KFGVRFI34

हजारौं बालबालिका बर्सेनि हराउँछन्

0

रौतहटका १५ वर्षीय सन्तोष साह भदौ ९ गतेदेखि हराइरहेका छन्।

पुतलीसडकस्थित शम्भुकुमार जैसवालको चिया पसलमा सहयोगीको रूपमा काम गर्ने उनी त्यो दिन पसलमा कसैलाई केही नभनी निस्किएका थिए। त्यसपछि उनले न परिवारलाई सम्पर्क गरेका छन् न उनी कहाँ छन् भन्ने अत्तोपत्तो छ।

२० दिनसम्म पनि सन्तोष परिवारको सम्पर्कमा नआएपछि बिहीबार चिया पसलका साहु जैसवालले बालबालिका खोजतलास समन्वयन केन्द्रमा निवेदन दिएका छन्।

‘यहाँ उसका कोही आफन्त छैनन्। मठ मन्दिरदेखि सार्वजनिक ठाउँमा खोजिसकेका छौं,’ जैसवालले भने, ‘कतै नभेटिएपछि प्रहरीकोमा पुगेका हौं।’

प्रहरीले परिवारलाई पनि खोज्न भनेको छ। त्यसैले सन्तोषका बुबा वसन्त साह पनि काठमाडौं आएका छन्। उनीहरूले काठमाडौं, ललितपुर र भक्तपुरमा समेत खोजी गरिरहेका छन्।

जोरपाटीमा बस्दै आएका सुजन विश्वकर्माकी १२ वर्षीय छोरी चार दिनदेखि हराइरहेकी छन्। भदौ २५ गते विद्यालयबाट फर्किएपछि साँझ साथीभाइसँग खेल्न निस्किएकी उनी बिहीबारसम्म फेला परेकी छैनन्। सुजनले बुधबार बालबालिका खोजतलास समन्वयन केन्द्रमा निवेदन दिएका छन्।

उनको उनको खोजी भइरहेको छ।

यसरी दैनिक बालबालिका हराएको भन्दै १०/१५ जनाको फोन आउने बालबालिका खोजतलास समन्वयन केन्द्र भृकुटीमण्डकी कर्मचारी सम्झना भट्ट बताउँछिन्।

तीमध्ये धेरैका बालबालिका छोटो समयमा भेटिन्छन् भने कतिपय बालबालिका लामो समयसम्म फेला नपर्ने गरेको उनले बताइन्।

‘दैनिक यत्ति नै फोन आउँछ भनेर भन्न सकिँदैन। थपघट भइरहेको हुन्छ,’ उनले भनिन्,‘कतिपय परिवारले त बालबालिका ढिलासम्म घर नआउँदा पनि आत्तिएर फोन गर्छन्।’

खोजतलासका लागि निवेदन नै आउनेको संख्या भने फोनको तुलनामा कमै हुन्छ। खोजतलास केन्द्रमा निवेदन आएपछि इलाका प्रहरी कार्यालयदेखि केन्द्रसम्म जानकारी गराएर खोजीकार्य हुने उनले बताइन्।

खोजतलास केन्द्रमा बालबालिका हराएकामात्र निवेदन आउँदैनन्। बिहीबार एक युवकले आफू क्लबमा जाँदा १२/१३ वर्षीया बालिकालाई नृत्य गराएर व्यवसाय गराएको थाहा पाएपछि उद्धारका लागि निवेदन दिएका छन्।

त्यस्तो अवस्थामा तत्काल स्थानीय प्रहरीलाई खबर गरेर उद्धार गर्ने गरिएको छ।

भृकुटीमण्डपको खोजतलास केन्द्रमा वार्षिक न्यूनतम एक सयदेखि ३ सयसम्म निवेदन आउने गरेको छ। नि:शुल्क हटलाइन नम्बर १०४ मा हजारौ संख्यामा फोन आउने भट्ट बताउँछिन्।

भृकुटीमण्डपको खोजतलास केन्द्रमा भक्तपुर, ललितपुर र काठमाडौंका निवेदन र फोन आउँछन्। अन्य ठाउँका लागि जिल्ला प्रहरी कार्यालयमा बालबालिका खोजतलास केन्द्र १०४ हटलाइन नम्बर जडान गरिएको छ।

देशभरि ०७२ देखि ०८० असारसम्म २४ हजार ९०२ जना बालबालिका हराएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार हराएको भनेर निवेदन आएकामध्ये ११ हजार ५९१ बालबालिका भेटिएका छन् भने १३ हजार ३११ जना बालबालिका अझै फेला परेका छैनन्।

‘बालबालिका हराएको भन्दै निवेदन दिन्छन्, फेला परेपछि प्रहरीलाई जानकारी नगराउँदा बेपत्ता भएको संख्या धेरै देखिएको हो,’ कडायतले भने।

उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल र प्रहरीको सक्रियताले हराएका बालबालिका छोटो समयमै फेला पर्ने गरेका छन्।

खोजतलास क्रममा परिवारको सम्पर्कमा आए पनि प्रहरीलाई जानकारी नगराएका घटना प्रशस्त छन्।

बालबालिकाहरू विभिन्न ठाउँमा मजदुरी गरिरहेका हुन्छन्। त्यसैले परिवारसँग सम्पर्कमा आए पनि प्रहरीलाई जानकारी नगराउने गरेको उनको भनाइ छ।

‘आर्थिक अभाव र घरयासी समस्याले बालबालिका घर छोड्ने गरेको देखिएको छ,’ प्रवक्ता कडायतले भने, ‘बा-आमाबाहेक अन्य आफन्तसँग बस्ने र अभिभावक नभएकाहरू धेरै हराउने गरेको पाइन्छ।’

अभिभावकविहीन बालबालिकाको आफन्तले ध्यान नदिने हुँदा घर छोडेर हिँड्ने गरेको देखिन्छ। तर यसबारे कुनै अध्ययन भने नभएको कडायतले बताए।

राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्द बालबालिका किन हराइरहेका छन् भन्नेबारे कुनै पनि अध्ययन नभएको बताउँछन्।

एक दशकअघि हराएका बालबालिका भेटिने सम्भावना ६० प्रतिशत मात्र हुन्थ्यो। अहिले ९० प्रतिशत बालबालिका भेटिने गरेका छन्।

‘प्रहरीले सम्बन्धित निकाय र परिवारसँग निरन्तर फलोअप नगर्दा भेटिएको तथ्यांक नआएको हो,’ चन्दले भने।

पहिलाको तुलनामा अहिले हराएको बालबालिका भेटिने तथ्यांक सुधारिएको छ। त्यसको कारण स्थानीय तहदेखि केन्द्रसम्मका सम्बन्धित निकायको सक्रियता हो।

बालबालिकाहरूको खोजीकार्य गर्ने विभिन्न निकाय क्रियाशील भएका छन्। ७७ जिल्लामध्ये ७३ जिल्ला प्रहरी कार्यालयमा बालबालिका खोजतलास केन्द्र स्थापना गरी नि:शुल्क हटलाइन नम्बर १०४ जडान गरिएको उनले बताए।

मनाङ र मुस्ताङको प्रहरी कार्यालयमा नि:शुल्क टेलिफोन नम्बर १०४ जडान गरिएको छैन। किनकी त्यहाँको प्रहरीले बालबालिका नहराउने र आवश्यक नभएको जवाफ दिएपछि नराखिएको हो।

त्यस्तै, नवलपरासी (बर्दघाट सुस्त पश्चिम) र रूकुम पश्चिममा बालबालिका खोजतलास केन्द्रसँगै हटलाइन नम्बर जडान गर्नुपर्ने माग आएको छ। तर प्राविधिक समस्याले गर्दा जडान हुन नसकेको उनको भनाइ छ।

‘यी चारै वटा जिल्लामा बालबालिका खोजतलास केन्द्र स्थापना गरेर हटलाइन नम्बर १०४ छिट्टै जडान हुन्छ,’ चन्दले भने।

परिवारले छिट्टै खबर गरे हराएका बालबालिका फेला पार्न सकिन्छ ढिला गरे बालबालिका भेटिँदैन। त्यसैले खोजतलास केन्द्र हुनु आवश्यक छ।

‘धेरै बालबालिकालाई बालश्रमका लागि भारत पुर्‍याइने हुँदा समयमा नै खबर नगरे प्रहरीले भेट्‍याउन सक्दैन,’ उनले भने।

त्यसैले आफ्ना बालबालिका हराएको जानकारी पाउनासाथ प्रहरी वा १०४ मा फोन गर्न परिषद्ले अभिभावकलाई आग्रह गर्दै आइरहेको छ।

बालबालिकालाई सुरक्षा दिन र तत्काल उद्धार गर्नका लागि प्रदेशमा पनि बालबालिका खोजतलास केन्द्र स्थापना गरिएको छ।

लुम्बिनी, मधेश, कोसीमा प्रदेश खोजतलास केन्द्र स्थापना भइसकेको छ। बाँकी ४ वटा प्रदेशमा तयारीमा हुँदैछ। त्यस्तै बालबालिका हराउन नदिनका लागि प्रहरीले जनचेतनाको कार्यक्रम गरिरहेको उनले बताए।

‘स्थानीय तहदेखि केन्द्रसम्म अभिभावको दायित्वबारे जनचेतना जगाउने काम भइरहेको छ,’ चन्दले भने, ‘बालबालिका हराउन नदिन अभिभावको मुख्य भूमिका हुन्छ।’

अभिभावकले आफ्ना बालबालिका कहाँ गए? कस्ता साथीसँग संगत गरेका छन् भन्ने कुरा ध्यान दिनुपर्ने उनको भनाइ

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34