KFGVRFI34

हाम्रा बालबालिकाले विद्यालयमा पढिरहेका पाठ्यपुस्तक हेर्दा यस्तो लाग्छ, यी एकदमै अल्छी गरेर हचुवाको भरमा लेखिएका हुन् । पाठहरू क्रमबद्ध छैनन्, तथ्यहरू जाँच गरिएको छैन, विवरण वैज्ञानिक छैनन्, सूचना सही छैनन्, इतिहास साँचो छैन ।

0

हाम्रा बालबालिकाले विद्यालयमा पढिरहेका पाठ्यपुस्तक हेर्दा यस्तो लाग्छ, यी एकदमै अल्छी गरेर हचुवाको भरमा लेखिएका हुन् । पाठहरू क्रमबद्ध छैनन्, तथ्यहरू जाँच गरिएको छैन, विवरण वैज्ञानिक छैनन्, सूचना सही छैनन्, इतिहास साँचो छैन ।

विद्यालयमा पढाइने पाठ्यपुस्तकमाथि अध्ययन र विश्लेषण गर्दा हामीले यही पायौं । एजुकेशन इन इभ्री होम अन्तर्गत हामीले करिब १६ महिना लगाएर नेपालमा कस्तो पाठ्यपुस्तक पढाइँदैछ भनी अध्ययन गरेका थियौं । यसका लागि कक्षा २, ६ एवं १० का नेपाली र सामाजिक विषयलाई नमूनाको रूपमा लिइएको थियो ।

छोराछोरीलाई के पढाइँदैछ, के पढ्दैछन् ? अभिभावकले प्रश्न गर्दैनन् । त्यसैले पाठ्यपुस्तक तयार गर्नेहरूमा ‘जे लेखिदिए पनि हुन्छ’ भन्ने मानसिकता देखियो । पाठ्यपुस्तकलाई सही प्रारूपमा तयार गर्ने भन्दा पनि खाली ठाउँ भर्ने काम भएको छ ।

पाठ्यपुस्तक झारा टार्ने खालको

खासमा पाठ्यपुस्तकको रूपरेखा (फ्रेमवर्क) दुई किसिमको हुन्छ । एउटा होराइजेन्टल अलाइन्मेन्ट (तेर्सो लहर) र अर्को भर्टिकल अलाइन्मेन्ट (ठाडो लहर) । तेर्सो अर्थात् सतहको लहरमा आधारभूत पाठहरू समावेश गरिन्छ । मानौं, यो कक्षा १ को पाठ्यक्रम हुन् ।

यसैगरी ठाडो लहरमा त्यही पाठहरू नै क्रमैसँग अरू गहन र विस्तृत हुँदै जानुपर्छ । ठाडो लहर भनेको कक्षा २, ३ हुँदै ९, १० वा त्योभन्दा माथि ।

यस किसिमको ढाँचामा पाठ्यपुस्तक तयार गर्दा कक्षा–१ को पाठ एवं त्यसको अभ्यास र कक्षा ७, ८ वा ९ को पाठ र अभ्यासबीच आपसमा अन्तरसम्बन्ध हुनुपर्छ । यसरी प्रारम्भदेखि जति–जति कक्षा बढ्दै जान्छ त्यसको पाठ र अभ्यास विस्तृत हुँदै जान्छ । बालबालिकाको सुन्ने, बुझ्ने र सिक्ने क्षमतालाई यस्तो पाठ्यपुस्तकले सिलसिलाबद्ध परिपक्व बनाउँदै लैजान्छ ।

तर, हामीले के पायौं भने नेपालको पाठ्यपुस्तक यसरी क्रमैसँग तयार गरिएको छैन । पाठहरू जथाभावी राखिएको छ । कतिपय कुरा त ‘कपी–पेस्ट’ जस्तै छ । जस्तै, कक्षा ४ को पाठ्यपुस्तकमा ‘लुम्बिनी’को निबन्ध राखिएको छ भने कक्षा ८ मा पनि त्यही पाठ जस्ताको तस्तै राखिएको छ । झारा टार्ने काम भएको छ, पाठ्यपुस्तक लेखाइमा ।

थ्री इडियट्स : नेपाली शिक्षाका तीन पटमूर्ख

के-कस्ता गल्ती भेटिए पाठ्यपुस्तकमा ?

सर्सर्ती हेर्दा पनि पाठ्यपुस्तकमा थुप्रै गल्ती भेटिन्छ । जस्तो, कक्षा १० को अनिवार्य नेपाली पाठ्यपुस्तकमा ‘अब्राहम लिंकनको चिठी’ भनेर जुन पाठ पढाइन्छ, त्यो चिठी अब्राहम लिंकनले लेखेकै होइन । त्यो केवल इन्टरनेट होक्स रहेछ ।

त्यस्तै कक्षा १० को सामाजिक शिक्षा पाठ्यपुस्तकको एउटा पाठ छ, ‘विश्वको हावापानीः धरातलीय विविधता र प्रभाव’ यो निबन्धमा के लेखिएको छ भने ब्राजिलमा हात्ती, गैंडा, बाघ पाइन्छ । जर्मनीमा बाँदर र बाघ पाइन्छ । तर, यी दुवै देश ती जनावरको रैथाने वासस्थान होइन । हात्ती र गैंडा मूलतः एशिया अनि अफ्रिकामा मात्र पाइन्छ । बाघ एशियामा पाइन्छ ।

कक्षा ७ को नेपाली पाठ्यपुस्तकमा मदर टेरेसाको जन्म युगोस्लाभियामा पर्ने मेसेडोनियाको स्कोप्ज भन्ने ठाउँमा भएको उल्लेख छ । जबकि युगोस्लाभिया भन्ने देश अहिले अस्तित्वमा नै छैन ।

उल्लिखित दृष्टान्तले के प्रष्ट पार्छ भने पाठ्यपुस्तक लेख्नेहरूले सामान्य सत्य जाँच पनि गर्दैनन् । सम्पादन गर्नेहरूले आँखा चिम्लेर त्यसलाई अनुमोदन गरिदिन्छन् । यसरी बालबालिका झुटो विवरण घोक्न बाध्य हुन्छन् ।

यी त सर्सर्ती हेर्दा देखिने त्रुटि भए, जो सामान्य चेत भएकाले सहजै औंल्याउन सक्छन् । त्यसबाहेक पाठ्यपुस्तकमा सामाजिक, लैंगिक, जातीय कुराहरू विरोधाभासपूर्ण र गलत छन् ।

बहुसंस्कृति, बहुसामुदायिक र धेरै कुरामा बहुलता भएको देश हो, यो । यस्तो अवस्थामा समावेशिता, विविधता र समानताका प्रश्नहरू उठ्नु स्वाभाविक हो । यो कुरा बालबालिकालाई पढाइने पाठ्यपुस्तकमा प्रतिबिम्बित छ वा छैन ? यसबारे व्यापक विमर्श हुनुपर्छ भनेरै हामीले यसबारे अध्ययन एवं समीक्षा गरेका थियौं ।

यसक्रममा के पाइयो भने जुन हिसाबले पाठहरू समावेश गरिएका छन्, त्यसमा मिहिन अध्ययन, अनुसन्धान गरिएको छैन । एकतर्फी वा एकपक्षीय ढंगले लेखिएका पाठहरू राखिएका छन् । महिला, दलित वा पिछडिएका समुदाय र वर्गमाथि विभेदको सुषुप्त अंश भेटिन्छ ।

जस्तो, कुनै एउटा व्यक्तिको बानी–व्यवहारलाई आधार बनाएर उसको समुदायमाथिको धारणा बनाइएको, व्याख्या गरिएको छ ।

महिलाको कुरा गर्नुपर्दा लेखकहरूले महिलाको प्रतिनिधित्व पनि १५–१६ प्रतिशत मात्र देखियो । लगभग ८६ प्रतिशत पाठ्यपुस्तक पुरुषहरूले मात्र लेखेका छन् । त्यसमा के समस्या हुन्छ भने जुन व्यक्तिले लेख्छ वा जुन समुदायले पाठ्यपुस्तक लेख्छ उसको दृष्टिकोण हाबी हुन जान्छ । त्यसले गर्दा महिलाको कति कुरा बाहिर आउन सकेको छैन र एक किसिमको महिलामाथि अन्याय भएको देखिन्छ ।

हामीले महिला हिंसा, महिला अधिकार, महिलाहरूलाई समान रूपमा व्यवहार गर्नुपर्ने कुराहरू त गर्छौं तर त्यो कुरा हाम्रा बालबालिकाले पाठ्यपुस्तकमा प्रतिबिम्बित भएको छ कि छैन भनी हेर्नुप¥यो । यसरी हेर्दा हामीले लैंगिक असन्तुलन एकदम बढी भएको पायौं ।

केही राम्रो गर्न खोजिएको छ तर ढंग पुगेको छैन

वर्तमान अवस्था अनुसार कतिपय कुरा समेट्ने प्रयास गरिएको छ । जस्तो छुवाछूत, भेदभावको कुरा गरिएको छ । यस्तो कुरा गैर–संवैधानिक र गर्नुहुँदैन भनेर त भनिएको छ तर त्यहाँ के भनिएन भने यदि विद्यार्थी आफैंलाई छुवाछूत र भेदभावको सामना गर्नुपर्ने अवस्था आयो वा आफ्नो समुदायमा भइरहेको छ भने त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरा सिकाइएन ।

महिला शिक्षिका भन्छिन्, ‘म पनि महिला हुँ तर जीवनमा कहिल्यै पनि भेदभाव वा छुवाछूत भोग्नुपरेको छैन । मलाई मेरो परिवारले पुरुष समान व्यवहार गर्नुहुन्छ ।’ यसोभन्दा जीवन भोगाइको अनुभव त्यहाँ रद्द हुन्छ । किनभने सबैको जीवन यस्तो हुँदैन । उनीहरू घरमा विभेदको शिकार भइरहेका हुन्छन् ।

जब विद्यालयमा पढाइने पाठमा ‘मैले विभेद भोगेको छैन’ भनी पढ्ने एउटी विद्यार्थी घर वा समाजमा विभेद झेलेर बाँचिरहेकी छिन् भने उनले यो कुरालाई कसरी महसुस गर्छिन् ?

महिला अधिकार वा समानताको कुरा लेख्न खोजिए पनि त्यसको प्रस्तुतीकरण गलत छ । पाठ्यक्रम लेख्ने र बनाउनेमा आलोचनात्मक चेतको खाँचो देखिएको छ । यस्तो त्रुटि भाषा लगायतमा पनि भेटिएको छ ।

कुनै पनि समुदाय वा भेगका बालबालिकाले सबै कुरालाई एउटै रूपमा बोल्न वा बुझ्न सक्दैनन् । तामाङ गाउँका बच्चाले जुन भाषामा सहज रूपमा बुझ्छन्, डोटीका दुर्गम गाउँका बच्चाले त्यसलाई नबुझ्न सक्छन् । यसरी भाषिक विविधतालाई पनि हाम्रो पाठ्यपुस्तकले समेट्न सकेको छैन ।

सामाजिक शिक्षाको एउटा अध्यायमा राउटे समुदायको सामाजिकीकरण नामक पाठ छ । तर, त्यो लेख्नेले सामाजिकीकरण नबुझेको प्रष्ट हुन्छ । किनभने कुनै पनि समुदायको सामाजिकीकरण हुनु भनेको हामीले आफू जस्तै बनाउनु होइन । बरु उसको रहनसहन, संस्कार, कला, सीपलाई जीवित राख्दै त्यसैमा उसलाई थप उन्नत र सहज बनाउनु हो । तर, पुस्तक लेख्ने पर्वते भएका कारण राउटेहरू पनि हामी जस्तै समाजको मूल प्रवाहमा आउनु चाहिं सामाजिकीकरण हो भन्ने बुझाइ देखिन्छ । यो त राउटे समुदायमाथिको ठूलो अन्याय हो ।

कर्णाली प्रदेशको कुरा गर्नुपर्दा नेपालको तथ्यांक अनुसार दलितहरूको जनसंख्या २३ प्रतिशत छ । तर पाठ्यपुस्तकमा के लेखिएको छ भने यो प्रदेशका मुख्य बासिन्दा बाहुन, क्षेत्री, ठकुरी, मुस्लिम हुन् । जबकि २३ प्रतिशत भएको दलित समुदायको नामोनिशान छैन ।

खेलाँची भयो पाठ्यपुस्तकमा

अरू सामान्य पुस्तक जस्तो होइन, पाठ्यपुस्तक । बालबालिकाले सो पाठ्यपुस्तक पढेर आफूमा ज्ञान, विज्ञान आर्जन गर्छन् । आफ्नो सीप र क्षमता विकास गर्छन् । आफ्नो दृष्टिकोण र जीवनशैली परिवर्तन गर्छन् ।

अर्कोतिर हामीकहाँ पठन संस्कृति छैन । बाहिरी पुस्तकहरू खोज्ने, पढ्ने प्रवृत्ति उति छैन । यस्तो पृष्ठभूमिमा त पाठ्यपुस्तकको महत्व अरू बढी हुन्छ । किनभने थुप्रै ज्ञान, जानकारी, अभ्यासका लागि बालबालिकाले पाठ्यपुस्तकमै निर्भर रहनुपर्ने हुन्छ । तर, हाम्रा बालबालिकाले पढ्ने पाठ्यपुस्तक भरपर्दो देखिएन । बरु यसले बालबालिकालाई गलत कुराहरू सिकाउने जोखिम छ ।

नेपालमा अहिले के भइराखेको छ भने धेरैजसो विद्यार्थी खाईनखाई सरकारी भन्दा निजी विद्यालयमा पढाइन्छ वा पढ्न जाने देखिन्छ । यसले गर्दा सरकारी स्कुलमा गरिब जनताका छोरीछोरी पढ्ने हो जे लेखदिए पनि हुन्छ भन्ने मानसिकता पाठ्यपुस्तक बनाउनेहरूमा देखियो ।

यस्तो किसिमको शिक्षाले विद्यार्थीलाई कतै पु¥याउँदैन । यो झारो टार्ने पाठ्यपुस्तकले विद्यार्थीलाई अरू अलमल बनाउँछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34