ थियो भने वैदेशिक रोजगार विभागको अनुसार २०२२/ २३ मा त्यो संख्या बढेर ७ लाख ७१ हजार ३२७ पुग्यो। यो त काम गर्ने स्वीकृत भिसाको तथ्यांक मात्र भयो, अझै विद्यार्थी भिसा र अवैध बाटोबाट जाने मिलाएर त कति हो कति।

देशमै बस्ने युवाले त आफ्नो गाउँघर दसैँ तिहार, कि त्यही विदेश जानलाई कागजात बनाउन मात्र सम्झिने भए। थाहा छैन अब विदेश जानेले देशलाई सम्झेर कहिले फर्किने होलान्! मलाई पनि त घरीघरी विदेश जाने झोक नचलेको हैन। सायद मेरो पुस्ताका सबैमा जो नेपाल बसिरहनु भएको हुनुहुन्छ, त्यो भावना एक न एक चोटि त पक्कै आएकै होला। तर खोइ किन हो किन आफूलाई त्यही जोगबनी (विराटनगर नाका) जाँदा नि कत्तिखेर आफ्नै सिमानामा फर्किउ झैँ लाग्छ। आफ्नो देशको माटो टेकेपछि र यहाँको मानिसहरू देखेपछि मात्र सुरक्षित महसुस हुन्छ।

ड्राइभरकै पछाडिको सिटमा एकजना आमा बस्नुभएको थियो। उमेर होला लगभग ७० वर्ष। खलासीले सोधिरहेको थियो, कहाँ झर्ने आमा भनेर। आमाले पनि म भनिहाल्छु नि, त्यही होक्से पुल अगाडि त हो भन्दै हुनुहुन्थ्यो। ठाउँको नाम नि कस्तो कस्तो हुने; आमा झर्ने ठाउँ होक्से, मेरो चाहिँ बोक्से।

होक्से पुल अगाडिको घुमाउरो बाटो आएसँगै ती आमाले त्यहाँ अगाडि बुढो मान्छे भए ठाउँमा रोक्दिनु भन्दै कराउनु भयो। आमाले कति टाढा बाटोबाट नै बुवालाई चिन्नुभएको। मलाई नि हेर्न मन लाग्यो। पर एउटा बुढा मान्छे रोडको दाहिनेपट्टि सिमेन्टले बनेको मुडामा पलेटी कसेर गाडीहरूलाई नियालिरहनु भएको रहेछ। गाडी ठ्याक्कै रोकिँदा आमालाई देखेसँगै बुवाको हाँसो, ओहो कति चोखो र मिठो!

हँसिलो अनुहार बनाउँदै बुवा झोला लिन आउनुभयो। त्यो दृश्यले मेरो मन नै खुसी र सन्तुष्ट भएर आयो। पछाडि फर्किँदै आमाबुवालाई देखुन्जेलसम्म हेरिरहेँ। आखिर जीवनमा चाहिने भनेको यति नै रहेछ; आफ्नो देश र बुढेसकालसम्म साथ दिने साथी। अरु त बस भौतिकवादी चिज न हो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34