KFGVRFI34

२० औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड माघ १२ मा

0

नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करण माघ दोस्रो साता आयोजना गर्ने भएको छ । यस वर्षको पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम माघ १२ गते राजधानीमा गरिने आइतबार सार्वजनिक गरिएको छ ।

२० औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड माघ १२ मा

आर्थिक मन्दी र व्यावसायिक क्षेत्रमा आएको गिरावटका कारण स्पोर्ट्स अवार्ड कार्यक्रम पूर्वघोषित समयमा आयोजना सम्पन्न गर्न ढिलै भएको आयोजक मञ्चले जनाएको छ ।

यस वर्ष पनि पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एण्ड कम्पनीको बजाज पल्सर मोटरसाइकल नै रहेको छ ।अवार्डका लागि मञ्च र हंशराज हुलासचन्द एण्ड कम्पनीबीच आइतबारै प्रायोजन सम्झौता भएको छ ।

पल्सर स्पोर्ट्स अवार्डकै लागि दुवै पक्षबीच सहकार्य भएको यो १५औं वर्ष भएको मञ्चले जनाएको छ । प्रायोजक गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छा र आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए ।

२०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको स्पोर्ट्स अवार्डको २० औं संस्करण आयोजनाको स्वरुपमा केही परिमार्जन गरिने मञ्चले जनाएको छ । यसपालि मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचामा परिवर्तन गरिएको गरिनेछ ।

विगतमा जस्तै ९ विधामा अवार्ड प्रदान गरिनेछ । वर्षका उत्कृष्ट खेलाडी पुरुष र महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । प्रायोजन सम्झौताअनुसार हंशराज हुलासचन्द एन्ड कम्पनीले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्नेछ ।

कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले पल्सर भनेकै स्पोर्ट्स र युवापुस्तालाई जोडेर आएको ब्रान्ड भएकाले यसकै माध्यमबाट नेपाली खेलकुद विकासमा योगदान दिन पाएकोमा गर्व महसुस हुने बताए । यसपल्टका विजेतालाई पल्सरको नयाँ सिरिजका बाइक प्रदान गरिने पनि उनले बताए । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

गत वर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरुणा शाही र प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट भएका थिए । पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी थिइन् । स्पेसल अवार्ड ब्याडमिन्टन खेलाडीका मातापिता दानबहादुर तामाङ र मायादेवी मोक्तानले पाएका थिए ।

पारा एथलिट सम्मानबाट तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जर्नालिस्ट अवार्डबाट कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्डबाट ओलम्पियन रघुराज वन्त सम्मानित भएका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34