KFGVRFI34

के तपाईं राजावादी हो ?

0
आजको बहस राजा होइन । आजको बहस दरबार होइन । आजको बहस हो, लोकतन्त्रको पूर्ण लोकतन्त्रीकरण । दलतन्त्रको अन्त्य । नागरिककेन्द्रित राजनीति ।
केशव दाहाल

मेरा एक नातेदार छन् । पुराना प्रधानपञ्च, २०४६ सालपछि कम्युनिस्ट भए । अहिले फेरि राजावादी भएका छन् । गत मंसिरमा मधेश झर्दा उनीसँग भेट भयो । भेट हुनासाथ उनले भने, ‘अब यो देश राजाले मात्र बचाउन सक्छन् ।’ आजकल उनको सनातनी नारा छ— ‘राजा आऊ, देश बचाऊ’ । मैले उनलाई सोधें, ‘काका, तपाईं स्वयं राजा बन्न छोडेर किन अरूलाई राजा बनाउन हत्ते गर्नुहुन्छ ?’

के तपाईं राजावादी हो ? 

मेरो प्रश्न सुनेर उनी अतालिए । दायाँबायाँ हेरे । ततर्किएको स्वरमा भने, ‘फन्टुस कुरा नगर । म कसरी राजा हुन सक्छु ?’ उनले यसरी सफाइ दिए, मानौं त्यो कुराको अन्यथा अर्थ नलागोस् । र, दरबारमा कसैले झोसपोल नगरोस् । मैले भनें, ‘काका, गणतन्त्र यस्तो व्यवस्था हो, जहाँ प्रत्येक व्यक्ति सत्ताको मालिक बन्न सक्छ । तपाईं राष्ट्रपति बन्न सक्नुहुन्छ । तपाईंका छोराछोरी, नातिनातिना राष्ट्रपति बन्न सक्छन् । निर्वाचनबाट राष्ट्रप्रमुख छानिनु राम्रो कि कोही जन्मजात राष्ट्रप्रमुख बन्नु राम्रो ? स्वयम् मालिक बन्नुस् काका, अब अरूलाई मालिक बनाउने जमाना गयो ।’

कुरा गर्दै जाँदा काका स्मृतिको रोमाञ्चकतामा प्रवेश गरे । भन्न लागे, ‘पहिले राजा हुँदा सबै थर्कमान थिए । हामीले जे भन्यो, त्यही हुन्थ्यो । प्रहरी प्रशासन बलियो थियो । अहिले अराजकता बढेको छ । मान्छेहरू छाडा भए । ठूलाबडालाई गन्नै छाडे । कसैले कसैलाई टेर्दैनन् ।’ सबै पञ्चका जस्तै उनका दुःख पनि सनातनी थिए । विकासक्षेत्र भ्रमणमा पूर्वतिर आएका बेला काकाले राजाको दुईपटक दर्शन पाएका थिए । त्यो दिव्य दर्शन सम्झेर उनी गद्गद् भए र भने, ‘अहिले सबै कुरा बर्बाद भयो !’

‘राजा फर्कंदैनन् काका, तपाईं बल नगर्नुस् । राजाभन्दा चर्को राजावादी किन बन्नुहुन्छ ?’ मेरो कुरा भुइँमा नखस्दै उनी गर्जिए, ‘त्यसो भए यो देश बन्दैन, लेखेर राख ।’ काकाको कुरा सुनेपछि मेरो मनमा प्रश्न आयो— यो कस्तो चेतना हो, जसले स्वयं आफूलाई विश्वास गर्दैन ? राजनीतिको यो कस्तो विचार हो, जसले नागरिक शक्तिमा भन्दा शाही शक्तिमा विश्वास गर्छ ? राजनीतिमा कहीँकतै नभएको यो कस्तो बिश्वास हो, जसले लोकतन्त्रमा भन्दा धेरै राजतन्त्रमा विश्वास गर्छ ?

काकाले भने, ‘हाम्रा दलहरू सबै दलालीका अखडा भए । नेताहरू भ्रष्ट, अहंकारी र क्षमताहिन निस्किए । राज्य लुट तीव्र भयो’ । मैले समर्थन जनाएँ र भनें, ‘नेताले देश बिगारेका हुन् भने नेता पो फेर्नुपरो त काका !

राजनीति खराब छ भने राजनीति फेर्नुपर्‍यो । दलहरू खराब छन् भने दलहरू फेर्नुपर्‍यो । समस्या जहाँ छ, त्यहाँ पो उपचार गर्नुपर्छ । नेताको दोष लोकतन्त्र र गणतन्त्रलाई दिएर हुन्छ ? लोकतन्त्र मात्र यस्तो व्यवस्था हो, जसले आफूलाई निर्मल बनाउने सामर्थ्य राख्छ । तर के राजतन्त्रमा त्यो सम्भव छ ?’ मेरो प्रश्नसँगै काका–भतिजको छलफल अझ लामो हुँदै गयो । अन्त्यमा बिट मार्दै मैले भनें, ‘हिजो राजाको शासनकालमा देश रामराज्य थियो काका ?’ त्यो दिनको मेरो अन्तिम प्रश्न नै यही थियो, जसलाई म राजावादीहरूमा समर्पण गर्दै अहिलेलाई आफ्ना कुरा अगाडि बढाउँछु ।

पृथ्वीनारायणको कुरा

राजावादीहरू यसकारण राजा चाहिन्छ भन्ने ठान्छन् कि, यो देश पृथ्वीनारायण शाहले निर्माण गरेका हुन् । के राजा एक्लैले यो देश बनाएका हुन् ? यद्यपि मानौं, त्यो अभियानको नेतृत्व पृथ्वीनारायणले गरे । तर त्यसपछि के भयो ? विसं. १८२५ मा काठमाडौं उक्लिएको शाह वंशले षड्यन्त्रको यस्तो दरबार बनायो, जसले हामीलाई कहिल्यौ स्थिरता र समृद्धि दिएन । न शाह वंशले एकीकरणपछिको सग्लो देशलाई भावनात्मक रूपमा एकताबद्ध, संस्थागत र सबल बनायो, न त न्यायपूर्ण र विकसित ।

एकीकरणपछिको हाम्रो पूरै शताब्दी युद्धकर, युद्ध रणनीति र भारदारी षड्यन्त्रमै बित्यो । उत्तराधिकारीहरूको टकराव । सौतेनी संघर्ष । भाउजू–देवर खटपट । कोत पर्व । भण्डारखाल पर्व । परिणाम, सत्ताको केन्द्रमा गजधम्म बस्न पुग्यो फगत षड्यन्त्र ।

देशको एकीकरणसँग गोर्खालीको गाथा जोडियो । आफ्नै नागरिक कोही हरूवा भए, कोही विजयी । अवश्य नै, पृथ्वीनारायण शाह इतिहासमा अंकित भए तर उनको नामसँग वंशगाथा जोडियो । बिस्तारै त्यो वंशवादको स्तुति बन्यो । ‘राजा नै देश, देश नै राजा ।’ राज्य र राष्ट्र निर्माणमा नागरिकको भूमिका ओझेलमा पर्दै गयो । भनियो, ‘देश राजाको, प्रजा राजाको, सत्ता राजाको, सरकार राजाको ।’ राज्यमा कुलीनहरूको रजगज बढ्दै गयो । उनीहरूको ध्यान थियो— सत्ता र सम्पत्ति । उनीहरूको रुचि थियो— भोगविलास । परिणाम, षड्यन्त्र, सत्ता, सम्पत्ति र भोगविलास नेपाली सत्ताको मुख्य चरित्र बन्यो ।

इतिहासले भन्छ, जंगबहादुर स्वयं शाही षड्यन्त्रको एउटा मोहरा थिए । जंगबहादुरपछि देशमा निर्मम र निकृष्ट सामन्तवादले फँणा उठायो । विश्वमा नागरिक अधिकार सुनिश्चित हुँदै गर्दा हामी रैती बन्यौं । जति बेला युरोपमा प्रजातन्त्रको लहर चल्दै थियो, हामी क्रमशः जहानियाँ शासनतिर जाँदै थियौं । जति बेला पश्चिममा औद्योगिक विकासको जग सुदृढ हुँदै थियो, हामी वर्ण व्यवस्थालाई प्रवर्द्धन गर्दै थियौं । जति बेला अन्यत्र संविधान र कानुनको शासन सुरु हुँदै थियो, हामी आदेशबाट नियन्त्रित हुँदै थियौं । यसरी हाम्रा अनमोल जवानी र जीवनी बर्बाद भए ।

महेन्द्रको कुरा

पूर्वपञ्चहरू महेन्द्रलाई दूरदर्शी राजा मान्छन् । दूरदर्शी हुनु भनेको के हो ? लोकतन्त्रलाई मासेर, जनमतलाई कैद गरेर तानाशाही सत्ताको पुनरुत्थान गर्ने राजालाई दूरदर्शी भनिन्छ ? दक्षिणी छिमेकमा हुर्कंदै गरेको लोकतन्त्रलाई नदेख्ने, विश्वभर फस्टाउँदै गरेको उदारता र न्यायको उज्यालो नदेख्ने, मानव अधिकारका आधारभूत सिद्धान्तहरूबाट बेखबर एक पूर्वाग्रही र अलोकतान्त्रिक तानाशाहलाई दूरदर्शी भनिन्छ ?

औद्योगिकीकरण, आधुनिक शिक्षा, विज्ञान, कला र साहित्यको प्रवर्द्धनका लागि विश्वस्तरमा के भइरहेको छ, त्यसको ख्याल नगर्ने अनि आफ्नै नाम र सत्ताको गुणगानलाई नैतिक आदर्श बनाउने एक लहडी राजालाई दूरदर्शी भनिन्छ ? जति बेला चीन, भारत, सिंगापुर, मलेसियाहरू विकासको सगरमाथा चढ्दै थिए, राजा महेन्द्रको शाही सवारीले हामीलाई अक्करमा झार्दै थियो । जति बेला संसारले स्वतन्त्रताको ढोका खोल्दै थियो, महेन्द्र ढोका बन्द गर्दै थिए । लोकतन्त्रको कुरा छोडौं, पञ्चायती सत्ता स्वयं षड्यन्त्र, राज्यदोहन र अस्थिरताको जननी थियो । भयो यस्तो कि, पञ्चायत लगभग तीस वर्ष चल्यो र ती तीस वर्षमा सोह्र वटा सरकार बने । दरबार स्वयंले गुट र गिरोह चलायो । महेन्द्रले निर्माण गरेको राज्य पञ्चका लागि लुटको स्वर्ग थियो, तर नागरिक बोल्न पाउँदैनथे । आलोचना राज्यद्रोह हुन्थ्यो । अतः हामीले ज्ञान, विज्ञान, चेतना र सभ्यताको आफ्नै स्वतन्त्र आकाश बनाउन सकेनौं । हामी अब्बल हुन सकेनौं । हाम्रो क्षमता औसत स्तरमै खुम्चियो ।

मेरै अनुभव सुनाउँछु । २०४०–४२ सालतिर पनि हामी बिहान–बेलुका तीन घण्टा हिँडेर स्कुल जान्थ्यौं । त्यति नै हिँडेर स्वास्थ्यचौकी पुगिन्थ्यो, जहाँ जुकाको औषधिसम्म पाइँदैनथ्यो । मान्छेहरू औलो र दादुराबाट मर्थे । मेरो गाउँका अधिकांश युवा असम, मेघालय र सुख्खिम काम गर्न जान्थे । स्वयं मेरा बाहरू पनि त्यतै काम गर्थे । गाउँका लगभग ७० प्रतिशत घरमा धानको भात खान दसैं आउनुपर्थ्यो । मधेश झर्ने र झोडा फाँड्नेको ताँती थियो । जिल्लामा एक किमि सडक थिएन । एउटा पनि कलेज थिएन । चार दिन भारी बोकेर धरानबाट नुन ल्याउनुपर्थ्यो । दरबार, उसका नातेदार, भूमिगत गिरोहका मालिक र पञ्चहरू कानुनभन्दा माथि थिए । उनीहरूलाई ज्यान मार्न छुट थियो ।

राजाका शाखासन्तान र आसेपासेसमेत सत्ताको उन्मत्त घोडामा चढेर सडकमा निस्कन्थे र जात्रा गर्थे । सत्ताको संरक्षणमा मूर्ति चोरिन्थे, वन फाँडिन्थ्यो । सर्पको छाला बेचिन्थ्यो । कविता, कथा र नाटक कस्तो लेख्नुपर्छ, सीडीओले सिकाउँथ्यो । गीत कस्तो गाउनुपर्छ, अञ्चलाधीशले आदेश दिन्थ्यो । समाचारहरू प्रहरीले सम्पादन गर्थ्यो । प्रश्न, आलोचना निषेध थियो । कुन किताब पढ्ने र कुन नपढ्ने, अरूले नै निर्णय गर्थ्यो । न पूर्वाधार, न आर्थिक समृद्धि । न मानव अधिकार, न त सामाजिक न्याय । न गतिलो विश्वविद्यालय, न त राम्रो स्कुल ।

पञ्चहरू तर्क गर्छन्, ‘त्यो अहिले जस्तो सजिलो समय थिएन ।’ अवश्य नै, तर त्यति नै बेला भारतमा रेल गुड्थे । भारत शिक्षाको केन्द्र थियो । बनारस, कलकत्ता । त्यही समयमा भारतले औद्योगिक र कृषि क्रान्तिको बिगुल फुकिसकेको थियो । तर हामीसँग गतिलो कुलो थिएन । हामी देख्न सक्छौं, संसारका अनेक विश्वविद्यालय एक हजार वर्षको इतिहास बोकेर उभिएका छन् । शाहहरूलाई कसले रोक्यो २ सय वर्षअगाडि विश्वविद्यालय बनाउन ? अस्पताल बनाउन ? रेल ल्याउन ? कुलो, पैनी खन्न ? विकास क्षेत्रैपिच्छे बडेबडे दरबार बनाउने शाहहरूलाई कसले रोक्यो त्यहाँ

नाट्यशाला, पुस्तकालय र सांस्कृतिक केन्द्रहरू बनाउन ? चोकचोकमा आफ्ना सालिक राख्न लगाउने राजाहरूलाई कसले रोक्यो नगरमा सुन्दर पार्क बनाउन ? संसारका प्राचीनतम् सहरहरू हजार वर्षको इतिहास बोकेर भव्यतापूर्वक उभिएका छन् । ठूला सडक, खुला ठाउँ, भव्य आवास, व्यवस्थित बनोट । तर हाम्रा सहरहरूलाई सुकुम्बासी बस्तीजस्तो अव्यवस्थित र साँघुरा बनाउने काम कसले गर्‍यो ? यो सबै हेर्दा लाग्छ, राजतन्त्रमा देश स्वर्ग थियो भन्नु फगत सेवकहरूको भ्रम हो । सत्य यो हो कि, राजतन्त्रले हामीलाई विश्वप्रतिस्पर्धाको महान् अवसरबाट संकुचित गर्‍यो र हामी गरिब, पछौटे, सीमान्त र लाचार रहन बाध्य भयौं ।

संवैधानिक राजतन्त्र

त्यसो त राजावादीहरू अन्य मुलुकका राजाको उदाहरण दिँदै भन्छन्, ‘नर्वे, इंग्ल्यान्ड, जापान आदि हेर । के ती देशका मान्छे मूर्ख छन् ?’ अवश्य नै, ती देशमा राजा छन् । त्यसो त चीनमा कम्युनिस्ट पार्टी सत्तामा छ । अरबमा छ धार्मिक सत्ता । विचार गरौं त, के हामी नर्वे वा इंग्ल्यान्डको जस्तो परिवेशमा छौं ? के हाम्रो देशमा अरबको जस्तो धार्मिक सत्ता सम्भव छ ? के हामी चीनकै जस्तो कम्युनिस्ट व्यवस्था चाहन्छौं ?

इंग्ल्यान्ड वा नर्वेमा आफ्नै विशेषताका राजतन्त्रहरू छन् । अरबको आफ्नै विशेषता छ, चीनको आफ्नै र नेपालको आफ्नै । हाम्रोमा तीन वटा प्रमुख कारणले राजतन्त्र अस्वीकार्य भयो । पहिलो, हामीसँग लामो राजनीतिक आन्दोलनको इतिहास छ । त्यो आन्दोलन मुख्यतः सामन्तवादविरुद्ध थियो र जसको नायक थियो स्वयं राजतन्त्र । अतः नेपाली जनता र राजतन्त्रबीच जुन अनवरत अन्तरविरोध चल्यो, त्यो अर्थमा राजतन्त्र नागरिकको आशा र अपेक्षाको केन्द्र कहिल्यै भएन र छैन ।

दोस्रो, हाम्रो राजतन्त्रले देशको बहुलता, विविधता र सामूहिकताको कहिल्यै प्रवर्द्धन गरेन । यो जातीय, भाषिक र धार्मिक कट्टरताको नेता बन्यो । अतः यसले हाम्रो बहुलवादी समाजको एकता र भ्रातृत्वको प्रतिनिधित्व गर्दैन । तेस्रो, हाम्रो राजतन्त्रसँग कुनै ओज र गरिमा छैन । न ऋषिमन छ, न त निष्ठा र नैतिकता । न ज्ञान छ, न त उदारता । अतः पृथ्वीनारायणलाई देखाएर राजसंस्थाको पूजा गर्नुपर्छ भन्नु नागरिक शक्तिको अपमान मात्र हो । यो हाम्रो समाधान होइन ।

चाहिएको के हो ?

राजावादीहरूलाई चाहिएको के हो ? राजावादीहरू आफ्नो प्रस्तावमाथि स्पष्टीकरण दिँदै भन्छन्, ‘हामीले चाहेको संवैधानिक राजतन्त्र हो । यस्तो राजतन्त्र, जोसँग केही अधिकार हुँदैन । मात्र, थपना राजा ।’ केही अधिकारै नहुने राजतन्त्र उनीहरूलाई चाहियो किन ? उनीहरूको तर्कमा छ मात्र आत्मरति । यो अर्थमा, राजावादी मित्रहरूलाई देख्दा मेरो मनमा एउटा प्रश्न आउँछ, ‘कोही आफैं स्वतन्त्र, अधिकारसम्पन्न बन्ने अवसरबाट विमुख हुँदै कसैलाई राजा बनाउन किन मरिहत्ते गर्छ ?’ राजावादीहरू वंश परम्पराको यो कस्तो मोहमा छन्, जहाँ उनीहरूलाई एक जना मालिक चाहिएको छ ? आफैंलाई रैती घोषणा गर्ने यो कस्तो राजनीति हो ?

निश्चय नै, संघीय लोकतान्त्रिक गणतन्त्रले परिणाम दिएन । दलहरू खराब भए । नेताहरू खराब भए । उनीहरूले सही विचार, एजेन्डा समाउन सकेनन् । त्यसो भए के राजतन्त्रमा चकाचक थियो ?

अतः आजको बहस राजा होइन । आजको बहस दरबार होइन । आजको बहस हो, लोकतन्त्रको पूर्ण लोकतन्त्रीकरण । दलतन्त्रको अन्त्य । नागरिककेन्द्रित राजनीति । किनभने, लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन । अतः आजको बहस हो, सबल लोकतन्त्र । बन्धनरहित लोकतन्त्र । अग्रगामी र समावेशी लोकतन्त्र । अवश्य नै, अहिले हामीले चाहेजस्तो भएको छैन । सत्ता मैलो छ । सत्ता भ्रष्ट छ । त्यसको अर्थ, के आजको फोहोरसँग सेखी झार्न हामीले हिजोको फोहोर उठाउने ? आजको फोहोरमाथि हिजोको फोहोर थपेर राज्य र राजनीतिलाई अझ धेरै फोहोरी बनाउने ? राजा अवश्य नै कसैको मनको राजा हुन सक्लान् । यसमा कुनै आपत्ति भएन । तर कसैले राजालाई देश र राज्यको जिम्मा लगाउनुपर्छ भन्ठान्छ भने, त्यो उसको फगत एउटा दुःस्वप्न हो । यसले हाम्रो वर्तमानलाई कुनै उज्यालो दिँदैन ।

अतः आजको मुख्य विषय हो, अझ धेरै लोकतन्त्र । यस्तो लोकतन्त्र, जसले सत्ता, शक्ति र सम्पत्ति आर्जनको २६० वर्ष पुरानो दुश्चक्रबाट देशलाई बाहिर निकालोस् । जसले नागरिकमा नवीन आशा जागृत गरोस् । अन्यथा यो देश निराशाहरूको भीड बन्नेछ । र, त्यसपछि यो फेरि रचनात्मक लयमा फर्किन अरू अनेक वर्ष लाग्नेछ ।

अन्त्यमा, राजावादी मित्रहरूलाई एउटा अनुरोध गर्छु । मित्रगण, राजतन्त्र र लोकतन्त्रबीच त्यति नै फरक छ जति अँध्यारो र उज्यालोमा फरक छ । तपाईं अँध्यारोलाई प्रेम गर्नुहुन्छ कि उज्यालोलाई ? यो तपाईंको छनोट हो । म केवल यति अनुरोध गर्छु, अँध्यारो उज्यालोको कहिल्यै विकल्प हुन सक्दैन ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34