KFGVRFI34

गर्दन दुख्ने समस्याबाट कसरी छुटकारा पाउने ? यी ४ कुरामा ध्यान दिनुहोस्!

0

गर्दन दुख्ने समस्याबाट पीडित हुनेको संख्या बढ्दो छ । कुर्सीमा दिनभर बसेर ल्यापटप वा कम्प्युटरमा काम गर्ने व्यक्तिलाई अझ बढी यस्तो समस्याले सताउने गरेको छ । घरमै पनि टिभी र मोबाइलमा धेरै समय बिताउनेहरुमा गर्दन दुख्ने समस्या बढी देखिने गरेको छ ।

गर्दन किन दुख्छ ?
विशेषगरी शरीरको बसाइको पोस्चर नमिल्दा गर्दन दुख्छ । त्यस्तै सुतेको नमिलेमा, गह्रौं सामान उचाल्दा, धेरै निहुरेर बस्दा वा पढ्दा, सुतेर मोबाइल चलाउँदा, पढ्दा, घन्टौं सिलाइबुनाइ वा जरी हाल्ने काम गर्ने व्यक्तिलाई गर्दन दुख्ने समस्या हुन्छ ।
उमेर बढ्दै गएपछि हड्डी खिइँदै गएर पनि गर्दन दुख्छ । साथै घाँटीमा विभिन्न कारणले चोटपटक लागेमा, सभाइकल बोनमा बाथ हुँदा, गर्दनको नसा च्यापिएर, टुयुमर भएर, मसल टाइट भएर पनि गर्दन दुख्ने समस्या हुन्छ । कतिपय अवस्थामा धेरै तनाव लिंदा पनि यस्तो हुने गर्छ ।

गर्दन दुख्दा देखिने लक्षण
कुन कारणले गर्दन दुखेको हो, सोही अनुसारको लक्षण देखिन्छ । सामान्यतया गर्दन छुँदा दुख्ने, गर्दन स्थिर रहनु वा चलाउन नमिल्ने, कहिलेकाहीं घाँटी धेरै कम घुमाउन मिल्नु वा घुमाउनै नमिल्नु जस्ता समस्या देखापर्छ । साथै रिंगटा लाग्ने, काँध दुख्ने, टाउको दुख्ने, हात झमझाउने, हातका मांसपेशी कमजोर हुने, दुवै हातको नशामा दुखाइ महसुस हुने र औंला चलाउन समेत गाह्रो हुन्छ ।

उपचार
गर्दन दुख्ने समस्यालाई हेलचेक्राइँ गर्नुहुँदैन । यसको लामो समयसम्म उपचार नगरेमा हातखुट्टा लाटो हुने समस्या हुन सक्छ । कतिपय अवस्थामा शरीर नै प्यारालाइसिस हुने जोखिम समेत हुन्छ ।
गर्दन दुखाइको उपचार औषधि, फिजियोथेरापी र शल्यक्रियाबाट गर्ने गरिन्छ । अलिअलि मात्र दुख्ने समस्या छ भने औषधि खाएर पनि निको पार्न सकिन्छ । नियमित दुखाइ भइरहेमा फिजियोथेरापिस्टलाई जाँच गराएर गर्दनको स्टे्रनिङ्ग एक्सरसाइज गर्ने सर्भाइकल कोलार लगाउन सकिन्छ । औषधि र थेरापीबाट निको नभए सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । अन्तिम अवस्थामा शल्यक्रियामा समेत जानुपर्ने हुन्छ ।

गर्दन दुख्ने समस्याबाट कसरी छुटकारा पाउने ?

-दिनभर कुर्सीमा बसेर ल्यापटप, कम्प्युटर, मोबाइल हेर्दा गर्दनलाई ९० डिग्रीमा राखेर चलाउने, सुत्दा सिरानीको हाइट धेरै अग्लो वा होचो हुनुहुँदैन । जसले गर्दा मांसपेशी कसिलो हुने, हड्डी खिइने समस्याबाट बच्न सकिन्छ ।

-बिहान उठेर गर्दनको व्यायाम गर्नपर्छ । कम्तीमा १५ मिनेट गर्दनको आइसोमेट्रिक व्यायाम गर्न सकिन्छ । यसमा गर्दन स्ट्रेचिङ (तन्काउने), दायाँबाया तलमाथि स्ट्रेचिङ गर्ने गरिन्छ ।

-गर्दन दुख्ने समस्या भएमा सकेसम्म भारी चीज उठाउनुहुँदैन । यसले मेरुदण्डमा समस्या हुने सम्भावना न्यून हुन्छ । अफिसमा कामका दौरान प्रत्येक घण्टामा शरीर चलाउने वा यताउति हिंड्ने गर्नुपर्छ ।

-काम गर्दा सजिलो तरिकाले बस्न मिल्ने लचकदार कुर्सी छनोट गर्ने, कम्मरको भागलाई अगाडि धकेल्ने खालको कुर्सी छनोट गर्नु राम्रो हुन्छ । कुर्सीमा पछाडिको भाग सबै कभर भई टाउकोसम्म ढल्किने मिल्ने खालको भए राम्रो हुन्छ । कुर्सीलाई पनि ९० डिग्री पोजिसनमा मिलाएर राखेर घोप्टो नपरी ल्यापटप वा कम्प्युटर चलाउँदा उपयुक्त हुन्छ ।

साथै प्रशस्त मौसमी फलफूल र सागसब्जी सेवन गर्नुपर्छ । धुलोधुवाँ र धुम्रपानबाट टाढा रहँदा लाभदायक हुन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34