KFGVRFI34

तरकारी बेचेरै छोरालाई इन्जिनियर पढाउँदै,

0

२२ वर्ष अघि पर्सा जिल्ला पोखरीया नगरपालिका ७ गोबिन्दपुरका जोखु राउत कुर्मीले तरकारी खेती सुरु गर्दा सम्पत्तिको नाममा ३/४ कट्ठा जग्गा भन्दा अरू केही थिएन । पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिक अभावका कारण पढ्न सकेनन् ।

त्यही ३/४ कट्ठा जग्गामा लगाएको धानले ३/४ महिना कटाउन पनि मुस्किल हुन्थ्यो । अरू महिना आदि पेट खाएर पनि गुजार चलाउँदै आएका थिए । त्यो बेलामा साधारण लेखपढ गरेका मानिसले जागिर पाउँथे । उनले पनि धेरै जागिर खाने कोसिस गरे तर कतै पाएनन् ।

 

उनी जस्ता ५/६ जना साथीको दैनिकी गफ गरेरै बित्तिथ्यो । तर एक दिन उनका छिमेकीले तरकारी खेती गर्न सुझाव दिए । ‘एक दिन गफ गरेर बसिरहेका थियौँ । छिमेकीले जागिर भन्दा त तरकारी खेती गर्न राम्रो भनेर सुझाव दिए’ उनले विगतका दिन सम्झँदै भने,‘मलाई पनि उहाँले भनेको कुरा ठिक लाग्यो । त्यतिकै बस्नु भन्दा तरकारी खेती सुरु गर्ने सोच बनाएर उहाँकै सल्लाह अनुसार तरकारी खेती सुरु गरे ।’

३ कट्ठा जग्गाबाट तरकारी खेती सुरु गरेका उनेले ५ वर्षदेखि १६ कट्ठामा खेती गरिरहेका छन् ।  कुनै बेला मुस्किलले खान, लगाउन पुग्ने कुर्मीको परिवार अहिले गाउँकै नमुना किसानमा गनिन्छ ।

पहिला उनको झुप्रो घर थियो । लुगाफाटो पनि पु¥याएर लगाउनु पर्ने। गाउँलेहरू परम्परागत रूपमा गरिँदै आएको मकै र धान खेतीमा विश्वास राख्थे। गरिबी र अभावले जकडेका बेला उनले नयाँ सोचका साथ तरकारी खेती गरेर परिवारको गुजारा चलाउन सुरु गरे ।

त्यही साल खेती गरेको बन्दा, काउली, मूला र रायोको सागले राम्रै आम्दानी दियो । त्यसपछि झन उत्साहित भएर उनले जग्गा बढाउँदै तरकारी खेती गर्न सुरु गरे ।

‘त्यस बेला मेरो के थियो र ?’ बारीमा भिण्डीको झार नलेख्दै गरेका कुर्मीले भने, ‘खान, लगाउन मुस्किल थियो। धेरै पढ्ने चाहना हुँदा हुँदै पढ्न पाइन । अहिले तरकारीले नै यहाँसम्म ल्याइपु¥यायो।’ तरकारी खेतीबाट राम्रो आम्दानी हुन थाले पछि उनले १० कट्ठा जग्गा लिजमा लिएर तरकारी खेती गरिरहेका छन् ।

प्रति वर्ष प्रति कट्ठा ४ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । तरकारी खेतीबाटै वार्षिक खर्च कटाएर ५ लाख रुपैयाँ बचत हुने गरेको छ । तरकार खेतीबाटै एउटा छोरीलाई एसएलसी र एउटा छोरीलाई कक्षा १२ सम्म पढाएर विवाह गरिदिएका छन् ।

एउटा छोराले ब्याचलर पढिरहेका छन् भने एउटाले इन्जिनियर । तरकारी खेतीबाट आएको पैसाले घरखर्चसँगै छोरा छोरीकाको पढाई खर्च चलाउन सहज भएको छ । बचेको पैसा बैंक र गाउँको सहकारीमा उनले बचत गर्दै आएका छन् ।

‘आर्थिक अभावकै कारण मैले पढ्न पाइन तर तरकारी बेचेर नै छोरा छोरीलाई पढाइरहेको छु’ अहिले जीवन सानसँग बितेको भन्दै भने,‘अहिले मलाई केहीको दुख छैन । सायद जागिर खाएको भए यति कमाउन सक्ने थिइन होला ।’ तरकारी खेतीबाट फाइदै फाइदा नभए पनि राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ ।

एउटै जमिन, हावापानी र समयमा बेग्लाबेग्लै प्रजातिका तरकारी खेती गर्दा एउटाको मूल्य घटे पनि अर्कोले राम्रै भाउ पाउने हुँदा धेरै नोक्सान बेहोर्नु पर्दैन । ‘मिश्रित तरकारी खेती गर्दा कहिल्यै नोक्सान हुँदैन,’ तरकारी खेतीको फाइदाबारे बताउँदै उनले भने।

दुःखले परिवार पाल्ने यी किसान परिवारलाई तरकारी खेतीले छोटै समयमा लाखौँको मालिक बनाएको छ । तरकारी खेती यति सजिलै किसानको जीवनमा कायापलट ल्याउने माध्यम बनेको भने होइन। यसका लागि किसानले मिहिनेत गरेका छन् नै, आफ्नो उत्पादन आफै बजारमा पु¥याउँछन्।

बिहान उठेदेखि बेलुका अबेरसम्म बारीमै खटिरहेका हुन्छन् । तरकारी खेतीबाट राम्रो सफलता मिलेको छ, खेत भरी हरियाली फलेका तरकारी देख्दै मन आनन्दित हुन्छ, तरकारी बेचेर दाम बुझ्दा एक छिन खाली बस्नै मन लाग्दैन, आफ्नै माटोमा कृषिबाट राम्रै कमाउन सकिने रहेछ’ उनले भने ।

मेहनत गरियो भने दाम कमाउन समस्या नभएको उनको भनाई छ । उनले आफू मात्र हैन ४/५ जनालाई रोजगारी समेत दिएका छन् ।

आफ्नो दैशमा मेहनत गर्ने हो भने तरकारी खेतीबाट राम्रो आम्दानी हुने उनको भनाई छ । ‘अहिलेका सबै मानिस विदेशी रहेका छन् । विदेशमा जति मेहनत यहाँ गर्ने हो भने राम्रो आम्दानी हुन्छ ।’ उनले भने,‘तर कृषि पेसालाई सानो पेसाको रूपमा हेरिदा केही समस्या भएको छ । त्यो सोचाइमा परिवर्तन ल्याउन आवश्यक छ ।’

उनले पनि तरकारी खेती सुरु गर्दा धेरै आफन्तले नराम्रो भन्थे । ‘कृषिलाई हेर्ने दृष्टिकोण धेरै फरक छ’ उनले आफूले भोगेको अनुभव सुनाउँदै भने,‘मलाई बरु भारत गएर  कुल्ली काम गर । तर तरकारी खेती नगर भन्ने आफन्त धेरै थिए ।’ तर आफूले अरूको कुरा नसुनी तरकारी खेती नै गरेको उनी बताउँछन् । आफ्नो मेहनतको कमाइ खान लाज मान्न हुँदैन भन्दै उनले कुनै पनि काम सानो ठुलो नहुने बताए ।

तरकारी खेतीसँगै नर्सरी पनि सुरु 
तरकारी खेतीबाट राम्रो आम्दानी भएसँगै गत वर्षदेखि उनले फलफूल तथा तरकारीको नर्सरी पनि सुरु गरेका छन् । १६ मिटर चौडाको नर्सरी रहेको छ । नर्सरी सञ्चालन गरेको एक वर्ष मात्र भएको भन्दै उनले घिरौँला, करेला, लौकाको ५/६ हजार जति बिरुवा,१५ सय मेवा तथा भ्यान्टा, काउलीको पनि धेरै नै बिरुवा बिक्री गरिसकेको बताए ।

अहिले आफू बिरामी भएर खासै धेरै बिरुवा उत्पादन गर्न नसकेको पनि उनी बताउँछन् । ‘अहिले म आफै बिरामी छु र भने जस्तो बिरुवा उत्पादन गर्न सकिरहेको छैन’ उनले भने,‘अब आउने वर्षदेखि राम्रो बिरुवा उत्पादन हुन्छ र नर्सरीलाई पनि बढाउँदै लैजान्छु ।’

तरकारी खेतीमा कामदार नपाउने हुँदा नर्सरीलाई बढाउँदै लैजाने सोच रहेको पनि उनले बताए । ‘परम्परागत कृषिलाई त्यागेर नर्सरी उत्पादन गर्न पाउँदा खर्च जुटाउन निकै सहज भएको छ’ उनले भने, ‘अब हामी कृषक मात्रै होइन व्यवसायीक कृषक बन्न पाउँदा निकै गर्व महसुस हुन्छ ।’

तरकारी खेतीबाट भन्दा पनि नर्सरीबाट अझ धेरै आम्दानी हुने उनको भनाई छ । बिरुवा खेतीको लागि धेरै जमिन पनि आवश्यक नपर्ने हुँदा अझ सहज भएको छ । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको हाकिमको सल्लाह अनुसार नर्सरी सुरु गरेका हुन् ।

‘हाकिम सरले नर्सरी खेती गर्न सल्लाह सुझाव दिनु भयो । मलाई पनि नर्सरी गर्न धेरै रहर थियो र उहाँकै सल्लाह अनुसार सुरु गरेको हो ।’  उनले भने ।

अनुदान पाएपछि थप उत्साहित 
कुर्मीले तरकारी खेती र नर्सरी स्थापनाको लागि सरकारी अनुदान पाएका छन् ।  फलफूलको नर्सरी स्थापनाका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ५० प्रतिशत अनुदानमा ग्रिन हाउस निर्माण गरेका छन् ।

यता तरकारी खेतीका लागि कृषि ज्ञान केन्द्र पर्साबाट टर्नेलो तथा मल्चिङ प्लास्टिकका लागि ५० प्रतिशत अनुदान पाएका छन् । सरकारको अनुदान सहयोग पाएपछि व्यवसाय गर्न धेरै सहज भएको उनी बताउँछन् ।

‘अनुदानले हामी किसानलाई धेरै फाइदा भएको छ’ उनले खुसी हुँदै भने,‘हामीले कहाँ त्यति खर्च गर्न सक्छौँ र ? सरकारले दिएको खर्चकै कारण त हामीले व्यवसाय गर्न सकेका छौँ ।’ ग्रिन हाउस तथा टर्नेलो, मल्चिङ प्लास्टिक किन्न धेरै खर्च लाग्ने हुँदा किसानलाई समस्या पर्ने गरेको छ ।

तर सरकारको पनि ५० प्रतिशत सहयोग हुने हो भने धेरै भार कम हुने उनले बताए । टर्नेल तथा ग्रीन हाउसका कारण उत्पादनमा धेरै वृद्धि भएको उनी बताउँछन् ।

‘सुरुमा बीउ उमारे, त्यसपछि प्राविधिकको सहयोगमा आफैले टनेल बनाए, एक÷एक फिटमा गोलभेडा लगाएर फलाए’ उनले भने ‘टनेलमा लगाएको गोलभेडा राम्रो पनि हुँदो रहेछ ।  यसमा काम गर्दा आनन्द पनि आउने रहेछ ।’

उनले लगाएको खेतीको सिको गदै त्यसभेगका अन्य किसानहरुले पनि टनेल बनाएर खेती गर्न सुरु गरेका छन् । बाह्रै महिना तरकारी उत्पादन गर्न हावापानी तथा वातावरणीय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउनु आवश्यक छ । यसका लागि प्लाष्टिक घर ९टनेल० एक मुख्य प्रविधिको रूपमा रहेको छ ।

टनेलभित्र किराफट्याङगा, बर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिन्छ । उनले अबदेखि टर्नेलमा व्यावसायीक रुपमा खेती गर्ने सोच बनाएको पनि बताए ।

‘पछिल्लो समय बदलिदो मौसम जलवायु परिवर्तन लगायतका कारण हाम्रो तरकारी धेरै नष्ट हुँदै आएको छ । तर बाहिरी वातावरणमा भन्दा टनेलमा तरकारी उत्पादन राम्रो हुने रहेछ ।’ उनले खुसी हुँदै भने ।

सामान्य भन्दा आधुनिक प्रविधियुक्त टनेलमा उत्पादन बढ्ने देखेपछि यसतर्फ उनी आकर्षित भएका छन् ।  एकै सिजनमा सामान्य भन्दा तेब्बर आम्दानी लिन सफल भएको उनको अनुभव छ ।

हिउँदमा शीतलहर तथा तुसारोबाट तरकारीलाई जोगाउन टनेलले मद्धत गर्ने गर्छ । त्यस्तै वर्षाको समयमा रोग किराबाट जोगाउन टनेलले सहयोग गर्ने गरेको विज्ञको भनाई छ।

यसरी उनी जस्तै धेरै किसानलाई मधेस प्रदेश सरकारले अनुदान दिएर किसानलाई आत्मनिर्भर बनाएका छन् । प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अविनाश कुमार झाले बताए ।

‘हाम्रो पहिलो प्राथमिकता कृषि भएकाले विभिन्न तहबाट किसानहरूलाई विभिन्न अनुदान दिई सहयोग गर्दै आएका छौँ’ उनले भने,‘हामीले कृषि क्षेत्रलाई राम्रासँग बुझेका छौँ । कृषिको विकास विना समृद्ध देशको सम्भावना छैन ।’

साथै उनले वास्तविक किसानको पहिचान गरेर मात्रै अनुदान दिइरहेको पनि बताए । कृषि पूर्वाधार, बीउबिजन, सिँचाइ, ढुवानी, कृषि उपज सङ्कलन केन्द्र र बजार प्रवद्र्धनलगायतका कार्य सहज बनाउनुका साथै किसानको क्षमता विकास, एकीकृत घुम्ती प्रयोगशाला सेवा, उत्पादन सामग्री सहयोग, कृषि यान्त्रिकरणमा सहयोग, प्रशोधन तथा बजारिकरण पूर्वाधारमा सहयोग, साना सिँचाइ निर्माण तथा मर्मतसम्भार र बजारीकरणमा सहयोग पु¥याउने कार्यक्रमको लक्ष्य रहेको उनले बताए ।

अहिले बजारको केही समस्या रहेको भन्दै उनले आगामी दिनमा कृषकबाट उत्पादन भएको कृषि वस्तुको बजार व्यवस्थापनको लागि कोल्ड स्टोर स्थापना गरी बजारसम्म पु¥याउने योजना रहेको पनि उनले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34