KFGVRFI34

यी हुन् आँखामा आनो आउनुको कारण, कसरी बच्ने ?

0

आँखा महत्वपूर्ण र संवेदनशील अंग हो । आँखाको हेरचाह र सरसफाईमा लापरवाही गर्दा विभिन्न समस्या देखापर्छन् । सुरु–सुरुमा सामान्य ठानेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ । आँखाका विभिन्न समस्यामध्ये एउटा हो– आनो । अर्थात् बोलिचालीको भाषामा यसलाई अन्धो पनि भनिन्छ । आनो के कारणले आउँछ ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा तिलगंगा आँखा प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा. बेन लिम्बुको सुझाव यस्तो छ:

कारण
–विशेषगरी आँखाको डिलको प्वालमा ब्याक्टेरियाको संक्रमणले गर्दा आनो आउने गर्छ । यो शरीरको अन्य भागमा आउने पिलो जस्तै हो । जुन ‘स्टेफिलोकोकस ब्याक्टेरिया’को संक्रमणका कारण हुन्छ ।
–यसले आँखाको दृष्टिमा कुनै खराबी नगरे पनि कसैमा भने बारम्बार दोहोरिएर दुःख दिने गर्छ । आँखाको छालाको स्वास्थ्य राम्रो छैन भने, मधुमेह, आँखा कमजोर भएर चस्मा लगाउने व्यक्तिहरुमा पनि आनो निस्किने गर्छ । धेरै जनाले झुट बोल्दा आनो आउँछ पनि भन्ने गर्छन् तर त्यो भ्रम मात्र हो ।

लक्षण

– आँखा चिलाइरहनु
– आँखाको परेलीका बाहिरी भाग सुन्निनु
– आँखाको डिलको भागमा खटिरा आउनु
– आँखाको ढकनी बिस्तारै सुन्निदै गएर दुख्न सुरु हुनु

बच्ने उपाय

– आँखाको छालाको सरसफाईमा ध्यान दिने
– मधुमेहको कारण आनो आएको हो भने मधुमेह नियन्त्रण गर्ने
– बालबालिकामा धेरैपटक यो समस्या भयो भने चस्मा लाउनु पर्ने पनि हुन सक्छ त्यसैले अस्पताल गएर आँखा जाँच गराउने
– आँखा कमजोर भएका व्यक्तिहरुमा पनि यो समस्या हुन सक्छ त्यसैले आँखा जाँच गराउने

उपचार

– आनो आउँदा घरेलु उपचार पनि गर्न सकिन्छ । जसमा रुमाललाई तातो पानीमा राखेर सेक्ने । यो प्रक्रिया दिनमा दुईपटक दुई हप्तासम्म अपनाउनु पर्छ ।
– एन्टिबायोटिक मलम लगाउन पनि सकिन्छ ।
– यी उपायहरु अपनाउँदा पनि कम भएन भने औषधि सेवन गर्नु पर्छ ।
– औषधि सेवन गर्दा पनि निको नभएको खण्डमा अप्रेसन गर्नु पर्छ ।
– यस्तो समस्या बारम्बार भइरहन्छ भने कुनै जटिल रोगको संकेत पनि हुन सक्छ । त्यसैले अस्पताल गएर आँखा रोग विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नु पर्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34