KFGVRFI34

डा. नेत्रबहादुर अमात्यले बिरामी हेर्दै ६ दशक बिताए

0

३१ भदौ, काठमाडौं । बुढ्यौली छायाँमा पनि चम्किरहेको अनुहार । सेताम्य कपाल । पुष्ट शरीर, उही बैंसालु उमंग । आवाजै तन्नेरी । ८३ वर्षे स्फूर्ति ! डा. नेत्रबहादुर अमात्यको जोशलाई मान्नै पर्छ । सक्रियताको अर्को नाम डा. अमात्य भन्दा फरक पर्दैन । अहिले पनि उनी ७ बजे नै अस्पताल पुगिसक्छन् र बिरामीको सेवामा जुटिसकेका हुन्छन् ।

बुधबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. अमात्यले केहीबेर आफ्ना जीवनको भोगाइ र अनुभव अनलाइनखबरसँग साटे । सोलु, नाम्चेबजारको हेल्थसेन्टरबाट २०२२ सालबाट चिकित्सा सेवा सुरु गरेका डा. अमात्यले जीवनको ६ दशक बिरामीको सेवामा व्यतीत गरिसकेका छन् ।

नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजिष्ट विशेषज्ञका रूपमा उनले नाम कमाएका छन् । नेपालमा पहिलो पटक रेडियोलोजी सेवामा सिटीस्क्यान, अल्ट्रासाउन्ड, एमआरआई सेवा भित्र्याउने डा. बसन्तलाल र उनी थिए । जागिरको दौरानमा स्वास्थ्य क्षेत्रको तल्लो तहदेखि वीर अस्पतालको निर्देशकसम्म भएर काम गर्ने अवसर पाए ।

सहपाठी डा. बसन्तलाल बितिसके । तर, डा. अमात्यमा युवावस्थाको भन्दा जोस, जाँगर अझै पनि कम छैन । आठ दशकको ढल्किंदो उमेरमा पनि यति सक्रिय रहनुको रहस्य के हो ? प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ फर्काइहाले- ‘अहिलेसम्म शरीर ठीक छ । राम्रोसँग काम गर्न सक्छु । सकारात्मक सोचका साथै खानपानमा ध्यान दिंदा आरामले काम गर्न सकिंदो रहेछ । अझै दुई-चार वर्ष काम गर्न सक्छु भन्ने विश्वास छ ।’

सरकारी सेवा-यात्रा

वीरगञ्जमा १९९७ सालमा जन्मेका अमात्यले २०१२ सालमा एसएलसी पास गरे । उनको पुख्र्यौली घर कुपन्डोल -ललितपुर) हो । तर, हजुरबुबा जागिरको सिलसिलामा वीरगञ्जमा बसाइँ सरेका थिए । परिवार नै शिक्षित थियो । त्यसैले, उच्च शिक्षाका लागि काठमाडौं पठाए ।

पब्लिक साइन्स कलेज (अमृत) बाट आईएस्सी अध्ययन गरेका उनी पहिलो ब्याजी हुन् । त्यसबेला त्रिभुवन विश्वविद्यालयको स्थापना भइसकेको थिएन । भारतको पटना विश्वविद्यालयबाट आईएस्सी उत्तीर्णको प्रमाणपत्र लिए । तत्कालीन समयमा दोस्रो श्रेणी ल्याउनु ठूलो कुरा थियो । त्यसबेला नेपालबाट चार जनाले दोस्रो श्रेणी ल्याउँदा उनी एक थिए ।

आईएस्सीलगत्तै स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गर्ने चाहनाले २०१६ सालमा उनले कोलम्बो प्लान अन्तर्गत शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतको पंजाब विश्वविद्यालयमा एमबीबीएस पढ्ने अवसर प्राप्त गरे । पाँच वर्षको कोर्स पूरा गरेसँगै उनी डाक्टर बनेर निस्किए । र, जागिरको लागि स्वास्थ्य सेवा विभागमा निवेदन दिए ।

त्यसबेला थोरै जनशक्तिमा चलिरहेको स्वास्थ्य क्षेत्रमा कोही आए स्थायी जागिरको प्रमाणपत्र थमाएर खाली भएको ठाउँमा पठाइहाल्ने गरिन्थ्यो । उनको पहिलो सरकारी सेवा २०२२ साल कात्तिकमा सोलुको नाम्चेबजार हेल्थसेन्टरबाट सुरु भयो । त्यसबेला उनी १५ दिन हिंडेर नाम्चे पुगेका थिए ।

‘नेपालमा डाक्टर तथा स्वास्थ्य सेवा पनि हुन्छ भन्ने त्यहाँको नागरिकलाई थाहा थिएन । बिरामी पर्दा त्यसबेला धाँमी, झाँक्री लगाउने प्रचलन थियो’ डा. अमात्यले ती दिन सम्भिmए, ‘हामीले काठमाडौंबाट औषधि बोकेर लगेका थियौं ।’

परिवार नै नेपाली कांग्रेसको अनुयायी । नाम्चे पुगेको एक वर्ष नपुग्दै बुबा तेजबहादुर अमात्य -शहीद) को मृत्युको खबर १४ दिनपछि थाहा भयो । पञ्चायतकालमा रक्सौलमा गोली हानी उनको हत्या गरिएको थियो ।

त्यसबेला गृह मन्त्रालय अन्तर्गत भारतको वायरलेस नाम्चेबजारमा राखिएको थियो । सैनिक हेलिकोप्टरमा फर्किएर काजकिरिया पुनः सुरु गरेको उनी बताउँछन् ।

सरकारले २०२३ सालमा वीर अस्पतालमा खटायो । त्यसबेला टेकु अस्पताल वीर अस्पतालको सरुवा रोग शाखाको रूपमा थियो । वीरमा मेडिकल अफिसर ६/७ जना थिए । टेकुमा हरेक दिन एक जना डाक्टर आएर सेवा दिन्थे ।

उनी कतिपय यस्ता बस्तीमा पुगेका छन्, जहाँका मानिसले जीवनमा डाक्टर देखेका थिएनन् । उनले सल्यान, गोरखा, झापा, पोखरा हेल्थसेन्टर लगायत सयौं ठाउँमा स्वास्थ्य सेवा दिए । हेल्थसेन्टरको प्रमुख भएर काम गरे । हेल्थसेन्टरबाट नै विकट गाउँ-गाउँमा औषधि बोकेर क्याम्प चलाए ।

२०३२ सालमा शिक्षा मन्त्रालयकै छात्रवृत्तिमा बेलायत जाने अर्को मौका पाए । ‘त्यसबेला अहिले जस्तो रोजेर पढ्न पाइँदैनथ्यो । सरकारले जुन विषय पढ् भन्यो त्यही पढ्नुपथ्र्यो’, डा. अमात्य भन्छन् ।
सरकारले रेडियोलोजी पढ्न बेलायत पठायो । उनले त्यसैमा विशेषज्ञता हासिल गरे । अध्ययनको क्रममा उनले जागिर पनि पाए । दुई छोरा र श्रीमती बेलायत लैजाने अवसर जुर्‍यो ।

‘त्यसबेला बेलायत बस्न मन लागेन । सायद, देशभक्ति भावना आएको हुनुपर्छ । मसँग गएका केही साथीहरू बेलायतमै छन्’, उनी भन्छन् । रेडियोलोजिष्ट बनेर नेपाल फर्किएपछि सुरुमा उनलाई कोशी अञ्चल अस्पताल खटाइयो । त्यहाँ उनले करिब एक वर्ष जति काम गरे ।

भारत सरकारको सहयोगमा सिटी स्क्यान, अल्ट्रासाउन्ड लगायत मेसिन प्राप्त भएको थियो । सरकारले सेवा सुरु गर्न जनशक्ति खोजी गर्‍यो । २०३९ सालबाट डा. अमात्यकै नेतृत्वले वीर अस्पतालबाट रेजियोलोजी सेवा सुरु गर्‍यो ।

रेडियोलोजिष्ट भएर वीर अस्पतालमा मात्रै १८ वर्ष काम गरे । त्यसक्रममा दुई पटक निर्देशकको भूमिका पनि निर्वाह गरिसकेका छन् । सरकारी सेवाबाट पनि अवकाश भएको २२ वर्ष बितिसकेको छ । अवकाश पछि उनले एक दशक नेपाल मेडिकल कलेजमा अध्यापन समेत गरे ।

वीर अस्पतालमा रेडियोलोजी सेवा लिन महिनौं पालो कुर्नुपर्ने हुन्थ्यो । त्यसबेला कतै पनि सेवा उपलब्ध थिएन । उनी एक्लै खट्थे ।

नेपालमा रेजियोलोजी सेवाका बारेमा अधिकांशलाई ज्ञानै थिएन । ‘मैले रेडियोलोजी विषय पढेर आएँ भन्दा धेरैले मेरो रेडियो बनाइदिनु भन्थे’ डा. अमात्य ती दिनको अनुभव सुनाउँदै भन्छन्, ‘अहिले नेपालमा रेडियोलोजी पहिलो रोजाइको विधा बनेको छ ।’

सरकारले लगानी गरेर पढाएकोले शरीरमा तागत भएसम्म त्यसको प्रतिफल दिइरहेको उनी बताउँछन् । इमानदारीपूर्वक नै काम गर्नुलाई उनी समाजसेवा र देशसेवा ठान्छन् । उनी यस्तो सेवा आफ्नो पुस्तामा मात्रै देख्छन् ।

तर, अहिलेको पढाइमा करोडौं खर्च गर्नुपर्दा स्वास्थ्य सेवा महँगो बन्दै छ । जसले व्यापारीकरण ल्याएको उनको बुझाइ छ । ‘चिकित्सा शिक्षाको पढाइले आकाश छोयो । त्यो शुल्क उठाउन पनि चिकित्सकलाई बाध्यता छ ।

फेरि अबौं लगानी गरेर निजी अस्पताल खुलेका छन् । उनीहरूलाई पनि लगानी उठाउनुपर्‍यो’ डा. अमात्य भन्छन्, ‘चिकित्सकले रकम उठाउन अनावश्यक परीक्षण गर्न लगाउनेदेखि औषधि चलाउने परिपाटी बस्यो । यसबाट विपन्नहरू झन् मारमा परेका छन् ।’

ज्ञान, अनुभवकै भरमा उपचार

उनी जहाँ पुगे, त्यहाँ मन-वचनले काम गरे । गाउँ-गाउँमा उपकरण पुगेका थिएनन् । असहज वातावरणमा पनि हजारौं मानिसको ज्यान बचाए । त्यसबेला समय नै त्यस्तै थियो । बिरामीको रोग छामेर पत्ता लगाउनु पर्थ्यो ।

२०३० सालमा सिंहदरबारमा रहेको स्वास्थ्य सेवा विभागमा भेटघाटको सिलसिलामा एक दिन डा. अमात्य पुगेका थिए । विभागका एक कर्मचारीले फ्याट्ट सोधे ‘डा. सा’ब सल्यान जाने हो ? सरकारले दुई महिनाको तलब सहित जोखिम भत्ता पनि दिन्छ ।’

उनी दंग परे । विभागले पनि पैसा दिएर पठाउने ! मनग्य पैसा पाइने भएपछि उनले सहज स्वीकार गरे । सल्यानमा कोही डाक्टर जान नमान्ने । त्यसबेला राजा वीरेन्द्र शाह गएको बेला भेटघाट गर्दा सल्यानका नागरिकले दुई समस्या राखेका रहेछन् । पहिलो- खानेपानी अनि दोस्रो- डाक्टर ।

उनले आफूमा भएको सबै सीप, ज्ञानको प्रयोग गरे । त्यसबेलाको समय त्यस्तै थियो, सिक्दै उपचारमा अभ्यास गर्दै रहन्थे । ज्ञानकै आधारमा धेरै मानिसको पेट चिरे । छाला प्रत्यारोपणदेखि पोस्टमार्टमसम्म गरे ।

त्यसबेला अल्ट्रासाउन्ड, एक्सरे केही थिएन । ‘ज्ञान, अनुभवकै आधारमा बिरामीको रोग पत्ता लगाउनुपथ्र्यो । उपकरण, प्रविधि थिएन । पेटको रोग लागेमा चिरेर हेर्नुपथ्र्यो’ डा.अमात्य भन्छन्, ‘कतिपयको पेट खोलेर फेरि बन्द गर्नुपथ्र्यो । किनकि त्यसपछिको उपचार गर्न सम्भव नै हुँदैनथ्यो ।’

रेडियोलोजी पढ्न जानुभन्दा अगाडि उनी दूर-दराजकै गाउँमा बस्न प्रेरित भए । किनकि, गाउँको कठिन जीवनयापन गरिरहेका नागरिकको दुःखलाई उनले नजिकैबाट देखेका, महसुस गरेका थिए ।

‘त्यसबेला सेवामुखी भावना थियो । इमानदारीपूर्वक सेवा गर्न पाउँदाको खुसी अर्कै हुन्थ्यो । बिरामीमा भरोसा कायम राख्ने कोसिस गथ्र्याैं । उनीहरूले पनि भगवानको दर्जा दिएका हुन्थे’ डा. अमात्य अनुभव सुनाउँछन्, ‘केही वर्षमै उनीहरूसँग यति गहिरो प्रेम बस्दो रहेछ, छुट्टिने गाह्रो हुने !’

सधैं अपडेटेड, सधैं सक्रिय

अहिले पनि उनी बिहान चार बजे नै उठिसक्छन् । चिया, नास्ता आफैं बनाउँछन् । बिहान सात बजे टेकु अस्पताल पुगिसकेका हुन्छन् । गाडीमा ओहोर-दोहोर गर्न सहयोगी राखेका छन् । सार्वजनिक बिदामा पनि उनी अस्पतालमा देखिन्छन् । किनकि, टेकुसँग उनको गहिरो सम्बन्ध जोडिएको छ । टेकु अस्पतालमा पनि रेडियोलोजी सेवा सुरु गर्ने उनी नै थिए ।

९ बजेतिर घर फर्किन्छन् । योग, व्यायाम गर्छन् । पत्रपत्रिका पढ्छन् । सकेसम्म आफूलाई अपडेटेड राख्न कोसिस गर्छन् । केही नयाँ प्रविधि जानकारी लिन इन्टरनेटमा खोजी गरिहाल्छन् । इन्टरनेटमा उपलब्ध लेख, अध्ययन र अनुसन्धानका आधारमा उनी अपडेट हुने गर्छन् ।

‘बिरामीको उपचार गर्न आफूलाई अपडेट नगरी हुँदैन’, उनी भन्छन् । दिउँसोभर श्रीमतीसँग कुरा गर्छन् । छोरा बुहारी दुवै डाक्टर । भर्खरै एउटा नाति जन्मिएको छ ।

उनलाई कुनै रोग छैन । उनका अनुसार लामो समय बाँच्न तथा सक्रिय रहन कुनै खास सूत्र छैन । बस, सकेसम्म कम खाने । कहिलेकाहीं मासु खाने गर्छन् । तर, सधैं होइन । हरेक खानामा सलाद र हरियो साग, ब्रोकाउली र टुसा पलाएका गेडागुडी खान्छन् ।

उनको बुझाइमा धेरै खानु शरीरको लागि रोग हो । उनी शरीरलाई फिट राख्न आवश्यक खानेकुरा मिलाएर खान्छन् । बेलुका सात बजे नै सुतिसक्छन् । घरमै आफूलाई बाँधिएर बस्न मन पराउँदैनन् । दुई-चार जनालाई सेवा दिनसके पनि ठूलो आत्मसन्तुष्टि मिल्ने उनी बताउँछन् ।

‘त्यसै घर बसेर के हुन्छ र ! आफूले जानेको सेवा बिरामीलाई दिंदा छुट्टै आनन्द मिल्छ । जति सक्छु त्यसबेलासम्म सेवा दिन्छु’, उनी भन्छन् । डा. अमात्यलाई बिरामीले हेर्ने दुई नजर छन्- एक, अनुभवी डाक्टर । दोस्रो, डेट एक्सपायर डाक्टर ।

तर, धेरैजसो अनुभवी डाक्टर भन्दै बिरामी अन्यत्र उपचार सम्भव नभएपछि मात्रै उनीकहाँ जँचाउन आइपुग्छन् । उनी चाहन्छन्- जति सकिन्छ, इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न सकियोस् ।
अझै दुई-तीन वर्ष काम गर्ने उनको मनसुबा छ । कुराको बिट मार्दै उनले भने, ‘मैले गर्दा अरूलाई अप्ठ्यारो नहुँदासम्म काम गर्छु । अहिलेसम्म मेरो कामलाई रामै नजरले हेरेको पाएको छु । जब, म बस्दा कसैलाई असर परेको भान हुन्छ, त्यही दिनबाट काम छोड्छु ।’

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34