KFGVRFI34

आज राति आसपासमा हुन सक्छ मेघ गर्जन र चट्याङसहित वर्षा

0

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बिहीबार एउटा सूचना जारी गरेको छ।

सूचनामा आगामी तीन-चार दिन जिल्लाका केही भागमा दिउँसो घाम लाग्ने र साँझ मेघ गर्जन र चट्याङका साथै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

त्यसो त बुधबार काठमाडौं उपत्यकामा पनि रातभरि जस्तो मेघ गर्जन र चट्याङसहित पानी पर्‍यो। बूढानीलकण्ठ, सुन्दरीजल, धाप डयाम क्षेत्रमा केही घन्टा ठूलो पानी परेपछि बाढी पूर्वानुमान महाशाखाले विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीका तटीय क्षेत्रमा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन भन्यो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपरान्हपछि काठमाडौं उपत्यकामा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने बताएको छ।

‘हिजो पनि ललितपुर, काठमाडौंका विभिन्न भागमा रातिपख मेघ गर्जन/चट्याङसहित वर्षाको पूर्वानुमान गरेका थियौं,’ महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यो नियमित मनसुनी गतिविधि हो, अस्वाभाविक होइन।’

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। यसका अतिरिक्त नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले औंल्याएको छ।

राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रि-मनसुन र पोस्ट मनसुनमा हुन्छ मेघगर्जनसहित चट्याङ

नेपालमा सामान्यत: जुन १० देखि मनसुन प्रणाली भित्रिन्छ। यसवर्ष जेठ ३१ गते मनसुन भित्रिएको थियो। नेपालमा अरबियन सागरबाट बंगालको खाडी हुँदै मनसुनी वायु आइपुग्छ। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन यसपालि नेपालभर फैलन एकसाता लाग्यो।

यसरी बंगालको खाडी हुँदै भित्रिएको प्रणालीमा चट्याङको सम्भावना कम हुन्छ।

प्रि-मनसुनको अवधि (चैत, वैशाख, जेठ) मा स्थानीय प्रणाली बन्छ। जसले मेघ गर्जन र चट्याङको सम्भावना बढाउँछ। ‘पोस्ट मनसुन’ अर्थात् मनसुनको उत्तरार्ध (भदौ, असोज) को बेला पनि यस्ता गतिविधि देखिन्छन्।

‘प्रि-मनसुन र पोस्ट मनसुनका बेलामा मेघ गर्जने र चट्याङ पर्ने हुन्छ,’ उनले भने, ‘दिनभर घाम चर्कँदा दिउँसोपछि मेघ गर्जन हुने, चट्याङ पर्छ।’

चट्याङ बादलहरूको घर्षण भएर आकाशमा उत्पन्न हुने विद्युतीय तरङ, धार हो। धनात्मक र ऋणात्मक चुम्बकीय गुणजस्तै बादलको पनि त्यही प्रवृत्ति हुन्छ। धनात्मक र ऋणात्मक बादलहरू आपसमा घर्षण हुँदा आकाशबाट जमिनतिर विद्ययुतीय तरंग पैदा हुन्छ।

प्रकाशभन्दा ध्वनिको गति कम हुने हुँदा पहिला बिजुली चक्किएझैं देखिने र त्यसपछि मेघ गर्जनको आवाज सुनिने पनि मौसमविद् अधिकारीले जानकारी दिए।

दिउँसो घाम चर्कंदा पृथ्वीको सतहमा रहेका ताल, तलाउ, नदी, सागरबाट वाष्पीकरण हुँदै पानीका कणहरू आकाशतिर उड्छन्।

जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिने अधिकारीले बताए।

जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई ‘क्युमलोनिम्बस’ भनिन्छ। बादल धेरै नै बाक्लो भएपछि त्यसभित्र प्रकाश छिर्न सक्दैन। कालो बादलमा परिणत हुन्छ।

कुनै निश्चित ठाउँमा यस्तो कालो बादल देखिँदा ती ठाउँमा चट्याङको सम्भावना धेरै हुन्छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34