KFGVRFI34

बालेन-ओली ‘वाक युद्ध’: कसले कसलाई ‘निहुँ’ खोजिरहेका छन् ?

0

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह (बालेन) बीचको ‘वाक युद्ध’ले अहिले नेपाली राजनीति तातेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका विरुद्धमा खरो टिप्पणी गर्दै आएका नगरप्रमुख शाह पछिल्लो समय प्राय हरेक विषयमा आलोचना गर्नबाट पछि हट्दैनन् ।

ओलीको नामै उल्लेख गर्दै शाहले आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन भनेका छन् । सोमबार नगरप्रमुख शाहले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘प्रधानमन्त्री खडकप्रसाद ओलीज्यू तपाईं आफ्ना कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनुहोला ! पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’

अहिले नगरप्रमुख शाहको समर्थन र विरोधमा टीकाटिप्पणी चलिरहेको छ । ओली र एमालेको विरोधमा टिप्पणी गर्दै आएका शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्धमा अहिले थोरै मात्रै आलोचना गर्छन् ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डको समयमा सिंहदरबारमै आगो लगाउने धम्की दिएका शाहले माओवादी केन्द्रको कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयअगाडि ट्रकमा फोहोरसमेत फाल्न लागेका थिए, तर उनले फाल्न सकेनन् । यद्यपि, उनले सडक विभागको अगाडि ट्रकमा लगेर भने फोहोर फाले । एमाले सचिव एवं तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसँग जुधेका शाहले चक्रपथ सडक निर्माणको विवादमा टिप्पणी गर्दै प्रत्येक दिन फोहोर उपहार पठाउने खुला चेतावीसमेत दिएका थिए ।

यसपछि ओलीले शाहको यस्तो शैलीको विरोध मात्रै गरेनन्, शाहको खुलेरै सार्वजनिक कार्यक्रममा समेत विरोध गर्नथाले । त्यसपछि शाहले पनि ओलीको खुलेर विरोध गर्नथाले । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री भएपछि बालेनले तीखो प्रहार गरे ।

सामाजिक सञ्जाल फेसबुक पेजमा शाहले लेखे, ‘यो समय गिरिबन्धु चियाको हो, कालेकाले मिलेर खाऊँ भाले ।’ ओली र देउवाले मुस्कुराउँदै चिया खाइरहेको फोटो राखेर बालेनले स्टाटस लेखेका थिए ।

त्यसअघि शाहले लेखेका थिए, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू ! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई २ वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनुभएछ । गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थाल्नुभएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो ।

तपाईंको शक्तिले अब रिङरोड बनाउनू, बुटवल चितवन बाटो बनाउनू, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौं । अनि, समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नुभएको हो । धन्यवाद ।’

शहको विरोधमा ओलीले कहिले आफैं खुलेर विरोध गर्ने त कहिले आफ्ना कार्यकर्तालाई विरोध गर्न लगाउने गरेका छन् । अदालतको एक फैसलापछि एमालेको काठमाडौं जिल्ला कमिटीले बालेनलाई एक ध्यानाकर्षणपत्र बुझायो । खोलाका ’boutमा आएको फैसलापछि एकअर्कालाई आरोप–प्रत्यारोपका साथै विरोध गर्ने क्रम अझै चलिरहेको छ ।

आइतबार एमालेले ध्यानाकर्षणपत्र बुझाएपछि सोही दिन साझमा शाहले अर्को फायर खोले । नगरप्रमुख शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गरे । उनले एमाले सांसद शर्माले विगत ८ वर्षदेखि एक जना नाबालिकालाई घरेलु कामदारका नाममा हिंसा गर्दै आएको र दैनिक कुटपिटसमेत गरेको दाबी गरेका छन् ।

काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि अहिलेको सरकारले नसमाएकामा आक्रोश पोखे । उनले अदालतले पनि मुद्दा चलाउन भनिसकेको कुरा प्रधानमन्त्री ओलीलाई सम्झाएको जनाएका छन् । एमाले सांसद शर्माको तस्बिर सार्वजनिक गर्दै नगरप्रमुख शाहले तत्काल बालशोषणको मुद्दामा समाउन भनेका छन् ।

शाहले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा (तस्बिरसहित), उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारका नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ, काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन, अदालतले पनि मुद्दा चलाउ भनेर भनिसकेको छ, सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ ।

सायद तपाईंका लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीका आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै १ लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’

बालेनले यस्तो स्टाट लेखेपछि एमालेनिकटको संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका नगरप्रमुख शाहमाथि गम्भीर आरोप लगाए । नगरप्रमुख शाहले एमालेकी प्रदेश सांसद शर्मालाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गरेपछि विद्यार्थी नेता बडालले नगरप्रमुख शाहमाथ खुफिया एजेन्सीसँगको निर्देशनमा काम गरेको गम्भीर आरोप लगाए ।

उनले सांग्रिला होटेलपछाडि घर भाडा लिएर दैनिक भारतीय खुफिया एजेन्सीको निर्देशनमा नेपाली जनताका आँखामा छारो हाल्ने काम गरेको भन्दै बालेनलाई त्यो काम बन्द गर्न भनेका छन् । उनले नेपाली जनताले बालेनको असलियत बुझ्ने दिन धेरै टाढा नभएको टिप्पणीसमेत गरे ।

‘काठमाडौं महानगरका नगरप्रमुख बालेनजी सांग्रिला होटेलपछाडि घर भाडा लिएर दैनिक भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नूस् ! नेपाली जनताले तपाईंको असलियत बुझ्ने दिन धेरै टाढा छैन,’ अनेरास्ववियु अध्यक्ष बडालले लेखेका छन् ।

यसअघि सुकुमबासी बस्ती, बाढीसहितको समस्यामा समेत बालेनले तीखो प्रहार गरेका थिए । बालेनले खोलाछेउका सुकुमबासी बस्ती हटाउन खोजेपछि एमाले र ओलीले विरोध गर्दै आएको र सुकुमबासीलाई उचाल्दै आएको दाबी गर्दै आएका छन् ।

ओली प्रधानमन्त्री हुनुभन्दा अघि बालेनले लेखेका थिए, ‘माननीय केपी ओलीज्यू, आज काठमाडौंमा केही घण्टा पानी पर्दा खोलाछेउ बस्ने धेरै डुबानमा परे, खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो, आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ? अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलबाड गरेर भोटको राजनीति यसरी नै सधैं गरिरहने हो ?

उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नुभयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनुभएको छ ? काठमाडौंमा लगभग २ हजार परिवार खोलाछेउमा बस्ने गरेका छन्, तपाईंले पचाउन खोज्नुभएको गिरिबन्धुमा यस्ता १५ हजार परिवार व्यवस्थापन हुनसक्छ, अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे ! त्यो पनि दुई तिहाइ बहुमतसहित ! अब यो समस्याको समाधान गर्नुहुनेछ भन्ने आशा लिएको छु ।’

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34