KFGVRFI34

कोरानाको नयाँ भेरियन्ट कति घातक ?

0

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ सवभेरिएन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिनोम सिक्वेन्सिङमा कोभिड–१९ को नयाँ सवभेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ भेटिएको हो ।

अल्फा, बेटा, डेल्टा र ओमिक्रोन हुँदै कोरोनाका नयाँ–नयाँ भेरिएन्ट फेला परेका थिए । ‘केपी.१’ र ‘केपी.२’ ओमिक्रोनका सवभेरिएन्ट हुन् ।

पछिल्लो समय भारत, सिंगापुर, अमेरिकासँगै अफ्रिकी मुलुकमा ओमिक्रोनका नयाँ सवभेरिएन्ट ‘केपी.१’, ‘केपी.२’, ‘केपी.३’, ‘केपी.४’ देखिएको थियो । नेपालमा पनि ४० कोभिड संक्रमितको नमुना जिनोम सिक्वेन्सिङ गरेको थियो, जसमा ४२ प्रतिशतमा नयाँ भरियन्ट भेटिएको छ ।

२ नमुनामा ओमिक्रोन (जेएन.१), १२ नमुनामा न (बीए.२), १७ नमुनामा (केपी.१), एक नमुनामा (केपी.२) र क्रमशः १ नमुनामा (केपी.३) र (केपी.४) भेटिएको हो ।

नेपालमा पहिलो पटक माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४ जेठ २०७७ मा संक्रमणका कारण मृत्यु भएको थियो । सरकारी तथ्यांक अनुसार हालसम्म करिब १२ लाख केस भेटिएका छन् भने १२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

नेपालले चारवटा कोरोनाका लहर सामना गर्नुपर्‍यो । डेल्टा, अल्फा, ओमिक्रोन लगायत भेरियन्ट नेपालमा देखिए । अन्य भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक रहे पनि कम घातक देखियो ।

कोरोना संक्रमण सुरु भएको २०७६ माघ ९ गतेदेखि २०७७ चैत १ गतेसम्म पहिलो लहरको रूपमा रह्यो । संक्रमण रोकथामका लागि सरकारले झण्डै चार महिना लामो लकडाउन गर्नुका साथै पीसीआर परीक्षणमा जोड दिएको थियो । तर स्वास्थ्य पूर्वाधारको अपर्याप्तता र महामारीलाई गम्भीर रूपमा नलिंदा संक्रमण रोकिएन । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पहिलो लहरमा २ लाख ७५ हजारको हाराहारीमा संक्रमण देखिएको थियो । जसमध्ये ३ हजार १४ जनाको मृत्यु भयो ।

पहिलो लहर विस्तारै सामान्य हुँदै जाँदा राजनीतिक गतिविधि बढे, सर्वसाधारणले पनि जनस्वास्थ्यको मापदण्ड नअपनाउँदा दोस्रो लहर निम्त्यायो । दोस्रो लहर बढी घातक भयो । संक्रमित संख्या ह्वात्तै बढ्दा अस्पतालका स्रोत र साधनले थेग्न सकेनन् भने अक्सिजनकै अभावमा धेरैले ज्यान गुमाए । दोस्रो लहरमा मात्र ८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । दोस्रो लहरमा रूप परिवर्तन भएर फैलिएको संक्रामक भाइरसले दीर्घरोग तथा बिरामी मात्र होइन, सबै उमेर समूहलाई गम्भीर गरायो ।

तेस्रो लहरमा भने पहिलाभन्दा कम क्षति हुनपुग्यो । तर तीन तहका सरकारबीच समन्वय अभाव हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर हुनपुग्यो । पहिलो तथा दोस्रो लहरमा नाका व्यवस्थित नहुँदा क्षति भोग्नुपरेको देख्दै गर्दा सरकारले तेस्रो लहरमा पनि सीमामा संक्रमितलाई अलग गर्ने संरचना बनाउन सकेन ।

यद्यपि आम नागरिकमा बढेको सचेतना, पूर्णरूपमा खोप लगाउनेहरूको बढ्दो संख्या र अस्पताल पूर्वाधारमा भएको बढोत्तरीका कारण बढी भयावह हुन पाएन ।

चौथो लहरमा भने संक्रमित संख्यामा केही ग्राफ उकालो लागे पनि धेरै क्षति हुन पाएन । मन्त्रालयको तथ्यांक अनुसार तेस्रो र चौथो लहरमा १३०० को हाराहारीमा मृत्यु भयो ।

पछिल्ला दिनमा कोरोनाभाइरस संक्रमित संख्या निरन्तर घटेकाले धेरैले यसलाई बिर्सिन पनि थालेका छन् । तर जनस्वास्थ्यविद्हरू भने महामारीकै रूपमा देखा नपर्ने संकेत भएता पनि समाजमा सामान्य रूपमा कोरोनाको प्रजाति घुमिरहने बताउँछन् ।

नयाँ भेरियन्ट कति घातक ?

ओमिक्रोको सवभेरियन्ट ‘केपी.१’, ‘केपी.२’ कति घातक हुन्छ भन्ने अहिलेसम्म यकिन भएको छैन । तर प्रारम्भिक अध्ययनबाट कम घातक मानिए पनि जेष्ठ नागरिक र दीर्घरोगीलाई भने अस्पताललै पुर्‍याउन सक्ने विज्ञ बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले पनि संक्रमण घातक नभए पनि दीर्घरोगी र बालबालिका सचेत हुनुपर्ने जनाएको छ । संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला ओमिक्रोन अरू भेरियन्टभन्दा कम घातक रहेका कारण जटिलता कम हुने बताउँछन् ।

उनका अनुसार सन् २०२२ पछि डेल्टा, अल्फालाई ओमिक्रोनले विस्थापित गरेपछि मानिसको मृत्युदर पनि न्यून भयो । ओमिक्रोनका सवभेरियन्टले रुघाखोकी, ज्वरो आउने, शरीर दुख्ने भएता पनि निमोनिया हुने तथा मृत्यु हुने संख्यामा उल्लेखनीय कम भएर गयो ।

‘धेरै मानिसले खोप लगाएका वा पटक संक्रमित भएका कारणले पनि भाइरससँग लड्ने क्षमतामा वृद्धि हुँदा थप जटिलता नहुन सक्छ,’ डा. कोइरालाले भने, ‘तर दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिको हकमा चनाखो हुनुपर्छ ।’

जनस्वास्थ्यविद्हरूका अनुसार कोरोनालाई अहिले नै पूर्णरूपमा नियन्त्रण र उन्मूलन भन्न सकिने अवस्था छैन । ‘कोरोना अन्य रोग हैजा वा दादुरा जस्तै गरी बसिरहन्छ । यसबारे सतर्कता अपनाउनुपर्छ । भोलिका दिनमा हुनसक्ने सम्भावित महामारीको लागि तयारी गर्नुपर्ने अवस्था हो’, डा. शरद वन्तले भने ।

कोरोना भाइरस स्थापित भइसकेकाले बेला–बेला फाट्टफुट्ट देखिने सम्भावना भएको जनस्वास्थ्यविद् डा. वन्त बताउँछन् । नेपालको इतिहास हेर्दा पनि हैजा, क्षयरोग, एचआईभी, बिफर, इन्फ्लुएन्जा, दादुरा लगायत सरुवा रोग देखिएका छन्, जसले अहिले पनि बेलाबेला सताउने गरेको छ ।

विज्ञहरूका अनुसार नेपालमा साधारण रुघा–खोकीजन्य फ्लुका कारण बर्सेनि हजारौंको मृत्यु हुने गरेको छ । यसअर्थमा पनि कोरोना महामारीको अन्त्य अनुमान गर्न नसकिने र नयाँ भेरियन्टको जोखिम कायमै रहने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी कोरोनाले स्वरूप परिवर्तन गर्दै आएकाले चनाखो हुनुपर्ने बताउँछन् । उनका अनुसार कोरोनाका नयाँ भेरियन्टको जोखिम सधैं रहन्छ । ‘कोरोनासँग सतर्क रहनुपर्छ । भोलिका दिनमा भेरियन्ट परिवर्तन हुँदा सानो वा ठूलो लहर आउने सम्भावना रहन्छ’, डा. सुवेदीले थपे, ‘तर पछिल्लो ओमिक्रोन भेरियन्टले सामान्यता सिकिस्त बनाएको छैन ।’

पछिल्लो दिनमा रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना हुने क्रम बढिरहेकाले नयाँ भेरियन्टप्रति चनाखो हुनुपर्ने उनको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन महिना दिन अगाडिदेखि नै कोरोनाको नयाँ भेरियन्टले गति लिइरहेको संकेत मिलेको बताउँछन् । प्रारम्भिक अध्ययनबाट ‘केपी.१’, केपी.२’ कम घातक मानिए पनि जेष्ठ नागरिक र दीर्घरोगीलाई भने अस्पताललै पुर्‍याउन सक्ने क्षमता रहेको डा. पुन बताउँछन् ।

‘केही महिना अगाडिदेखि दीर्घरोगी र जेष्ठ नागरिक संक्रमणका कारण अस्पताल भर्ना हुँदै गएका छन्,’ डा पुनले भने, ‘प्रारम्भिक संकेतले पनि जेष्ठ नागरिकलाई बढी सताउन सक्ने देखिन्छ ।’

जेए.वान सवभेरियन्टका कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागि नसकेकाले कस्तो अवस्था आउन सक्छ भन्ने अनुमान गर्न गाह्रो रहेको बताउँछन् । ‘नयाँ सवभेरियन्टले पुनःसंक्रमण गराउन सक्ने अन्य देशको तथ्यांकले स्पष्ट देखाउँला,’ डा. पुनले अनलाइनखबरसँग भने, ‘कोरानाले स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न अहिले यकिन गर्न सकिन्न ।’

हाल अस्पतालमा एन्टिजेन परीक्षणकै प्रयोग हुँदै आएको छ । तर पटक–पटक कोरोना संक्रमण भएर एक तहको रोग प्रतिरोधी क्षमता विकसित भइसकेकाले एन्टिजेन परीक्षणमा पोजेटिभ हुने सम्भावना एकदमै साँघुरो भएको डा. सुवेदी बताउँछन् ।

धुलिखेल अस्पताल, मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा. राजीव श्रेष्ठ कोरोनाको खोप लगाएका मानिसमा संक्रमण भए पनि जटिलता कम हुने भएकाले अतिरिक्त खोप (बुस्टर) लगाउन सुझाउँछन् ।

‘थोरै संख्याले मात्रै बुस्टर डोज लगाएका छन्’ उनले भने, ‘अब सरकारले बुस्टर डोज, नागरिकले मास्क लगायतका जनस्वास्थ्य मापदण्ड पालनामा विशेष ध्यान दिनुपर्छ ।’

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34