KFGVRFI34

सुनसरीको तनाव समाधानका लागि बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति

0

सुनसरीको तनाव समाधानका लागि बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको छ।

शुक्रबार हरिनगर गाउँपालिका केन्द्र भुटाहामा भएको दुई समूहबीचको झडपले उग्र रुप लिँदा हरिनगरसहित जिल्लाका पाँच स्थानीय तहमा त्यसको असर देखिएको थियो। जिल्ला प्रशासन कार्यालयले पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको थियो।

केहीबेर अघि जिल्ला प्रशासन कार्यालय इनरुवामा सम्पन्न सर्वपक्षीय बैठकले घटनाको निन्दा गर्दै छानबिन गर्ने, दोषीमाथि कारवाही गर्ने, घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको प्रदेशसभा सांसद इस्राइल मन्सुरीले जानकारी दिए।

‘बैठकमा हिजोको झडपमा सहभागीहरु, उनका आफन्त, दलहरु, प्रशासन, संघसंस्था, जनप्रतिनिधि सबै सामेल थिए’, मन्सुरीले भने ‘तनाव साम्य पार्न सबैले सहयोग गर्ने सहमति भएको छ।’

उनका अनुसार जिल्ला प्रशासनले लगाएको कर्फ्यू क्रमशः खुकुलो पार्दै लैजाने सहमति पनि भएको छ। ‘घटनास्थलको कर्फ्यू क्रमशः खुकुलो पार्दै लग्ने र अन्यत्रको चाहिँ खोल्ने सहमति पनि भएको छ’, मन्सुरीले भने ‘आजबाट जिल्लाको अवस्था सामान्य बन्दै गएको छ।’

हरिनगरमा दुई समूहबीच  भएको झडपले अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

शुक्रबार बिहानैबाट सुरु भएको हरिनगर तनावले निम्त्याएको झडपमा  १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते  भएका थिए।

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू  आदेश जारी गरेको थियो।

हरिनगर ४ स्थित भुटाहामा दुई समूहबीच झडप भएपछि शुक्रबार हरिनगरको केन्द्र तनावपूर्ण बनेको थियो। घटनास्थलमा  प्रहरीले ८० राउन्ड हवाई फायर  र ४० सेल अश्रु ग्यास प्रहार गरेको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34