KFGVRFI34

आफु जन्मेको बार र राशिअनुसार लगाउनुहोस् यी रत्न चम्किनेछ भाग्य !

0

ज्योतिष विज्ञान अनुसार रत्न मानिसको राशिफल चिह्न, जन्ममिति र लुनार क्यालेन्डरको आधारमा प्रयोग गरिएका हुन्छन् ।ज्योतिष शास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिसको जन्म कुण्डलीमा राम्रो तथा नराम्रो, कमजोर तथा बलियो दुवै ग्रह हुने गर्दछन् ।
यी ग्रहहरुलाई सन्तुलनमा राख्नको लागी रत्नले मद्दत गर्ने गर्दछ । यस्तै केही रत्नहरु रहेका छन् जसले जन्म कुण्डलीको आधारमा सकारात्मक प्रभाव पार्ने गर्दछन् ।

१, मणिक रत्न – मेष राशि र सिंह राशिहरुको लागी मणिक रत्न एक मूल्यवान पत्थर हो । यो रत्नको धारण यी दुई राशिहरुको लागी सकारात्मक र फलदायी मानिन्छ।
यो रत्नले मेष राशि भएकाहरुलाई सन्तान प्राप्ति तथा बौद्धिक शक्तिलाई बढाउने गर्दछ भने सिंह भएका मानिसलाई सामर्थ्य प्रदान गर्नुको साथै आयु बढाउने काम गर्दछ ।
ज्योतिष अनुसार मणिक रत्न जुलाईमा जन्मिएका मानिसका लागि अति उत्तम मानिन्छ र आइतबार जन्म भएकाहरूको लागी पनि मणिक धारण फलदायी मानिएको छ ।

२, मोती रत्न – कर्कट र वृश्चिक राशिहरुको लागी मोती रत्न धेरै उत्तम मानिन्छ । यसले कर्कट लग्न भएका मानिसमा दीर्घायु तथा समृद्धि ल्याउने छ भने वृश्चिक लग्न भएका मानिसलाई धन जोड्न मद्दत गर्ने गर्दछ । ज्योतिषी अनुसार मोती रत्न जुन महिनामा जन्मिएका मानिसका लागी निकै नै उत्तम मानिन्छ । सामान्यतया कर्कट राशि र सोमबार जन्मिएकाहरुको लागी यो मोती धारण फलदायी हुनेछ ।

३, मुगा रत्न – वृश्चिक र मेष राशिहरुको लागी मुगा रत्न जन्म पत्थरको रूपमा लिइन्छ। ज्योतिष अनुसार जनवरीमा जन्मिएकाहरूका लागि मुगा धारण निकै नै उपयुक्त मानिन्छ । सामान्यतया वृश्चिक र मेष राशिको साथ(साथ मङ्गलबार जन्म भएकाहरूका लागी पनि मुगा रत्न निकै लाभदायी मानिन्छ ।

४, पन्ना रत्न – वृष लग्न भएकाहरुलाई यो रत्नको धारणले धनलाभ एवम् ज्ञान वृद्धिमा सहयोग पुर्याउने गर्दछ । यो रत्न धनु राशिको लागी पनि सामान्य लाभदायक रहेको छ तर सिंह लग्नका लागि भने निकै राम्रो फलदायी मानिन्छ । साथै यसले धनु र मेष लग्नका मानिसको लागी भने पारिवारिक सुख एवम् व्यापार व्यवसाय बढाउन मद्दत गर्दछ । यो रत्न सामान्यतया बुधबार जन्म भएकाहरूका लागी फलदायी मानिन्छ।

५, पुष्पराज रत्न – धनु र मीन लग्नका मानिसको उन्नतिका लागि सहयोगी पत्थर मानिन्छ । यसले यी दुवै राशिका मानिसको दीर्घायुमा मद्दत पुर्याउने गर्दछ । प्रेम प्राप्तिका लागि भने यो रत्न मिथुन र कन्या लग्न भएकाहरूका लागि धेरै महत्वपूर्ण रहेको छ । ज्योतिषशास्त्रका अनुसार नोभेम्बरमा जन्मिएकाहरूका लागि पुष्पराजलाई जन्म पत्थरको रूपमा लिइन्छ र सामान्यतया बिहीबार जन्म भएकाहरूका लागि पनि यो रत्न धारण फलदायी मानिन्छ।

६, हीरा – यो रत्नलाई बिशेष गरेर वृष र तुला लग्नमा जन्मिएका मानिसका लागि प्रमुख रत्नको रुपमा मानिएको छ । यो रत्न धारण गर्नाले पारिवारिक सुख हुनुको साथै सन्तान प्राप्ति हुने विश्वास पनिरहेको छ । साथै यो रत्नले मकर राशिको लागी सन्तान प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्नुको साथै बौद्धिक शक्तिमा वृद्धि गराउछ । सामान्यतया यो रत्न शुक्रबार जन्म भएकाहरूका लागि फलदायी मानिन्छ।

७, नीलम – यो रत्न मकर र कुम्भ लग्न भएका मानिसका लागि निकै उपयोगी पत्थर मानिनुको साथै लामो आयु पनि प्रदान गर्ने गर्दछ । सामान्यतया शनिबार जन्म भएकाहरूका लागि पनि नीलम रत्नको धारण फलदायी मानिन्छ।

८, गोमेद – यस पत्थरले तत्काल कुनै पनि प्रकारका राम्रा वा नराम्रा नतीजा पैदा गर्ने क्षमता राख्छ। यो राहुको पत्थर भएकाले यसको असर प्रयोगकर्ताअनुसार तत्काल पर्ने गर्ने गर्दछ । बिशेष गरेर सर्पयोग, नागदोष, राहुको महादशा, राशि वा लग्नबाट आठौं राहु आदि स्थितिमा गोमेद धारण गर्नुपर्ने हुन्छ ।

९, वैदूर्यमणि – यो रत्न अन्य पत्थरको तुलनामा एकदमै भिन्न प्रकारको पत्थर रहेको छ । यसको प्रयोग गर्नुअघि ज्योतिषशास्त्री र रत्नविज्ञहरूसँग सल्लाह लिनु निकै फलदायी हुनेछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34