कक्षा १२ को पूरक परीक्षा भदौ २५ र २६ गते हुने
कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा नन ग्रेडेड प्राप्त गरेका वा दुई विषयमा अनुपस्थित भएका वा अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा नन ग्रेडेड वा कुनै एक विषयमा अनुपस्थित भएका विद्यार्थीहरूले मात्रै पूरक परीक्षा दिन पाउने जनाएको छ ।
बोर्डका अनुसार भदौ २५ गते अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । यही दिन एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको पनि परीक्षा हुनेछ । त्यस्तै, दुई विषय परीक्षा दिनुपर्नेमा सानो कोड नम्बर भएको तर अनिवार्य अंग्रेजी र नेपाली दुवै परीक्षा दिनुपर्नेले अंग्रेजी (००४१) र दोस्रो दिन नेपाली (००२१) विषयको परीक्षा हुने बोर्डले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।
भदौ २६ गते भने दुई विषयको परीक्षामध्ये ठूलो कोड नम्बर भएको विषय हुनेछ । यस दिन अंग्रेजीको परीक्षा हुने छैन ।