KFGVRFI34

‘यूके टुर’का लागि लन्डनमा मह जोडी

0

वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लन्डन आइपुगेका छन् । ‘मह जोडी यूके टुर’ का लागि कलाकारद्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन् । मह जोडीका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन् ।

‘यूके टुर’का लागि लन्डनमा मह जोडी

मह जोडी तथा टोलीका अन्य सदस्यलाई आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सीईओ भीम तामाङलगायत स्वयंसेवक युवा र विभिन्न संघसंस्थाका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए ।

लन्डन आइपुगेपछि कलाकार मदनकृष्ण श्रेष्ठले ठट्यौली शैलीमा भने, ‘बचेखुचेको शक्ति प्रदर्शन गर्ने हो। रमाइलो हुन्छ। अल्डरसट र ह्यारोमा अवश्य आउनु होला ।’ यसैगरी हरिवंश आचार्यले भने, ‘यहाँहरूलाई भेट्न हामी बेलायत आइपुग्याछौं । भेटम्ला, रमाइलो गरम्ला । राजनीतिक परिस्थिति ३०-४० वर्षदेखि चेन्ज भएको छैन। सुध्र भन्ने हो, सुध्र्या छैन भन्ने हो, उध्रेको छ भन्ने हो। विसंगतिको बारेमा नै हाम्रो प्रस्तुति हुन्छ ।’

उनले विमानस्थलमा आफूहरूलाई भव्य स्वागत गर्ने सबै संघसंस्थालाई धन्यवाद दिंदै आउँदो शनिबार तथा आइतबार भेट हुने विश्वास व्यक्त गरे। ‘गीत संगीत पनि हुन्छ। तपाईंहरूलाई रमाइलो गर्ने कोसिस गर्छौं,’ आचार्यले भने।

कार्यक्रम आयोजक लन्डनस्थित द गोर्खा सेन्टरका सीईओ भीम तामाङले तयारी भव्य भइरहेको बताए । ‘लजिस्टिक्सको काम करिब करिब पुरा गरिसकेका छौं। यो कार्यक्रम भव्य गराउन कहीं पनि नचुक्ने गरी हामी तयारी गरिरहेका छौं,’ उनले भने। मह जोडी टुरअन्तर्गत पहिलो कार्यक्रम यही शनिबार (२३ डिसेम्बर) अपरान्ह ४ बजेदेखि हयारोस्थित ह्यारो लिजर सेन्टर र दोस्रो कार्यक्रम आइतबार, २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ ।

ह्यारोमा चर्चित गायक प्रकाश सपूत, यमन श्रेष्ठ, शर्मिला बर्देवालगायत कलाकार र अल्डरसटमा स्थानीय कलाकारसहित गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिनेछन् । उक्त कार्यक्रमबाट बचत भएको सम्पूर्ण रकम गोर्खा भेट्रानहरुलाई मद्दत गर्न खर्च गरिने द गोर्खा सेन्टरले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34