KFGVRFI34

भारतसँगको खेलपछि के भन्छन् नेपालका कप्तान रोहित?

0

एसिया कप २०२३ अन्तर्तग भारतविरूद्धको खेलमा नेपाली टिमले गरेको प्रदर्शनबाट सन्तुष्ट रहेको नेपालका कप्तान रोहितकुमार पौडेलले बताएका छन्।

सोमबार श्रीलंकाको पल्लेकेलेमा भारतविरूद्ध पहिले ब्याटिङ गरेको नेपालले २३० रन जोडेको थियो। वर्षाले प्रभावित खेलमा भारतले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेर १० विकेटको जित हात पारेको थियो।

भारतसँग पराजित भए पनि नेपाली टिमको प्रदर्शनमा रोहित सन्तुष्ट देखिएका हुन्।

‘नेपाली टिमको प्रदर्शनमा सन्तुष्ट छु। विशेषगरी ब्याटिङमा हाम्रा ओपनरले राम्रो गरे। मिडल अर्डरमा हामीले अझै राम्रो गर्न सक्थ्यौं। मैले २६०-२७० रन सम्मको स्कोर राम्रो हुने सोचेको थिएँ,’ खेलपछिको पत्रकार सम्मेलनमा उनले भने।

उनले भारतका ब्याट्सम्यनद्वय विराट कोहली र रोहित शर्मासँग पनि खेलका दौरान छोटो कुरा गर्ने मौका पाएको पत्रकार सम्मेलनमा बताए।

भारतविरुद्ध आफूहरुको बलिङ योजना सुनाउँदै उनले अघि भने, ‘बलिङमा हाम्रो लक्ष्य राम्रो एरियामा बलिङ गरेर उनीहरुलाई रोक्ने थियो। पानीका कारण राम्रो बलिङ गर्नु हाम्रो लागि चुनौती थियो।’

पाकिस्तानभन्दा भारतविरुद्ध राम्रो ब्याटिङ गरेको हो भन्ने प्रश्नमा उनले परिस्थितिमा भर पर्ने बताए। ‘सबै कुरा कन्डिसनमा भर पर्छ,’ उनले भने।

भारतले बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गरेको रोहितको भनाइ छ।

उनले अब चीनमा हुने एसियाली खेलकुदको तयारीमा लाग्ने बताए। एसियाली खेलकुदमा आगामी असोज पहिलो साता सुरु हुँदैछ भने प्रतियोगिता टी-२० फर्म्याटमा हुनेछ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34