KFGVRFI34

वीरगञ्ज महानगरपालिका दर्ता नभएका ९ विद्यालय सिल गर्दै

0

वीरगञ्ज महानगरपालिकाले दर्ता नभई सञ्चालन भएका तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको विद्यालयहरु धमाधम सिल गर्न थालेको छ ।

महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएका विद्यालयहरु सिल मार्ने क्रम चलिरहेको छ ।’ बिहीबारसम्म ९ वटा विद्यालय सिल गरिएको लामिछानेले जानकारी दिए । महानगरले ईश्वरचन्द्र यादवको संयोजकत्वमा अनुगमन समिति गठन गरेर सिल गरिरहेको हो ।

वीरगञ्ज महानगरपालिकाले कक्षा ११, १२ सञ्चालन भइरहेका सत्यम् पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज, प्रिन्सटन मोडेल, एकेडेमी अन्नपूर्ण कलेज, युनिभर्सल एकेडेमी, वीरगञ्ज स्कुल अफ ल, इम्पेरियल कलेज, न्यू वेभ एकेडेमी र बिजिबी किड्समा सिल गरेको जनाएको छ ।

अनुगमनको क्रममा कक्षा १२ सम्म सञ्चालन अनुमति लिएको पीस जोन स्कुलमा जाँदा कक्षा १० सम्म मात्रै रहेको र ‘वीरगञ्ज स्कुल अफ ल’ (कक्षा ११,१२ सञ्चालित) मा जाँदा विद्यार्थीलाई दिने शैक्षिक प्रमाणपत्रमा पीस जोन स्कुलको नाम भेटिएको थियो ।

‘वीरगञ्ज स्कुल अफ ल’ ले पीस जोन स्कुलको कक्षा ११, १२ सँग समझदारी गरेर महानगरपालिकामा दर्ता नभएको ‘वीरगञ्ज स्कुल अफ ल’ नामबाट फरक स्थानमा कक्षा ११, १२ सञ्चालन भएको पाइएकोले सील गरिएको महानगरको भनाइ छ । ‘विद्यार्थीको शैक्षिक प्रमाण पत्रमा पीस जोन स्कुलको हुने तर पढाइ हुने फरक भवनमा विद्यालयको राखिएको नाम, विद्यार्थीको आइडी कार्ड, बस लगायत वीरगञ्ज स्कुल अफ ल किर्ते नाम चलेको पाइयो जुन नाम महानगरपालिकामा दर्ता छैन’ उनी अगाडि भन्छन्, ‘दर्ता नभएपछि महानगरपालिकाले चिन्ने कुरा आउँदैन यस्ता नचिनिएका अवैधानिक विद्यालयहरु सिल गरिंदैछ ।’

त्यस्तै अर्को विद्यालय एन्जल इन्टरनेशनल स्कुलले कक्षा १२ सम्म सञ्चालन अनुमति लिएको छ । तर विद्यालयमा कक्षा १० सम्म मात्रै सञ्चालन रहेको छ । यहि विद्यालयको कक्षा ११, १२ कक्षा सञ्चालन अनुमति पत्रले सत्यम् कलेजको फर्जी नामबाट सञ्चालित भएको पाएपछि सिल गरिएको महानगरले जनाएको छ । एन्जल इन्टरनेशनल स्कुलका सञ्चालक एन-प्याब्सन पर्सा जिल्ला अध्यक्ष राम श्रेष्ठ हुन् ।

महानगरपालिकाले दर्ता नभई सञ्चालन भइरहेका मन्टेसरी, कोचिङ सेन्टर पनि सिल गर्ने तयारी गरेको जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34