KFGVRFI34

लाइसेन्स वितरणमा झन भद्रगोल, विभागका पदाधिकारीमाथि कारवाही गर्ने मुडमा मन्त्री महासेठ

0

आफ्नो आदेशलाई लत्याउँदै स्मार्ट लाइसेन्स छपाईमा नियतवस नै ढिलाई गरिरहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको यातायात व्यवस्था विभागप्रति रुष्ट बनेका छन् ।

करिब एक महिना अघि मन्त्रालय सम्हाले लगत्तै महासेठले विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल लगायतका अधिकारीहरुलाई लाइसेन्सको छपाई, वितरण र नविकरण प्रकृया सहज बनाउन निर्देशन दिएका थिए ।

त्यसपछि पनि उनले पटक पटक त्यसबारेमा खोजी गरिसकेका छन् । महानिर्देशक रिजालले ‘प्राविधिक कुरा हो, हुँदैछ, गर्दैछौं’ भन्दै हरेक पटक बहाना बनाउने तर लाइसेन्स छपाई र वितरण प्रकृया सरल बनाउनेतर्फ चासो नदिएपछि मन्त्री महासेठ आक्रोशित भएका हुन् । विभागले अघिल्लो वर्षको चैतमा जर्मनीको मुल बहुर कम्पनीलाई प्रतिगोटा १६६ रुपैंया (भ्याट बाहेक जम्मा रकम १९ करोड ९२ लाख रुपैयाँ) पर्ने गरि १२ लाख लाइसेन्स छपाईको लागि जिम्मा दिइएको थियो । त्यसमध्ये ६ लाख लाइसेन्स गत पुसमा नेपाल आएको बताइएको छ तर विभागले वितरण गरेको छैन भने बाँकी ६ लाख कहिले आइपुग्छ त्यसबारेमा विभागका अधिकारीहरुले कुनै जानकारी दिएका छैन् ।

४ महिना अगाडि नै ल्याइएको भनिएका लाइसेन्स वितरण नगर्नु र सम्झौता अनुसार थप आउनु पर्ने ६ लाख लाइसेन्सको बारेमा विभाग मौन बस्नुले कतै त्यो लाइसेन्समै ठूलै गडबडी त छैन भन्ने आशंका उठिरहेको छ भने अर्काेतर्फ सम्झौता अनुसारको बाँकी ६ लाख लाइसेन्स नै नल्याउने षडयन्त्र त होइन भन्ने उठेको छ ।

मन्त्री महासेठले पटक पटक निर्देशन दिंदा पनि ‘प्राविधिक कुरो भनेको समयमा कहाँ हुन्छ’ भन्दै अटेर गरिरहनुले पनि मन्त्रीलाई झस्काएको र उनले यसबारेमा कडा कदम चाल्ने निष्कर्षमा पुगेको मन्त्री निकट स्रोतले मेरो लगानीलाई बतायो ।

अहिले सवारी चालकको लाइसेन्स परिक्षा पास गरेर प्रतिक्षासूचीमा रहेकाहरुको संख्या १६ लाख पुगेको छ । यदि पुसमा आएको भनिएको ६ लाख लाइसेन्स र अहिलेसम्म नआएको ६ लाख लाइसेन्स तत्कालै ल्याएर वितरण गर्दा पनि लाइसेन्स वितरण प्रकृया सहज हुँदैन । त्यसमाथि ल्याइएको भनिएको लाइसेन्स नै वितरण गरिएको छैन भने सम्झौता अनुसार आउँछ भनिएको लाइसेन्स कहिले आउँछ थाहा पत्तो छैन । त्यहीकारण लाइसेन्सको हाहाकार कहिले समाधान हुन्छ भन्न सकिने अवस्था छैन भने अर्काेतर्फ लाइसेन्स वितरण प्रकृयालाई सहज बनाउने दावी गरिरहेका मन्त्री महासेठले विभागका पदाधिकारीलाई के कारवाही गर्छन् त्यो पनि चासोको विषय बनेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34