KFGVRFI34

छुटेका बालबालिकालाई जेठ १३ देखि पोलियो खोप दिइने

0

आगामी जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

सरकारले आगामी १३ देखि २६ जेठसम्म पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी असारभित्र यसअघि छुटेका साढे १४ लाखभन्दा बढी बालबालिकाहरुलाई आईपीभी खोप दिने अभियान सञ्चालन गर्ने भएको हो ।

विसं २०७३ बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकाहरुलाई अभियान सञ्चालन गरी आईपीभी खोप दिने तयारी रहेको महाशाखाले जनाएको छ ।

नेपालले सन् २०१४ बाट सुईबाट दिइने पोलियो विरुद्धको खोप (आईपीभी) सुरू गरे पनि २०१६ देखि २०१८ को मध्यसम्म विश्वव्यापी रुपमा अभाव भएका कारण खोप दिन रोकिएको थियो ।

त्यसबेला विश्वबजारमा यो खोप अभाव भएका कारण ती बालबालिकाहरु आईपीभी खोपबाट पाउनबाट बञ्चित भएका थिए । उक्त खोपबाट बन्चित भएका बालबालिकाहरु पोलियो रोगको जोखिममा हुनसक्ने भन्दै खोप दिन लागिएको हो ।

‘दुई वर्षको अवधिमा १४ लाख ६२ हजारको हाराहारीमा आईपीभी खोपबाट वञ्चित भएको छन् । ती बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम स्कुल–स्कुल तथा स्थानीय स्तरको स्वास्थ्य संस्थामा गएर खोप दिइनेछ,’ गौतमले भने ।

उसो त नेपालले सन् २०१४ मै पोलियोमुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एशियाली मुलुकहरु पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण जोखिम कायमै रहेकोले पोलियो खोप लगाउन परेको हो ।

खोप अभियानका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाईजेशन (गाभी)को ठूलो सहयोग रहेको छ ।

डा. गौतमले अहिले बीचमा छुटेका बालबालिकाहरुलाई मात्रै खोप दिन लागिएको भन्दै यसअघि जन्मेर आइपीभी लिईसकेको र पछि जन्मेर सो खोप लिईसकेकाहरुले अहिले खोप लिन नपर्ने समेत स्पष्ट पारे ।

किन सञ्चालन गर्नु पर्‍यो आईपीभी खोप ?

पोलयो भाइरसद्धारा लाग्ने रोग हो । यो मुख्य रुपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्धारा फैलिन्छ । संक्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गर्छ । पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक–फरक हुन्छन् ।

पहिला मुखबाट दिइने ओरल खोप मात्रै थियो । मुखबाट दिने पोेलियोको तीन टाइपमध्ये टाइप वान, टाइप टु र टाइप थ्रि मध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री) नियमित रुपमा सञ्चालन भइरहेको छ ।

टाइप टु नेपालबाट धेरै अघि देखी नदेखिएको भएपनि यसको मृत जिव मिसिएको आइपिभी भ्याक्सीन सुरु गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले नै सो खोप प्रयोग गर्नको लागि विश्व समुदायलाई आह्वान गरेको थियो । त्यस अनुसार नेपालले पनि राष्ट्रिय खोप कार्यक्रममा समावेश गयो । तर, पछि अन्तराष्ट्रिय रुपमा खोपको अभावका हुन कारण खोप कार्यक्रम दुई वर्ष बन्द भएको थियो ।

मुखबाट दिइने पोलियो खोप जीवित भाइरसबाट बनेको हुन्छ मुखबाट दिइने पोलियो खोपको फाइदा र बेफाइदा दुवै हुन्छ । जीवित भाइरस बनेको पोलियो खोप आन्द्रा हुँदै शरीरमा प्रवेशमा गर्छ । जुन शरीरमा संख्यात्मक रुपमा धेरै गुणा वृद्धि हुन्छ ।

सरकारले पोलियो रोगविरुद्ध दुईवटा खोप सञ्चालन गरेको छ । ओपिभि खोप नियमित खोप सेवाको माध्यमबाट छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनु पर्ने हुन्छ ।

यस्तै आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरमा लगाउनु पर्छ । ‘हामी खोप दिइरहेका छौं । तर केही वर्ष बीचमा छुटेका कारण सो समूहलाई यसपटक दिन लागिएको हो,’ महाशाखाका प्रमुख डा. विवेक कर्ण लालले भने ।

‘लाखौं संख्यामा बालबालिका मध्ये कहिलेकाहीले दुई–चार जना बालबालिकालाई भाइरसले पनि पोलियो गराउन सक्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिमा पोलियो हुने देखिएको छ,’ डा. लालले भने, ‘सुई बाट दिँदा भाइरस मरेको हुँदा बालबालिकालाई प्रतिरक्षा दिन्छ अन्य बालबालिमा सर्ने सम्भावना हुँदैन ।’

डा. लालका अनुसार सरसफाई राम्रो व्यवस्था नभएका गरिब मुलुक अहिले पनि आईपीभी खोप सञ्चालन भइरहेको छ । सरसफाइको राम्रो व्यवस्था नभएको बेलामा बच्चाले दिसा गर्दा त्यसबाट पनि संक्रिय भाइरस निस्किन्छ ।

विश्वभरिबाट टाइप टु र थ्री नामक पोलियो भाइरस उन्मूलन भएपनि टाइप वान नामक भाइरस चाहिँ अफगानिस्तान र पाकिस्तानमा अझै देखिएको छ ।

पोलियो संक्रमित धेरैजसो मानिसमा कुनै पनि लक्षण देख्दिैन र समस्या विना नै धेरै निको हुन्छन् । तर कहिलेकाही पोलियो लागेका मानिसमा पक्षघात हुनसक्छ । विश्व स्वास्थ्य संगठन अनुसार प्रत्येक दुई सय बिरामीमध्ये एकजना बिरामीलाई हुने पक्षाघात पूर्ववत अवस्थामा फर्किन नसक्ने प्रकारको हुन्छ ।

डा. लालले अभियानका लागि सरकार तथा दातृ निकायले ३२ करोड बढी छुट्याएको जानकारी दिए ।

नेपालमा २०७१ साल देखि आईपीभी खोप सञ्चालन गरिएको हो । बीचको दुई वर्ष रोकिए पनि त्यसपछिको बर्षहरुमा यो खोप नियमित खोप कार्यक्रममा पर्दै आएको छ ।

श्वासप्रश्वासमा सघाउने मांसपेशीहरूलाई पक्षाघातको असर परेमा मृत्यु पनि हुन सक्छ । पोलियोको उपचार छैन, तर खोप लगाएर बच्चाहरूलाई पोलियो लाग्नबाट बचाउन सकिन्छ ।

खोप अभियानका लागि ३४ हजरा ३५४ खोप केन्द्र तयार गरिएको छ । यस्तै अभियानमा ३४ हजार ३०६ जना स्वास्थ्यकर्मी र ६० हजार १३ जना स्वयंसेवक परिचालन गरिने महाशाखाले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34