KFGVRFI34

बम्जनको सञ्जाल , दान र भेटीको ओइरो

0

तपस्वी रामबहादुर बम्जन यतिखेर महोत्तरीको जलेश्वर कारागारमा छन् । उनले एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग छ । बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो ।

मंगलबार काठमाडौँमा पक्राउ परेका बम्जनलाई बिहीबार बिहान मात्रै सर्लाही पुर्‍याइएको थियो । बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार बेलुका काठमाडौंको हात्तीवनबाट पक्राउ गरेको थियो।
अदालतमा बिहीबार नै बम्जनको बयान गराइएको थियो । बयानलगतै थुनछेक बहस भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुखसमेत रहेका जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बम्जन दोषी रहेको दाबी गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए ।प्रतिवादी बम्जनका तर्फबाट पनि थुप्रै अधिवक्ताहरूले बहस गरेका थिए ।

पीडितले अन्तिम घटना भनेर २०७३ साउन २० गते रातिको टिपाएकी छन् । उनी २०७१ सालदेखि बम्जनको आश्रममा आनी बनेर बसेको र त्यसको दुई वर्षपछि २०७३ साउन २० गते राति ९ बजेर १० मिनेट जाँदा बम्जनले उनलाई ललाई फकाई प्रलोभनमा पारेर बोलाएर आफू सुत्ने कोठामा लगेको उनको आरोप छ ।
कोठाको ढोकाको चुक्कुल लगाएर प्लास्टिकको कार्पेटमा लडाएर रुन कराउनसमेत नसक्ने गरी मुख थुनेर, डर, त्रास धम्की दिएर जबर्जस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । त्यसपछि पनि पीडित एक्लै भएको मौका छोपी पटकपटक यौन सम्पर्क राखी यौन सन्तुष् लिने गरेको तथा बाल यौन शोषण गरेको अभियोगपत्रमा लेखिएको छ ।

हाल १८ वर्ष पुगेकी ती किशोरीले आफू नाबालिग छँदै पटकपटक यौन शोषण गरेपछि आश्रमबाट भागेको बताएकी छन् । पछि कागज गराउँदा सोही आश्रममा रहेकी अर्की महिलाले पनि घटना लगतै पीडितले आफूलाई सुनाएको बताएकी थिइन् । उनले अदालतमा गरेको कागज पनि बम्जनलाई जेल पठाउने प्रमुख आधारका रुपमा आदेशमा उल्लेख गरिएको छ ।बम्जनले भने यी सबै आरोप अस्वीकार गरेका छन् ।
बम्जनले अदालतमा आफू २०६२ जेठदेखि सुरुमा बाराको रतनपुरी जंगलमा करिब १० महिना ध्यान गरेको, त्यसपछि बाराकै हलखोरिया जंगलमा करिब ८ वर्ष बसेर ध्यान गरेपछि सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १२ मा रहेको पत्थरकोट आश्रममा आएर ध्यानमा बसेको उनले बताएका छन् । त्यहाँबाट सिन्धुलीको पहिरेमा जंगलको बीचमा रहेको आश्रममा ध्यान गरेको र उप्रान्त सिन्धुपाल्चोकको आश्रममा गएर बस्न थालेको उनको बयान छ ।

‘मैले ध्यान गर्ने ठाउँमा अरु कोही पनि रहँदैनथे। मेरो साथमा १/२ जना नजिकका चेलाहरू रहन्थे। उनीहरूको नाम अहिले याद छैन। उक्त ध्यानस्थल तथा आश्रममा बसेको अवधि यकिन रुपमा याद भएन। म ध्यानका लागि बसेको स्थानमा आस्थाले मानिसहरू आउने र जाने भिडभाड रहन्थ्यो। तर उनीहरूसँग मेरो दोहोरो संवाद भने हुने गरेको थिएन’, बम्जनको बयान छ।आफूले कहिल्यै गलत कार्य गर्न नसक्ने दाबी पनि उनले अदालतमा गरे ।
‘एउटा धर्ममा आस्था राखी ध्यान तपस्या गर्ने व्यक्तिले कहिल्यै पनि गलत कार्य गर्न सक्दैन । मेरो ध्यान तथा तपस्याबाट शान्ति हुने तर अशान्ति फैलाउन चाहने विधर्मी एव् स्वार्थी समूहले मविरुद्ध गलत आरोप लगाएका हुन्’, बम्जनले बयानमा भनेका छन् ।

बम्जनमाथि यतिखेर स्रोत नखुलेको करोडौँको सम्पत्ति राखेको र विदेशी मुद्रासमेत अपचलन गरेको आरोप छ । प्रहरीले उनी बसेको घरमा छापा मार्दा ३ करोड ३४ लाखभन्दा बढी रकम नगदै फेला पारेको छ । उनका समर्थकहरुले भने सबै धर्मगुरुहरुसँग यत्तिको रकम हुने गरेको र यसलाई स्वाभाविक रुपमा लिनुपर्ने तर्क गर्न थालेका छन् । बम्जनको धार्मिक संस्थाको २०६७ सालमै ६३ देशमा शाखा खोलिसकोले ती सबै देशबाट अलिअलि भेटी र दान आउँदा पनि केही करोड रकम जम्मा हुनु स्वाभाविक रहेको बम्जन पक्षधरको तर्क छ ।
हरेक वर्ष उनलाई भेट्न कयौँ देशका मानिस आउनले भएकाले उनीबाट १६ देशको मुद्रा भेटिनु पनि अनौठो कुरा नभएको उनीहरुको जिकिर छ । अन्य बौद्ध लामा र गुम्बाको आम्दानीको स्रोत पनि विदेशी नै हुने तिनीहरुको भनाइ छ । आज नेपालमा ठाउँठाउँमा भव्य आलिसान गुम्बा बनिरहेका छन् भने के प्रहरीले त्यहाँ गएर छापा मारी पैसाको स्रोत के हो भनेर सोध्ने गरेको छ त भनेर पनि बम्जन पक्षधरले प्रश्न गरिरहेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34