KFGVRFI34

‘तल्लो बाटो’ अमेरिका जान हिँडेका ‘बबरमहल’ दुबईमा ७० दिन बन्धक बनेर फर्किए

0

तल्लो बाटो अर्थात् अवैध रूपमा अमेरिका जान हिँडेका एक नेपाली युवक ७० दिनसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा बन्धक बनेर घर फर्किएका छन्। अहिले उनी आफूले दलाललाई दिएको लाखौं रुपैयाँ फिर्ता माग्दै प्रहरी कार्यालय धाइरहेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा उजुरी दिएका उनको सांकेतिक नाम ‘बबरमहल’ राखिएको छ। जसरी पनि अमेरिका पुग्ने सपना पछ्याउँदा लाखौं रुपैयाँमात्र डुबाएका छैनन्, शारीरिक र मानसिक यातनासमेत भोगेका छन्। गत असारमा उनले दिएको उजुरीका आधारमा प्रहरीले ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। ब्युरोलाई ‘बबरमहल’ ले दिएको बयानमा उनले ‘तल्लो बाटो’ हुँदै अमेरिका पुग्न हिँड्दा आफूले भोगेको नालीबेली सुनाएका छन्।

यो शिलशिला डेढ वर्षअघि सुरू भएको थियो। त्यतिबेला ‘बबरमहल’ वैदेशिक रोजगारीमा जाने सोचिरहेका थिए। दाङको घोराहीमा काकाको घरमा बसिरहेका उनको चिनजान त्यही घरमा भाडामा बसिरहेकी एक जना महिलासँग भयो। ती महिलाले आफ्ना श्रीमान अमेरिका रहेको सुनाइन्। खासै पढे-लेखेको नभए पनि १० वर्षअघि नै आफ्ना श्रीमान अमेरिका पुगेको उनले बताइन्। उनले बबरमहललाई अमेरिका जाने भए श्रीमानसँग कुरा गरिदिन्छु भनेर अग्रसरता देखाइन्। काम गर्न विदेश जाने सोचिरहेका ‘बबरमहल’लाई अमेरिका नै जान पाइने कुराले लोभ्यायो। ती महिलाले आफ्ना श्रीमान किशोर कुसारसँग ‘बबरमहल’लाई सामाजिक सञ्जालमा जोडिदिइन्।उनले किशोरसँग म्यासेन्जरमा कुरा गर्न थाले। कसरी अमेरिका जान सकिन्छ, कति पैसा लाग्छ भन्नेबारे सोधपुछ गरे। किशोरले उनलाई जेम्स भन्ने पूर्ण लामाले तल्लो बाटो अमेरिका पठाउने काम गरिरहेको भन्दै लोकेश लामाको फेसबुक आइडी पठाएर थप कुरा गर्न भने।

‘लोकेश लामासँग फेसबुक र ह्वाट्सएपमा जोडिएको थिएँ,’ बबरमहलले बयानमा भनेका छन्। लोकेशले नेपालीहरूलाई मेक्सिको हुँदै अमेरिका पठाइरहेको र अमेरिका पुगेका सबैले ग्रिनकार्ड पाएको भन्दै उनलाई थप प्रलोभनमा पारे। उनले आफूले अवैध बाटोबाट अमेरिका पठाएका केही मानिससँग बबरमहलको कुरा पनि गराइदिए। उनीहरूसँग कुराकानी गराइदिएपछि लोकेशले ‘बबरमहल’लाई भनेका थिए- तिमी जाने भए ४५ लाख रुपैयाँमा अमेरिका पठाइदिन्छु। अवैध बाटो हुँदै अमेरिका पुगेर ग्रिनकार्ड नै लिएका व्यक्तिसँग कुरा गरेपछि बबरमहलले पनि जाने निधो गरे। थप प्रक्रियाबारे अगाडि बढे उनलाई सुरूमा ३ लाख दिनुपर्ने र बाँकी नेपालबाट गइसकेपछि दिँदा हुन्छ भनिएको थियो। उनले बयानमा भनेका छन्- अलि-अलि दु:ख गरेर राम्रै देशमा पुगिन्छ भने गर्छु भन्ने सोच बनाएँ। त्यसपछि ‍उनी लोकेशलाई भेट्न काठमाडौं आए। सिनामंगलमा लोकेशसँग भेट भयो। भेटमा लोकेशले ‘बबरमहल’ लाई भिसा लगाउन भारत जानुपर्ने भन्दै तीन लाख रुपैयाँ र पासपोर्ट मागे। उनले पैसा र पासपोर्ट बुझाए।

६ जुन २०२२ मा गुयानाको भिसा लागेको भन्दै लोकेशले बबरमहल भारत बोलाए। दिल्लीमा उनलाई पहाडगञ्ज भन्ने होटलमा राखियो। त्यहाँ पुगेको केही दिनपछि लोकेशले बबरमहललाई भने- दुई दिनमा तिम्रो गुयानाको फ्लाइट छ, १५ लाख रुपैयाँ बुझाउनुपर्‍यो। अमेरिका जाने आशामा रहेका ‘बबरमहल’ले सर-सापट गरी केही पैसा लोकेशलाई दिए। तीन महिनासम्म दिल्लीमा बसेका बबरमहल गुयाना जान पाएनन्, नेपाल फर्किए। उनी नेपाल फर्किएको एक महिना नबित्दै अब कलकत्ताबाट पठाउँछु भन्दै लोकेशले फोन गरी फेरि नयाँदिल्ली बोलाए। दोस्रो पटक पनि एक महिना त्यही होटलमा बसे। हुन्छ, हुन्छ भन्दै लोकेशलाई उनले पटक-पटक नयाँदिल्ली बोलाइरहे। ‍ दुई-तीन पटक भारत पुग्दै नेपाल फर्किनु परेपछि यसरी अमेरिका नजाने सोच बनाएर बबरमहलले आफूले तिरेको पैसा फिर्ता मागे। उक्त पैसा आफूले मात्र नभई मेक्सिकोमा बस्दै आएका जेम्स भन्ने पूर्ण लामा र हस्त गौतमसमेतले लिएको भन्दै लोकेश पन्छिए। ‘बबरमहल’ ले त्यसो भए जेम्स र हस्तसँग कुरा गराइदिन भने। पूर्ण लामासँग कुरा हुँदा उनले पैसा फिर्ताभन्दा आफूले ‘बबरमहल’ लाई नयाँदिल्लीबाट जापानको टोकियो हुँदै मेक्सिको जाने व्यवस्था मिलाइदिने आश्वासन दिए।

‘बबरमहल’ ले जान पाइहाल्छु कि भनेर उनको कुरा पत्याए। दुई/तीन महिनापछि लोकेशले फेरि उनलाई दिल्ली बोलाए। त्यतिबेला टोकियो हुँदै मेक्सिको जाने जहाज टिकट आएको र त्यसका लागि एयरपोर्टमा देखाउन ५ हजार अमेरिकी डलर चाहिने लोकेशले बताए। ‘बबरमहल’ले त्यो पैसा पनि तिरे। ‘बबरमहल’ले पैसा दिएपछि लोकेशले उनलाई जापान हुँदै मेक्सिको जाने हवाई टिकट र राहदानी दिएका थिए। टिकट लिएर नजिककै ट्राभल सेन्टरमा गएपछि उनी छक्क परे। ‘त्यो टिकट त नक्कली रहेछ,’ बबरमहलले बयानमा भनेका छन्। टिकट नक्कली भएको थाहा पाउनेबित्तिकै उनले लोकेशलाई खबर गरे। उनको फोन उठेन। लोकेशले फोन नउठाएपछि सामाजिक सञ्जालमार्फत जेम्स भन्ने पूर्ण लामालाई सम्पर्क गरे। लोकेशले आफूलाई नक्कली टिकट दिएर झुक्‍याएको भन्दै पूर्णसँग आफूले तिरेको पैसा मागे। तर उनले दिन अस्वीकार गरे।‘पैसा फिर्ता माग्दा सबै पैसा खर्च गरिसकिएको छ। ६ महिनापछि १ लाख रुपैयाँमात्र फिर्ता पाउनुहुन्छ भन्दै पूर्णले फोन काटिदिए,’ उनले बयानमा भनेका छन्। लोकेश र पूर्ण दुबै जना पन्छिन खोजेपछि उनले हस्त गौतमसँग ह्वाट्स एपमा कुरा गरे। हस्तले पनि उनलाई लगानी गरिसकेकाले पुन: अर्को रूट हुँदै अमेरिका पठाउने विश्वास दिलाए। हन्डर-ठक्कर खाँदै लाखौं रुपैयाँ डुबाइसकेका ‘बबरमहल’ न भइहाल्छ कि भनेर हस्तको कुरामा विश्वास गरे। हस्तले उनलाई काठमाडौं गोंगबुमा रहेको रूकुमेली ट्राभल्समा गई पासपोर्ट बुझाउन भने। पासपोर्ट बुझाएको एक महिनापछि २२ सेप्टेम्बर २०२२ मा उनी फिलिपिन्स जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। तर विमानस्थलका अधिकारीहरूले कागजात नपुगेको भन्दै उनलाई फर्काइदिए। तीन पटकसम्म आफू विमानस्थलबाट फर्किनु परेको ‘बबरमहल’ बयानमा उल्लेख गरेका छन्।

नेपालको विमानस्थलले पटक-पटक फर्काइदिएपछि हस्तले उनलाई नयाँदिल्लीबाट पठाउँछु भन्दै फेरि दिल्ली जान भने। त्यसका लागि नेपालमा हस्तका लागि काम गर्दै आएका पोखरा घर भएका कमल तामाङलाई भेट्नुपर्ने जानकारी दिए। हस्तले भनेझैं ‘बबरमहल’ले कमललाई भेटे। कमललाई भेटेपछि हस्तले थप तीन लाख रुपैयाँ उनको खातामा हाल्न लगाएका थिए। उनले पनि थप सोधपुछ नगरी ऋण गरेर २३ अक्टोबर २०२२ मा कमलको माछापुच्छ्रे बैंकको खातामा तीन लाख रुपैयाँ जम्मा गरिदिए। उनी फेरि दिल्ली गए तर अमेरिका जान चाहेनन्। ‘बबरमहल’लाई अब अमेरिका जान पाउँछु भन्ने लाग्न छोडिसकेको थियो। तर हस्तले उनलाई विश्वास दिलाइराखे। उनले दोस्रो पटक फेरि कमललाई भेट्न भने। कमलले दुबईको बाटो भएर जान थप एक लाख रुपैयाँ दिनुपर्छ भने। उनले त्यो पनि तिरे। २७ जनवरी २०२३ मा भिजिट भिसामा ‘बबरमहल’ दुबई पुगे। दुबईमा जुन ठाउँमा उनलाई राख्न लगियो, त्यहाँ अरू १२/१३ जना नेपाली पनि थिए। उनीहरू सबै जना अमेरिका जान हिँडेका रहेछन्। त्यहाँ एउटा कोठा भाडामा लिएर उनीहरूलाई राखिएको थियो। बबरमहललाई पनि त्यहीँ राखियो। त्यहाँ बस्दा आफूहरूलाई बाहिर निस्किन पनि नदिइएको ‘बबरमहल’ले बयानमा उल्लेख गरेका छन्। ‘पासपोर्ट र साथमा भएको डलर खोसेर एउटै रूममा ७० दिनसम्म बन्धक बनाएर राखियो,’ उनले भनेका छन्। ७० दिनसम्म कोठामा थुनिएपछि उनले अब अमेरिका नजाने नेपाल फर्किने योजना बताए। पासपोर्ट फिर्ता गर्न बिन्ती गरे। भिजिट भिसाको अवधि सकिन लागेपछि उनले हस्तलाई नेपाल फर्काइदिने व्यवस्था मिलाइदिन आग्रह गरे। तर उनी आफूलाई मतलब नभएको भन्दै पन्छिए। पछि दुबईमा उनीहरूलाई नियन्त्रणमा राख्ने मान्छेले नै ६ सय दिराम दिए नेपाल फर्काउन तयार भए काकासँग पैसा मगाएर दलाललाई दिएपछि १६ अप्रिल २०२३ मा ‘बबरमहल’ नेपाल फर्किन पाए। नेपाल फर्किएपछि हस्तलाई सम्पर्क गरेर उनले आफ्नो पैसा फिर्ता मागे। हस्तले उक्त पैसा पाकिस्तानीले खाएको भन्दै सम्पर्कविहीन भए। कतैबाट पैसा फिर्ता पाउनेजस्तो नदेखिएपछि उनले गत असारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कमल, हस्त, पूर्णविरूद्ध उजुरी दिए। उनको उजुरीमा उनीहरूले आफूसँग ३० लाख ९८ हजार रुपैयाँ ठगेको उल्लेख छ।

ती तीन जनाविरूद्ध बबरमहलसहित अन्य चार जनाले पनि उजुरी दिएको ब्युरोले जनाएको छ।ब्युरोले साउन ७ गते कमललाई र भदौ २० गते हस्तलाई पक्राउ गरेको छ। कमललाई ब्युरोको टोलीले काठमाडौं महानगरपालिका-८ बाट पक्राउ गरेको हो भने हस्तलाई भारतबाट नेपाल प्रवेश गर्दै गर्दा रूपन्देहीको बेलहियाबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ। ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर बिष्टका अनुसार हस्तविरूद्ध चार वटा कसुरमा मुद्दा दर्ता भएको छ। उनीविरूद्ध मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा मुद्दा दायर भएको हो। कमलविरूद्ध पनि तिनै चार वटा कसुरमा मुद्दा दायर भएको छ। यस प्रकरणमा नाम जोडिएकी ज्योति कुँवर पनि हिरासतमा छिन् भने प्रतिवादी बनाइएका थप दुई जना पूर्ण लामा र भरतकुमार काफ्ले फरार रहेको ब्युरोको भनाइ छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34