KFGVRFI34

जिबी राईको जिन्दगानी, सधैं सधैंको बेइमानी !

0

ग्यालेक्सी टिभीको सेयर लेनदेन र विभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा अहिले दुइटा नाम चर्चित छ — रवि लामिछाने र जिबी राई।

रवि को हुन्, हामीलाई थाहा छ। उनले पत्रकार सम्मेलन र सामाजिक सञ्जालमार्फत् आफ्ना कुरा राखिरहेका पनि छन्।

जिबी भने फरार छन्। उनका बारेमा धेरैलाई धेरै कुरा थाहा छैन।

जिबीको अतीत के हो? उनी कसरी यहाँसम्म आइपुगे? सहकारीको पैसा खेलाउने र रवि लामिछानेजस्तो ‘हिट एंकर’ लाई साझेदार बनाएर राष्ट्रिय टिभी चलाउने हैसियतसम्म कसरी पुगे? रवि र जिबीको जिन्दगी कसरी आपसमा जोडियो?

यो उनै जिबी राईको कथा हो।

दस वर्षअघि, कुनै एकदिन ओखलढुंगाको डाँडाटोल गाउँमा हेलिकप्टर ओर्लियो।

एउटा घरमुनि ठूलो गह्रामा हेलिप्याड बनाइएको थियो। गाउँभरिका मान्छे झुत्तिएका थिए।

त्यही हेलिकप्टरबाट सट्ट निस्किए — गितेन्द्र राई उर्फ जिबी राई।

सुनकोसी गाउँपालिका (साबिक बलखु)-१, डाँडाटोलका सामान्य ठिटो सहर पसेको दशक नबित्दै दोस्रोचोटि हेलिकप्टर चढेर आएको खबर निकै दिन गाउँमा चर्चाको विषय बन्यो। उनले त्यसअघि बिरामी आमा लिन घरकै आँगनमा हेलिकप्टर ओरालेका थिए। यसपालि भने कारण अर्कै थियो।

त्योभन्दा अगाडि हामी जिबीको पृष्ठभूमिमा जाऔं।

उनका हजुरबुबा पञ्चध्वज राई गाउँका प्रधानपञ्च थिए। बुबा दिपहरि २०७४ मा एमालेबाट सुनकोसी-४ का वडाध्यक्ष भए। उनका दुई दाजु र एक बहिनी छन्।

जिबी हुर्किँदै गर्दा डाँडाटोलमा उनीहरूको दुईकोठे घर थियो। फापर र मकै उब्जिने सानो बारी थियो। उब्जनीले ६ महिना पनि खान पुग्दैन थियो।

अंशमा पाएको सुनकोसी किनारको दुई-चार गह्रा खेत दिपहरिले छोराछोरी सानै छँदा बेचेका थिए। उनले काठ काट्ने, आरा लगाउने काम गर्थे र दु:खसुख गरेरै चार सन्तान हुर्काए।

जिबी सानैदेखि ‘चञ्चल’ थिए। गाउँको योगस्थान प्राथमिक विद्यालयमा चार-पाँच कक्षा पढ्दा नै आफ्नो नाडीघडीको समय बिगारेर शिक्षक झुक्याउन खप्पिस थिए भन्ने गाउँले साथीहरू सम्झिन्छन्। कसैले नयाँ लुगा लगाएको छ भने पनि बहाना बनाएर लिइहाल्थे। लगाएर हेर्छु भन्दै माग्थे र फिर्ता गर्थेनन्, एक जना पुराना साथीले भने, ‘अहिले पनि अर्काको लिने बानी गएको रहेनछ है!’

ठूलो हुँदै गएपछि जिबी घर बस्नभन्दा बाहिर डुल्न ज्यादा रूचाउँथे। दुई-चार दिन घरै नआउनु सामान्य थियो। एकातिर जान्छु भनेर अर्कैतिर पुगेका हुन्थे। यही बानीले आजित उनकी आमा सधैं भन्थिन् — मेरो छोरा धारखोला (पूर्व) जान्छु भनेर झहरे (पश्चिम) तिरबाट फर्किन्छ।

उनले गाउँभन्दा अलि पर सिस्नेरीस्थित कालिका माध्यमिक विद्यालयबाट एसएलसी दिए र दाइ अनन्तको ट्युसन सेन्टरमा सघाउने भनेर काठमाडौं आए।

काठमाडौं त आए, तर मन लगाएर काम गरेनन्। उनी महिना-दुई महिनामा गाउँ गइरहन्थे। धेरै समय उतै बस्थे।

गाउँमै अल्झिनुको एउटा कारण के थियो भने, उनी आधा घन्टा दुरीको अर्को गाउँकी किरसा राईलाई मन पराउँथे।

जिबी र किरसाका दाजु स्कुलका सहपाठी थिए। त्यही भएर किरसाको घर आउजाउ गरिरहन्थे। किरसाका आमाबा भने जिबीलाई खासै मन पराउँथेनन्। ‘धेरै छट्टु छ’ भनेर कुरा काट्थे। दाजु पनि ‘तँ त्योसँग नहिँड् है’ भनेर किरसालाई सम्झाउँथे। त्यही भएर जिबी जति पछि लागे पनि किरसाले वास्ता गरेकी थिइनन्।

२०६० असोजमा गाउँ आउँदा जिबीले आफूसँगै जान फकाएको किरसा सम्झिन्छिन्।

‘म त जान्नँ अर्काको घर,’ उनले भनेकी थिइन्।

‘म तिमीलाई मन पराउँछु,’ जिबीले भने, ‘तिमीसँगै बिहे गर्छु।’

जबाफमा किरसाले भनिन्, ‘मलाई त मन पर्दैन, म जान्नँ।’

‘हिँड न, दुई दिन बस, त्यसपछि पनि मन परेन भने फर्किनू,’ जिबीले लत्तो छाडेनन्।

‘त्यति धेरै फकाएपछि नाइँ भन्नै सकिनँ,’ किरसाले हामीसँगको कुराकानीमा भनिन्, ‘धेरै परसम्म सोच्ने उमेरै थिएन। त्यसैले राजी भइहालेँ।’

बिहेपछि जिबीले किरसाको धेरै ख्याल राखे। किरसा माइत जाँदा दुई-तीन दिनमै लिन पुग्थे। किरसा नहुँदा घरमा मासु पाकेको छ भने नखाई बस्थे। दुई जनाको भाग छुट्टयाएर राख्थे र किरसा फर्केपछि सँगै बसेर खान्थे।

उनीहरूको पहिलो बच्चा सानैमा बितेको थियो। किरसा दोस्रोचोटि गर्भवती हुँदा जिबीले सुरू सुरूमा आफैं घर बसेर हेरविचार गरेका थिए।

तर जिबीको माया र स्याहार धेरै समय टिकेन।

२०६२ सालमा किरसाका दाइ घनश्याम विदेश जाने कुरा चल्यो। काठमाडौं बसेर खासै गतिलो काम नगरेका जिबी पनि सँगै गए हुन्थ्यो भन्ने परिवारको चाहना थियो। उनी यसअघि पनि विदेश जान कस्सिएका थिए। पासपोर्ट बनाउन किरसाले आफ्नी आमासँग २५ हजार रूपैयाँ मागेर ल्याइदिएकी थिइन्। तैपनि उनले विदेश जाने सुरसार गरेनन्।

यसपालि चाहिँ प्रक्रिया चाल्छु भनेर उनी घनश्यामसँगै काठमाडौं आए। तर विदेश गएनन्।

बरू काठमाडौं आएपछि उनको स्वभावमा परिवर्तन देखिन थाल्यो।

उनी ‘कोरिया जान भाषा सिक्दै छु’ भन्थे, अरू खुलाउँथेनन्। गाउँ आउँदा धेरै दिन बस्थेनन्। पहिला त्यतिविधि ख्याल गर्ने किरसालाई पनि वास्ता गर्न छाडे।

एक दिन घरको बार्दलीबाट लडेर किरसाको हात भाँचियो। उनले जिबीलाई चिठी लेखिन्। जिबीले जबाफ फर्काएनन्। दोस्रो छोरा जन्मँदा त घरै गएनन्।

छोरा बिरामी परेर किरसा आफैं काठमाडौं आउँदा पनि उनले छोरालाई काखमा लिने मनसम्म गरेनन्।

एक दिन त रक्सी खाएर ‘तँ किन काठमाडौं आएको? मेरो बेइज्जत गर्न आएको?’ भन्दै किरसालाई तथानाम गाली गरे।

‘त्यो दिन म एक्लै रोएँ,’ किरसाले भनिन्, ‘ठूलो छोरा बचाउन नसकेको चोटमाथि कान्छो छोराको चिन्ताले दपेटेको थियो। त्यस्तो बेला उसको व्यवहार देखेर आफैं चित खाएँ।’

यति मात्र कहाँ हो र!

किरसाले कान्ति बाल अस्पताल भर्ना गरेका छोराको उपचार निम्ति राखेको पैसाधरि जिबीले लगिदिए।

‘मेरो ब्यागबाट सात सय झिकेर हिँडेछन्,’ किरसाले भनिन्, ‘मलाई चित्त दुख्यो। गुनासो गर्न पनि सकिनँ। म आफैं हात भाँचिएर बसेकी थिएँ। त्यसमाथि सुत्केरी र बिरामी छोराको सुर्ता थियो। झगडा गर्ने तागतै थिएन। जसोतसो छोराको उपचार गरेर चुपचाप गाउँ फर्केँ।’

त्यसको केही समयपछि किरसाका भिनाजुले ऋण तिर्न भनेर विदेशबाट ५५ हजार रूपैयाँ पठाइदिए। त्यो पनि जिबीले हात पारे र गायब भए।

विदेशबाट भिनाजु तारन्तार ताकेता गर्थे, जिबीको अत्तोपत्तो थिएन। ऋणको भार किरसाकै काँधमा आयो।

‘त्यो पैसा मैले १० आनाको मुन्द्री बेचेर तिरेँ,’ उनले भनिन्।

यता काठमाडौंमा पनि जिबीको ठाउँ-ठेगान र कामकाज टुंगो थिएन। उनी दाजु अनन्तको ट्युसन सेन्टरमा काम गर्छु त भन्थे, तर खासै मन लगाएर केही गर्दैनन् भन्ने अनन्तकै गुनासो थियो।

किरसाले जिबीको रवैया बदलिनुको कारण पछि मात्र थाहा पाइन्। ट्युसन सेन्टरमा पढ्न आउने विद्यार्थी निशा बम्जनसँग जिबीको हिमचिम बढेको रहेछ।

जिबीले २०७० मा निशालाई ओखलढुंगा ल्याए र विधिपूर्वक घर भित्र्याए। त्यसअघि उनले किरसालाई धम्क्याएर सम्बन्ध विच्छेद गरेका थिए।

किरसाले काठमाडौं आउँदा ललितपुर प्रहरी कार्यालयमा जिबीविरूद्ध बहुविवाहको उजुरी दिएकी थिइन्। जिबीले प्रहरीकै अगाडि एक लाख रूपैयाँ दिने सहमति गरेका थिए। तर दिएनन्। फोन गर्दा उठाउँदा पनि उठाएनन्।

‘तीन दिनपछि फोन उठ्यो। उनले फोनमै मलाई गाली गरे। लाञ्छना लगाए। मेरो बाटो छाडिनस् भने मारिदिन्छु भन्दै धम्की दिए,’ किरसाले भनिन्।

यसले किरसाको मनमा जिबीप्रति बचेखुचेको माया सदाका लागि मर्‍यो।

उनी घर छाडेर माइतीनजिकै बस्न थालिन्। तैपनि जिबीको धम्की बन्द भएन।

उनी किरसासँग सम्बन्ध विच्छेदको कागज हस्ताक्षर गराउन गाउँ गए। दस वर्षअघि दोस्रोचोटि हेलिकप्टर चढेर गाउँ जानुको कारण यही हो।

यस क्रममा उनले सबैका अगाडि किरसाको चरित्रमा औंला उठाए। आफू र आफ्नी आमालाई लौरोले हिर्काउन खोजेको किरसा सुनाउँछिन्।

प्रताडना सहन नसकेर किरसाले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दिइन्। दस लाख रूपैयाँ अंश मागिन्। जिबी पाँच लाख रूपैयाँ दिन राजी भए। छोराको पढाइ खर्च बेहोर्ने सहमति पनि जनाए।

‘मेरो जिन्दगीको मोल त के लगाऊँ र, म यसै पनि बर्बाद भइहालेँ! तर छोराको मुख हेरेर पैसा माग्नुपर्‍यो,’ किरसाले भनिन्, ‘उनले दिएको पाँच लाख मलाई हात थाप्ने मनै थिएन। त्यहीँ छाडेर आएकी थिएँ। पछि दाजुहरूले ल्याइदिनुभयो।’

त्यसबाहेक छोराको पालनपोषण र पढाइ खर्च बेहोर्छु भनेर सहमति गरेका जिबीले कहिल्यै फर्केर नहेरेको उनी बताउँछिन्।

अहिले किरसा गाउँमै चियानास्ता पसल चलाएर छोरा हुर्काउँदै छिन्।

श्रीमतीसँगको व्यवहारमा जिबीले जस्तो बेइमानी गरे, त्यस्तै बेइमानी उनको व्यावसायिक जीवनमा पनि देखिन्छ।

किरसासँग गरेका बाचा र छोराप्रतिको जिम्मेवारी जसरी उनले कुल्चेर हिँडे, आफ्नो व्यावसायिक जीवनमा पनि त्यही गरे। एकपटक होइन, पटक पटक।

जिबीको व्यावसायिक सुरूआत जडिबुटी उत्पादन बेच्ने हर्बो नेटवर्किङ कम्पनीबाट भयो। यो कम्पनी जिबीका दाइ अनन्तले केही साथीसँग मिलेर सुरू गरेका थिए। उनले नै जिबीलाई मार्केटिङको काममा लगाए।

कम्पनीको नेटवर्क बढाउन उनी नयाँ सदस्यलाई तालिम दिन्थे। एउटा तालिम दिएको पाँच सय रूपैयाँ पाउँथे। त्यो पनि कहिले हुन्थ्यो, कहिले हुन्नथ्यो।

जिबीले २०६६ सम्म हर्बोमा काम गरे। त्यसै वर्ष दुइटा यस्ता घटना भए, जसले जिबीको जिन्दगीमा आनका तान परिवर्तन ल्याइदियो।

पहिलो घटना हर्बो कम्पनीसँगै सम्बन्धित छ।

गैरकानुनी नेटवर्किङ व्यवसाय चलाउने युनिटीविरूद्ध कानुनी कारबाही भएपछि नेटवर्किङ क्षेत्र प्रभावित भयो। हर्बोविरूद्ध पनि मुद्दा पर्‍यो। जिबी बेरोजगार भए।

दोस्रो घटना गोरखा विकास बैंकको हो, जसमा निशा बम्जनका दाजुहरू आबद्ध थिए। डिबी बम्जन अध्यक्ष थिए भने ज्ञानबहादुर बम्जन प्रमुख सेयरधनी थिए। यो बैंक आर्थिक संकटमा परेको भन्दै राष्ट्र बैंकले नियन्त्रणमा लियो। कर्जा घोटाला गरेको अभियोगमा डिबी जेल परे। बैंक डुबेपछि ज्ञानबहादुरले पोखरामा सूर्यदर्शन सहकारी सुरू गरे। र, त्यही सहकारीमा भित्र्याए जिबीलाई।

यहीँबाट जिबीको जिन्दगीले कोल्टे फेर्‍यो।

झन्डै ३० वर्ष उमेरसम्म आर्थिक अभावमा बिताएका जिबी एकाएक लाखौं रकम खेलाउने हैसियतमा पुगे।

सूर्यदर्शन सहकारी स्थापना नै जालझेलबाट भएको देखिन्छ। सहकारी ऐनअनुसार एउटा जिल्लाका व्यक्तिले अर्कोमा सहकारी खोल्न पाउँदैन। पोखरामा सहकारी खोल्न ज्ञानबहादुरले त्यहीँका स्थानीय मीना गुरूङ र आरती गुरूङलाई फकाएका थिए।

२०६५ असार १ गते सहकारी स्थापना गर्दा मीना अध्यक्ष थिइन् भने आरती कोषाध्यक्ष थिइन्। सहकारी खोल्न ३० जना मान्छे उनीहरूले नै जुटाएका थिए।

जसै सहकारी दर्ता भयो, ज्ञानबहादुर अध्यक्ष बन्न तम्सिए। दुई महिना नबित्दै मीनालाई हटाएर अध्यक्ष बनिछाडे। बिस्तारै आफूलाई अपमानित गरेर बाहिरिन बाध्य पारेको मीनाले बताइन्।

त्यसको दुई वर्षपछि ज्ञानबहादुरले जिबी राईलाई सहकारीको अध्यक्ष बनाए।

जिबीको प्रवेशपछि आर्थिक अपचलनको शृंखला सुरू भयो।

‘जिबीले दुई करोड रूपैयाँ बिनाधितो ऋण दिए,’ तत्कालीन कोषाध्यक्ष आरतीले भनिन्, ‘जबकि १५ लाखभन्दा बढी ऋण दिँदा कार्य समितिमा सल्लाह गर्ने नियम थियो। मैले यो कुरा उठाएपछि जिबीले लोभ्याउन खोजे। नमानेपछि गुन्डा लगाए।’

आरती रानीपौवामा डेरा लिएर बस्थिन्। उनलाई धम्क्याउन गुन्डाहरू रातबिरात डेरामै आउँथे। झ्यालका सिसाधरि फुटाइदिए।

आरतीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइन्। तर सहयोग पाइनन्।

‘एकदिन त छोराछोरी अपहरण गर्ने धम्कीसमेत आयो,’ उनले भनिन्, ‘सहकारीबाट राजीनामा दे, नत्र छोरीको अपहरण हुन्छ भन्दै फोन आउन थाले।’

उनले फेरि पनि प्रहरीलाई खबर गरिन्। तर सहयोग पाइनन्।

आरतीले सूर्यदर्शन सहकारीमा सर्वसाधारणको रकम अपचलन भइरहेको बेहोरा खुलाउँदै जिल्ला प्रशासन, प्रहरी, सहकारी डिभिजन लगायत निकायमा पत्र बुझाएकी थिइन्। ९३ बुँदा लेखेर पत्र दिँदा पनि कसैले चासो नदेखाएको उनी बताउँछिन्।

सहकारी डिभिजनका तत्कालीन प्रमुख रामचन्द्र शाहले जिबीलाई समेत राखेर बैठक गरे, तर त्यहाँ पनि अपचलन ढाकछोप गरिएको आरतीको भनाइ छ।

‘सहकारी हाकिमले त जिबी राई नयाँ आइडिया लिएर आएको चमत्कारी मान्छे हो, साथ दिनुपर्छ पो भने,’ उनले भनिन्, ‘जिबीले त्यही बैठकमा म ५० हजार रूपैयाँको जुत्ता, एक लाखको लुगा लगाउँछु भन्दै फुर्ती लगाएका थिए। मलाई नयाँ स्कुटर किन्न लोभ पनि देखाए।’

‘जिबीको अपचलनमा आँखा चिम्लेर सहयोग गर्ने सरकारी कर्मचारीहरू नै हुन्। तिनलाई पनि छानबिनमा तान्नुपर्छ, कारबाही गर्नुपर्छ,’ उनले भनिन्।

सरकारी कर्मचारी र प्रहरी-प्रशासनबाट सहयोग नपाउँदा पनि आरतीले हार मानिनन्।

उनले कोषाध्यक्षबाट राजीनामा नदिने र हिनामिना गरिएको दुई करोड रूपैयाँ फिर्ता ल्याएरै छाड्ने अड्डी कसिन्।

आरतीको अडान देखेर जिबीले अर्को उपाय लगाए।

उनले सहकारीका बचतकर्तालाई आफ्नो रकम माग्न दिनहुँजसो आरतीकहाँ पठाए। दिनकै करोड-दुई करोड रूपैयाँ माग्दै मान्छे आउन र धम्की दिन थालेपछि आरतीले हरेस खाइन्।

पाँचौं साधारण सभापछि आरती सूर्यदर्शन सहकारीमा छैनन्। उनले छोरीका नाममा जम्मा गरेको तीन लाख रूपैयाँ भने त्यहीँ छ।

‘त्यति बेला सरकारी निकायले छानबिन गरेको भए अहिलेको अवस्था आउँथेन,’ उनले भनिन्, ‘अहिले सबैको पैसा डुब्यो। यिनलाई ती सबैको पाप लाग्छ।’

पोखराको सूर्यदर्शनमा हिनामिना गरेपछि जिबी काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी छिरे। २०७१ सालतिर स्वर्णलक्ष्मीको नेतृत्व नै जिबीको हातमा गयो।

जिबीको प्रवेशसँगै स्वर्णलक्ष्मीमा अनियमितता बढेपछि सहकारी विभागमा उजुरी परेको एक सञ्चालकले बताए। तर विभागले छानबिन गरेन।

दुई वर्षपछि जिबी बुटवल पुगे। उनको साथमा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि थिए। दुवै जना सहकारी दर्ता गर्न भन्दै डिभिजन सहकारी कार्यालय रूपन्देही गए। कार्यालयले सहकारी संख्या धेरै भएको भन्दै दर्ता गर्न मानेन।

नयाँ सहकारी दर्ता नभएपछि जिबीले थोरै सदस्य रहेको र निष्क्रियजस्तै बसेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरूङसँग सम्पर्क गरे। संस्थामा गुरूङ समुदायका एक-डेढ सय सदस्य थिए। सदस्य थोरै भएकाले डिभिजन सहकारीले बन्द गर्न दबाब दिइरहेको थियो।

जिबीले ओमप्रकाशसँग पाँचपटक छलफल गरेपछि मैत्रेयलाई सुप्रिम सहकारीका नामबाट सञ्चालन गर्ने सहमति भयो। जिबी अध्यक्ष बने भने ओमप्रकाश उपाध्यक्ष र दिपेश सचिव बने। सहकारी व्यवस्थापन जिम्मा सागर केसीले लिएका थिए।

बुटवल-९, राजमार्ग चौराहमा कार्यालय खोल्दा जिबीले सजावटमै झन्डै एक करोड रूपैयाँ खर्च गरेको ओमप्रकाश बताउँछन्।

सुप्रिम सहकारीमा २०७८ सम्म जिबी नै अध्यक्ष रहे। कोरोना बेला बचतकर्ताले पैसा फिर्ता लिन खोजेपछि जिबीले ओमप्रकाशलाई अध्यक्ष बनाए। त्यति बेलासम्म झन्डै एक-डेढ अर्ब रूपैयाँको कारोबार थियो। धेरैजसो बचत रकम जिबीले ग्यालेक्सी टिभी लगायत कम्पनीमा लगानी गरेका थिए, जुन पछि मात्र थाहा पाएको ओमप्रकाश बताउँछन्।

बुटवलमा सुप्रिम सहकारी चलाइरहेकै बेला जिबी चितवनको सहारा सहकारीमा पनि सञ्चालक भएका थिए।

यसरी जिबीले कानुनविपरीत एकभन्दा बढी सहकारीमा सञ्चालक बनेर हजारौं बचतकर्ताले मेहनतसाथ जोगाएको पैसामा आफ्नो साम्राज्य खडा गरे।

यो साम्राज्य खडा गर्न जिबीले धेरैलाई धोका दिएका छन्। यसमा हर्बो नेटवर्किङ कम्पनीका तत्कालीन सञ्चालकमध्ये एक पुष्पराज पुरूष पनि पर्छन्।

यो २०७१ को घटना हो। पुष्पराज हर्बो कम्पनी फेरि सञ्चालन गर्ने तयारीमा थिए। त्यसमा उनको र धरानका गोकुल श्रेष्ठको ३८ प्रतिशत र हाम्रो ग्रुप अफ कम्पनीको ३४ प्रतिशत सेयर थियो।

पुष्पराजले कम्पनी फेरि सञ्चालन गर्न जिबीलाई पनि बोलाए।

कसरी चलाउने भनेर छलफल भइरहेकै बेला जिबीले फ्याट्ट भने, ‘सेयर मलाई दिनुस्, म चलाउँछु।’

पुष्पराजलाई विभिन्न सहकारीमा जिबी संलग्न रहेको थाहा थियो। उनले हर्बो कम्पनी नवीकरणदेखि सामान निर्यातको जिम्मा जिबीलाई नै दिए।

‘वर्षौंदेखि चिनेको मान्छेले राम्रैसँग कम्पनी चलाउला भनेर सेयर दिन राजी भएँ,’ पुष्पराजले भने, ‘तर सेयर र सम्पत्ति हात पारेपछि मदेखि टाढा हुन थाले। पछि हामीलाई धोका नै दिए। अहिले पनि कम्तीमा पाँच करोड रूपैयाँ जिबीले मलाई तिर्न बाँकी छ।’

जिबीले हर्बोको सेयर हत्याए पनि कम्पनी भने चलाएनन्। बरू त्यस्तै कम्पनी अर्को खोले।

उनले पूर्वडिआइजी छविलाल जोशीसँग मिलेर ‘नेचर हर्ब्स इन्टरनेसनल’ नामक कम्पनी खोलेका थिए, जसको उद्देश्य नेटवर्किङ व्यवसाय नै थियो। हर्बोकै सदस्य प्रयोग गरेर नेचर हर्ब्स सुरू गरिएको पुष्पराजको आरोप छ।

सुरू भएको एक महिना नपुग्दै छविलालले कम्पनी छोडे। जिबीले पछि यो कम्पनी कुमार रम्तेलका नाममा सारेको देखिन्छ।

सहकारी र नेटवर्किङ कम्पनी खोलेर आर्थिक अपचलन गर्दै आएका जिबीलाई मिडियामा लगानी गर्ने धोको धेरै समयदेखि थियो। २०७२ तिर एउटा पारिवारिक जमघटमा उनले मिडियामा लगानी गर्न चाहेको बताएका थिए।

जमघटमा सँगै रहेका जिबीका साथीले भने, ‘मिडियाले मेरो खेदो खनिरहेको छ, त्यसैले अब आफैं मिडिया खोल्छु भनेका थिए।’

नभन्दै २०७३ मा उनले ‘एपी वान’ टेलिभिजनको सेयर किने। त्यति बेला पाँच करोड रूपैयाँको सेयर किनेको उनका ती साथी बताउँछन्।

त्यसको एक-दुई वर्षमै एपी वानसँग उनको कुरा मिलेन। त्यसपछि आफ्नै मिडिया खोल्ने ध्याउन्नमा लागेको उनका सहकर्मीको भनाइ छ।

ती सहकर्मीअनुसार २०७५/७६ तिर हिमालयन टेलिभिजनले जिबीलाई लगानी गर्न प्रस्ताव गरेको थियो। तर ५० करोड रूपैयाँ खर्च गर्नुपर्ने भएपछि उनी पन्छिए।

त्यही बेला ‘न्यूज २४’ टेलिभिजनको सेयर किन्न खोजेका थिए। एक-दुई चरणमा कुरा भयो। जिबीले आफू अध्यक्ष हुनुपर्ने प्रस्ताव राखेपछि कुरा मिलेन।

त्यति बेला रवि लामिछाने ‘न्यूज २४’ मै काम गर्थे।

जसरी पनि मिडिया मालिक बन्ने धूनमा रहेका जिबीले चलिरहेका स्टेसनबाट त्यो सपना पूरा हुने छाँट नदेखेपछि नयाँ च्यानल खोल्ने सोच बनाए। रवि लामिछानेलाई साथ लिएर च्यानल खोले छिट्टै लोकप्रिय हुन्छ र राम्ररी चल्छ भन्ने उनको विश्वास थियो।

उनको यो सोच पूरा गराए, नेचर हर्ब्समा साझेदार भएर केही समय काम गरेका पूर्वडिआइजी छविलाल जोशीले। उनैले २०७७ मध्यतिर जिबी र रविबीच भेटघाटको चाँजो मिलाए। व्यावसायिक कुराकानी सुरू भयो।

‘जिबीले लगानी गर्ने र रविले टिभी चलाउने कुरा त्यही भेटमा पक्कापक्की भएको हो,’ जिबीका एक साथीले भने।

रवि आउन मञ्जुर भएपछि जिबी उत्साही थिए। त्यही उत्साहमा उनले देशकै सबभन्दा उम्दा टेलिभिजन स्टेसन निर्माण गर्ने सुर कसे।

उनी च्यानलको नाम आफ्नै नामको अक्षरबाट सुरू होस् भन्ने चाहन्थे। त्यसैले गितेन्द्रको अंग्रेजी अक्षर ‘जी’ बाट ‘ग्यालेक्सी’ नामकरण गरे। ‘फोर के’ प्रविधि सबभन्दा राम्रो भएकाले त्यही प्रयोग गर्ने निधो गरे। र, दुवै जोडेर च्यानलको नाम जुराए — ग्यालेक्सी फोर के।

स्टुडियो र स्टेसन भव्य भए पनि प्राविधिक रूपले त्यो ‘फोर के’ टेलिभिजन थिएन। हामीले ग्यालेक्सीका प्राविधिक र पत्रकारसहित धेरै व्यक्तिसँग कुरा गर्दा उनीहरूले ‘फोर के’ नाम मात्र भएको बताए।

‘फोर के प्रविधिको च्यानल सुरू गर्ने भनेर छलफल भएको हो, तर पछि भएन,’ एक प्राविधिकले भने, ‘टिभी स्टेसन मात्र फोर के भएर हुन्न, घरघरमा टिभी पनि त्यस्तै हुनुपर्छ भन्ने कुरा आयो।’

जिबी राई लगायत सञ्चालकहरूले भने ग्यालेक्सीलाई ‘फोर के’ भन्न छाडेनन्। अरूलाई प्रश्न गर्ने रवि लामिछानेले समेत ‘फोर के’ भनेरै झूटो प्रचार गरे।

ग्यालेक्सीको लगानीबारे पनि उनीहरू सुरूदेखि पारदर्शी थिएनन् भन्ने तथ्यहरूले देखाउँछन्।

च्यानल सञ्चालन गर्ने कम्पनी ‘गोरखा मिडिया नेटवर्क’ दर्ता गर्दा जिबी र छविलालको संयुक्त नाम थियो। उनीहरूले तीन करोड रूपैयाँको कम्पनी बनाएका थिए। त्यसमा लक्ष्मी पौडेललाई प्रबन्ध निर्देशक बनाए। एपी वानको व्यवस्थापनमा रहेर काम गरेका लक्ष्मी र जिबीको पुरानै चिनजान थियो। उनले नै ग्यालेक्सी च्यानल कस्तो बनाउने र के कति खर्च गर्ने भनेर योजना बनाएका थिए।

जब रवि लामिछाने ग्यालेक्सीमा हर्ताकर्ता हुन थाले, लक्ष्मीसँग उनको कुरा मिलेन। दुई जनाको विवादमा जिबीले रविकै साथ दिए। लक्ष्मी निस्किएपछि रवि कम्पनीका प्रबन्ध निर्देशक भए।

च्यानल सञ्चालनको तयारी चलिरहेका बेला गोरखा मिडियामा तीन जनाको सेयर कायम गरिएको थियो। कम्पनी रजिस्ट्रार कार्यालयको विवरणअनुसार जिबीका नाममा ६ करोड रूपैयाँ (५० प्रतिशत), छविलालको ४ करोड २० लाख (३५ प्रतिशत) र रविका नाममा १ करोड ८० लाख रूपैयाँ (१५ प्रतिशत) लगानी गरिएको देखिन्छ।

रविले मिडियामा आफूले बनाएको ‘गुडविल’ बापत सेयर पाएको भन्दै आएका छन्। नेपालमा ‘गुडविल’ वा ‘स्वेट सेयर’ लिने-दिने कानुनी व्यवस्था छैन। नेपालको कानुनले सेयर भन्नेबित्तिकै लगानीकर्ता सम्झिन्छ। सेयर सदस्यले पैसा लगानी गरेकै मानिन्छ। कानुनी दायित्व पनि लगानीकर्ता सरह नै हुन्छ।

रविले आफ्नो नामबाट भएको सेयर लगानीको रकम पनि जिबीले नै दिएको बताएका छन्। सोमबार पत्रकार सम्मेलनमा पनि उनले १५ प्रतिशत सेयरबापत १ करोड ७५ लाख रूपैयाँ जिबीले दिएको दाबी गरेका थिए।

जिबीले रविका नाममा पठाएको उक्त सेयरबापतको रकम पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट झिकेको देखिन्छ।

सुप्रिमले २०७८ वैशाख ५ गते रविकै नाममा एक करोड रूपैयाँ पठाएको थियो। त्यसको दस दिनपछि नै रवि गोरखा मिडियाको सेयर सदस्य कायम भएका थिए।

रविले त्यतिखेर ७५ लाख रूपैयाँ जिबीले नै दिएर खातामा राखेको बताएका छन्। त्यो रकम पोखराको सूर्यदर्शन सहकारीबाटै ल्याइएको हुनसक्ने देखिन्छ। किनभने, उक्त सहकारीको विवरणमा ‘पुलेसो कर्जा’ बापत गोरखा मिडियाले लिएको ऋण रविले फिर्ता गरेको उल्लेख छ।

जिबीले आफ्नो सेयरबापत एक करोड ७५ लाख रूपैयाँ कुन स्रोतबाट आफ्नो खातामा राखिदिए भन्नेबारे रविले खुलेर बोलेका छैनन्।

ग्यालेक्सी टिभीमा गरिएको लगानी जिबीले नै ल्याएको र उनले कहाँबाट पैसा ल्याउँथे भन्ने आफूलाई थाहा नभएको पनि रवि बताउँछन्।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, वीरगन्जको सानो पाइला र बुटवलको सुप्रिम सहकारीका विवरण हेर्दा भने सर्वसाधारणले बचत गरेको झन्डै ५२ करोड रूपैयाँ जिबीले कानुनविपरीत ग्यालेक्सीमा खर्च गरेको देखिन्छ।

यहाँ प्रश्न उठ्छ — सरकारी कर्मचारी, प्रहरी, न्यायाधीशदेखि समाजका जोसुकैसँग ‘सिधा कुरा’ गर्ने रवि लामिछानेले आफ्नो नामबाट जाने पैसाको स्रोत के हो भनेर जिबीलाई एकपटक पनि सोधेनन् त?

एकभन्दा बढी सहकारीमा जिबी अध्यक्ष छन् र त्यहाँबाटै टिभीको निम्ति पैसा आइरहेको छ भन्ने रविलाई थाहा नहुन कत्तिको सम्भव छ?

आफू जिम्मेवार तहमा रहेको कम्पनीमा ऋणको कानुनी भार आफूले पनि बेहोर्नुपर्ने हुनसक्छ भन्नेमा कत्ति पनि सचेत नभई काम गर्न उनले कसरी सके?

कानुनी दायित्व लिनुपर्ने गरी आफू साझेदार र प्रबन्ध निर्देशक रहेको कम्पनीमा आइरहेको करोडौं लगानीबारे रविले चासै नलिन कत्तिको सम्भव होला?

पुराना कर्मचारीका अनुसार ग्यालेक्सी टिभी सञ्चालन गर्न पहिले बैंकबाट ऋण लिने कुरा भएको थियो। एकपटक रवि र छविलाल ऋणको कुरा गर्न नेपाल बैंकसमेत गएका थिए। त्यही बेला जिबीले ‘बैंकसँग ऋण माग्नुपर्ने अवस्था नभएको’ बताएका थिए।

के त्यसपछि पनि रविले ‘बैंकबाट ऋण लिन नपर्ने गरी यत्रो पैसा कसरी कमाउनुभयो’ भनेर एकपटक पनि जिबीलाई सोधेनन्?

टिभी खोल्ने कुरा चलिरहेकै बेला जिबीको अर्को कम्पनी नेचर हर्ब्सले कानुनभन्दा बाहिर गएर कारोबार गरेको र कानुनबमोजिम विवरण नबुझाएको भन्दै अनुगमन र कारबाही सुरू गरिएको थियो। त्यतिखेर रविले नै सरकारी निकायहरूसँग यसबारे चासो राखेको विभिन्न स्रोतले सेतोपाटीलाई बताएका छन्।

रविजस्तो विभिन्न तहमा पहुँच बनाएका व्यक्तिले लामो समयदेखि विभिन्न विवादित व्यवसायमा संलग्न जिबीप्रति आँखा चिम्लेर विश्वास गर्ने सम्भावना निकै कम छ। उनलाई जिबीको ‘आर्थिक अपराध’ बारे थाहा नहुन कति सम्भव छ?

उनी अहिले पनि जिबीले सहकारीबाट ल्याएको लगानीबारे आफ्नो हिस्साको जिम्मेवारी लिन तयार देखिन्नन्।

बरू यहाँ रवि लामिछानेलाई जिबीले धेरै विश्वास गरेको देखिन्छ। कसरी भने, नेचर हर्ब्सदेखिकै आफ्ना साझेदार छविलाल र रविको कुरा नमिलेपछि जिबीले रविलाई नै रोजे। जिबीले आफ्नो कुरा नसुनेपछि छविलाल ग्यालेक्सीमा जानै छाडे। पछि उनले आफ्नो नामको सेयर पनि हस्तान्तरण गरिदिए।

रवि ‘म्यान अफ द ग्यालेक्सी’ थिए। त्यसैले हर्ताकर्ता उनी नै हुने भइहाले। च्यानल प्रसारण हुनुअघि धुलिखेलमा भएको एक कर्मचारी मिटिङमा कतिपयले सञ्चालकहरूबारे रविलाई सोधेका थिए।

जबाफमा उनले भने, ‘तपाईंहरूलाई सञ्चालक को हो भन्ने लाग्यो होला। अहिलेलाई मान्नुस्, ग्यालेक्सीको मुख्य मान्छे मै हुँ। मैले नै सबै चलाउने हो।’

उनी कतिसम्म शक्तिशाली थिए भने, उनको वा उनको टिमको कसैको पनि बोली काट्नेबित्तिकै त्यो मान्छे ग्यालेक्सीबाट बिदा हुनुपर्थ्यो।

‘छविलाल र लक्ष्मीले ग्यालेक्सी छाड्नुको कारण यही हो,’ एक पूर्वकर्मचारीले भने, ‘न्यूजको टिम होस् कि जोसुकै होस्, रविलाई प्रश्न गरेपछि सकियो।’

जिबीले रविलाई गरेको विश्वासकै आधारमा तीन करोड रूपैयाँबाट सुरू भएको ग्यालेक्सीको लगानी १२ हुँदै २६ करोड रूपैयाँभन्दा माथि पुगेको थियो। अहिले ६१ करोड रूपैयाँ लगानी पुगेको ती पूर्वकर्मचारी बताउँछन्। त्यसमा पनि स्टुडियो, उपकरण र अरू सम्पत्ति ४० करोड रूपैयाँ जति भएको उनको भनाइ छ।

यसरी जिबीको मिडिया मालिक बन्ने सपना र रविको महत्वाकांक्षा मिलेर ग्यालेक्सी भव्य बन्दै गयो। खर्च गर्न जिबीले कुनै लगाम लगाएनन्।

‘जिबीले यस्तरी पैसा खन्याएका थिए, सबै कुरा महँगो र राम्रो मात्र किने,’ एक अर्का पूर्वकर्मचारीले भने।

ठूलो लगानी र तामझामसाथ सुरू गरिएको टेलिभिजन च्यानलमा बिस्तारै विज्ञापन आउन सुरू भएको थियो। त्यति बेला बजार व्यवस्थापन हेर्ने एक कर्मचारीअनुसार ग्यालेक्सी प्रसारण हुनुअघि नै १८ करोड रूपैयाँको विज्ञापनका लागि मौखिक सहमति भएको थियो।

अर्का कर्मचारीले भने ‘विज्ञापन दिन्छु भन्नेहरू धेरै भए पनि पैसा करिब आधा मात्र आएको’ बताउँछन्।

ती कर्मचारीअनुसार सुरूमा ग्यालेक्सीको मासिक खर्च डेढ करोड रूपैयाँ थियो। रियालिटी शो प्रशस्त भएका बेला विज्ञापन धेरै आउँथे। रियालिटी शो सकिएपछि विज्ञापन घट्दै गयो।

प्रसारण सुरू भएको तीन-चार महिनापछि नै रविले आफ्नो तलब बढाउन माग गरेको ग्यालेक्सी सम्बद्ध स्रोत बताउँछ।

‘रविको तलब पाँच लाख रूपैयाँ थियो। उनले आठ लाख माग गरेका थिए,’ उनले भने।

सायद उनीहरूबीच कुरा नमिलेको पहिलो घटना त्यही थियो। पछि रविले आर्थिक सल्लाहकार फेर्न सुझाए। तर जिबीले मानेनन्।

त्यही बेलातिर बैंकहरूले ब्याजदर बढाएको खबर सुनेपछि जिबी झस्किए। बैंकले धेरै ब्याज दिए मान्छेहरू सहकारीबाट पैसा झिकेर बैंकमा राख्छन् भन्ने उनलाई डर थियो।

‘सहकारीबाट पैसा ल्याएका रहेछन्, त्यसैले पो डराएका रहेछन्!’ जिबीका एक साथीले भने।

२०७९ को स्थानीय निर्वाचन त जिबीका लागि बज्रपातै बनेर आयो। काठमाडौं महानगरपालिका चुनावमा स्वतन्त्र उम्मेदवार बालेन शाह अत्यधिक मत ल्याएर विजयी भए। देशभरि उनको चर्चा चुलियो। यसले रविको मनमा केही वर्षअघि टुसाएको राजनीतिको सपनाले हाँगा हाल्यो। उनले अकस्मात ग्यालेक्सी छाडेर राजनीतिमा लाग्ने निधो गरे।

पाँच वर्ष काम गर्छु भन्ने बाचा गरेर ग्यालेक्सी खोलेका रविले प्रसारण भएको आठ महिना नपुग्दै नयाँ बाटो समाते।

जिन्दगीभरि आफूलाई माया गरेका व्यक्तिहरूको विश्वासमा लात मारेर हिँडेका जिबीले पनि रविबाट ‘धोका’ पाए।

‘जिबी सर मुखले कसैलाई नराम्रो भन्नु हुन्नथ्यो। तर रवि लामिछानेले आफूलाई धोका दिएको उहाँले महसुस गर्नुभएको थियो,’ जिबीनिकट एक कर्मचारीले भने, ‘रविले पाँच वर्ष मिलेर टिभी चलाउने बचन दिएपछि उनकै भरमा जिबी सरले त्यत्रो लगानी गर्नुभएको हो। आफूले गरेका बाचा, दिएका आश्वासन र प्रतिबद्धता लत्याउन रविलाई एकनिमेष पनि लागेन।’

जिबीले यसबारे आफ्ना परिवारसँग पनि कुरा गरेका थिए।

‘रविले छाड्ने भए, अब त टिभी पनि आफैंले सम्हाल्नुपर्ने भयो भन्ने कुराले जिबी निकै पिरोलिएका थिए,’ उनका एक आफन्तले भने, ‘पाँच वर्ष मिलेर टिभी चलाउँछु भन्ने बचन दिएका रविले धोका दिएर गयो भन्ने उनलाई परेको थियो।’

रविलाई ‘गुडविल’ बापत दिएको सेयर फिर्ता लिँदा जिबीले जस्तो व्यवहार गरे, त्यसले पनि जिबीको विश्वास गुमेको देखिन्छ।

२०७९ जेठ ३१ गते गोरखा मिडियाको सञ्चालक समितिले रविको राजीनामा स्वीकृत गर्ने र उनको नामको सेयर जिबीले किन्ने निर्णय गरेको थियो। सम्भवत: उनीहरूबीच कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर किनबेचको कागज बनाउने, तर रविले गुडविल सेयर बेचेबापत पैसा नपाउने सहमति बन्यो।

जिबीलाई सेयर बेच्न मञ्जुरी दिएको कागज रविले बनाए। सेयर किन्दा कार्यालयलाई बैंक भौचर बुझाउनुपर्छ। भौचर बनाउन जिबीले पैसा नै नभएको चेक लगेर रविको आइएमई बैंक खातामा जम्मा गरे। उनको चेक बुझेर बैंकले भौचर दियो। त्यो भौचर कम्पनी रजिस्ट्रार कार्यालयलाई झुक्याउन बनाइएको रवि आफैंले सार्वजनिक गरेका कागजातले देखाउँछन्।

रविको खातामा पैसा जम्मा गर्ने प्रक्रियामा जाँदा जिबीको खातामा पैसै थिएन। त्यसैले आइएमई बैंकले खातामा जम्मा हुन नसकेको सूचना रविलाई दियो।

रवि र जिबीको राम्रै सम्बन्ध थियो भने केही दिनलाई रविको खातामा जिबीले पैसा पठाइदिन सक्थे। तर सेयर हस्तान्तरणपछि रविले उक्त पैसा फिर्ता गर्लान् भन्नेमा जिबी शंकालु भएको देखिन्छ।

रवि लामिछानेले २०७९ असार २ बाट ग्यालेक्सी छाडे। उनीसँगै उनको टिमका धेरैले छोडे। बिस्तारै अरूले पनि छाड्दै गए।

जिबीले सहकारीमा चलाएको साम्राज्य पनि ढल्न थाल्यो। ग्यालेक्सीबाहेक जिबी राई संलग्न नेचर हर्ब्स, गोरखा ग्रुप अफ कम्पनी, नेचर नेस्ट कम्पनी, जिबी ग्रुप एन्ड कम्पनी लगायतमा सहकारी संस्थाहरूको ठूलो रकम कानुनविपरीत लगानी भएको देखिन्छ।

सुदर्शन सहकारीको १ अर्ब ३१ करोड ५३ लाख, सुप्रिमको ६० करोड र साहाराको ४० करोड रूपैयाँ जिबीका विभिन्न कम्पनीमा लगानी भएको विवरणहरूले देखाएका छन्।

आफू सञ्चालक र संरक्षक रहेका सहकारीको पैसा अपचलन गरेका जिबी आफूविरूद्ध प्रहरीमा उजुरी परेपछि छोराछोरी र पत्नीसहित मलेसिया गए।

त्यसपछि उनी गायब छन्। प्रहरीको फरार सूचीमा उनको नाम चढिसकेको छ।

चार वर्षअघि जिबीको सपना र रविको महत्वाकांक्षाको बलमा उभिएको ग्यालेक्सी टिभीमा पनि अहिले गीत मात्र बजिरहन्छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34