KFGVRFI34

जनयुद्धका लडाकुले लेनिनको देशमा पुटिनका लागि बन्दुक बोक्दा … (ब्लग)

0

रुसी सेनामा आबद्ध एक नेपालीले आफू भर्ती हुनुको कारण खुलाउँदै सामाजिक सञ्जालबाट त्यहाँ जान खोज्नेहरुलाई एक सन्देश जारी गरेका छन्।

डायमन्ड सी म्याग्देलीको नामबाट उनले अहिले भर्ती बन्द भएकाले दलालहरुको भ्रममा नपर्नुहोला भन्दै आफू रुसी सेनामा आबद्ध हुनुको कारण खुलाएका छन्।

सरकारले नेपाली मारिएका समाचारहरु आउनथालेपछि रुसी सरकारलाई त्यहाँको सेनामा आबद्ध नेपालीलाई फिर्ता पठाइदिन कूटनीतिक नोट नै पठाइसकेको छ।

तर रुसी सेनामा आबद्ध भएकाहरु भने आफूहरु स्वेच्छाले आएको र परिवार पाल्नका लागि विदेशिनु बाध्यता भएको बताइरहेका छन्।

डायमन्ड सी म्याग्देलीले गरेको पोस्टअनुसार उनी अहिले युक्रेनको जापोरिजका ओब्लास्टस्थित नोभोपेत्रिव्कामा रहेको खुल्छ।

उनको पोस्ट जस्ताको त्यस्तै :

‘लेनिनको देशमा पुटिनको सिपाही बनेर बन्दुक बोक्दा कुनै गुनासो छैन’

प्रिय साथीहरू!

सार्वजनिक रुपमा एउटा जानकारी :

म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछि नेपाली मूलधारका मिडियामा आबद्ध मिडियाकर्मी साथीहरूबाट त्यहाँको अवस्थाबारे केही बोलिदिनुपर्‍यो भनेर धेरै नै अनुरोध गरिरहनुभएको छ, यसबारे यहाँ आएका अरु साथीहरूले के बोल्छन्, के गर्छन्, त्यो उनीहरुको विषय भयो तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्धमार्फत राज्यसत्ताको आमूल परिवर्तनको लागि बन्दुक बोकेर झण्डै १ दशक रगत र पसिना बगाइयो, अंशमा केही परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न सकिएन परिणामतः आज पनि सत्ता/शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पुँजीपतिहरुकै जगजगी छ, परिवर्तनको लागि दशकौँ योगदान गरेका हजारौँ योद्धाहरु आज परिवार पाल्नकै लागि विदेशका गल्ली–गल्लीमा भौंतारिनुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ।

यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ।

पृष्ठभूमि, कथा/व्यथा भिन्नभिन्न होलान् तर बाध्यताले दोहोर्याएका हजारौँ नेपाली युवाहरु अहिले रसियन सेनामा भर्ती भई युद्धको मोर्चामा खटिइरहनुभएको छ। युद्धरत देशको (यो सामान्य सैनिक जागिरजस्तो होइन) सैन्य फौजमा कार्यरत रहँदा सकारात्मक र नकारात्मक सबै विषय अनुभूत गर्न सकिन्छ यद्यपि यी विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु।

युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो? युद्ध मैदानमा प्रवेश गरिसकेपछि के–के हुन्छ? के–के गर्नुपर्छ? के–के भोग्नुपर्छ? सैन्य संगठनभित्र के गर्न पाइन्छ र के गर्न पाइन्न? सैन्य कानुन, अनुशासन के–कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरु पक्कै पनि अनभिज्ञ हुनुहुन्न।

तसर्थ विषयवस्तुलाई यसरी सरल रुपमा बुझिदिनुहुन म विशेष आग्रह गर्दछु। युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार बनाएर सामाजिक सञ्जाल र मिडिया हाउसहरुमार्फत रुसविरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी युरोपियन गठबन्धन एवम् तिनका एजेन्टहरुको मतियार बन्न सकिन्न। न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चात्ताप छ न त आज भिन्न उद्देश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा बन्दुक बोकेको प्रति कुनै गुनासो छ। आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन।

जोखिमपूर्ण यात्राको पाइला–पाइलामा चुनौती त छ नै यद्यपि हार कहिल्यै मानिँदैन, गन्तव्यमा पुग्ने दृढ आत्मविश्वास यथावत् छ।

अन्त्यमा,

सयौँ साथीहरूले रसिया भर्ती हुन आउनुपर्‍यो, के–कसरी हो? च्यानल मिलाइदिनुपर्‍यो भनेर म्यासेज गरिराख्नुभएको छ, एक–एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन। तसर्थ यसै सार्वजनिक सूचनामार्फत जानकारी : यहाँ अहिले भर्ती बन्द छ, दलालहरुको भ्रममा नपर्नुहोला। धन्यवाद!

(डायमन्ड सी म्याग्देलीको फेसबुक पोस्टबाट)

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34